
एजेन्सी । विश्वव्यापी प्रभुत्व हासिल गर्ने लडाइँमा अहिले सबैको आँखा अमेरिका र चीनमाथि छ । प्रतिस्पर्धाको नयाँ दशक सुरु हुँदा वासिङ्टनले व्यापारिकदेखि सैन्य र कूटनीतिक विषयमा समेत बेइजिङ विरुद्धका कदममा जोड दिइरहेको छ ।
यसरी यी दुई मुलुकबीच चलिरहेको तनावले २० औँ शताब्दीमा अमेरिका र सोभियत युनियनबीचको ५० वर्ष लामो शीतयुद्धको याद दिलाउँछ ।
तर यो शीतयुद्धमा सीमित नरहन पनि सक्छ भने यहाँ चीनलाई, सोभियत युनियनको संज्ञा दिन सकिँदैन ।
१९९१ मा सोभियत युनियनको पतन भएको यतिका समय बितिसक्दा चीन अहिले आर्थिक रुपमा अत्यन्तै सम्पन्नशाली र स्थिर मुलुकका रुपमा रहेको छ भने यस शक्तिशाली कम्युनिस्ट शासनले विश्वव्यापी रुपमा आफ्नो प्रभाव फैलाइसकेको छ ।
यतिमात्र नभएर २०३० सम्ममा चीनले आर्थिक रुपमा अमेरिकालाई समेत पछि पार्ने विश्वविद्हरुको अनुमान छ । उतिबेला सोभियत युनियनको अर्थतन्त्र पूर्णरुपमा सेनामा केन्द्रित थियो तर चीनले भने त्यसको विपरीत ढाँचा अपनाएको छ ।
चीनले सोभियतको तुलनामा सैन्य गतिविधिमा धेरै कम खर्च गरिरहेको छ भने त्यसको वृद्धि र आधुनिकीकरणमा चाहिँ विशेष जोड दिइरहेको छ । १९८९ मा सोभियत सरकारको पतन हुनु अगाडि त्यसले राष्ट्रिय बजेटको १५ प्रतिशत रकम सेनामा खर्च गर्ने गरेको पाइएको थियो ।
नतिजास्वरुप २०१९ मा चीन आर्थिक हिसाबले सोभियत युनियन भन्दा धेरै गुणा शक्तिशाली छ । शीतयुद्धको समयमा सोभियतको अर्थतन्त्र जापानको भन्दा सानो थियो ।
त्यस्तै सैन्य शक्तिको कुरा गर्नुपर्दा सोभियत युनियन धेरै ठूलो स्तरमा फैलिएको थियो जस्तै १९८० को दशकमा विश्वका सबै प्रमुख क्षेत्रमा दशौँ हजार सेना र हतियार खटाइएको अमेरिकी सरकारको रिपोर्टमा उल्लेख छ ।
तर चीनले आफ्नो सेनाको उपस्थिति एसिया बाहिर पुर्याउनमा कुनै रुची देखाएको छैन । पछिल्ला केही वर्षहरुमा कूटनीतिक र आर्थिक पहुँच बढाएपछि चिनियाँ सेनाले अफ्रिकामा मात्र एउटा अन्तर्राष्ट्रिय बेस खोलेको हो । तर चिनियाँ सेना एसियामा चाहिँ अधिक हावि र आक्रामक शैलीमा देखा पर्दै आएको छ ।
जसकारण अमेरिकाले दक्षिण चिनियाँ समुद्रमा चीनको तिव्र सैन्य विकासको विरोध गर्दै आएको छ ।
यसैबीच २०१७ मा अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरक्षात्मक प्रणाली, ‘ठाड’ स्थापना गरेको थियो जसकारण सिओल र बेइजिङबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन । यसरी सोभियत युनियन सबैभन्दा उच्च बिन्दुमा रहँदा अमेरिकाको ४,७०० को तुलनामा ऊसँग ४० हजार बढी आणविक हतियार थिए ।
तर चीनको आणविक हतियारको सङ्ख्या केबल २८० मात्र रहेको अनुमान छ ।
तर पनि आणविक विषयमा विश्वव्यापी रुपमा पुनः नयाँ विवाद सुरु हुने अधिक सम्भावना रहेको छ । किनकि गत अगस्टमा मात्र अमेरिका रुससँगको आईएनएफ सम्झौताबाट बाहिरिएको हो जसले जमिनमा आधारित आणविक मिसाइलको विकास सीमित गराउँदै आएको थियो ।
यसपछि अमेरिकाले रुस र चीन दुवैलाई नयाँ सम्झौतामा सहभागी हुन आग्रह गर्यो तर चीनले सो प्रस्ताव अस्वीकार गरेको हो । शीतयुद्धको समयमा मस्काउ र वासिङटनले व्यापारिक नीतिमा पनि एकअर्कासँग लगातार प्रतिस्पर्धा गर्ने गरेका थिए ।
