
नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिवनले सन् २०२१ सम्ममा प्रक्षेपण गर्ने गरी भारतले आफ्नो तेस्रो 'मुन मिसन' चन्द्रयान-३ स्वीकृत गरेको बताएका छन् । त्यसैगरी गगनयानका लागि ४ अन्तरिक्ष यात्रीसमेत चयन गरेको जानकारी दिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सन् २०२० मा चन्द्रयान-३ लन्च गर्ने बताएपछि इसरोले ४ अन्तरिक्ष यात्री चयन गरेको हो । नव वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा इसरो प्रमुख के सिवनले चन्द्रमाका लागि भारतको तेस्रो मिसनसँग सम्बन्धित सबै काम तीव्र गतिमा अघि बढिरहेको बताए ।
चन्द्रयान-२ जस्तै चन्द्रयान-३ मा ल्यान्डर र रोभर हुने इसरो प्रमुख सिवनले पुष्टि गरेका छन् । उनका अनुसार चन्द्रयान-३ को लागत २५० करोड भारतीय रुपैयाँ रहने छ ।
भारतले सेप्टेम्बर २०१९ मा चन्द्रयान-२ को मिसनको सुरुवात गरेको थियो । जसको उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रेर पानीको खोजी गर्ने थियो । अहिलेसम्म यस्तो प्रकारको कुनै मिसन चन्द्रमामा नगएको भारतको दाबी छ । यद्पि चन्द्रयान-२ सफल हुन सकेन । भारतले सन् २००८ मा आफ्नो पहिलो चन्द्रयान मिसन लन्च गरेको थियो । उक्त मिसनका क्रममा बरफका रुपमा चन्द्रमामा पानी रहेको बताइएको थियो । चन्द्रमामा अहिलेसम्म अमेरिका, रुस र चीनले आफ्नो अन्तरिक्ष मिसन ल्यान्ड गराएका छन् ।
इसरो प्रमुख सिवनले भारतको मानव अन्तरिक्ष मिसन 'गगनयान' का विषयमा पनि काम गरिएको बताए । यस मिसनका लागि चयन गरिएको ४ अन्तरिक्ष यात्री यही महिनाको अन्तिमतिर रुसमा प्रशिक्षणका लागि लगिने बताए ।
सिवनका अनुसार इसरोले दोस्रो प्रक्षेपणका लागि तमिलनाडु राज्यको थुथुकुडीमा भूमि अधिग्रहणको काम सुरु भइसकेको छ । -बीबीसी