site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सहानुभूति
Sarbottam CementSarbottam Cement

मनोज अधिकारी


ऊ अविवाहित, तर दुई सन्तानको बाबु । 

उमेर : ६२ वर्ष ।

Prabhu Bank
Agni Group
NIC Asia

ठेगाना : नम्बर नखुलेको बेसमेन्ट । 

काम : डेलिभरी ट्रक ड्राइभर । 

Global Ime bank

रबले बिहे नै गरेन । गर्नुपर्ने आवश्यकता पनि ठानेन । उमेरमा ऊ असाध्यै ह्यान्डसम । गोरो वर्ण, ६ फिटभन्दा अग्लो कद । निलो आँखा । खैरो कपाल । लामो नाक । ठूल्ठूला हातपाखुरा । ऊ आकर्षणको केन्द्र नहुने कुरै थिएन । जवानी मस्त चढेको बेला । जस्तो जवानी उस्तै जीवन जिउने कलामा ऊ माहिर खेलाडी पनि । त्यसैले मस्त जवानीमा उसका दिनहरु मस्ताना बिते । यस्तो उमेरमा न वर्तमानको सुर्ता न भविष्यको चिन्ता । त्यो बेला नै त्यस्तै थियो रबका लागि । जस्तो समय अनि साथीभाइको सङ्गत । ऊ त्यस्तै जीवन बाँचेर आएको एक भुक्तभोगी ।

आज उमेरका ६ दशक नाघे पनि ऊ कम आकर्षक छैन । जीउडाल फिट एन्ड फाइन राख्न उसले खानपानमा कहिल्यै सम्झौता गरेन । बल सुहाउँदो काममा पनि कहिल्यै पछि हटेन । यस्तै बानीले ऊ कुनै दिन कामविहीन बस्नु परेन । 

‘‘मन लागेको खानु र सकेको काम गर्नु नै मेरो जीवनका स्थायी कुरा हुन् आजसम्म’ ऊ स्वमन्त्र सुनाउँछ, ‘‘अरु त सब अस्थायी । हावाका झोँक्काजस्ता । पानीका फोकाजस्ता । क्षणमै आउने । क्षणमै बिलाएर जाने ।’’

फरक यति हो आज त्यो बेलाको जस्तो शरीरमा बल छैन उसको । ढल्कँदो उमेर देखेर अहिलेका युवती उतिसारो पछि लाग्दैनन् । पहिले भए उसका पछाडि रोजीछाडी मस्तानाहरु हुन्थे । अहिले रबलाई यसमै औधी चिन्ता छ । अझै पनि आँखा अगाडिबाट जाने जो–कोही युवती हुन् वा अधबैंसे उसमा थामिनसक्नु औडाहा जन्मन्छ । उसको हाउभाउ पठ्ठो हुँदाको समयमा फर्के जस्तै हुन थाल्छ ।

‘‘यो मनको तिर्सना मेट्ने बहाना मात्रै हो । गर्न त पहिले जस्तो के सकिन्छ र अहिले ?’’ क्षणमै ऊ आफैंलाई प्रश्न गर्दै शान्तभावमा फर्किन्छ ।

‘५०–५२ वर्ष हुँदासम्म त मोजमस्तीकै दिन थिए । यी सबै उमेरका बेला मात्र रहेछन् ।’ अहिले ऊ ती दिन सम्झेर पूरै नोस्टाल्जिक बन्छ । 

दिनहुँ तरुनी च्यापेर डिस्को–बार धाएको । गाँजा–चरेस खाएको । मदिरामा लठ्ठिएको । धुवाँमा धुवाँसरी नै उडेको । त्यतिले नपुगेर अनेकनथरी इन्जेक्सन पनि लाएको ऊ सगौरव सुनाउँछ । के मात्रै गरेन उसले ! जाने–देखेका सबै गरेकै थियो । अरु त अरु आफ्नै गर्लफ्रेन्ड पनि अरुसँग साटेको रे ! अर्काकी गर्लफ्रेन्ड या श्रीमती सट्टामा ल्याएको रे । जहाँ जेजे देख्छ र आइपर्छ त्यही व्यहोरेकै थियो उसले ।

अहिले उसलाई लाग्छ, ‘‘जसरी एउटा उमेर सधैं रहँदैन, तर ती कुरा सधैंका लागि हुँदा रहेछन् । ऊ वर्तमानमा उभिएर घरिघरि पुरानै समयमा फर्कन खोज्छ । 

