
एजेन्सी । विश्वव्यापी रुपमा सञ्चालित ‘मीटू’ अभियान महिलाहरुको पक्षमा चालिएको हालसम्मकै ठूलो कदम भएपनि यसका केही अनपेक्षित परिणामले दिन प्रति दिन खराब रुप लिँदै गइरहेका छन् । केही समय अगाडि मात्र विश्वभर कार्यस्थलका पुरुषहरु महिला कर्मचारीसँग आमनेसामने एक्लै कुरा गर्नमा हिचकिचाइरहेको खबर आएको थियो जसले कामदारहरुबीच अन्र्तक्रियाको वातावरण नै भङ्ग गरिदिएको बताइएको थियो । यसबीच हालैको अर्को अनुसन्धानमा, महिला नियुक्ति पनि मीटूका कारण नराम्ररी प्रभावित भइरहेको पाइएको हो ।
विशेषगरी पुरुषहरुसँग बोल्नुपर्ने किसिमका काममा रोजगारदाताले महिलालाई राख्न नचाहेको अनुसन्धानले देखाएको छ । अध्ययनमा २१ प्रतिशत पुरुष र १२ प्रतिशत महिला कामदाताहरुले व्यक्तिगत रुपमा पुरुषसँग पारस्परिक सहकारिता जनाउनु पर्ने किसिमको कामका लागि महिलालाई नियुक्त गर्न अनिच्छुक रहेको बताएका हुन् । यति मात्र नभएर पाँच मध्ये एक पुरुष आकर्षक महिलासँग काम गर्नै नचाहेको पनि पाइएको छ । जर्नल ‘अर्गनाइजेसनल डाइनामिक्स’ मा चाँडै प्रकाशित हुने यी तथ्याङ्कले मीटू अभियानपछिका केही व्यवहारिक परिवर्तनहरुतर्फ सबैको ध्यानाकर्षण गराउने बताइएको छ ।
तर वास्तवमा कार्यस्थलमा सहज वातावरण सिर्जना गर्न महिलाहरुकै उपस्थिति बढी आवश्यक पर्ने पनि अनुसन्धानका क्रममा पत्ता लागेको हो । यसमा जति धेरै महिला कर्मचारी, कामको वातावरण पनि उति नै सकारात्मक हुने गरेको देखिएको हो । तरपनि यसरी मीटू अभियानको नतिजा स्वरुप महिलाहरु कम नियुक्त हुनुले यस विश्वव्यापी अभियानको सफलतामै चोट पुर्याएको बताइएको छ । कार्यस्थलमा महिलाहरुले भोग्नुपर्ने समस्या सम्बन्धी सबैलाई जागरुक बनाउन मीटू अभियानले ठूलो भूमिका निर्वाह गरेपनि यही क्रम जारी रहेमा मीटूले महिला कर्मचारीहरुको प्रतिनिधित्व नगरि उल्टै उनीहरुमा अवसरको कमी गराउने स्पष्ट भएको छ ।
तर यी तथ्यका लागि मीटू अभियानलाई मात्र पूर्ण जिम्मेवार ठहर्याउन पनि नसकिने बताइएको छ । किनकी मीटू सुरु हुनुपूर्व न्युयोर्क टाइम्सले सार्वजानिक गरेको रिर्पोटमा त्यतिबेलैदेखि २२ प्रतिशत पुरुषहरु महिला कर्मचारीसँग एक्लै मिटिङ गर्न वा बिजनेस भ्रमणमा जान हिचकिचाउने गरेको पाइएको थियो । तापनि मीटू अभियानले यस समस्यालाई झन ठूलो रुप दिएको पनि उति नै सत्य हो । यसअघि प्यु रिसर्च सेन्टरको अध्ययनका क्रममा पनि ५१ प्रतिशत कर्मचारीहरुले मीटू अभियानपछि विपरित लिङ्गका सहकर्मीसँग अन्र्तक्रिया गर्नमा कठिनाइ भएको स्वीकार गरेका हुन् । फोर्ब्स