
नयाँ दिल्ली । भारतको असममा विश्वकै दोस्रो ठूलो र एशियाको सबैभन्दा ठूलो डिटेन्सन सेन्टर (हिरासतगृह) बन्दै गरेको पाइएको छ ।
केही दिन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्तो हिरासतगृह बनाउन लागेको भन्ने कुरालाई गलत अफवाह फैलाइएको आरोप लगाएकोमा बीबीसी हिन्दीले स्थानीय स्तरमा बुझेर एउटा लामो स्टोरी बनाएको छ ।
प्रधानमन्त्रीको भनाइप्रति असमको ग्वालपाडा जिल्लाको माटिया गाउँका सामाजिक कार्यकर्ता शाहजहाँ अलीले भने,‘‘मलाई थाहा छैन प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा बोल्दै भारतमा कुनै डिटेन्सन सेन्टर छैन भनेर किन भन्नुभयो । तपाईँले देख्न सक्नुहुन्छ यहाँ माटियामा भारतको सबैभन्दा ठूलो डिटेन्सन सेन्टर निर्माण भइरहेको छ । तपाईँले चाहनुभएमा यहाँ काम गर्ने कामदारसँग सोध्न सक्नुहुन्छ । यो विशाल भवन अवैध विदेशी नागरिकलाई राख्नको लागि बनाउने काम भइरहेको छ । यसका लागि फन्ड संघीय गृह मन्त्रालयले दिइरहेको छ ।’’
प्रधानमन्त्रीले गएको आइतबार नयाँ दिल्लीको सार्वजनिक कार्यक्रममा भारतमा कुनै डिटेन्सन सेन्टर नभएको बताएका थिए । तर, प्रधानमन्त्री मोदीको दाबी विपरीत असमको माटिया गाउँमा अढाई हेक्टर जमिनमा देशको मात्रै होइन एशियाकै सबैभन्दा ठूलो डिटेन्सन सेन्टर बनाउने काम भइरहेको हो ।
यो सेन्टरको निर्माण कार्य हेरिरहेका साइट इन्चार्ज रबिन दासले बीबीसीसँगको कुराकानीमा भने,‘‘मैले सन् २०१८ देखि यो डिटेन्सन सेन्टरको निर्माण कार्यलाई हेरिरहेको छु । माटिया गाउँमा गत वर्षको डिसेम्बर महिनाबाट यसको निर्माण शुरु भएको हो । यो सेन्टरमा ३ हजार मानिस राख्ने योजना छ ।”
‘‘यहाँ महिला र पुरुषलाई राख्न अलग अलग सेल बनाइँदैछ । हामीले डिटेन्सन सेन्टरको ७० प्रतिशत काम पूरा गरेका छौं । कुनै बिदा नलिइ करिब ३ सय मजदूर निर्माण कार्य पूरा गर्न लागिरहेका छन् । यो पूरा गर्न ३१ डिसेम्बर २०१९ को समयसीमा दिइएको थियो । तर, मेरो विचारमा यसको निर्माण कार्य ३१ मार्च २०२० सम्ममा पूरा हुनेछ । वर्षाका कारण केही समय यसको निर्माणमा ढिला भएको हो,’’ उनले भनेका छन् ।
उनका अनुसार यसको निर्माणको लागि ४६ करोड रुपैयाँ खर्च हुने र सो रकम गृह मन्त्रालयले दिनेछ ।
यो अमेरिकामा रहेको विश्वकै सबैभन्दा ठूलो डिटेन्सन सेन्टरपछि दोस्रो ठूलो डिटेन्सन सेन्टर हुने साइट इन्चार्ज दासको भनाइ छ ।
यसको भित्र अस्पताल र गेटको बाहिर प्राथमिक विद्यालय र बच्चा तथा महिलाको रेखदेखको लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । अहिले नै पनि असमको विभिन्न क्षेत्रमा रहेका डिटेन्सन सेन्टरमा एक हजार १३३ विदेशी थुनामा रहेको जनाइएको छ ।
यस सम्बन्धी जानकारी गृह राज्यमन्त्री जीके रेड्डीले कांग्रेसका सांसद शशि थरुरको प्रश्नको जवाफ दिने क्रममा गएको जुन २५मा बताएका थिए । (बीबीसी)