site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ग्रेटाका पिता भन्छन् – छोरी खुसी छ तर मलाई चिन्ता लाग्छ 

बीबीसी । विश्वचर्चित युवा वातावरण अभियन्ता ग्रेटा थनबर्गका पिताले पहिलोपटक आफ्नी छोरीका गतिविधिबारे प्रतिक्रिया दिएका छन् । १६ वर्षीया ग्रेटाले जलवायु परिवर्तनलगायत वातावरणीय संकटबारे सबै विश्वप्रमुखहरुलाई सतर्क गराइरहँदा उनीबाट प्रेरित भएर अन्य लाखौँले यस सम्बन्धी आवाज उठाइरहेका छन् । 

हालै मात्र विश्वप्रख्यात म्यागजिन टाइमले उनलाई ‘पर्सन अफ पद इयर’ को सम्मान पनि दिएको हो भने उनी नोबल विश्व शान्ति पुरस्कारका लागि पनि सिफारिस गरिएकी छन् । 

तर उनका पिता भने छोरीका यी उपलब्धीहरुसँग पूर्ण रुपमा खुसी छैनन् ।  उनको उद्देश्य गलत नभएपनि स्कुल छाडेर वातावरण सम्बन्धी प्रदर्शनमा सहभागी हुन गएकाप्रति आफू असन्तुष्ट रहेको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पिता स्भान्ते थर्नबगले बीबीसीसँग बताए अनुसार ग्रेटा अभियन्ता भएदेखि अधिक खुसी छिन् तर त्यसैबीच उनले विश्वनेतादेखि अनेकौँ विरोधीहरुबाट उत्तिकै घृणा र आलोचनाको पनि सामना गर्नुपरिरहेको छ जसकारण आफू अधिक चिन्तित रहेको उनले बताए । 

ग्रेटाले स्कुलमा वातावरण विनाश विरुद्ध कार्यक्रममा सहभागी जनाउनु ३ –४ वर्ष अगाडि उनी डिप्रेसनसँग संघर्षरत् रहेको र सबैसँग बोल्न अनि स्कुल जान समेत छाडेको उनले बताए ।

यसबीच छोरीले खाना पनि नखाएपछि आफूहरुलाई झन धेरै डर लागेको उनले बताएका हुन् । त्यसैले ग्रेटाको अवस्थामा सुधार ल्याउनकै लागि सबै परिवारले एकसाथ धेरै समय बिताउने प्रयास गरेको उनी बताउँछन् ।  ग्रेटाकी आमा ओपेरा गायिका हुन् जसले पनि आफ्नो सबै काम छाडेर उनलाई साथ दिन सँगै बसेकी थिइन् । 
यति मात्र नभएर चार वर्ष अगाडि ग्रेटाको परिवारले उनलाई डाक्टरकहाँ पनि लगेको थियो जहाँ उनलाई ‘एसपर्जर’ भन्ने एक विशेष किसिमको अटिजम रहेको पत्ता लागेको थियो । 

ग्रेटाले उनको त्यही अवस्थाले उनलाई सबै कुरातर्फ अलग दृष्टि दिलाउने गरेको बताउँदै आएकी छन् ।  त्यसको केही वर्षपछि नै ग्रेटाले जलवायु परिवर्तन सम्बन्धी छलफल र विभिन्न रिसर्चहरु सुरु गरेकी हुन् ।  पिता थनबर्गका अनुसार परिवारले नै वातावरण संकटको विषयलाई गम्भीरतापूर्वक नलिएपछि कुनैसमय उनले आफ्नै अभिभावकहरुलाई ठूलो ढोङ्गी भएको आरोप लगाएकी थिइन् । 

यस्तोमा बिस्तारै आमाबुवाले आफ्नो व्यवहार वातावरणमैत्री बनाउँदै लगेपछि मात्र ग्रेटाले विश्वनेताहरुसँग लड्ने ऊर्जा प्राप्त गरेको उनले बताए ।  यस अन्तर्गत उनकी आमाले विमानबाट यात्रा गर्न बन्द गरेकी हुन् भने पिता शाकाहारीमा परिणत भएका थिए । 
यसरी ग्रेटा संयुक्त राष्ट्र संघको क्लाइमेट सभामा भाग लिन पानीजहाजमा धेरै लामो यात्रा गर्दा थनबर्ग पनि उनीसँगै गएका थिए । 

उनी भन्छन्, “मैले त्यो सबै पृथ्वीका लागि भन्दा पनि आफ्नी छोरीलाई बचाउन गरेको हुँ । मेरा दुई छोरी नै मेरा लागि सबथोक हुन् । म उनीहरुलाई खुसी देख्न चाहान्छु । ” थनबर्गका अनुसार ग्रेटा वातावरण सम्बन्धी अभियानमा लागेदेखि निकै खुसी हुन थालेकी हुन् । 

उनी भन्छन्, “सबैलाई ग्रेटा अब साधारण बच्चा रहिनन् र धेरै चर्चित भइसकेको जस्तो लाग्ला र हाम्रो लागि त ऊ सधैँ एउटा साधारण बालिका हुन् जो अरुले जसरी नै आफूलाई मन लागेको सबै कुरा गर्न सक्छिन् । उनी पनि कहिलेकाहिँ नाच्दै हिँड्छिन् , रमाइलो गर्छिन् अनि धेरै हाँस्छिन् पनि । ” 
तर ग्रेटाको स्कुल प्रदर्शन भाइरल भएदेखि उनी मानिसहरुको घृणा र दुव्र्यवहारको शिकार पनि भएकी छन् । वातावरण बचाउनका निम्ति आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन नचाहनेहरु उनका विरोधी रहेको थनबर्ग बताउँछन् । 

ग्रेटाले पनि यसअघि मानिसहरुले आफूलाई अनुहार, पहिरन, व्यवहार अनि आफ्नो धारणासँगको भिन्नताका कारण हेला गर्ने गरेको बताएकी थिइन् ।  तरपनि छोरी ग्रेटा आलोचकहरुलाई राम्रो जवाफ दिन सक्षम रहेको उनले स्वीकार गरेका हुन् ।  उनका अनुसार ग्रेटालाई नकारात्मक र अनावश्यक भनाइहरु हास्यास्पद लाग्ने गर्दछ । 
तापनि आफू विशेषगरी फेक न्युजबारे अलिक बढी नै चिन्तित रहेको बताएका हुन् । 

मानिसहरुले उनी सम्बन्धी गलत सूचना प्रवाह गरि घृणा सिर्जना गराउन सक्ने उनले बताए ।  यस्तोमा उनले आफ्नो परिवारका लागि आगामी समय केही कम तनावपूर्ण हुने अपेक्षा गरेको र ग्रेटा अब वास्तवमै स्कुल जान चाहेको बताए । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्