विद्याका लागि काशी जानु भनिन्थ्यो । विद्या आर्जन गर्नै उनी काकासँगै इलामको गाउँ माघेबाट बनारस पुगेका थिए । अनि केही वर्ष त्यहीँ बसेर पढे ।
उनीसँगै उनका काका पनि हाइस्कुल पढ्न भनेर बनारस गएका थिए । काका भतिज दुवैले सँगै हाइस्कुलको परीक्षाको तयारी गर्न थाले । साथमा थिए डिल्लीराम तिमिल्सिना । तीनै जनासँगै पढ्न बस्थे । यसरी पढ्दा एकले अर्कोलाई सिकाउने र सिक्ने काम पनि भयो । त्यसले पढाइको स्तरलाई माथि उठायो । उनीहरू आफूले जानेको विषय अरुलाई सिकाउँदा दुःख मान्थेनन् ।
यसरी सिक्दै सिकाउँदै हाइस्कुल पढ्न बनारस पुगेका इलाम माघेका खगेन्द्रनाथ शर्मा (८६) ले बनारसबाटै इन्टरमिडियट पास गरे । र बनारस हिन्दु युनिभर्सिटीबाट बीए पनि पास गरे । बीए पास गरिसकेपछि मात्रै उनी इलाम फर्किए ।
गाउँ फर्किएपछि उनले इलामकै करफोकस्थित हाइस्कुलमा पढाउन सुरु गरे । उनले त्यहाँको स्कुलमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई अंग्रेजी पढाउँथे । अंग्रेजी अतिरिक्त सिभिक्स (नागरिकशास्त्र) पनि पढाउँदै आएका थिए ।
२०१४ सालको एसएलसी परीक्षा सुरु हुँदै थियो । करफोकका विद्यार्थी परीक्षा दिन इलाम जानुपथ्र्यो । सेन्टर इलामबजारमा थियो । इलामस्थित एसएलसी सेन्टरमा विद्यार्थीहरूको परिचय गराउन स्कुलले खगेन्द्रनाथलाई खटायो । उनी विद्यार्थीहरूसितै इलाम गए । सेन्टअप भएका विद्यार्थीहरूको परिचय सेन्टरमा गराए ।
आफ्नो काम सकिएपछि उनी इलामबजारमै रहेका साथीभाइ भेट्न हिँडे । त्यसबेला इलाममा चारवटा हाइस्कुल स्थापना भइसकेका थिए ।
साथीभाइको भेटघाटमा इलाममा कलेज खोल्ने कुरा उठ्यो । हैन, इलाममा एउटा कलेज त आवश्यक छ भन्ने कुरा उठेपछि तत्कालै एउटा तदर्थ समिति बनाउने कुरो भयो ।
मंगलबार लेखक/कवि डिल्लीराज अर्यालका साथ लागेर पेप्सीकोला प्लानिङस्थित डा. खगेन्द्रनाथ शर्माको घरमा पुग्दा उनले ती दिन सम्झिए । माघको बिहानी पखको पारिलो घाममा सेकिएर बसेका हामीलाई उनी इलामको त्यो प्रसंग सुनाउँदै थिए, “त्यसदिन कुरो मात्रै उठेन, केही दिनपछि कलेज स्थापनाका लागि विशेष एजेन्डा उठाउँदै आमसभा नै गर्ने कुरो भयो । यसमा सबैको समर्थन रह्यो । मैले पनि ‘तिमीहरू कुरा मिलाउँदै गर्नु । म आमसभाको दिन इलाम आउछुँ’ भनेर घर फर्किएँ । ०१५ सालको वैशाखमा आमसभा हुने दिन म इलाम पुगेँ । त्यसैबेला साथीहरूले मलाई समितिका तर्फबाट स्वागत भाषण तैले गर्ने भनेर जिम्मा लगाइदिए । जबकि, यो काम आफ्नो काँधमा आउला भन्ने मैले सोेचेकै थिइनँ ! अब स्वागत भाषण त गर्नैपर्यो । गरेँ पनि ।”
त्यसैदिन कलेज सञ्चालन हेतु एउटा समिति बन्यो । त्यस समितिमा इलामका बडाहाकिम अध्यक्ष भए । र अरू विभिन्न व्यक्तिहरूलाई समितिमा राखियो । इलामको पूर्व इलाकाबाट उनको नाम पनि राखिएको रहेछ ।
उनले भोलि यही कलेजमा पढाउँनु पर्ला भन्ने सोचेका पनि थिएनन् । उनी इलाममा कलेज खुल्नुपर्छ भन्ने दृष्टिकोणका साथ मात्रै लागेका थिए । त्यसैले उनी आफ्नो जिम्माको स्वागत भाषणमा आफ्नो विचार राखेर घर फर्किए ।
