
बगदाद । इरानी रिभोलुसनरी गार्डका प्रमुख जनरल क्वासेम सोलेइमनी इराकमा मारिएका छन् । रिपोर्टहरुका अनुसार बगदाद विमानस्थल आसपासमा भएको आक्रमणको घटनामा अन्य थुप्रै मानिस पनि मारिएका छन् ।
इराकी सरकारी टेलिभिजनका अनुसार सोलेइमनीसहित अन्य मानिस पनि घटनामा परेका छन् ।
अमेरिकी अधिकारीहरुले रोयटर्सलाई जनाएअनुसार इरान समर्थित गतिविधि भएका स्थानमा अमेरिकाले आक्रमण गरेको जनाएका छन् तर विस्तृत विवरण दिइएको छैन ।
औपचारिक रुपमा अमेरिकी आक्रमण र मृत्युको बारेमा कसैले पनि केही भनेका छैनन् ।
पोपुलर मोबिलाइजेसन फोर्सेज नामको इरानले साथ दिइरहेको इराकी मिलिसिया समूहले रोयटर्सलाई बताएअनुसार जनरल सोलेइमनी र इराकी मिलिसिया नेता अब महडी अल मुहान्दीजको घटनामा मृत्यु भएको छ ।
प्रारम्भिक रिपोर्टका अनुसार कैयौं मानिस घटनामा मारिएका छन् । बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको दाबी रिपोर्टहरुमा गरिएको छ । अमेरिकी रक्षामन्त्री मार्क इस्परले बिहीबार अबेर अमेरिकाले आफ्ना नागरिकमाथि भएको आक्रमण नसहने जनाएका थिए ।
केही दिन अघि बगदादस्थित अमेरिकी दूतावासमा इरान समर्थित मिलिसियाका कारण झडपको अवस्था सिर्जना भएको थियो । (बीबीसी)