site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलाई राजनीतिमा लाग्‍न सुभाषचन्द्र बोसकै विचारले प्रेरित गरेको हो
SkywellSkywell

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (९३) बनारसको एक स्कुलमा भर्ना भएर पढ्दै थिए । त्यसबखत उनका स्थानीय अभिभावक थिए कृष्णप्रसाद उपाध्याय ।

सन् १९४२ मा भारतमा ठूलो आन्दोलन भयो । सबै आन्दोलनको मुडमा थिए । त्यसबेला भारतको रेल सेवा पनि बन्द भयो । त्यस स्थितिमा सारा कुरा अस्तव्यस्त भयो ।

यता गौरबाट भण्डारीका पिताजी पनि बनारस जान नसक्ने । उता बनारसबाट गौर आउन पनि गाह्रो । तथापि, भण्डारी र उनका दाजु गोरखपुरको बाटो हुँदै कसैगरी गौर फर्किए ।

KFC Island Ad
NIC Asia

गौरमा स्कुल खुलिसकेको थियो । भण्डारी र उनका दाजु त्यही पढ्न थाले । उनका दाजु एक वर्षपछि फेरि बनारस फर्किए । कृष्णप्रसादले भने गौरबाटै म्याट्रिक पास गरे ।

म्याट्रिक पास गरिसकेपछि उनका सामु दुई विकल्प आए, अध्यात्म र राजनीति । किनभने उनले त्यसबीचमा धेरै आध्यात्मिक किताबहरू पढिसकेका थिए । धर्मशास्त्र विषयक यस्तो पढाइले उनलाई दर्शन लिएर आफ्नो पढाइ अगाडि बढाउँ कि भन्ने पनि भयो ।

Royal Enfield Island Ad

तर, भारतमै पढ्दा उनी सुभाषचन्द्र बोस, महात्मा गान्धी लगायतका नेताबाट प्रभावित भएका थिए । अनि आफ्ना पिताजी र तुङ्गशमशेरको प्रभाव पनि जीवनमा गहिरो रूपमा थियो । 
उनलाई लाग्यो, दुनियाँको भलाइका लागि राजनीति नै गतिलो मार्ग हुन्छ । राजनीतिमा लागेपछि समाजका लागि धेरै काम गर्न सकिन्छ । तसर्थ अन्य विषयभन्दा राजनीति नै पढ्नु उत्तम हुन्छ ।

अन्ततः उनले राजनीतिशास्त्र नै पढ्ने निश्चय गरे । यद्यपि, उनलाई प्रारम्भदेखि नै राजनीति गर्नुपर्छ भन्ने नै लागिरहेको थियो । 

कृष्णप्रसाद भण्डारीले आईए पास गरिसकेका थिए । उनको घरमा उनका भाइलाई डाक्टरी पढाउने कुरो उठ्यो । उनी भाइलाई साइन्स पढाउन काठमाडौं लिएर आए ।

भाइ विज्ञान लिएर पढ्ने भए । उनको भर्ना त्रि–चन्द्र कलेजमा भयो । केही समय बित्यो । तर, भाइले पढ्ने मन गरेनन् । फेरि दुवै दाजुभाइ गौर फर्किए ।
कृष्णप्रसाद भण्डारी बीए पढ्नलाई बिहारकै आरा पुगे । त्यहीँबाट उनले राजनीतिशास्त्रमा स्नातक गरे । 

राजनीतिप्रतिको रुचीसँगै उनलाई समाजका विविध क्रियाकलापले पनि तानेको थियो । शिक्षामा उनको विशेष रुची थियो । ‘सबैले पढ्नु पर्छ, पढाउनु पर्छ,’ भन्ने मान्यता राख्‍ने भण्डारीले बीए पास गर्नासाथ गौर वरपरका विभिन्न गाउँमा गएर स्थानीय अभिभावकलाई ‘आफ्ना केटाकेटीहरूलाई पढाउनु पर्छ’ भन्दै अभिप्रेरित गरिरहे ।

यद्यपि, त्यसबेला त्यहाँ भनिन्थ्यो, ‘लैका पढके कि करतै । भैँसीए चरेतै, कुस्ती खेल्तै आ छाली (तर) खेतै !’ (केटाले पढेर के गर्छ । भैंसी चराउँछ, कुस्ती खेल्छ, तर खान्छ र शरीर बनाउँछ ।)