उता कलेज स्थापनाको कुरा अगाडि बढ्यो । यता बीए पास भएर करफोकमा पढाउँदै गर्दा खगेन्द्रनाथलाई लाग्यो, आउने दिनमा स्कुलको हेडमास्टरको जिम्मा आफ्नै काँधमा आउन सक्छ । उनको जीवन त्यसैमा बित्न सक्छ । त्यसैले अगाडि पढ्नु नै उत्तम बाटो हुने उनले ठाने । उनी मास्टर्स पढ्ने मनस्थिति बनाउन थाले ।
उनले मास्टर्स गर्ने त सोचे । तर यस विषयमा पिताजीसँग सल्लाह पनि गर्नुपर्छ भन्दै पिताजीको सल्लाह लिए । उनका पिताजीले ‘तैँले बिए पढिहालिस् । भाइहरूले एसएलसी दिएका छन् । तिनलाई कलेजको मुख देखाईदिनु नै पर्छ । तैले ग्य्राजुएट भएर पनि पढिरहने ? आफै केही गर्नसक्छस् भने गर’ भनेपछि उनी मास्टर्स गर्ने बाटो खोज्न थाले ।
पिताजीको यही कुराले उनलाई २०१५ सालतिर काठमाडौंतर्फ कुदायो । उनले कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा मास्टर्स पढ्नका लागि आवेदन दिए । र छात्रवृत्ति पाए पनि । अनि केही वर्षलाई उनी मध्यप्रदेशको सागर विश्वविद्यालयतर्फ लागे । त्यसबेला उनीसँगै छात्रवृत्ति पाउने व्यक्ति थिए पत्रकार आदित्यमान श्रेष्ठ ।
सागरबाट एमए सकेपछि उनी काठमाडौं फर्किए । उनी काठमाडौंमै रहेर केही गर्ने सोच बनाउँदै थिए । त्यसैबखत राजधानीमा भेटिए इलाम कलेजको सञ्चालक समितिका सचिव । उनले काठमाडौं आएर कलेजलाई ‘रिकग्नाइज’ गराएर अलिकति सहयोग पनि लिएछन् । त्यसपछि उनी शिक्षकका लागि उपयुक्त पात्रको खोजीमा दौडिरहेका रहेछन् ।
ठीक त्यसैबेला भेटिए, सागरबाट फर्किएका खगेन्द्रनाथ शर्मा । कलेजको स्थापनामा लागि पर्ने व्यक्ति, त्यो पनि एमए गरेर फर्किएको । यति भएपछि त सचिवलाई के चाहियो र ! खगेन्द्रलाई सचिवले समाए । तर खगेन्द्रले भनेछन्, ‘म एक वर्ष मात्रै कलेजमा पढाउँछु । मलाई एक वर्ष भित्रमा छोडनु पर्छ ।’ यो सर्त उनले सचिवका सामु राखे । सचिवले पनि हुन्छ भने ।
डा. खगेन्द्रनाथ शर्मा भन्छन्, “मेरो लक्ष्य थियो, काठमाडौंको कलेजमा राजनीतिशास्त्र पढाउने । या कूटनीतिक सेवामा प्रवेश गरेर काम गर्ने । त्यसैले पनि मैले आफू एक वर्षभन्दा बढी इलाममा बस्न नसक्ने सर्तसहित इलाम गएको थिएँ ।”
सचिवले पनि हुन्छ भने । तत्कालै शिक्षकको आवश्यकता भएकाले उनले सर्त मान्दै खगेन्द्रलाई इलाम लिएर गए । २०१७ सालको असारमा इलाम कलेज ‘महेन्द्ररत्न महाविद्यालय’ का नाममा सञ्चालनमा आयो । उनी कलेजको संस्थापक प्रिन्सिपल (प्राचार्य) भए । कक्षा सुरु भयो । ऐनकेन प्रकारेण कलेज चल्दै गयो ।
त्यसै वर्ष पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्दै शासनसत्ता आफ्नो हातमा लिए । यो घोषणा हुनासाथ कलेजका सचिव काठमाडौं तिर हानिए । उनले खगेन्द्रलाई ‘केही दिन कलेज हेर्नुहोला है’ भन्दै हिँडे ।
खगेन्द्रनाथले हुन्छ भन्दै आफ्नो काम सुचारु गरे । तर केही दिनपछि त इलाम कलेजका ती सचिव गोविन्दप्रसाद सिंह भोजपुरको बडाहाकिम भएर गएको समाचार पो आयो !
