site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जसले फोन छुटाउन छोरालाई मंगोलियासम्म पुर्‍याए 

बीबीसी । आजकलका युवाको हातबाट फोन छुटाएर तिनलाई वास्तविकतामा ल्याउन सहज छैन ।  तर जेमी क्लार्कले छोरा आफूसँग बोलोस् भनेरै उनलाई मंगोलियासम्म पुर्याए ।  रोमाञ्चक यात्रामा जान मन पराउने जेमीले मंगोलियाका ग्रामीण क्षेत्र हुँदै मोटरबाइकमा एक नयाँ यात्रा तय गरे । 

एउटा उचाइमा पुगेपछि उनले त्यहाँको मनोरम दृश्य अवलोकन गर्न आफ्नो बाइक रोके । 

उनका लागि त्यही सुनसान समय भ्रमणको सबैभन्दा रमाइलो पक्ष थियो तर यसपटक उनी एक्लै नभएर सँगसँगै १८ वर्षीय छोराले पनि थिए जसलाई भने त्यो एक्लो अनुभवले उल्टै अशान्ति दिलाइरहेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी भन्छन्, “त्यो समय मेरा लागि वास्तवमै भयानक रह्यो । त्यसरी एक्लै सोचमा डुब्नु मेरो दिमागका लागि कदापी ठीक होइन ।”  तर यही कारणले नै बाबुछोराले सो यात्रामा सँगै जाने निर्णय गरेका थिए ।  क्लार्क लामो समयदेखिका पर्वतारोही र ट्रेकर हुन् तर उनलाई पछिल्लो समय छोरासँगको सम्बन्ध गुम्दै गएको आभास भइरहेको थयो । 

उनका अनुसार छोरा कोब घरमा जतिखेरै फोनमा हुन्थे । 

यसका लागि उनले आफैँलाई जिम्मेवार ठहर्याउँदै भने, “ऊ सानो छँदा मलाई मेरो ब्ल्याकबेरीमा ऊसँग गेम खेल्न धेरै रमाइलो लाग्थ्यो तर आज मलाई यसैसँग समस्या छ । त्यसैले आजका कुनैपनि बालबालिकालाई केही कुराको लत लागेको छ भने वास्तवमा त्यसको सुरुवात हामी अभिभावकले नै गराएका हौँ । हो मोबाइल फोन धेरै ‘कुल’ डिभाइस हो तर बिस्तारै हामीले त्यसलाई होइन तिनले हामीलाई नियन्त्रण गरिरहेको महसुस हुन थालेको छ ।”

केही वर्ष अगाडि क्लार्कले आफ्नो पचासौँ जन्मदिन मनाउन परिवारलाई एउटा बिकट स्कि लजमा लगेका थिए जहाँ कुनै वाइफाइ थिएन भने फोन सम्पर्क गर्न पनि मिल्दैनथ्यो । 

यसबारेमा छोरा कोबले बीबीसीसँग भने, “मैले आफ्नो जीवनमा त्यस किसिमको अनुभूति कहिल्यै गरेको थिइनँ जहाँ म एक हप्तासम्म बिना फोन बसेको हुँ । मेरा लागि त्यो धेरै अनौठो थियो ।” 

आफूलाई त्यस्तो ठाउँमा लगेकामा बाबुसँग रिसाएको उनले स्वीकार गरे । स्न्यापच्याट, इन्स्टाग्राम लगायत सामाजिक संजाल नभएपछि उनलाई आफ्ना साथीहरु के गर्दैछन् भन्नेबारे कुनै खबर भएन जसले नै उनलाई अधिक दुःखी बनाएको थियो । यसैपछि क्लार्कलाई प्रविधिले पारिवारिक जीवनमा कति ठूलो भूमिका खेलिरहेको छ भन्ने महसुस गरायो जसलाई सुधार्ने उपाय पनि उनले पत्ता लगाए । 

उनले धेरै समय अगाडिदेखि बाइकमा चढेर मंगोलियाको यात्रा गर्ने सपना देखेका थिए ।  यस्तोमा छोरा पनि उचित उमेरमा पुगिसकेको हुँदा उनले यही अवसरको उपयोग गरेका हुन् ।  एकवर्ष अगाडि उनले कोबसँग यसबारेमा कुरा राखे जसलाई आफूले पहिलोपटकमा सहजै अस्वीकार गरिदिएको कोब बताउँछन् । 

तर अर्कोतर्फ सो भ्रमण उत्साहजनक रहने कुराले उनलाई हौसला पनि दिइरहेको थियो ।  यात्राको पूर्वतयारी अन्र्तगत कोबले मोटरसाइकलको लाइन्सेन्स निकाले । 

उनका बुवा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् तर कोबले कहिल्यै कुनै पर्वत नचढेको हुँदा उनले धेरै अभ्यास गर्नुपर्यो । त्यसपछि उनीहरु दुवै मिेलर मंगोलियामा २,२२० किलोमिटरको बाटो मोटरबाइक, घोडा र ऊँटमा यात्रा गरे । 

