site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जेएनयूको हिंसात्मक हमलामा आरएसएस कार्यकर्ताको संलग्‍नता !

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला गर्ने राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको खुलेको छ । 

भारतीय सञ्‍चारमाध्यम स्क्रोल डटकमका अनुसार ह्वाट्सअप म्यासेजका आधारमा उक्त हमलामा संलग्‍न व्यक्तिहरु राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्का कार्यकर्ता भएको जनाएको छ । 

आइतबार साँझ आक्रमण गर्नुअघि ह्वाट्सअप ग्रुप म्यासेजमा उनीहरुले आक्रमणका बारेमा छलफल गरेका थिए । छलफलमा एक सहभागीले भनेका थिए, ‘सालो को होस्टेल मे घुस के तोडो’ (होस्टेलमा प्रवेश गर्दै उनीहरुलाई कुट्‍नुपर्छ) । जवाफमा अर्काले भनेका थिए, ‘वास्तवकै, यो समाधान गर्ने समय हो । यदि हामीले अहिले पिटेनौं भने कहिले रु कम्युनिस्टहरुले भ्रम फैलाएका छन् ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त संवाद अगावै केही नकाबधारीहरु रडसहित विश्वविद्यालयको होस्टलमा प्रवेश गरिसकेका थिए । भिडियो फुटेज अनुसार उनीहरुले त्यहाँका विद्यार्थीहरुमाथि हिंसात्मक आक्रमण गरेका थिए । 

उक्त आक्रमण भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको वैचारिक अभिभावक राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदले गरेको खुलेको छ । तर, परिषद्ले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्‍नता नभएको बताउँदै आरोप अस्वीकार गरेको छ । 

स्‍क्रोल डटकमले प्राप्त गरेका ह्वाट्सअप म्यासेजलाई पछ्याउँदै गर्दा उक्त म्यासेजमा ‘जेएनयूनाइट्स फर मोदी’ (मोदीका लागि जेएनयूमा एकता) अभियानका सदस्य रहेका सुरभ दुबे भएको पत्ता लगाएको छ । 

‘फ्रेन्ड्स अफ आरएसएस’ नाम दिइएको उक्त ह्वाट्सअप ग्रुपमा आइतबार बेलुका ५ : ३९ बजे वामपन्थी आतंकविरुद्ध समूहमा आबद्ध हुन आग्रह गरिएको थियो । यससँगै ‘उनीहरुलाई चुप लगाउन पिट्‍नुको विकल्प नभएको’ म्यासेजमा लेखिएको छ । 

गैर आरएसएर र गैर एबीभीपीका कार्यकर्ता पनि उक्त समूहमा जोडिएपछि उक्त ह्वाट्सअप म्यासेजहरु सार्वजनिक भएका थिए । आक्रमण भइसकेपछि राति ८ : ४१ बजे उक्त समूहमा गैर आरएसएसका कार्यकर्ता पनि जोडिएकोले लिंक साझा नगर्न अन्य साथीहरुलाई आग्रह गरिएको थियो । 

प्रत्यक्षदर्शीका अनुसार जेएनयु क्याम्पसमा ५० भन्दा बढी मानिस छिरेका थिए । उनीहरुले लाठी बोकेका थिए । अधिकांशले आफ्नो अनुहारमा कपडा बाँधेका थिए । क्याम्पसमा छिर्ना साथै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेका थिए । 

आक्रमणमा थुप्रै छात्र घाइते भएका छन् । दिल्ली सरकारले जेएनयू क्याम्पसमा घाइते भएका छात्रलाई उपचारको लागि लैजान ७ वटा एम्बुलेन्स पठाएको थियो । दिल्ली प्रहरीले जेएनयुको मुख्य गेटमा भारी मात्रामा प्रहरी तैनाथ गरेको छ । जेएनयुको गेट र बाहिर सो घटनालाई लिएर विरोध प्रदर्शन भइरहेको छ भने देशभर उक्त घटनाको निन्दा गरिएको छ । 

भारतीय राष्ट्रिय कांग्रेसले सत्तारुढले विश्वविद्यालयमा आतंक  फैलाएको आरोप लगाएको छ । सम्भावित घटना हुन नदिन विश्वविद्यालय परिषरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्क्रोल

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्