
बगदाद । इराकको राजधानी बगदादसमेत कैयौं इलाकामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ ।
अमेरिकी दूतावासको नजिक ग्रीन जोन, बगदादको नजिक जदरिया र अमेरिकी सुरक्षा बल रहेको बलाद एयरबेसमा यस खालको आक्रमण भएको हो ।
सेनाका अनुसार यो आक्रमणमा कसैको पनि मृत्यु भने भएको छैन ।
इरान समर्थित मिलिसिया लडाकुले केही सातायता यस्ता आक्रमण गरेका थिए ।
तर नेपाली समयअनुसार शुक्रबार बिहान अमेरिकी आक्रमणमा इरानका फोर्स कमान्डर कासम सुलेमानीको मृत्युपछि तनाव बढ्दै गइरहेको छ ।
अमेरिकाले गरेको हवाइ हमलामा बगदाद इन्टरनेसनल विमानस्थलमा सुलेमानीको मृत्यु भएको थियो ।
उनी मुश्लिम समर्थितहरुबीच निकै चर्चित थिए । उनी इरानमा रक स्टारजत्तिकै चर्चित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
शनिबार इराकमा भएको प्रदर्शनमा ‘डेथ टु अमेरिका’ भन्ने नारा पनि लगाइएको थियो । उनीहरुले जनरल सुलेइमानी र इरानका सर्वोच्च नेता आयोतल्लाह अली खमेनीको तस्बिर पनि प्रदर्शन गरेका थिए ।
इराकको कताइब हिजबुल्लाह समूहले पछिल्लोपटक एक वक्तव्य जारी गरेर इराकी सेनालाई अमेरिकी बेसबाट आइतबार (आज) साँझसम्ममा १ हजार मिटरपछि हट्न आग्रह गरेको छ ।
बदला लिने धम्की दिइएपछि उता अमेरिकाले भने करिब ३ हजार सेना मध्यपूर्व पठाइसकेको जनाइएको छ ।
इराकी प्रहरीले जदरियामा मिसाइल आक्रमणबाट ५ जना घाइते भएको जनाएको छ । यसबाहेक थप नोक्सानी भएको बारेमा केही पनि बताएको छैन ।
उता समाचार एजेन्सी रोयटर्सले इराकी सेनाको हवाला दिँदै पछिल्लो रकेट आक्रमणमा कसैको पनि मृत्यु नभएको जनाएको छ । थप जानकारी भने प्राप्त भइनसकेको सेनाले उल्लेख गरेको बीबीसीले जनाएको छ ।
शुक्रबार बिहान बगदाद विमानस्थलको नजिक भएको अमेरिकी आक्रणमा इरानका सैन्य कमान्डर जनरल सुलेमानीसमेत इरानको समर्थनमा रहेको कताइब हिज्बुल्लाह समूहका कमान्डर अबु महदी अल मुहांदिसको पनि हत्या भएको थियो ।
सुलेमानी इरानको बहुचर्चित कुड्स फोर्सका प्रमुख थिए । यो फोर्स इरानद्वारा विदेशमा भइरहेको सैन्य अपरेसनमा संलग्न रहेको बताइँदै आएको छ ।
शनिबार इरानका सैन्य कमान्डरको निधनमा शोक मनाउन इराकको राजधानी बगदादमा ठूलो जनसमूह सडकमा ओर्लेको थियो ।
विशाल शोक सभापछि उनको शव इरान पठाउने कार्यक्रम थियो । सुलेमानीको गृह जिल्ला केरमान (केन्द्रीय इरान)मा नमाज पढेपछि उनको शव दफन गरिनेछ ।
यो आक्रमणपछि इरानले उपयुक्त समयमा उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई इराक छोड्न यसअघि नै आग्रह गरिसकेको छ । उता बेलायतले पनि ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई इराक नजान भनेको छ ।
इरानका ५२ स्थान निशानामा
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले अमेरिकी अखडामा आक्रमण गरेको अवस्थामा इरानका ५२ स्थानमा अमेरिकाले धेरै छिटो र धेरै कडा निशाना बनाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ट्विट गर्दै यो चेतावनी दिएका हुन् ।
उनले इरानका ती ५२ स्थान निकै उच्च तहका र इरान तथा इरानी संस्कृतिको लागि निकै महत्वपूर्ण रहेको समेत उल्ल्ोख गरेका छन् ।
ट्रम्पले अमेरिकाले थप धम्की नचाहेको समेत उल्लेख गरेका छन् । ट्रम्पले ५२ स्थान सन् १९७९ यता बन्धक बनाइएका ५२ अमेरिकीलाई प्रतिनिधित्व गर्ने समेत जनाएका छन् ।
(बीबीसी तथा अन्य एजेन्सीको सहयोगमा)