
नयाँ दिल्ली । भारतको गुजरात प्रहरी अन्तर्गतको आतंकवादविरुद्धको टोली (एटीएस) र भारतीय कोस्ट गार्ड (आईसीजी) को संयुक्त अप्रेसनका क्रममा १७५ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषधसहित पाँचजना पाकिस्तानी पक्राउ परेका छन् ।
उनीहरुलाई गुजरातको पूर्वी सामुद्रिक तटीय क्षेत्रबाट नियन्त्रणमा लिएको जनाइएको छ । अवैध लागुऔषध हेरोइन तस्करी हुन लागेको भन्ने सूचनाका आधारमा आतंकवादविरुद्धको टोली उनीहरुको खोजी कार्यमा जुटेको थियो । उक्त हेरोइन पाकिस्तानी माछा मार्ने डुंगाबाट भारततर्फ पठाइएको जनाइएको छ ।
पाकिस्तानी डुंगा जामजाममा ल्याएका ३५ केजी बराबरका ३५ प्याकेट प्रतिबन्धित हेरोइन उनीहरुको साथबाट बरामद गरिएको हो । उक्त लागुऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १७५ करोड भारतीय रुपैयाँ बराबरको रहेको एटीसीले जानकारी दिएको डिएनए इण्डियाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ३० वर्षीय अनिस इशा भाटी, ५० वर्षीय इमाइल मोहम्मद कच्ची, ४२ वर्षीय असरफ उसमान कुट्ची, ३७ वर्षीय करीम अब्दुल कुट्ची र ५५ वर्षीय अबुबाकर असरफ सुम्रा रहेका छन् । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । - डीएनए इण्डिया