यस्तो रङ्गिन दुनियाँमा रङ्गमङ्गिएको बेला रब ख्यालख्यालमै दुई सन्तानको बाबु बनेको थियो । एक बच्चा सहितकी न्यान्सीसँग उसको भेट । अरु दुई बच्चा जन्मिएपछिको जिम्मेवारी । न्यान्सीसँगको गहिरो प्रेम अनि अप्रत्यासित बिछोड । त्यतिबेलाको आफ्नो हालत । न्यान्सीको त्यो रुप । त्यसपछि आफ्नै सन्तानबाट समेत बेखबर बस्नु पर्दाको पीडा । अनि आजको आफ्नै हाल । यस्ता कुरा सम्झेर रब बेलाबेला निकै घोरिएर बसेको हुन्छ । 

डेलिभरीको कामबाट एकछिन फुर्सद मिले ऊ सहकर्मीसँग आफ्नो विगत कोट्याएर मन भुलाउने प्रयत्न गर्छ । उसलाई थाहा छ यो क्षणिक प्रयास हो । भरे फेरि एकान्तमा बेसमेन्टको बास त छँदैछ । 

आफ्नो अलिखित डायरीबाट ऊ प्रत्येक पाना पल्टाउन कुनै हिच्किचाहट मान्दैन । अनि न्यान्सीले एकदिन आफ्नै सामु बडेमानको काले अधवैंशेलाई अँगालेर धोका दिएको क्षण ऊ कहिल्यै भुल्दैन, तर बिर्सने प्रयास भने जारी छ ।  

‘‘वास्तवमा म त्यो क्षण कहिल्यै सम्झन चाहन्नँ, तर बिर्सन खोज्नु झनै सम्झनु पो रहेछ,’’ ऊ कुराको सुरुवातमै यसरी गहिरिन थाल्छ । 

ऊ भन्छ ः बिहे नै नगरी पुस्तौं–पुस्ता चल्ने आधुनिक समाज हो उसको । उसका बाबुआमा र तिनका पनि बाबुआमा यस्तै थिए रे उसले जान्दा । उसका बाबुआमा जो श्रीमान् श्रीमतीचाहिँ थिएनन् । 

यस्तै देखेर, सिकेर हुर्किएको ऊ र उसको समाज । उसले पनि बिहे गरेन न्यान्सीसँग । सम्बन्ध केवल निजी समझदारीमा मात्रै चलेको थियो । प्राविधिक रुपमा उनीहरु अविवाहित थिए । अमेरिकी समाजमा यो अति सामान्य विषय हुँदै हो । बाबुआमाको औपचारिक बिहेबारी नभई सन्तान जन्मिने र हुर्कने क्रम चलिरहेकै छ । बिहेवारी नगरी लिभिङ टुगेदरमै पुस्तौंपुस्ता चल्नुलाई आमप्रचलन भने पनि हुन्छ । 

मन मिल्दासम्म सँगै हाँस्यो, खेल्यो, बस्यो । मन नमिलेको दिन सजिलै छुट्टियो । कुटाकुट र मारामार गरेर पनि समाज र दुयियाँलाई देखाउनकै लागि दम्पत्तिको रुपमा बस्नु केवल नौटङ्की हो । विवाह वा सम्बन्ध कुनै हालतमा सम्झौताको खेल हुँदै होइन । सम्झौता गर्नु परेको दिन त दुवैका लागि अन्तिम क्षण भइहाल्छ । भोलिपल्टै दुवैका लागि अर्काे बाटो खुला छँदैछ । हिसाबकिताब दुवैको बराबर । किनकि समाजै यसैगरी बनेको न छ । 

रबका बाबुआमा पनि यस्तै जोडी थिए । ऊ र उसको भाइ सानै छँदा बाबुआमा छुट्टिएर बसेको उसलाई थाहा थियो । उसकी आमाका तीन ब्वाइफ्रेन्ड थिए । आमाले फरक–फरक ब्वाइफ्रेन्डसँग जीवन गुजारिन् । रबले पनि आमासँगै तिनै सौतेला बाबुसँग बाल्यकाल र किशोरकाल बितायो । उसलाई कहिल्यै थाहा भएन कि उसको वास्तविक बाबु कुनचाहिँ थियो । आमाको ब्वाइफ्रेन्ड कोही स्थायी थिएनन् । 