यसले खगेन्द्रनाथ शर्मालाई अप्ठेरोमा पार्यो । उनी एक वर्षभित्र कलेज छोड्ने मनस्थितिमा थिए । तर सचिव नफर्किएपछि उनले कलेज छोडन पाएनन् । आफूहरूले नै स्थापना गरेको कलेज कसरी यसै छोड्नु ! त्यसपछि उनी त्यहीँ क्रियाशील रहँदै कलेजको विकास र विद्यार्थीहरूको भविष्य बनाउन निरन्तर लागिरहे । र, ६ वर्ष इलाम कलेजमा प्रिन्सिपलका रूपमा बिताए ।
डा. खगेन्द्रनाथ शर्मा भन्छन्, “मेरा लागि कलेजको स्थायित्व महत्त्वपूर्ण थियो । त्यसैले मैले इलाम कलेजमै समय दिएँ । त्यसको केही वर्षपछि मलाई स्नातक तर्फबाट इलाम जिल्लाबाट अञ्चल पञ्चायतमा मनोनयन गरियो । नजाउँ, मलाई इलाम छोडने स्थिति बनाउँछन् । यसले कलेजमा अप्ठेरो पर्नसक्छ । त्यसैले पनि यो राजनीतिक नियुक्ति स्वीकारेँ । त्यसपछि काठमाडौंमा भएको बुद्धिजीवी सम्मेलनमा पनि भाग लिएँ । कारण, मेरा लागि कलेजलाई निरन्तरता दिनु नै सबैभन्दा मुख्य काम थियो ।”
०००
डा. खगेन्द्रनाथ शर्मा अधिकारी इलाम जिल्लाको पूर्वी गाउँ माघेमा जन्मिए । उनको बाल्यकाल त्यहीँ नै बित्यो ।
बाल्यकाल र किशोरकाल इलामकै सेरोफेरोमा बिताएका खगेन्द्रको प्रारम्भिक शिक्षादीक्षा घरमै भयो । उनका पिताजीको शिक्षाप्रति उच्च दृष्टिकोण भएकाले पनि उनको शिक्षादीक्षा घरमै भए पनि राम्रोसँग भयो ।
उनले घरमै बाह्रखरी र गणित सिक्दै संस्कृतको पनि शिक्षा लिए । उनलाई अमरकोश मात्रै होइन, एबीसीडी पनि उनका पिताजी पण्डित देवीभक्त उपाध्यायले नै सिकाए । आफूलाई पिताजीले नै अंग्रेजी शिक्षाको ज्ञान दिएको र अंग्रेजीको रोमन अक्षर पिताजीबाटै सिकेको उनी सगर्व बताउँछन् । उनी भन्छन्, “अंग्रेजी त्यही रोमन अक्षरले मलाई आजसम्म पनि काम दिइरहेको छ ।”
आधारभूत शिक्षा घरमै लिएका खगेन्द्रलाई जोड, घटाउ, गुणा र भाग सबै राम्ररी आउँथ्यो । जब उनी स्कुलमा भर्ना हुन फिक्कल पुगे, त्यहाँ उनको कक्षा दुईमा भर्ना भयो ।
कक्षामा उनलाई हिसाब गर्न दिइयो । उनले आफूले जाने जति हिसाब गरे । र यही हिसाबकै कारण उनलाई भोलिपल्टै कक्षा तीनमा भर्ना गरियो । उनी एकै दिनमा कक्षा उक्लिए ।
