
सिड्नी । अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टाज विश्वकै सबैभन्दा सुरक्षित विमान कम्पनीमा छनोट भएको छ । सो सम्बन्धी सूचकांक एयरलाइनरेटिङ्गस डट कमले निकालेको हो । जसले विश्वका ४०५ वटा विमान कम्पनीलाई अनुगमन गरेको जनाइएको छ ।
बुधबार सार्वजनिक गरिएको सो जानकारीमा सो विमान कम्पनी सन् २०१४ र २०१७ मा पनि सुरक्षित मानिएको थियो । सन् २०१८ मा भएको अनुगमनमा कोही पनि बिजेता भएका थिएनन् । त्यसैले त्यतिबेला टप २० मा आउने विमान कम्पनीलाई सम्मान दिइएको थियो । तर क्वान्टाज यसपालि फेरि सो सम्मान लिन सफल भएको छ ।
हरेक विमानमा दिनैपिच्छे केही न केही समस्या हुन्छ तर सो रेटिङ्गका क्रममा सामान्य घटनालाई आधार नमानिएको अष्ट्रेलियामा आधारित सो वेबसाइटका प्रधानसम्पादक जोफ्री थोमसले भनेका छन् । सो विमान कम्पनीको ६० वर्षको इतिहासमा अहिलेसम्म गम्भीर दुर्घटना नभएको उनले जनाएका छन् ।
दोस्रोमा एयर न्यूजील्यान्ड परेको छ भने ताइवानको इमा एयर तेस्रो भएको छ ।
यूएईको इत्तिहाद एयरवेज नयाँ प्रवेशीको रुपमा यसपालि चौथो स्थान हासिल गर्न सफल भएको छ ।
बाँकी टप १० मा कतार एयरवेज, सिंगापुर एयरलाइन्स, इमिरेट्स, अलास्का एयरलाइन्स, क्याथी प्यासिफिक र भर्जिन अष्ट्रेलिया रहेको सो अनुगमन प्रतिवेदनमा जनाइएको छ ।
१० देखि २० सम्मको सूचकांकमा हवाइन एयरलाइन्स, भर्जिन एटलान्टिक, ट्याप एयर पोर्चुगल, एसएस, रोयल जोर्डनियन, स्वीस, फिन एयर, लुफ्थान्सा, एयर लिन्गुस र केएलएम रहेको सो सूचीमा उल्लेख छ । (सीएनएन)