
बगदाद । इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई मुलुक छोडेर जान आग्रह गरेको छ । इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा मृत्यु भएपछि इराकको संसदले यो प्रस्ताव पारित गरेको हो ।
बिहीबार राति सुलेमानी मारिएका थिए । इराकमा अहिले अमेरिकाका ५ हजार सेना रहेका छन् । संसदले सरकारलाई विदेशी सेनालाई इराकको जमिन, हवाई क्षेत्र र जलक्षेत्र प्रयोगमा रोक लगाउनसमेत आग्रह गरेको छ ।
इराकको संसदले सरकारलाई अमेरिकी सेनासँग कुनै खाले मद्धत नलिनसमेत आग्रह गरेको छ । इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्दो चाँडो इराकबाट विदेशी सेनालाई हटाउनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीले आन्तरिक तथा बाह्य अप्ठेरो भए पनि इराकले समस्याको समाधान आफैं गर्नेसमेत बताएका छन् । इराकका प्रधानमन्त्रीले इरानी सैन्य कमान्डरलाई मार्नु भनेको राजनीतिक हत्या भएको उल्लेख गरेका छन् ।
इराकी संसदले प्रस्ताव पारित गरे पनि सो प्रस्ताव बाध्यकारी नभएको जनाइएको छ ।
अमेरिकी सैनिकको उपस्थितिमा यो प्रस्तावले कुनै असर गर्ने छैन । यदि विदेशी सैनिक इराकबाट बाहिर लैजाने हो भने संसदले विधेयक पास गर्नुपर्ने जनाइएको छ । त्यसले मात्रै अमेरिकासँगको सम्झौतालाई निस्तेज गर्न सक्नेछ । अमेरिकाले भने सो प्रसंगमा टिप्पणी गर्दै पुनर्विचार गर्न आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गान ओर्टागसले एक वक्तव्य जारी गरी पुनर्विचारको लागि आग्रह गरेका हुन् ।
यसैबीच इरानका सूचना तथा टेलिकम्युनिकेसन मन्त्री मोहम्मद जाभेद अजारी जाहरोमीले ट्विट गर्दै आइएसआइएस, हिटलर, गेन्घीजलगायतले संस्कृतिलाई घृणा गरेको चर्चा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प पनि ‘सुट लगाउने आतंककारी’ भएको आरोप लगाएका छन् ।
ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकी निशानामा रहेको जनाएपछि त्यसको जवाफ दिने क्रममा इरानका सूचना मन्त्रीले सो कुरा बताएका हुन् । (बीबीसी र रोयटर्सबाट)