site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जमैकाका पर्यटनमन्त्री नेपाल आउँदै, पर्यटन सम्बन्धी सेटलाइट सेन्टर खोल्नेबारे समझदारी गरिने

जमैका  । क्यारेबियन सी नजिक रहेको आइल्याण्ड मुलुक  जमैकाका पर्यटन मन्त्री एमडन्ड बार्लेटले ‘ग्लोबल टुरिजम रिजिलेन्स एण्ड क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (जीटीआरसीएमसी) को सेटलाइट सेन्टर नेपालमा स्थापनाबारेमा समझदारी गर्ने विषय टुंगोमा पुगेको बताएका छन् । 

जमैकाको पर्यटन मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा  जनाइएअनुसार उनी आज आइतबार नेपालतर्फ प्रस्थान गर्नेछन् ।  गएको महिना लण्डनमा भएको ग्लोबल रिजिलेन्स समिटका क्रममा सो सम्बन्धी प्रक्रिया शुरु भएको र अहिले समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लण्डनमा भएको बैठकमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डडन मन्त्री  योगेश भट्टराई पनि गएको सो वक्तव्यमा उल्लेख छ । 

हालै त्यस्तो सेन्टर केन्यामा स्थापना गरिएको र  सेसेल्स, दक्षिण अफ्रिका, नाइजेरिया र मोरक्कोमा पनि स्थापना गर्ने कार्यक्रम रहेको समेत वक्तव्यमा जनाइएको छ ।

सन् २०१७ मा ल्याइएको यो सेन्टरको अवधारणा पर्यटन क्षेत्रका  नयाँ चुनौती  र अवसरका लागि क्रियाशील हुने र  पर्यटनलाई दीगो बनाउने उदेश्यका साथ अघि बढाइएको जनाइएको छ । 

गन्तव्यमा तयारी, व्यवस्थापन र अवरोधलाई निस्तेज पार्नेलगायतका काममा समेत यसले मद्धत गर्ने  जनाइएको छ । जमैकाका मन्त्री आउँदो जनवरी ५ अर्थात् आउँदो आइतबार स्वदेश फर्किने जनाइएको छ ।

यससम्बन्धमा बाह्रखरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ्गसँग जिज्ञासा राख्दा उनको भनाई थियो,‘‘यसबारेमा सबै प्रक्रिया परराष्ट्र मन्त्रालयले अगाडि बढाएको होला । हामीलाई पूर्ण रुपमा जानकारी छैन ।’’
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०८:१३
प्रतिक्रिया दिनुहोस्