
एजेन्सी । रुसका राष्ट्रपति भलाद्मीर पुटिनले मंगलबार रुससँग अत्यन्तै शक्तिशाली नयाँ डिजाइनको हतियार भएकाबारे बताएका हुन् । उनका अनुसार हाइपरसोनिक अर्थात आवाज भन्दा तिव्र गति भएको हतियार स्थापित गराउन सफल रुस एकमात्र देश हो र यसले अमेरिकालाई पनि हराइसकेको छ ।
वरिष्ठ सैनिक बलहरुका बीचमा बोल्दै पुटिनले इतिहासमा पहिलोपटक रुस नयाँ स्तरको हतियार निर्माण गर्नमा विश्वमै अग्रणी साबित भएको उल्लेख गरेका हुन् । यसअघिसम्म रुस अमेरिकाको उपलब्धीसम्म पुग्न प्रयत्नरत् रहेको समेत उनले बताए । शीतयुद्धको समयमा सोभियत युनियन आणविक बम लगायत इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल निर्माण गर्नमा अमेरिका भन्दा धेरै पछाडि रहेको उनले बताएका हुन् । उनले भनेका छन्, “अहिले मात्र हामी आधुनिक इतिहासको सबैभन्दा अद्वितिय अवस्थामा पुगेका छौँ जहाँ उनीहरु हाम्रो स्तरमा आउन खोजिरहेका छन् । किनकी आज एउटा मुलुकसँग पनि हाइपरसोनिक हतियार छैन र इन्टरकन्टिनेन्टल रेन्जको हतियार तर सबैका लागि धेरै टाढाको कुरा हो ।”
अमेरिकी रक्षा विभाग पेन्टागन र अमेरिकी सेना बल पछिल्ला केही वर्षहरुमा हाइपरसोनिक हतियारको विकास गर्ने काममा लागिपरेका छन् जसमा रक्षा सचिव मार्क एस्परले अगस्टमा मात्र केही वर्षमै अमेरिकासँग पनि उक्त हतियार हुने दाबी गरेका थिए । उनले यसलाई अहिले मुख्य प्राथमिकता बताउँदै नयाँ लामो रेन्जको क्षमता भएका हतियार निर्माणमा सेनाले लगातार काम गरिरहेको जानकारी दिएका हुन् ।
यसरी अमेरिकाले बारम्बार कंग्रेसलाई चीन र रुसले हाइपरसोनिक मिसाइल बनाइरहेकाबारे चेतावनी दिइसकेको छ । त्यस किसिमका हतियार ट्रयाक गर्न र तिनलाई पराजित गर्न पनि कठिन हुने हुँदा यसबारे गम्भीर हुनुपर्ने बताइएको छ । यस्तोमा अमेरिकी प्रशासन भने अन्तरिक्षमा विभिन्न तहका सेन्सर राख्नमा लागिपरेको छ जसले दुश्मनका मिसाइल अझ विशेषगरी हाइपरसोनिक खतरा छिटै पत्ता लगाउन सक्नेछ ।
यसबीच पुटिनको बयानबारे अमेरिकी रक्षा विभागका प्रवक्ता लेफ्टिनेन्ट कोलोनेल रोबर्ट कार्भरसँग प्रतिक्रिया माँग्दा उनले त्यसप्रति आफ्नो कुनै भनाइ नरहेको बताएका हुन् । यता पुटिनले भने हाइपरसोनिक ग्लाइड युक्त गाडि यसै महिनादेखि काममा लाग्ने घोषणा गरेका छन् र हाइपरसोनिक मिसाइलहरु पनि सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका हुन् ।
पुटिनले पहिलोपटक यी हतियारबारे २०१८ मा जानकारी दिएका थिए । त्यतिबेला उनले सो हतियार वायुमण्डलमा आवाजको गति भन्दा २० गुणा द्रुत रफ्तारमा उड्न सक्ने दाबी गरेका थिए । त्यस्तै यसले बीचमै आफ्ना दिशा बदल्न सक्ने पनि उनले बताएका हुन् जसले नै दुश्मनको अवरोधबाट यसलाई सुरक्षित राख्न सक्ने बताइएको छ ।
मंगलबार उनले यसबारे थप जानकारी दिँदै भनेका हुन्, “यो वास्तवमा भविष्यको हतियार हो जससँग अहिलेका र आगामी सबै किसिमका प्रतिरक्षात्मक प्रणालीलाई हराउन सक्ने क्षमता छ । ” यसका साथै ती हतियार हवाइ लक्ष्य र पानीजहाज दुवैमाथि प्रहार गर्न सकिने पनि बताएका हुन् ।
अमेरिका लगायत थुप्रै देशहरु हाइपरसोनिक हतियारमा काम गरिरहेको भएपनि तिनीहरु प्रयोगका लागि पूर्ण तयारी अवस्थामा पुगिसकेका छैनन् । रुसी रक्षा मन्त्रीले मंगलबार मात्र रुसले यस वर्ष १४३ लडाकू विमान र हेलिकप्टर, ६२४ हतियारजन्य सवारी र एउटा पनडुब्बी सहित ८ वाट लडाकू जहाज प्राप्त गरेको बताएका हुन् ।
उनका अनुसार रुसको हतियार आधुनिकीकरण आगामी वर्ष पनि यत्तिकै तिव्र गतिमा अगाडि बढ्नेछ । जसमा २२ वटा इन्टरकन्टिनेन्टल मिसाइल , १०६ नयाँ विमान, ५६५ हतियारयुक्त सवारी र तीन पनडुब्बी अनि १४ लडाकू पानीजहाज प्रयोगका लागि सैन्य सेवामा समावेश गरिने बताएका हुन् । टाइमबाट