site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिनाअनुमति बगदाद आक्रमण गरिएकामा अमेरिकी सभामुखद्वारा आलोचना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वासिंटन । अमेरिकी सभामुख नान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आज बिहान इराकको बगदादस्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको हवाई आक्रमणप्रति आपत्ति जनाएकी छन् ।

उनले एक वक्तव्य जारी गर्दै भनेकी छन्, ‘‘अमेरिकी नेताको सबैभन्दा उच्च प्राथमिकता भनेको अमेरिकी नागरिक र अमेरिकी चासोको संरक्षण हो । तर, हामीले अमेरिकी सेवाका सदस्य, कूटनीतिज्ञ र अन्यको जीवन सक्रिय र असमानुपतिक हिसाबले थप जोखिममा पार्नु हुँदैन ।’’ उनले आजको हवाई आक्रमणले हिंसा अझ खतरनाक ढंगले बढ्ने अवस्था देखिएको बताउँदै कुनै कुरा प्राप्ति नहुने यस्ता विषयलाई लिएर फैलिने तनाव अमेरिका र विश्वले धान्न नसक्ने समेत जनाएकी छन् ।

उनले आजको हवाई आक्रमणले इरानका उच्च स्तरीय सैनिक अधिकारीलाई लक्षित गरेको जनाउँदै इरानका फोर्स कमान्डर मार्न इरानविरुद्ध सैनिक बल प्रयोगको अनुमति ट्रम्प प्रशासनले नलिएको समेत जनाएकी छन् । 

साथै यो कार्य कंग्रेससँग पनि कुनै परामर्श नगरी गरिएको उनले बताएकी छन् । पुरै कंग्रेसलाई तत्कालै यो गम्भीर अवस्थाबारे ‘ब्रिफ’ गर्नुपर्ने बताउँदै उनले ट्रम्प प्रशासनको अबको कदमबारे पनि जानकारी गराइनुपर्ने जनाएकी छन् । 

साथै फैलिन सक्ने हिंसा मध्यनजर गर्दै थप सेना सो क्षेत्रमा खटाउने तयारीबारे पनि जानकारी गराउनुपर्ने सभामुख पेलोसीले जनाएकी छन् । अमेरिकाले आज गरेको आक्रमणमा इरानका फोर्स कमान्डर क्वासम सोलेइमानीलगायत ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही व्यक्ति अमेरिकी सेनाको नियन्त्रणमा पनि रहेको जनाइएको छ । – (एजेन्सी)
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १४:३७
प्रतिक्रिया दिनुहोस्