तर, भण्डारी तिनीहरूको यो सोचलाई तोड्दै पढ्नुपर्छ पढाउनु पर्छ भन्ने मान्यता समाजमा स्थापित गराउन लागि रहे । उनले गाउँगाउँ गएर हजाराैंलाई पढाइ लेखाइप्रति अभिप्रेरित गरे ।

यही मेसोमा उनी गाउँमा हुने सानातिना झगडा पनि मिलाउन थाले । यो काममा उनी सिपालु थिए । मिलापत्र गराउने वा झगडियाहरू बीचमा समाधानको बाटो खोज्‍ने काममा उनको सक्रियता बढ्दै गयो । स्थानीय व्यक्तिहरूको उनीप्रति विश्वास पनि थियो ।

यसरी उनी राजनीतिसहित समाजसेवाको मार्गमा समाहित हुँदै गए । समाजमा विद्यमान शिक्षाप्रतिको उदासीनतालाई चिर्ने काममा मात्रै नभएर न्यायिक दृष्टिकोणबाट पनि समाज सेवामा सक्रिय भएकाले उनी सर्वत्र परिचित हुँदै गए ।

आमाको निधनले दैनन्दिन खर्चको अभाव हुन थाल्यो । नियमित आम्दानीको स्रोत थिएन । आमा हुँदा कहिल्यै गोजी खाली भएन । उनी सम्झन्छन् । पैसा बिना राजनीति गर्न सकिन्थेन । उनलाई लाग्यो, ‘हैन अब अरू केही गर्नुपर्छ । अब राजनीति आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ । 

नयाँबानेश्वरस्थित निवासमा टिप्पणीकारसँग मंगलबार कुरा गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी ९० वर्ष पुराना दिनहरू सम्झिँदै थिए । उनी भन्नथाले, “त्यसको केही समयपछि म फेरि काठमाडौं आएँ । बीए पास गरिसकेको थिएँ । म निर्वाचन कार्यालयमा काम गर्न थालेँ । तर, मेरो भाग्य कति बलियो हेर्नुस्, त्यसैबेला (२०१३ सालमा) काठमाडौंमा ल कलेज खुल्यो ।

म भर्ना भएँ । २०१४ सालमा वकिलको लाइसेन्स प्राप्त भयो । जीवनले अर्को बाटो समात्यो,  वकालत गर्न थालेँ ।”

उनका अनुसार उनको इच्छा वकिल बन्ने नै थिएन । तर, भाग्यले उनलाई त्यतैतिर डोर्‍यायो । उनी जागिर नखाएर स्वतन्त्र काम गर्न चाहन्थे । वकालतको काम उनको सोचअनुसार नै थियो ।

त्यसको दुई वर्षपछि (२०१६ सालदेखि) भण्डारीले ल कलेजमा पढाउन सुरु गरे । तर, २०३२ सालमा उनलाई कम्युनिस्ट भएको आरोप लगाएर कलेजमा पढाउन दिइएन । त्यसपछि उनी आफ्नो वकालत पेसामा नै सक्रिय भए ।

२०४७ सालमा बहुदल आएपछि उनलाई फेरि ल कलेजमा बहाली गरियो । तर, भण्डारीलाई लाग्यो, “वकालतमा सक्रिय छु । यता क्लास पनि लिनुपर्छ । विद्यार्थीलाई समय दिन नसके गाह्रो हुन्छ ।” त्यसैले भण्डारीले ल कलेजबाट राजीनामा दिए ।

ल कलेजमा १६ वर्ष पढाउँदा उनले धेरैलाई कानुन पढाए भने आफ्नो ‘नेपाल ल फर्म’ बाट धेरैलाई वकातल सिकाए । आज पनि हजारौँ वकिलका गुरु हुन्, कृष्णप्रसाद भण्डारी ।

उनी पुराना दिन सम्झिँदै भन्छन्, “कहिले काहीँ मौकाले पनि मानिसलाई उद्यमशीलताको बाटोमा डोर्‍याउँदो रहेछ । मेरो हकमा पनि त्यही भयो । म गाउँमा हुँदा मिलापत्र र पञ्चेती गर्नमा लागेको थिएँ । त्यसले न्यायका विषयमा मलाई जानकारी हुँदै गयो । पछि ल कलेज खुल्यो र त्यसले मलाई वकालत पेसामा अग्रसर हुने मार्ग प्रशस्त गरिदियो !”