डा. खगेन्द्रको अनुहारमा मुस्कान फैलियो । भने, “विद्यार्थी एक कक्षा चढ्न पूरा वर्ष दिन बिताउँछन् । मलाई भने भोलिपल्टै हिसाब राम्रो भएका कारण तीन कक्षामा उकाल्ने काम भयो । किनभने त्यसबेला कक्षा दुईमा सबैभन्दा जान्ने विद्यार्थी नै म भएछु ।”
भोलिपल्टदेखि उनी कक्षा तीन बस्न थाले । त्यहाँ उनका साथी भए पासाङ गोपर्मा र तारानाथ शर्मा । तारानाथ शर्मा र खगेन्द्रनाथ शर्माकाबीच को प्रथम हुने भन्ने सधैँ प्रतिस्पर्धा हुनेगरेको उनी बताउँछन् ।
माघेदेखि फिक्कलसम्मको पैदल यात्रा गर्दै स्कुल जाने गरेका खगेन्द्र कक्षा ६ मा पुगे । त्यसैबेला राजनीतिक उथलपुथलका कारण स्कुलका शिक्षक फिक्कल छोडेर हिँडे । त्यसैले गर्दा उनीहरूको पढाइ पनि ६ कक्षामा पुगेर रोकियो । पढाइ त्यसभन्दा अगाडि बढ्ने अवस्था रहेन, फिक्कलबाट ।
अलिक दिन अलमलअलमल नै भयो । त्यसपछि गाउँ नजिकैको सुन्तलेमा खुलेको स्कुलमा उनी पढ्न गए । त्यहाँ एक जना शिक्षक थिए । तर, स्कुलका शिक्षकले भोलिपल्टै ‘यिनले मैले जानेकोभन्दा बढी पढिसकेका रहेछन् । यिनलाई अन्तै लानु भनेर’ फिर्ता पठाइ दिएछन् ।
त्यसपछि मात्रै उनी इलाम पुगे । इलाम स्कुलका हेडमास्टरसँग उनले ट्युसन पढ्न थाले ।
कुरो २००६ साल तिरको हो । इलाममा ट्युसन पढ्दै गर्दा उनलाई जन्डिस भयो । बिरामी भएकाले उनी घर फर्किए । त्यतिबेलै राणा विरोधी आन्दोलन चर्कियो । युवाहरू बन्दुक बोकेर आन्दोलनमा सरिक हुनथाले । उनका साथीहरू पासाङ र तारानाथ पनि बन्दुक बोकेर हिँडे, आन्दोलनमा ।
तर, उनी जन्डिस भएकाले रोकिए । आन्दोलनमा जानै सकेनन् । बिरामी भएकाले हिँड्ने कुरो पनि थिएन । उनलाई थकथकी लागिरह्यो ।
खगेन्द्र भन्छन्, “पासाङ र तारा आन्दोलनमा भिडेर लागेका थिए । आफू भने औषधी खाएर घरमै थन्किनु परेको थियो । आफ्नो यो अवस्थाले मलाई कुण्ठित बनाएको थियो । तर के गर्ने ? बाहिर निस्किन सक्ने स्थिति नै थिएन !”
