
नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले आफूहरुको पालामा जवाहरलाल नेहरु विश्वविद्यालयमा टुक्रे ग्याङ नभएको बताएका छन् ।
जेएनयुमा गएको आइतबार साँझ भएको हिंसाका सम्बन्धमा टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् । उनले पनि जेएनयुमा नै पढेका थिए ।
आइतबार सो घटना हुनासाथै उनले ट्विटमार्फत घटनाको निन्दा गरेकोमा सोमबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै जय शंकरले भनेका थिए,“म यहाँहरुलाई जरुर यो कुरा बताउन सक्छु कि जब म त्यहाँ अध्ययन गर्थे त्यतिबेला जेएनयुमा टुक्रे ग्याङ हुँदैनथे ।”
आजको दैनिक जागरण अखबारले जनाए अनुसार दक्षिण पन्थी पार्टीले बाम विचारवाला नेतालाई ‘टुक्रे–टुक्रे ग्याङ’ भन्दै निशाना लगाउने गर्दछन् ।
जेएनयुमा २०१६को एक कार्यक्रमका क्रममा यो नारा लागेको थियो । दिल्ली प्रहरीले यो मामिलामा छात्र संघ अध्यक्ष कन्हैया कुमारलाई गिरफतार गरेकोमा अहिले सम्म सो प्रकरणमा कुनै प्रगति भने भएको छैन ।
भारतीय विदेशमन्त्रीले सो कार्यक्रममा बोल्दै भारतले महत्वपूर्ण मुद्धालाई सुल्झाउनका लागि धेरै समय लिने गरेको समेत बताएका छन् ।
उनले भनेका छन्,“नागरिकता सम्बन्धी मुद्धा ५० वर्षदेखि,धारा ३७०को मुद्धा अस्थायी थियो तर हामीले त्यसलाई सुल्झाउन ७० वर्ष लगायौं, राम मन्दिरको समश्या सुल्झाउन १५० वर्ष लगायौं । मुद्धालाई लामो समय राख्ने हाम्रो बानी भएको छ । समाजमा यो मानसिकता जब सम्म रहन्छ तब सम्म हामी अघि बढ्न सक्दैनौं ।”