
बेइजिङ । चीनले स्वास्थ्यकर्मीहरु माथिको हिंसा रोक्नका लागि नयाँ कानुन ल्याएको छ । बेइजिङस्थित एउटा अस्पतालमा आक्रमणका कारण केही दिनअघि महिला चिकित्सकको मृत्यु भएपछि चीनले नयाँ कानुन ल्याएको हो ।
सो कानुनमा कुनै संगठन वा व्यक्तिलाई स्वास्थ्यकर्मीको सम्मान र सुरक्षामा धम्की वा चोट पुर्याउन बन्देज लगाइएको चीनका सरकारी सञ्चार माध्यमले जनाएका छन् । यो कानुन सन् २०२०को जुन १ देखि लागु हुने जनाइएको छ ।
बेइजिङको सिभिल एभिएसन जनरल हस्पिटलको इमर्जेन्सी वार्डमा कार्यरत चिकित्सक याङ वेनको यही डिसेम्बर २४ का दिन एक जना व्यक्तिको आक्रमणमा मृत्यु भएको थियो ।
सो वार्डमा बिरामीका आफन्त रहेका ती व्यक्तिको आक्रमणमा चिकित्सकको मृत्यु भएको सञ्चार माध्यमले जनाएका छन् ।
चीनमा मेडिकल क्षेत्रमा आक्रमणका घटना नयाँ भने होइनन् । सन् २०१८ मा पनि १२ वटा यस्ता आक्रमणका घटना भएकोमा २ जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । (बीबीसी)