बिरामीबाट तङग्रिएपछि उनी करफोकमा गएर एकजना शिक्षकसँग पढ्न थाले । र, २०१० सालतिर उनी र उनका काका हाइस्कुलको परीक्षा दिँदै उच्च शिक्षा पढ्न भनेरै बनारस गए ।
त्यसबेला बनारसबाट युपी बोर्डको हाइस्कुल परीक्षा प्राइभेट पनि दिन पाइन्थ्यो । त्यसैले काका भतिजा दुवैजना बनारस गएर हाइस्कुलको परीक्षाको तयारी गर्न थाले । त्यहीँ तिनका साथी भए डिल्लीराम तिमिल्सिना (साहित्यकार) । यी तीनै जनाले संयुक्तरूपमा पढाइ सुरु गरे ।
खगेन्द्रको अंग्रेजी र हिसाब राम्रो थियो । उता उनका काका र डिल्लीरामको पनि केही विषय राम्रो भएकाले मिलेर पढ्दा एक अर्कालाई निक्कै फाइदा हुनेगरेको उनी बताउँदै थिए ।
उनीहरूले युपी बोर्ड अन्तर्गतको हाइस्कुल परीक्षा दिए । त्यसपछि उनका काका गाउँ फर्किए । सबै हाइस्कुल पास भए । खगेन्द्रनाथ शर्मा र डिल्लीराम तिमिल्सिनाको ‘कम्बाइन्ड स्टडी’ फेरि सुरु भयो, ‘इन्टरमिडियट’ परीक्षाका लागि । इन्टर पनि पास भए, उनीहरू ।
डा. शर्माले सम्झिए त्यो पुरानो दिन । भने, “परीक्षा दिनुभन्दा अगाडि केही महिना मज्जैले कोचिङ क्लास र ट्युसन पढिन्थ्यो । त्यसपछि मात्रै जाँच दिइन्थ्यो । यसरी नै मैले प्राइभेट परीक्षा दिएर इन्टरमिडियट पनि पास गरेँ । र बीए पढ्न बनारस हिन्दु विश्वविद्यालयमा भर्ना भएँ ।”
०००
उनी इलामस्थित महेन्द्ररत्न कलेजमै प्राचार्य थिए । २०१९ सालमा काठमाडौंमा बुद्धिजीवी सम्मेलन हुँदैथियो । उनलाई पनि बडाहाकिमले इलामबाट मनोनयन गरेर काठमाडौं पठाए । जानुपर्ने नै थियो । उनी काठमाडौं आए । सम्मेलनमा भाग लिए । सम्मेलन सकिएपछि क्षेत्रगत हिसाबले राजा महेन्द्रसँग भेट्ने मेलोमेसो जुर्यो ।
उनले त्यसबेला महेन्द्र राजासँग इलाम कलेजलाई सहयोग चाहिएको प्रसंग उठाए ।
त्यसै बेला उनले तत्कालीन शिक्षामन्त्री विश्वबन्धु थापासँग पनि भेटे । इलाममा कलेज स्थापना गरिएको विषयमा अवगत गराए । कलेजका लागि सहयोगको आवश्यकता भएको जानकारी गराए । विश्वबन्धु थापाले ‘कलेजको शिक्षाभन्दा प्राथमिक शिक्षामा बढी जोड दिनुपर्ने’ कुरा बताएपछि उनले विश्वबन्धुलाई भनेछन्, “इलाममा अहिले आएको उत्साह मारेर मैले कलेजमा भोटेताल्चा लगाएँ भने तपाईँको प्राथमिकतामा परेको दिन इलाम कलेज कहाँबाट आउला ?” थापा अवाक भए । मन्त्रीको कोठाबाट उनी बाहिरिए ।
उनले शिक्षा सचिव कुलशेखर शर्मालाई पनि भेटे । उनले पनि सहयोग गर्न नसकिने भनेपछि खगेन्द्रले सचिवलाई थर्काएर भनेछन्, “मैले ओडारमा शिक्षाको दियो बालेको छुँ । त्यसलाई तपाईंले निभाउन सक्नु हुन्न !”
खगेन्द्र काठमाडौंबाट इलाम फर्किए । त्यसको केही समयपछि सबैलाई अचम्म बनाउँदै केही रकम कलेजका नाममा निकासा भएर आयो ।
कसरी आयो ?
“सायद, दरबारको प्रेसर पर्यो कि ?”
