
नयाँ दिल्ली । गुजरातको अहमदावादमा भारतीय राष्ट्रिय कांग्रेस निकट राष्ट्रिय विद्यार्थी संगठन (एनएसयू) र राष्ट्रिय स्वयंसेवक संघ निकट अखिल भारतीय विद्यार्थी परिषद् (एबीबीपी) का विद्यार्थीबीच हिंसात्मक झडप भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार झडपमा १० जना घाइते भएका छन् । एनएसयूका कार्यकर्ताहरु मंगलबार अहमदावाको पनाडी इलाकामा एबीबीपीको कार्यालयबाहिर आइतबार बेलुका नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको हिंसात्मक आक्रमणको विरोध गरिरहेका थिए । सोही क्रममा एबीबीपीका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको एनएसयूको आरोप छ ।
झडप सुरु हुनेबित्तिकै प्रहरी पुगेपछि स्थिति सामान्य बनेको थियो । गुजरात एनएसयूका महासचिव निखिल सवानीको टाउकोमा चोट लागेको छ । उनलाई अस्पताल भर्ना गरिएको छ ।
एनएसयूले आफूमाथि भएको आक्रमणको छानबिन उच्चस्तरीय समिति गठनको माग गरेका छन् । एबीबीपीले पनि एनएसयूको कार्यालयमा तोडफोड गरेको आरोप लगाएको छ ।
आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा एबीबीपीका विद्यार्थीहरुले हिंसात्मक हमला गरेका थिए । बीबीसी