जब आमाका ब्वाइफ्रेन्ड फेरिन्थे, उसका बाबु पनि फेरिन्थे । कहिले आमा एउटाको पाहुनाजस्ती हुन्थिन् । कहिले उनका ब्वाइफ्रेन्ड पाहुनाजस्ता हुन्थे । उसले देखे–जानेको उसको परिवार यस्तै थियो । जस्तो ऊ हुर्किएको समाज र यहाँको संस्कार थियो । 


क्रिसमसको रमझममा डिसेम्बरको फ्रिजिङ साँझ । एउटा सप्राइज जमघट हुँदै थियो । करिब २० युवायुवतीको हल्लाखल्लायुक्त भीडमा थियो रब पनि । उसले पहिले न्यान्सीलाई भेटेकै त्यहीँ हो । भर्भराउँदी न्यान्सीलाई देखेपछि त्यो कठ्याङ्ग्रिने जाडोमा रबको दिलमा एक प्रकारको आगो सल्किएको थियो । एक बच्चाकी आमा भएर पनि न्यान्सी मस्त जवानीमा चढेकी युवती थिई । उसले पनि रबको गठिलो शरीर र हँसीमजाक गर्ने शैली खुब मन पराई । उपहार आदानप्रदान अनि ड्रिङ्क्स र डान्ससहितको त्यो सप्राइज पार्टीमा ऊ पूरै हिरो साबित भएको थियो । त्यही पहिलो रात रबले न्यान्सीलाई प्रपोज मात्र गरेन साथै लिएर डेरा फर्किएको थियो । 

न्यान्सीले अर्काे वर्षको क्रिसमसमा रबलाई बाबु बनाएर नयाँ सन्तान उपहार दिई । त्यसपछि अर्काे वर्ष अर्काे उपहार । न्यान्सी र तीन सन्तान भएपछि रबमाथि जिम्मेवारी थपिए । ऊ पहिले जस्तो आवारा नभई व्यावहारिक बन्न कामकाजी हुँदै गयो ।

‘‘साँच्चै रब, मैले तिमीसँग यति लामो समय सँगै बसुँला भन्ने सोचेकै थिइनँ,’’ वर्र्षाैंपछिको एक साँझ मदिरामा लठ्ठिएकी न्यान्सीले भनेकी थिई, ‘‘म त दुई–चार दिन वा हप्ताका लागि भनेर तिमीसँग आएकी  थिएँ । त्यो पहिलो रातको भेटमै तिमीले मेरो मन पूरै जितेका थियौ । त्यसपछि पनि तिमीले मलाई यसरी भुलायौ, आज कसरी १५ वर्ष तिमीसँग बिताइरहेछु मैलाई पत्तो छैन ।’’

रबलाई न्यान्सी साँझमा यसरी नशामा लठ्ठिएको औधी मन पथ्र्याे । दिनभर काम गरेर साँझ फर्कंदा न्यान्सीलाई उसैगरी लठ्याउन ऊ थरी–थरीका मदिरा बोकेर घर छिथ्र्याे । न्यान्सी पनि सायद रबभन्दा पनि उसले ल्याउने सोमरसको व्यग्र प्रतीक्षामा हुन्थी । 

रब र न्यान्सी बोस्टनदेखि करिब ३० माइल पश्चिमको कन्कर्ड सिटीको एक अपार्टमेन्टमा बस्थे । न्यान्सी दैनिक बच्चाहरुलाई स्कुल बससम्म लैजाने र ल्याउने गर्थी । अनि घरकै अरु कामधन्धामा व्यस्त हुन्थी ।

रबचाहिँ एउटा रुफिङ कम्पनीमा काम गर्न थालेको थियो । बोस्टन अमेरिकाकै पुरानो सहर हो । यहाँका पुराना घरका छानो जीर्ण भएपछि फेर्नुपथ्र्याे । ती घरमा छानो मर्मत गर्ने, फेर्ने, टाल्नेलगायतका काममा रब व्यस्त हुन थाल्यो । 

सुनसान जङ्गलको आसपास भए पनि पूर्णसुरक्षित बस्ती थियो कन्कर्ड सिटी । गाडी चलाएर झण्डै एक घण्टामा ऊ काम गर्न बोस्टन सहर पुग्थ्यो । सबै सुविधायुक्त सानो सहरबाट मानिसहरु काम गर्न दैनिक एक, डेढ घण्टा गाडी चलाएर ठूलो सहरतिर जान्थे । यसको उद्देश्य हुन्थ्यो– सहरको महँगी छलिने अनि फराकिलो ठाउँमा शान्त बस्तीको आनन्द लिन पाइने । विकासको यो मोडल अमेरिकाको मूल पहिचान हो । खासमा रब पनि सहरको महँगी छल्नकै लागि कन्कर्ड पुगेको थियो ।