उनी इलाम कलेजमै थिए । त्यसैबेला एउटा अन्तर्राष्ट्रिय संस्था ‘इस्ट वेस्ट सेन्टर’ ले पीएचडी अध्ययन गर्नेहरूसँग दरखास्त आह्वान गर्यो । खगेन्द्रनाथले पनि आवेदन दिए । उनी छानिए । ‘दुई वर्षमा पीएचडी गरिहालिन्छ’ भन्ने सोच्दै उनी अमेरिकाको हवाई पुगे । तर, त्यहाँ जाँदा पो थाहा पाए, पीएचडी सक्न त उनलाई पाँच वर्षै लाग्ने रहेछ । त्यसपछि उनी अमेरिकाबाट तीन महिनामै इलाम फर्किए । किनभने कलेजलाई स्थायित्व दिनु उनको प्राथमिकतामा थियो । उनी फेरि कलेजकै काममा सक्रिय भए ।
उनी भन्छन्, “त्यसबेला मलाई अमेरिकाबाट फर्केर आउँदा कुनै दुःख लागेन । बरू खुसी लाग्छ, मैले इलाम कलेजलाई आजको अवस्थामा ल्याउने गरी काम गर्न सकेँ ।”
०००
छ वर्ष कलेजको नेतृत्व लिँदै पढाएका डा. खगेन्द्रनाथ शर्माको पीएचडी गर्ने इच्छा भने यथावत नै थियो । यद्यपि, प्राथमिकतामा कलेज परेकाले उनी कलेज र विद्यार्थीहरूको भविष्य बनाउनैका लागि खटिए ।
त्यसैताका मेची अञ्चल पञ्चायत समितिमा स्नातकका रूपमा उनको मनोनयन गरियो, इलाम जिल्लाबाट । यस विषयमा उनलाई सोधिएको थिएन । तर उनले नाई भन्न सकेनन् । नाई भन्नासाथ कलेज चलाउन गाह्रो हुन्थ्यो । हुनसक्छ, उनले इलाम नै छोडनु पर्ने अवस्था सिर्जित होस् । त्यसैले उनले नाई भनेनन् । कलेजको स्थायित्वका लागि, इच्छा नभए पनि कतिपय विषयसँग सम्झौता गर्दैगए ।
त्यसपछि हो, उनी किसान संगठनतिर लागेको । किसान संगठनबाटै केही नवीन काम गर्न सकिन्छ भन्ने उनको सोच थियो । राजनीतिशास्त्रको विद्यार्थी भएकाले पनि यतातिर लाग्न उनलाई प्रेरणा मिलेको थियो ।
डा. शर्मा भन्छन्, “मलाई राजनीतिमा जाने इच्छा थियो । तर पिताजीले ‘तैँले पनि कमाएको देख्दिनँ । घरको स्थिति त्यस्तै हो । राजनीतिमा त धेरै खर्च गर्नुपर्छ’ भन्नु भए पछि म राजनीतिमा होमिनबाट रोकिएँ । त्यतिखेरै मलाई पञ्चायत प्रशिक्षण केन्द्रमा आएर काम गर्न भनिँदै थियो । त्यसैले पनि सोचेँ, अब यही बाटो समाउनु पर्यो ।”
उनले यसै विषयमा आफ्ना पिताजीसँग भएको वार्तालाप सम्झिए । खगेन्द्रलाई तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्रमा काम गर्ने गरी बोलाईँदै थियो । उनले पिताजीसँग सल्लाह गर्न उपयुक्त हुने ठाने र सल्लाह गरे । उनका पिताजीले पनि भनेछन्, ‘सरकारले दिएको बेलामा हात थाप्दैनस् भने आफूलाई चाहिएको बेलामा पाइएला र ?’
पिताजीको यही भनाइले उनलाई त्यसतर्फ जान प्रेरित गरेको थियो । उनलाई लाग्यो, सरकारले दिइरहेको छ भने लिनैमा ठीक ।
उनी राजनीतिक नियुक्ति लिएर पञ्चायत प्रशिक्षण केन्द्रको झापा कार्यालयमा काम गर्ने गरी पदासीन भए । पछि यसैको नाम पञ्चायत विकास प्रशिक्षण केन्द्र भयो । त्यसपछि उनी नेपालगन्ज गए । त्यहाँ उनले आठ वर्ष बिताए ।
पञ्चायत विकास प्रशिक्षण केन्द्रमा रहँदा नै उनले अमेरिकाको मिजोरीबाट एमएस डिग्री लिए । र काम गर्दै जाँदा उनी कार्यकारी निर्देशकसम्म भए । उनले त्यहाँ रहँदा सीडीओ र एलडीओलाई विकाससम्बन्धी तालिम पनि दिए । मुलुकको विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफूले जानेको, सिकेको ज्ञान अरूमा बाँड्दै गए ।
डा. खगेन्द्रनाथ शर्माले २१ वर्ष पञ्चायत विकास प्रशिक्षण केन्द्रमा बिताए । त्यस पछि त्यो जागिर छोडे ।
त्यसपछि मात्रै उनले बनारसबाट पीएचडी गरे । अनि विभिन्न गैरसरकारी संस्थाहरूमा परामर्शदाताको काममा आफूलाई लगाए ।