तर आधुनिक ग्लोबल अर्थतन्त्रमा अवस्था धेरै फरक भइसकेको छ ।
अहिले दर्जनौँ राष्ट्रका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ जसमा अमेरिकासहित अष्ट्रेलिया, जापान र न्युजिल्यान्ड पनि पर्छन् । यस्तोमा कुनै पनि राष्ट्र सुरक्षा र सैन्य क्षेत्रमा अमेरिकाको मित्रराष्ट्र भए पनि त्यससँगै व्यापारिक साझेदारीको विषयमा भने चीनलाई नै सबैभन्दा महत्वपूर्ण मान्न सक्छ ।
यसैले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि चीनबाट व्यापारिक घाटा बेहोर्नुपरेको आरोप लगाउँदै आएका छन् ।
आफ्ना कम्पनीका लागि चीनले अन्यायपूर्ण नीति अपनाएर नोक्सान पुर्याएको अमेरिकाको भनाइ छ । यसबीच बेइजिङ र वासिङटनले २०१८ देखि नै व्यापारिक युद्ध सुरु गरेका हुन् जसमा चीनबाट आयातित अरबौँ डलरका सामग्रीमा अमेरिकाले अतिरिक्त कर बढाएको छ ।
सोभियत–अमेरिका शीतयुद्धका समयमा दुवै राष्ट्र कम आत्मनिर्भर अवस्थामा थिए तर अहिले चीनसँगको व्यापारिक युद्ध लामो समय जारी रहेमा अमेरिकाले पनि उत्तिकै घाटा बेहोर्नुपर्ने हुन्छ । यसैगरी त्यो समयमा अमेरिकाले सीधै सोभियत युनियन विश्वका लागि खतरा भएको तर्क गर्न सक्थ्यो तर बेइजिङमाथि सो तरिका अपनाउन सहज हुने छैन ।
अहिले नै धेरै राष्ट्रहरुले चीनको राजनीतिक हस्तक्षेपबिनाको आर्थिक सहयोगको प्रस्ताव आकर्षक मानिरहेका छन् । यसरी कुनै समय युरोपमा अमेरिकाको भूमिका मात्र सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो भने हाल चीनको उपस्थितिलाई पनि उत्तिकै महत्वसाथ हेरिएको छ ।
सोभियत युनियनले यस किसिमले कहिल्यै प्रभाव पार्न सकेको थिएन ।
यता अमेरिका र चीनबीच अन्तरिक्ष उपलब्धीको लडाईँ पनि जारी छ । दुवै देश अहिले चन्द्रमामा पहिलो मानव अवतरण गराउने सम्बन्धी प्रतिस्पर्धा गरिरहेका छन् । यसबीच दुवैको रेकर्ड हेर्दा पछिल्लो समय अन्तरिक्ष क्षेत्रमा चीनको सक्रियता र उपलब्धी धेरै देखिन्छ । कुनै समय अमेरिकी अन्तरिक्षयात्रीहरु चन्द्रमामा पाइला टेकिसक्दा पनि चीनले कुनै स्याटलाइट लन्च गरेको थिएन ।
तर अहिले यही दौडमा चीनले अमेरिकालाई पछि पार्ने संकेत देखाएको छ । त्यस्तै प्राविधिक क्षेत्रमा पनि चीनले अग्र स्थान लिन थालिसकेको छ । यसबीच अमेरिकाले चीनको सबैभन्दा महत्वकांक्षी परियोजना मानिएको फाईभजी नेटवर्क प्रयोग नगर्न थुप्रै मित्रराष्ट्रहरुलाई दबाब दिइरहेको छ । यता हुवावेमाथि पनि राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको आरोप लगाइएको हो तर अमेरिकाले बिना प्रमाण कम्पनीको नाम खराब गरिरहेको हुवावेको आरोप छ ।
तर लामो शीत युद्धको परिणाम स्वरुप अमेरिकाले दशौँ हजार नागरिक गुमाउनु परेको थियो भने राष्ट्रिय नीतिमा ठुल्ठुला परिवर्तन ल्याउनुपरेको थियो । जसकारण पनि अमेरिका सजिलै शीत युद्धमा संलग्न भइ पुरानो गलती दोहोर्याउन नचाहने सीआइए विश्लेषक पिटर म्याटिस बताउँछन् । उनी भन्छन्, “यसको सम्भावना अधिक छ तर त्यसवापत हामी कतिसम्मको मूल्य चुकाउन तयार छौँ, त्यो पनि हेर्नुपर्छ ।” सिएनएनबाट