दिनभर लामा–लामा झ¥याङ चढेर घरका छाना–छानामा काम गरेको थकाइ साँझ न्यान्सीसँग मदिराले मातेर मस्तराम बिसाउँथ्यो ऊ । बिहान चङ्गा मन लिएर उही काममा ऊ बोस्टन पुगिसक्थ्यो । 

दिनहुँ बोस्टन र कन्कर्ड आउ–जाउ गरेर उसका करिब १५ वर्ष बिते । यहीबीचमा बच्चाहरु पनि कन्कर्डमै हुर्किए । बच्चा हुर्काउने सवालमा न्यान्सीले रबलाई कुनै भार पर्न दिइन । कुनै व्यावहारिक तनाव र सानातिना असमझदारी न्यान्सीले सहेर रबलाई साथ दिने सक्दो प्रयास गरिरही ।  

सम्बन्ध सम्झौतामा टिक्दैन भन्ने उनीहरुलाई राम्ररी थाहा थियो । सम्झौता गर्नुभन्दा तुरुन्त सम्बन्ध तोड्नुपर्छ भन्ने मान्यता दुवै राख्थे । यद्यपि, दुवैले त्यस्तो अवस्थाको कल्पना गरेका थिएनन् । जे पर्छ परेकै दिन टर्छ भन्नेचाहिँ सोचेकै हुँदो हो । नभन्दै एकदिन नसोचेकै घटना भइदियो ।

लगातार कामको चापले रब केही महिनायता हैरान हुन थालेको थियो । उसलाई बिहान कन्कर्डबाट बोस्टन र साँझ फेरि बोस्टनबाट कन्कर्ड आउजाउ गर्न कठिन हुँदै गयो । हिमपातको सिजनअघि नै धेरै घरका छानो फेर्नु र टाल्नुपर्ने कम्पनीको सम्झौता थियो । प्रतिकूल मौसम हुँदाहुँदै पनि दैनिक १६ घण्टासम्म काम गरेर पनि सम्झौताअनुसार काम छिटै सक्न कम्पनीले दबाब दिइरहेको थियो । 

उसले न्यान्सीसँग सल्लाह गरेरै दैनिक आउजाउको क्रम घटाउन थाल्यो । ऊ सातामा पाँच रात बोस्टनमै बस्ने र दुई रात कन्कर्ड फर्कने तालिकामा अभ्यस्त हुन थाल्यो । फेरि यो तालिका पनि संशोधन भयो । अब सातामा एक रात मात्र कन्कर्डको बास हुन थाल्यो उसको । हरेक शुक्रबार साँझ ८ बजेतिर मात्र ऊ न्यान्सीको हुन पुग्थ्यो । व्यस्त काम देखाउँदै ऊ विस्तारै दुई साताको एक शुक्रबार मात्र घर पुग्न थाल्यो । केही समय यसैगरी उसको तालिका तलमाथि हुँदै गयो ।

एकदिन ऊ बुधबार दिउँसै कन्कर्ड फर्कियो अचानक । त्यही अचानकले एकपछि अर्काे घटनाक्रम अघि बढाउँदै लग्यो अचानकै । अपार्टमेन्टको ढोका खुलेन । उसले घन्टी बजाउन पनि छोडेन । न्यान्सीको नाम लिएर कयौंपटक बोलाए पनि ढोका खुल्दै खुलेन । 

निकैबेरपछि एक पुरुष ढोका खोलेर ठिङ्ग देखा पर्यो । रब ट्वाँ पर्नुअघि नै उसले सोध्यो, ‘‘को हौ तिमी ? कसलाई खोजेको ?’’
आफ्नै घरको ढोकामा आफैंलाई को हौ भन्ने प्रश्न उसका लागि भयावह त छँदै थियो, त्यो भीमकाय शरीरको काले अधवैंशेलाई देखेपछि ऊ झन् भयभित भयो । रबले चर्काे स्वरले ‘न्यान्सी’ भन्दै भित्र पस्न खोज्यो । 

त्यो व्यक्तिले उसलाई एक हातले बाहिरै धकेलेर रोक्दै भन्यो, ‘‘पर्ख, तिमी को हौ म जान्दिनँ । यहाँ मेरी गर्लफ्रेन्ड र म बस्छौं । तिमी जसलाई न्यान्सी भनिरहेका छौ । ऊ मेरी गर्लफ्रेन्ड हो, तिम्री होइन ।’’