त्यसबखत काठमाडौंमा वकालत गर्ने वकिल धेरै थिएनन् । केही मात्रै थिए । तर, उनी अरूभन्दा सहज वकिल थिए । त्यसैले कमाइको मामिलामा आफ्नो मोनोपलि रहेको उनी स्पष्ट बताउँछन् । वकिल खोज्दै मानिस आउँथे । उनी तिनको काम गरिदिन्थे । 

उनी आफूलाई यही वकालत पेसाले राजनीति, समाजसेवा गराएको र असहायलाई मद्दत गर्ने वातावरण पनि बनाएको बताउँछन् । 

वकालत गर्दै राजनीतिमा पनि संलग्न रहेका वरिष्ठ अधिवक्ता भण्डारी आफू सात पटक जेल गएको बताउँछन् । उनी आफूले बेलाबेलामा राजनीति गरेकै कारणबाट कुटाइ पनि खाएको बताउँदै थिए ।

०००

कृष्णप्रसाद भण्डारीको बाल्यकाल रौतहटको गौरमा बित्यो । बाल्यकालको सोच मानिसको जीवनमा धेरै लामो समयसम्म अडेर बस्‍ने उनी बताउँछन् । यस विषयमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।

भण्डारीका पिताजी संस्कृत विषयका ज्ञाता थिए । विद्वान् मात्रै नभएर उनी जनप्रिय पनि थिए । उनका पिताजीको घनिष्ट सम्बन्ध स्थानीय राणाजी तुङ्गशमशेरसँग थियो । तुङ्गशमशेर आईए पास थिए कि थिएनन्, तर उनी अत्यन्तै विद्वान् भएको भण्डारीको अनुभव छ । राणाजी भए पनि उनी गीता र संस्कृतका विषयमा धेरै जानकारी राख्थे । साथै अंग्रेजीमा उनको पकड राम्रो थियो ।

तुङ्गशमशेरप्रति आफ्नो अत्यन्तै श्रद्धा रहेको वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । शमशेरको ज्ञानबाट आफू निक्कै प्रभावित भएको उनी बताउँछन् । 

भण्डारी भन्छन्, “भारतबाट अंग्रेजी भाषामा स्टेटमेन्ट नाम गरेको पत्रिका निस्किन्थ्यो । त्यो पत्रिका बैरगिनिया स्टेसनको बुक स्टलमा आउँथ्यो । तुङ्गशमशेर सधैँ बैरगिनिया गएर त्यो पत्रिका पढ्थे । पत्रपत्रिका खुबै पढ्ने मानिस हुन्, उनी ।”

भण्डारीका अनुसार उनका पिताजी पनि विद्वान् । तुङ्गशमशेर पनि विद्वान् । दुवै विद्वान्लाई आफ्नो अगाडि देखेपछि उनी ती विद्वान्हरूको ज्ञानबाट ‘कायल’ भएका थिए । त्यहीँबाट उनलाई लाग्यो, ‘मानिसको जीवनमा विद्वताकै ठूलो महत्त्व हुँदोरहेछ ।’

उनी पाँच छ वर्षका थिए । उनका पिताजीले एउटा ‘निर्दयी’ काम गरे । त्यो ‘निर्दयी’ काम थियो, उनीहरूको खेल्ने कुद्‍ने उमेरमा बिहारको बघनगामा भन्ने ठाउँमा लगेर स्कुल भर्ना गरिदिनु । तर, त्यही निर्दयी कामले आफूहरूको भाग्यको ढोका खुलेको उनी बताउँछन् । 

उनी भन्छन्, “मैले पिताप्रति प्रेमपूर्वक यो ‘निर्दयी’ शब्द प्रयोग गरेको हुँ । खासमा त्यो समय त हाम्रो खेल्ने कुद्‍ने उमेर थियो नि !” 

उनी र उनका दाजुहरूको पढाइ सुरु भयो । त्यस ठाउँमा बलभद्र मिश्रले स्कुलहरू खोलेका रहेछन् । भण्डारीका अनुसार त्यो क्षेत्र एकदमै प्रजातान्त्रिक सोच भएका मानिसहरूको बसोबास हुने क्षेत्र थियो । त्यसैले त्यहाँ सुभाषचन्द्र बोसलगायतका नेताहरू आइरहन्थे । 

उनी त्यहीँ हुँदा एक पटक बोस आएका थिए । उनको भाषण सुन्न दसौं हजार मानिस चौरमा बसेका थिए । बोस बोलिरहेका थिए । त्यहाँ रहेका मानिस ताली बजाउँदै थिए । खुसी हुँदै थिए । 

आफूले अरु कुरा नबुझे पनि एउटा कुरो बुझें । त्यो थियो, ‘राजनीति भनेको अति नै सम्मान पाउने क्षेत्र हो । राजनीतिमा लाग्नेहरूलाई सबैले सम्मान गर्छन् । त्यसैले उनले पनि पछि गएर राजनीतिक  मार्गमा नै लाग्‍नुपर्ने दृष्टिकोण बनाए ।

उनी भन्छन्,  “मलाई राजनीतिमा लाग्‍न सुभाषचन्द्र बोसकै विचारले प्रेरित गरेको हो । त्यसपछि महात्मा गान्धीबाट पनि म प्रेरित भएँ । किनभने भारतमा नै पढ्दा मैले महात्मा गान्धीको भाषण सुनेको थिएँ ।”

बिहारको रिगा स्टेसन क्षेत्रमा आउने भारतीय नेताहरूको भाषणले भण्डारीलाई मोहित गर्दै लग्यो । त्यहाँका मानिस पनि अत्यन्तै मिलनसार थिए । 

भण्डारी भन्छन्, “हामी नरहाको स्कुलमा पढ्थ्यौं । पाँच छ वर्षको केटाकेटी उमेरको भएकाले मलाई त्यहाँका धेरै महिलाहरूले माया गर्थे । यसअर्थमा त्यसबेला मेरी एउटी मात्रै होइन कैयन आमा थिए । मेरी आमा त गौरमा हुनुहुन्थ्यो । तर, नरहाका महिलाहरूले मलाई आफ्ना छोराछोरीभन्दा पनि बढी माया दिएका थिए । तिनबाट पाएको मातृप्रेम आज पनि मेरो मानसपटलमा ताजा छ ।” 

बघनगामाको नरहामा दुई वर्ष पढेपछि कृष्णप्रसादका पिताजीले उनका दाजु र उनलाई बनारसमा पुर्‍याए । र त्यहीँको पाठशालामा भर्ना गरिदिए ।

भण्डारीको विचारमा बनारस भनेको आचार्यहरूको राज्य हो । त्यहाँ धेरै मानिस आचार्य थिए । तिनको आपसमा खुबै मेल थियो । उनका पिताजी पनि आचार्य नै भएकाले आचार्यहरूको इज्जत र प्रतिष्ठा कस्तो हुन्थ्यो भन्ने उनलाई थाहा थियो । यसले पनि उनको जीवनमा ठूलो असर पार्‍यो । उनको पढ्नु पर्छ भन्ने सोचाइलाई झनै बलियो बनाउँदै लग्यो ।

बनारसमा रहँदा नै उनी महात्मा गान्धीबाट प्रभाति भए । गान्धी बनारस आइरहन्थे । तिनको विचार पनि उनले बनारसमा रहँदा सुन्न पाएका थिए ।

बनारसमा रहँदा उनले जमशेदजी टाटाको जीवनी पढ्ने मौका पाए । टाटा बम्बईको एउटा होटल काम गर्थे । तर, उनी उद्यमी प्रवृत्तिको भएकाले उनले अनेक काम गर्दै गए । कुनै काममा घाटा लाग्यो । कतै फाइदा भयो । तर, उनले काम छोडेनन् । 

उनी भन्छन्, “आज टाटा ग्रुप कहाँ छ, हामी देख्‍न सक्छौं। हो, यो किताबले पनि मेरो जीवनमा धेरै उथलपुथल ल्यायो । मलाई स्वतन्त्र उद्यमी बनाउन त्यसको ठूलो योगदान छ । किनभने मलाई जीवन र जीवनका कर्मलाई बुझ्‍न त्यो किताबले सहयोग गरेको थियो । टाटाको जीवनीले नै मलाई खुसी र सुखी रहन सिकाएको हो ।”

यही पुस्तक पढेपछि उनलाई लाग्यो, जीवनमा आदर्शको महत्त्व त छ । तर, आदर्शले मात्रै पनि काम चल्दैन । धनले पनि इज्जत दिन्छ । टाटाको जीवनीले उनलाई उद्यममा लाग्न प्रेरित गर्‍यो । त्यसैले उनलाई नोकरीमा कहिल्यै चाहना नभएको बताउँछन् ।

उनका पिताजी संस्कृत विषयको ज्ञाता भएकाले घरमा संस्कृत पढ्ने घरायसी वातावरण थियो । तर, उनका पिताजीको संगत तुङ्गशमशेर सँग पनि भएकाले केटाकेटीलाई अंग्रेजी नै पढाउन पर्छ भन्ने उनका पिताजीको सोच रह्यो । 

त्यसैले बिहारमा हुँदा होस् वा बनारसमा रहँदा, उनी र उनका दाजु भाइले अंग्रेजी नै पढे । 

भण्डारी भन्छन्, “मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण स्थान पिताजीको नै रहेको छ । यता मेरो वकालत पेसालाई पूर्णता दिनमा मेरा ससुराको ठूलो देन छ । मेरो ससुराले वकालतका विषयमा सानासाना कुरा सिकाउनु भयो । अनि मेरो फूपाजुले पनि वकालतका विषयमा सहयोग मिलेको छ ।” 
०००
रौतहटमा रहँदा नै कृष्णप्रसाद भण्डारी २००७ सालको क्रान्तिमा  सहभागी भएका थिए । युवा जोश जाँगरका उनलाई क्रान्तिले आकर्षित गरेको थियो । त्यसबाहेक गान्धी र सुभाषचन्द्र बोसका भाषण सुनेका उनले त्यसबाट पनि अथाह प्रेरणा लिएका थिए ।

२००७ सालको क्रान्तिका लागि युद्धमा आवश्यक भएकाले उनका दाजुले पटना गएर केही हतियार बोकेर ल्याए । कृष्णप्रसादले स्टेनगन समाए । अनि होमिए आन्दोलनमा ।

२००७ सालको आन्दोलन सफल भयो । मुलुकमा प्रजातन्त्र आयो । उनीहरू फेरि पढाइ लेखाइतिर लागे । 

त्यसैबेला २००८ सालमा भारत सरकारलाई विदेशी मुद्राको आवश्यकता भएकाले उसले विदेशी मुद्राको सञ्चितिका लागि भारतीय कपडा विदेशमा पठाउन थाल्यो । भारतमा कपडाको अभाव भयो । यता नेपाल पनि विदेश नै भएकाले थानका थान कपडा नेपाल आउन थाल्यो । त्यसका लागि विराटनगर, वीरगन्ज, गौर र नेपालगन्जमा ठूलाठूला मण्डी (बजार) खोलिएका थिए ।

तर, त्यो कपडा स्मग्लिङ (तस्करी) गरेर फेरि भारत लग्थे व्यापारीहरू । ६ रुपैयाँमा भारतले नेपाललाई बेचेको कपडा फेरि भारतीय व्यापारीले १२ रुपैयाँमा किनेर लान्थे । नेपालीलाई पनि १२ रुपैयाँमा नै बेच्थे । 

काँग्रेस नेता गणेशमान सिंहको फिल्डवर्क एरिया बारा र रौतहटको दक्षिणी क्षेत्र नै थियो । त्यसैले उनी गौर आइरहन्थे । २००८ सालमा गौरमा गणेशमान सिंहलाई ठूलो सम्मान पनि गरे, गौरबासीले ।

त्यसैले पनि कपडा तस्करी रोक्न भनेर गणेशमान सिंहलाई आग्रह गरियो । उनी मन्त्री थिए । गणेशमान सिंहका माध्यमबाट त्यो कपडा गोदाम सिज गराइयो । कपडा तस्करी बन्द भयो । त्यसपछि व्यापारीहरूसँग सम्झौता भयो । तिनले वीरगञ्ज, विराटनगर र नेपालगञ्जमा सानासाना अस्पताल बनाइदिने कुरा भयो । कपडा काण्डले अस्पताल बन्यो, विभिन्न ठाउँमा ।

तर, आफूलाई सहयोग गर्ने गणेशमान सिंह धनीहरूतिर बढी लागेको महसुस गर्न थाले, भण्डारी र विष्णुबहादुर मानन्धरहरूले । त्यसैले गणेशमान सिंहलाई भेट्न विष्णुबहादुर मानन्धर काठमाडौं आए । तर, गणेशमानले वास्ता गरेनन् । 

कृष्णप्रसाद भण्डारी भन्छन्, “हो, यहीँबाट हामीलाई लाग्यो, अब काँग्रेसले गरिबका लागि काम गर्दैन । त्यसैले म र विष्णुबहादुरजी कम्युनिस्ट विचार तर्फ आकर्षित भयौँ ।”
२००९ सालमा रत्नमान मास्केलगायतले तमसुकपत्र जलाउने अभियान सुरु गरे । किसान आन्दोलनका नाममा त्यो काम हुन थाल्यो ।

त्यसबखत भण्डारी र मानन्धरले पनि अरूबाट भन्दा त्यो काम आफूबाटै थालनि गर्नु पर्छ भनेर पिताजीको आम्दानीको स्रोत तमसुक च्यात्ने काम गरे । उनका पिताजीको आम्दनीको स्रोत पनि महाजनी नै थियो । 

त्यसबेला उनका पिताजी, तुङ्ग शमशेर र मानबहादुर, सबैले बिना कुनै रोकतोक तमसुक फाडिदिएको उनी बताउँछन् । त्यसमा कुनै विरोध गरेनन् तिनले । किनभने, समय अनुसार हिँड्नु पर्छ भन्ने तिनलाई ज्ञान थियो । 

त्यसको असर गाउँलेहरूमा पर्‍यो । ‘अब सबै कम्युनिस्ट हुन्छन् । धन काम लाग्दैन । पढे भने मात्रै काम पाइन्छ । त्यो नै काम लाग्छ,’ भन्दै सबै केटाकेटीलाई पढाउनतिर लागे ।
तमसुक च्याते पछि घरको आम्दानी घट्यो । दाल भात खानलाई त गाह्रो थिएन, तर नगदको अभाव हुन थाल्यो ।

भण्डारीको राजनीतिक जीवन भने चल्दै थियो । उनी कम्युनिस्ट पार्टीको कामसँगै शिक्षाप्रति सबैलाई आकर्षित गराउन अग्रसर हुँदै गए ।

पछि कृष्णप्रसाद भण्डारीले कम्युनिस्ट पार्टी छोडे । पार्टी छोडे पनि कम्युनिस्टलाई सहयोग गर्न छोडेनन् । आफूले सक्नेसम्मका हरेक सहयोग गरिरहे ।

पछि २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (मानन्धर समूह) को सम्मेलन गौरमा हुँदा मात्रै उनी फेरि पार्टीमा लागे । 

त्यसभन्दा अगाडि भने उनले रसियन पुस्तकालयको सञ्चालनमा सहयोग गरेका थिए । उनले करिब ६ हजार विद्यार्थीलाई सोभियत संघमा पढ्न पठाएर सहयोग गरेका थिए । 

कृष्णप्रसाद भण्डारी अध्यक्ष भएपछि रसियन अधिकारी रेट्कोले सोधेका थिए, ‘तिमी के चाहन्छौ ?’ । ‘विद्यार्थीलाई पढाउन चाहन्छु, मैले भनेको थिएँ ।’ उनको त्यो भनाइले रसियन पनि उत्साहित भए र ती रसियनले सहयोग पनि अति नै गरे ।

यसरी रेट्को, भण्डारी र सोभियत संघमा रहेका कृष्णप्रकाश श्रेष्ठको सहयोगमा सोभियत संघमा गएर ६ हजारभन्दा बढी नेपाली विद्यार्थीले पढे । भण्डारी भन्छन्, “त्यसबेला राज्यले सहयोग गरिदिएको भए १५ औं हजार विद्यार्थीले सोभियत संघबाट पढ्ने थिए ।

उनका अनुसार त्यसबेला सूर्यबहादुर थापा र कीर्तिनिधि विष्टले पनि खुबै सहयोग गरेका थिए । 
०००
वकालतमा सक्रिय रहे पनि उनले राजनीति छाडेनन् । २०२८ सालमा उनी स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा माननीय पनि भए । त्यसबेला धेरै रापसहरूसँग उनको राम्रो सम्बन्ध थियो । समूह पनि राम्रै थियो । त्यसैबेला उनीहरूले इटुमबहालमा एउटा वृहत्त भेला गरे । जहाँबाट भण्डारीसहित सूर्यबहादुर थापा, रत्नप्रसाद, लोहनी लगायतलाई जेलमा हालियो । सूर्यबहादुर १४ महिनामा छुटे । भण्डारी भने १७ महिनामा छुटे ।

उनको वकालतले उनको राजनीतिलाई सधैँ सहयोग गरेको उनी बताउँछन् ।

प्रेमबहादुर र कृष्णप्रसाद भण्डारी वकालत गरिरहेका थिए । एक दिन प्रेमबहादुरसँग भण्डारीले भने ‘वकिलले पैसा मात्रै कमाउने होइन सहयोग पनि गर्नुपर्छ भन्ने भावना जागृत गराउनु पर्‍यो । समाजसेवा पनि गर्नुपर्छ वकिलले । वकिल भने पछि घृणा गर्ने होइन, वकालत पेसालाई पनि आदर्शवान तथा मर्यादित रूपमा विकसित गर्दै लैजानु पर्छ’ भन्दै सोही अनुरूपका कामहरु गर्दैै गए । 

उनीहरूले गरिबलाई न्याय देऊ भन्ने दृष्टिकोणबाट काम थाले । त्यसबेला गरिबलाई मद्दत गर्ने वकिल एकदमै कम थिए । त्योसँगै उनले धेरै वकिलहरू एउटै समूहमा बसेर काम गर्ने प्रचलनको थालनी गरे । त्यो समूहमा वरिष्ठ अधिवक्ताहरू वासुदेव ढुंगाना, कुसुम श्रेष्ठ र कृष्णप्रसाद भण्डारीहरू थिए । 

भण्डारीले नयाँ युवा वकिलहरूलाई गहन जिम्मेवारी दिएर वकालत सिकाउन थाले । 

भण्डारी भन्छन्, “हामी पैसा दिएर वकालत सिकाउँथ्यौं । ती नयाँ वकिललाई हामी भन्थ्यौं, तिमी एक्लै केही नगर । मसँग वा वासुदेवजी वा कुुसुमजीसँग सोधेर मात्रै काम गर । त्यसले गर्दा क्लाइन्टलाई पनि लाग्थ्यो, मेरो मुद्दा कृष्णप्रसाद, वासुदेव र कुुुसुमहरूले हेर्दैछन् । वास्तवमा एउटा वकिलको गुरु भनेको नै झगडिया हो । उसका यावत कुरा बुझ्‍न सक्नुपर्छ एउटा कुशल वकिले । त्यसलाई बुझेपछि मात्रै उसले मुद्दालाई सहजै ह्यान्डिल गर्न सक्छ ।”

त्यसपछि हाम्रा वकिलहरूमा पढेर-बुझेर वकालत गर्ने प्रचलनमा वृद्धि हुँदै गयो । त्यसपछिको समयमा वकिल पनि विद्वान् भए । न्यायाधीश पनि विद्वान् भए । २०२३/२४ सालमा जति पनि फैसला भएका छन्, ती सबै फैसलाले त्यो समयलाई न्यायको स्वर्णिम युग भन्ने अवस्थामा पुर्‍याएको छ ।’’ 

भण्डारीका अनुसार एक पटक प्रकाश वस्तीले एउटा लेख लेखेका थिए । जसमा उनले ‘२०२० सालदेखि २०२४ सालसम्म र त्यसपछि २०२८ सालसम्मको समयमा भएको फैसलाको तुलना गर्दै ०२४ सालपछि फैसलाको स्तर घट्दै गएको’ उल्लेख गरेका छन् । त्यसै कारण वस्तीलाई अदालतको अपमान गरेको भन्दै १० रुपैयाँ जरिवाना गरिएको थियो ।

वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, “त्यस अगाडि हाम्रो फैसला किन राम्रो भयो र ०२४ सालपछि फैसला किन खस्कँदै गयो ? यसको कारण हो : त्यसपछि न्यायाधीशहरूले पढ्न छोडे । सुन्न छोडे । जब न्यायाधीशहरूले पढ्न सुन्न छोडे, वकिलहरूले पनि छोडे । त्यसैले फैसलाको स्तर खस्कियो । वकिलहरूको पढेर बुझेर तर्क गर्ने बानी हरायो भने न्यायाधीहरूको सुन्ने बानीमा ह्रास आयो । त्यसको असर फैसलामा पर्नु स्वाभाविक थियो ।”

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार यो ४८ वर्षमा न्यायप्रणाली धेरै खस्किएर गएको छ । ०४७ पछि त झन धन महिमा बढेर गयो । जबकी पहिले विद्या महिमा हावी थियो । वकिल धनतिर लागे । त्यसको प्रभाव र डाहले न्यायाधीशलाई पनि आकर्षित गर्‍यो ।
०००
भण्डारीले हजारौं मुद्दामा काम गरे । धेरै मुद्दाले उनलाई धेरै कुरा सिकाएको छ । कुनै पनि मुद्दाबाट उनले आफूले मात्रै सिकेनन्, अपितु त्यस्ता मुद्दाबाट उनले नयाँ नयाँ वकिलहरूलाई पनि सिकाउने काम गरे । उनले नयाँ वकिललाई अप्ठेरो मुद्दा दिएर काम गर्न लगाउँथे । ठूलो मुद्दा दिएर त्यो बुझ्न र त्यसमा बहस गर्न लगाउँथे । 

उनी भन्छन्, “मैले जहिले ठूलो अपरेसन गर्न सिकाएँ । ठूलो अपरेसन गर्नेले सानो घाउ चिर्न समय नै लगाउँदैन । तर, सानो घाउको मात्रै अपरेसन गर्नेले ठूलो अपरेसन गर्ने आँट नै देखाउँदैन ।”

बीपी कोइरालाको मुद्दा पनि उनले हेरे । बीपीलाई अरू वकिलले आफूले केही नगरेको भनेर बोल्नुपर्ने बताएका थिए । तर, भण्डारीले त्यसमा सहमति जनाएनन् । युद्धमा अरूले काम गरे पनि लिडर भएको नाताले नेताले त्यसको दायित्व लिनै पर्छ । किनभने बीपी नेता थिए । काँग्रेसको अरू कसैले बन्दुक लियो भन्दैमा त्यो मानिसले ग‍र्‍यो भन्न मिल्दैन । बीपीले त्यसको सम्पूर्ण दायित्व आफूमा लिनै पर्छ र त्यही अनुसार बोल्नु पर्छ भने । र बीपीले पनि त्यही अनुसारको बयान दिए, जुन भण्डारीले भनेका थिए ।

यसरी आफ्नो अडानमा सदैव बस्ने भण्डारीले केही व्यक्तिलाई वकालत गर्न आफ्नो ल फर्ममा ल्याएको सम्झिए । तिनलाई सिकाएको सम्झिए । ती व्यक्ति आफ्नो क्षेत्रमा ठूलो मानिस पनि भए ।

उनको सम्झनामा सदैव तरोताजा रहने व्यक्ति हुन्, लवदेव भट्ट । उनले भट्टलाई वकालत सिकाए । निवेदन लेखनबाट प्रारम्भ भएको भट्टको यात्रा न्यायाधीशसम्म पुग्यो ।

लोकेन्द्रबहादुर चन्द पनि उनको सम्झनाका अर्का पात्र हुन् । उनी जागिर खान काठमाडौं आएका थिए । उनलाई पनि भण्डारीले ल फर्ममा ल्याएर काम सिकाउन थाले । त्यहाँ चन्दले देखे भण्डारीको ल फर्ममा त पाकेको आँप पो झर्दो रहेछ । त्यसपछि उनले नोकरी खाने विचार त्यागे । र वकालत नै गर्दै गए । त्यसपछि उनी राजनीतिमा लागे । अन्ततः मुलुककै प्रधानमन्त्री भए ।

अर्का हुन कृष्णप्रसाद पन्त । उनलाई पनि बनारसबाट बोलाएर उनले काममा लगाए । पछि उनी पनि कुशल वकिल भए । 

अर्का थिए, लक्ष्मण अर्याल । जसले ल फर्मबाटै आफूलाई माथि उठाउँदै लगे । उनी विद्यार्थीहरूलाई ट्युसन पढाउँथे । उनलाई भण्डारीले ल फर्ममा आएर काम गर्न भने । 

सुरुमा उनी यो पेसामा लाग्न चाहन्थेनन् । तर, जब ल फर्ममा आए, उनले पछाडि फर्केर हेरेनन् ।

कुराकानी गर्दैजाँदा पूर्व सभामुख सुभाष नेम्वाङको पनि नाम लिए भण्डारीले । 

वकालत गर्दै जाने क्रममा नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र जनकपुर चुरोट कारखानाको कानुनी सल्लाहकारको भूमिका पनि निर्वाह गरे । 

कुराकानीको बिट मार्दै राजनीतिमा पनि सक्रिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले अहिलेको राजनीतिका बारेमा आफ्नो धारणा यसरी राखे, “राजनीति गर्ने नेता राम्रो हुनुपर्छ । अनि मात्रै देश बन्छ । नेपालमा नेता नै छैनन् । सो कल्ड नेता छन्, ती पनि धेरै लोभी  छन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro