site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापानको जनसङ्ख्या ५ लाखले घट्यो, १८७४ पछिकै कम 

एजेन्सी । जापानको जनसङ्ख्यात्मक संकटले झन खराब रुप लिइरहेको छ ।  सबैभन्दा चाँडो बूढो भइरहेको मुलुक, जापानले २०१९ मा हालसम्मकै ठूलो जनसङ्ख्या गिरावटको सामना गर्नुपरेको हो ।

सरकारी तथ्याङ्कका अनुसार यसवर्ष जापानले सबैभन्दा थोरै जन्मदरको नयाँ रेकर्ड बनाएको छ ।  रिपोर्टका अनुसार २०१९ मा देशभर केबल ८ लाख ६४ हजार बालबालिकाको जन्म भएको छ । 

तर यता मृत्युदर भने दोस्रो विश्वयुद्धपछिको सबैभन्दा धेरै पुगेको बताइएको छ ।  ५ लाख १२ हजार मानिसको मृत्युले प्राकृतिक रुपमा जनसङ्ख्यामा गिरावट ल्याएको छ ।  यता जन्मदर चाहिँ तथ्याङ्क राख्न सुरु गरिएको वर्ष, १८७४ पछिकै सबैभन्दा कम रहेको मंगलबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 
२०१८ को तुलनामा यस वर्ष ५४ हजार कम बालबालिका जन्मिएको बताइएको छ भने कूलगरी जनसङ्ख्या पाँच लाखले घट्न पुगेको बताइएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो चार वर्षदेखि जापानले १० लाख नयाँ जन्मको लक्ष्य पूरा गर्न सकिरहेको छैन ।  हाल जापानमा २० प्रतिशत भन्दा धेरै नागरिक ६५ वर्ष कटिसकेका छन् र देशको जनसङ्ख्या २०१८ मा १२ करोड ४० लाख मात्र रहेको छ ।  यस्तोमा २०६५ सम्ममा यसको जनसङ्ख्या यहि दरमा कायम रहे झन्डै ९ करोडले घट्ने अनुमान लगाइएको छ । 

जनसङ्ख्यामा गिरावटले देशमा श्रमिकहरुको अभाव गराउँछ भने जेष्ठ नागरिकहरुको सङ्ख्या वृद्धि हुनुले तिनको स्वास्थ्य सेवा, पेन्सनलगायतमा देशले धेरै खर्च गर्नुपर्ने हुन्छ ।  तर घट्दो जनसङ्ख्या दरको भयानक समस्याबाट गुज्रिरहेको जापान एक्लो मुलुक भने होइन । 

जर्मनीलाई  पनि विश्वकै सबैभन्दा बढूो देशमा गनिन्छ र यसैगरी अमेरिका, बेलायत, सिंगापूर, चीन र फ्रान्सले पनि २०३० सम्ममा यस्तै किसिमको समस्याको सामना गर्नुपर्ने बताइएको छ ।  यता जापानको छिमेकी देश दक्षिण कोरिया पनि वर्षौँदेखि बूढो हुँदै गएको जनसङ्ख्या सम्हाल्न संघर्ष गरिरहेको छ जसले श्रमिकबलको अभावलाई सामान्य बनाइसकेको छ । 

२०१८ मा कोरियाको कूल प्रजनन दरले हालसम्मकै थोरैको रकेर्ड बनाएको हो । 

कूल प्रजनन दरले प्रति महिला कति बच्चाको जन्म हुन सक्छ भन्ने देखाउँछ तर २०१८ मा कोरिया, एक जना महिला बराबर एउटा बच्चा पनि नजन्मिने अवस्थामा पुगेको हो ।  यसरी २०१७ को तुलनामा त्यहाँ ८.७ प्रतिशतले कम बालबालिकाको जन्म भएको हो । त्यसैले जन्मदरमा दक्षिण कोरिया जापान भन्दा पछाडि पर्न जान्छ । 
स्थिर जनसङ्ख्या कायम राख्न कुनैपनि देशको प्रजनन दर २ वा सो भन्दा माथि हुनुपर्छ तर कोरियाको प्रजनन दर २०१८ मा ०.९८ सम्म तल पुगेको थियो । 

यसपछि त्यहाँको सरकारले अधिकतम काम गर्ने समयलाई ६८ घण्टाबाट घटाएर ५२ घण्टा प्रति हप्ता पुर्याएको थियो ।  जनसङ्ख्या गिरावटले विशेषगरी देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पार्न सक्छ । 

त्यस्तै यसअघि जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि जनसङ्ख्या गिरावटको समस्या समाधानकै लागि भनेर ३ देखि ५ वर्षका बालबालिकाहरुलाई निःशुल्क सेवा दिनका लागि १८ अर्ब डलर बजेटको प्याकेज घोषणा गरेका थिए ।  तर पछिल्लो समय त्यहाँका युवाहरु बच्चा जन्माउन अत्यन्तै कम इच्छुक देखिएका छन् भने रोजगारको अवसरका निम्ति शहरमा मात्र बसोबास गर्न थाल्दा पूरै गाउँ नै हराउने अवस्थामा पुगेको हो । 

यसरी जापानमा विवाह दर पनि वार्षिक घट्दै गइरहेको छ जसमा २०१९ मा तीन हजार कम विवाह भएका हुन् ।  सिएनएन 
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ०६:४५
प्रतिक्रिया दिनुहोस्