त्यो भ्रमण इन्स्टाग्रामा पोस्ट गर्नका लागि अति उपयुक्त भएपनि उनीहरुले नफर्किएसम्म कतै कुनै तस्बिर नराख्ने निर्णय गरेका थिए । 

कोबका अनुसार फोनबाट टाढा रहनु वास्तवमै ठूलो चुनोति थियो । उनी भन्छन्, “त्यहाँ मैले धेरै समय फोन र इन्टरनेटको यादमै बिताएँ । मलाई सबैकुरा अल्छिलाग्दो भइरहेको थियो र घरमा भएको भए म युट्युब वा नेट्फ्लिक्स हेरिसक्थ्येँ ।” 

तर अर्कोतर्फ बुवासँग समय बिताउन पाउँदा उनीबारे धेरैकुरा थाहा पाउने मौका मिलेकाप्रति चाहिँ आफू खुसी भएको बताए । 

धेरै दिनसम्म एकसाथ पकाएर सँगै सुतेर बस्नुले उनीहरुबीचको सम्बन्ध गहिरिएको उनले बताए । 

उनी भन्छन्, “मलाई अचम्म लाग्यो कि परिवार र कामको वातावरणबाट टाढा रहँदा बुवा मेरो उमेरजस्तै व्यवहार गर्नुहुने रहेछ ।” 

त्यस्तै क्लार्कले पनि छोराको सोच ठूलो मान्छेको जस्तो भइसकेकाप्रति आश्चर्य जनाए । 

उनी भन्छन्, “मैलो कोबलाई त्यो बच्चाका रुपमा देख्दै आएको थिएँ जसले हरेक समय आफ्नो सामान टेबलमै छाड्थ्यो भने खाइसकेपछि भाँडा नपखालि हिँड्थ्यो । तर दबाबमा आउँदा ऊ पनि सबै कुरा गर्न सक्षम रहेछ भन्ने मैले थाहा पाएँ ।”

मिडिया र प्रविधिबारे अभिभावकहरुलाई शिक्षा दिने गैरलाभकारी संस्था कमन सेन्स मिडियाकी प्यारेन्टिङ एडिटर केरोलिन नोर भन्छिन्, “हामीले छोराछोरीसँगको सम्बन्धमा सुधार ल्याउन यसरी विश्वको दोस्रो कुनामै पुग्नुपर्छ भन्ने छैन । यसका लागि अभिभावकहरुले ‘स्क्रिन–फ्रि’ समय निर्धारित गरिदिँदा हुन्छ । जस्तै विशेषगरी चाडपर्व वा बिदामा एउटा निर्धारित समयमा घरभरि मोबाइल लगायत कुनै डिभाइस नचलाउने नियम बनाउन सकिन्छ ।” 

उनका अनुसार मोबाइल चलाउनुको सट्टा छोराछोरीसँग पैदल यात्रामा जाने, गफ गर्ने वा कुनै खेल खेलेर रमाइलो गर्न सकिन्छ । 

उनले फेरि भनिन्, “मान्छे भएको नाताले पारिवारिक सम्बन्धको महत्व बुझाउन अभिभावक र छोराछोरीबीच प्रत्यक्ष कुराकानी अतिआवश्यक छ । तर कतिपय अवस्थामा अभिभावकले आफ्नो बच्चाको व्यवहारका लागि प्रविधिलाई मात्र दोष लगाइरहेका हुन्छन् जबकी यसमा उनीहरुको उमेर र शारीरिक विकासका कारण त्यस्ता बदलाव आइरहेको हुन सक्छ । विशेषगरी किशोरावस्थामा बालबालिकाहरु पारिवारिक गतिविधिमा कम रुची राख्नु स्वभाविक हो र त्यो उनीहरुको वृद्धिविकासको प्राकृतिक चरण हो । त्यतिबेला उनीहरुको लगाव टिकटक, स्न्यापच्याटलगायतमा बढी हुन सक्छ ।”

यसरी मोबाइल फोन बिनाको लामो रोमाञ्चक यात्राबाट फर्किसकेपछि कोबले प्रविधिको महत्व बुझेको पनि बताएका हुन् र वास्तवमै आफूले त्यसमा कति धेरै समय व्यतित गर्ने गरेको पनि महसुस गरेका छन् । 

उनी भन्छन्, “मोबाइल फोन र हामीबीच को कसको नियन्त्रणमा छ भन्नेमा सधैँ स्पष्ट रहनुपर्ने रहेछ ।”  

कोबका अनुसार उनी सोसल मिडियालाई अब ‘गर्नैपर्ने कुरा’ नभएर ‘आफूलाई मनलाग्दा मात्र चलाउने कुरा’ मा परिणत गर्न चाहन्छन् । 

उनी भन्छन्, “जस्तै हामी कुनै सामुहिक भेलामा छौँ भने हामीले सामाजिक अन्तक्र्रियाको समय निकाल्नुपर्छ । तर हिजोआज सबै फोनमै व्यस्त हुन्छन् । मैले त्यही बानी परिवर्तन गर्नुछ ।” 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:००
प्रतिक्रिया दिनुहोस्