उसको कुरा रबलाई रन्थन्याउन काफी थियो । ऊ रिङ्गटाले फनफनी घुमेझैं हुन थाल्यो । उसको शरीरका अङ्गप्रत्यङग एकएक गर्दै चिसो हुँदै गए । हातगोडा काम्न थाले । कान बेस्सरी कराए । रबका आँखामा आफ्नो घर, आफ्नी गर्लफ्रेन्ड, आफ्ना सरसामान झल्झली नाच्न थाले । 

रबले जति जोडबल गरे पनि आफ्नै घरभित्र पस्न पाएन । रबको दिमागमा एकाएक वर्षाैं न्यान्सीसँग बिताएका पल सिनेमाका रिलझैं घुम्न थाले । फर्केर पूरै रिल हेर्दा पनि उसले कुनै दिन वा क्षण न्यान्सीप्रति शङ्का गर्ने ठाउँ देखेन । 

ह्विस्कीले मातेका गरमागरम् साँझहरुमा न्यान्सी प्रायः भन्ने गर्थी, ‘‘रब, आई हेट दोज गाइज्, हु आर ब्ल्याक । आई नेभर क्यान इमाजिन टु मिट देम एन्ड बि फ्रेन्ड विथ देम । हाऊ अदर्स गल्र्स आर डुइङ दिस ?’’

रबका दिमागमा न्यान्सीका यस्तै बचनहरु कुद्दै थिए । त्यतिकैमा न्यान्सी देखा परी ढोकामा । ऊ बिलकुल फरक अवतारमा थिई । उसको हेयरस्टाइल पूरै फेरिएको थियो । उसमा भद्दा मेकअपको लेप कत्ति पनि सुहाएको थिएन । हातमा चुरोट थियो । र, मुखबाट भर्खरै धुवाँको मुस्लो छुटिरहेको थियो । उसका आँखा पहिले जस्तो सरल र मायालु थिएन । पूरै निलो दहजस्तो डर लाग्दो देखिन्थ्यो । ओँठ पनि सुकुमार र चञ्चल थिएनन् । बैजनी रङ्ग पोतेको अजीव देखिन्थ्यो त्यो । 

मानौं ऊ पहिलेकी न्यान्सी हुँदै होइन वा यो उसको झुटो अवतार हो । यस्तो स्वरुपमा न्यान्सीलाई देखेपछि रब झन् रन्थनियो । उसको बोली र व्यवहार पहिलेको न्यान्सीको जस्तो पटक्कै थिएन । उसले रबप्रति कुनै माया देखाइन । कुनै दायित्वबोध पनि गरिन । कुनै सरोकार नै देखाइन । 

रबले न्यान्सीसँग यस्तो सबै गर्नु र हुनुको कारण जान्न चाह्यो । उसले यस्तो धोका कल्पनै नगरेको भन्दै बिलौना गर्न थाल्यो । 
जबाफमा न्यान्सीले त्यो अधवैंशेको हात समाउँदै भनी, ‘‘हिजो म तिम्रो थिएँ होला, तर अब उसको भइसकेँ । तिमी हामीलाई डिस्टर्ब नगर । बरु यहाँबाट गइदिएर हामीलाई सहयोग गर ।’’

यति भनेर न्यान्सीले आफ्नो हातको फोन रबतिर बढाउँदै हेर्न सङ्केत गरी । फोन आफ्नो हातमा नलिँदै रबले स्क्रिनमै एउटा फोटो देख्यो । जुन आफ्नै थियो । त्यो फोटोमा रब आफू अर्की एक युवतीसँग अँगालिएर ओछ्यानमा पल्टिएको थियो । फोनमा फोटो एकपछि अर्काे गर्दै फेरिँदै गए । हरेक फोटोमा रब एक युवतीसँग अनेकन अवस्थामा देखिन्थ्यो । नितान्त गोप्य कोठाभित्रका ती तस्बिर अन्तरङ्ग सम्बन्ध खुलाउने यथेष्ट प्रमाण थियो । अनि न्यान्सीको मन र मुटु चुँडाउने प्रमुख कारण पनि थियो । 

बोस्टनको व्यस्त कामकाजका बीच रब एक युवतीसँग लिभिङ टुगेदरमा बस्न थालेको रहेछ । न्यान्सीले त्यही अस्वेत व्यक्तिबाट ती फोटो पाएकी थिई । यति देखेपछि उसलाई रब बोस्टनमा व्यस्त हुनुको रहस्य बुझ्न गारो भएन । उसले रब कन्कर्डभन्दा बोस्टनमै बढी रमाउनुको कारण अथ्र्याउनु अस्वाभाविक पनि थिएन । 

रब भने न्यान्सीको मोबाइलमा ती फोटो देखेर घोर आश्चर्यमा परेको थियो । अघिसम्म न्यान्सीले आफूलाई धोका दिएको ठानेर ऊ बिलौना गरिरहेको थियो । अहिले आफैं न्यान्सीको अगाडि एक धोकेबाजका रुपमा उभिनु पर्दा ऊ के गरौं–कसो गरौंको अवस्थामा पुगेको थियो ।

त्यो मोबाइलमा करिब एकदर्जन फोटो हेरेपछि रब खङ्ग्रङ भयो । उसका ओठतालु सुक्दै गए । 

न्यान्सीले सोधी, ‘‘अब अरु केही भन्नु छ ?’’

रब बोल्न खोज्दै थियो । न्यान्सीले रोक्दै अगाडि भनी, ‘‘सम्झ, यो मायाको खेल यहीँ खत्तम भयो । आजबाट जस्तालाई त्यस्तै भो भन्ने ठान ।’’

रबले अझै न्यान्सीलाई सम्झाउने प्रयास नगरेको होइन । न्यान्सीले अस्वेत व्यक्तिको प्रेमप्रति आफू पूरै पागल भइसकेको जबाफ फर्काइरही । त्यस व्यक्तिको प्रेममा न्यान्सी पागल भएको रबले पत्याउनै सकेन वा चाहेन । रबका कुनै कुरा न्यान्सीले सुन्नै चाहिन । बस्, चुरोटको धुवाँ उडाउँदै हातको इसाराले जाऊ भन्ने सङ्केत मात्र गरिरही । उसले धेरै विवाद गर्नुभन्दा रबलाई चिन्दिन भनेर ठाडै पन्छाउन खोजी । 

अवस्थाले विवादको रुप लिन धेरै बेर लागेन । एकले अर्काेलाई धम्क्याउँदै प्रहरी बोलाउन फोन गरे । केही मिनेटमै साइरन बजाउँदै प्रहरीको गाडी देखा पर्यो । 

प्रहरीकै उपस्थितिमा रबले घरभित्र पस्न पायो एकैछिनका लागि । तर अफसोच, त्यहाँ उसको नामनिसाना भेटिने कुनै वस्तु वा सामान थिएनन् । न भित्तामा उसका फोटो, न कपडा, न जुत्ता, न ब्रस, न रेजर केही सामान छँदै थिएनन् । 

उसका निजी वस्तु पूरै अर्कैका वस्तुले प्रतिस्थापन गरेको देख्दा ऊ तीनछक परेको थियो । अस्तिसम्मका आफ्ना हरेक सामान एकाएक हराएर पूरै नयाँ वस्तुमात्र देख्दा उसलाई भाउन्न भयो । ऊ केही बोल्नै सकेन । आत्तिएको भावमा यता हे¥यो, उता हे¥यो । कहीँ केही आफ्ना सामान नदेखेपछि उसलाई अर्कैको घरमा झुक्किएर छिरेजस्तो भयो । त्यहाँबाट कुन बेला निस्कनु जस्तो भयो ।

प्रहरीले पनि रबको दाबीलाई पत्याउने केही आधार भेटेन । प्रहरीले रबलाई बाहिर ल्याएर सम्झाउँदै भन्यो, ‘‘तिमीले भनेका केही दाबी पनि यहाँ मिलेनन् । कृपया, उनीहरुको व्यक्तिगत जीवनमा डिस्टर्ब नगरिदेऊ । बरु आफ्नो बाटो लाग्नुमै तिम्रो भलाइ छ ।’’

यति भनेर प्रहरी त्यहाँबाट हिँड्यो । रबले केहीबेर प्रहरीको गाडी गएतिर हेरिरह्यो । अनि न्यान्सी पनि भित्र पसी । रबले न्यान्सीले टाउको फर्काएर गएको पनि केहीबेर हेरिरह्यो । 

त्यो अस्वेत व्यक्तिचाहिँ रब नजिकै गएर सहानुभूति देखाउँदै भन्यो, ‘‘सरी म्यान, यु क्यान फाइन्ड योर स्टफ्स इन दि बेसमेन्ट ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement