site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको विवाद उस्तै, देउवा–पौडेल छाड्दैनन् अडान

काठमाडौं । नेपाली कांग्रेसमा गत मंसिर अन्तिम साताबाट चुलिएको आन्तरिक विवाद अझै सकिएको छैन । संस्थापन पक्ष र संस्थापन इतर समूह आ–आफ्नो अडानबाट पछाडि नहट्दा केन्द्रीय कार्यसमिति बैठक प्रभावित भइरहेको छ ।
१४औं महाधिवेशनको कार्यतालिका, पार्टीका केन्द्रीय विभाग र भ्रातृसंस्था गठनको विषयमा उत्पन्न विवाद समाधानका लागि दुवै पक्ष छलफलमा जुटे पनि निकासको चुरो पहिल्याउन सकेका छैनन् । दुवै समूह इतर आ–आफ्नै अडानमा रहँदा कांग्रेसका प्रभावशाली नेताहरू पनि विवाद कहिले मत्थर हुने भन्नेमा अलमल देखिन्छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेपछि सहमतिको प्रयासमा जुटेका उपसभापति विमलेन्द्र निधि र पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलबीच पछिल्लो समय वार्ता पनि हुन सकेको छैन । 
पौडेल समूहले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यसमेत रहेका केन्द्रीय सदस्य हृदयराम थानीले गत आइतबारबाट दुवै पक्षबीच कुनै छलफल नभएको बताए । 

“पछिल्लो समयमा त्यति प्रगति पनि देखिएको छैन र त्यति कुराकानी चलिरहेको अवस्था पनि छैन,” उनले बाह्रखरीसँग भने, “अस्ति बसेका थियौं । त्यसपछि केही कुरै भएको छैन ।” नेता थानीले दुवै समूह पूर्ववत् अडानमै रहेको जानकारी पनि दिए । “आ–आफ्नो ठाउँमा अडान लिएर बसिरहेको अवस्था छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत मंसिर २६ गते सभापति शेरबहादुर देउवा आगामी महाधिवेशन कार्यतालिकाको विषयलाई एजेन्डा बनाउन अनिच्छुक देखिएपछि पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो । बहिष्कारकै बीच बसेको बैठकमा देउवाले पार्टीका केन्द्रीय विभागको संख्या बढाउने, नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठन गर्ने र समयावधि सकिएको नेपाल तरुण दलको कार्यकाल थप गर्नेलगायत विभिन्न ९ एजेन्डा पेस गरेका थिए ।

पौडेल समूहले बहिष्कार गरेकै अवस्थामा अहिलेसम्म पार्टी केन्द्रीय समिति बैठक दुईपटकल बसिसकेको छ । यता चारपटक स्थगित पनि भइसकेको अवस्था छ । पौडेल समूहसँगको छलफल ठोस निष्कर्षमा पुग्न नसकेकै कारण सभापति देउवाले बिहीबार ९आज० का लागि बोलाइएको बैठक शुक्रबार ९भोलि० का लागि सारिएको छ । 

शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि नेताहरूले सहमतिका लागि कुनै प्रयास भने गरेका छैनन् । संस्थापन पक्षले वार्ताका लागि बोलाउने खबरको प्रतीक्षामा बसिरहेको पौडेल समूहले जनाएको छ ।
“भोलि ९शुक्रबार० को केन्द्रीय कार्यसमिति बैठक अघि बस्ने कुरो होला । तर केही खबर आएको छैन,” नेता थानीले भने, “हामी उपसभापति (निधि) को खबरको प्रतीक्षामा छौं । छलफलका लागि बस्न तयारै छौं ।”

पौडेल समूहले गठन गरेको कार्यदल र उपसभापति निधिबीच गत आइतबार चाक्सीबारीमा छलफल भएको थियो । छलफलपछि कार्यदलका अर्का सदस्य दिलेन्द्रप्रसाद बडूले पार्टीभित्रको आन्तरिक विवाद सकारात्मक ढंगबाट टुंगिने दाबी गरेका थिए । “हामी सहमतिनजिक पुगेका छौं । टुंगिसकेको छैन । तर, सकारात्मक ढंगले टुंगिन्छ,” उनले भनेका थिए । 

विवादित विषय दुवै पक्षका शीर्ष नेतासँग थप छलफल गरी निष्कर्षमा पुग्ने बडूको भनाइ थियो । “हामीबीच भएको सहमतिलाई राखेर शीर्ष नेताहरू पनि आपसमा सल्लाह गर्नुहोला, अनि टुंग्याउने । हामीहरूबीच पनि एक राउन्ड नेताहरूसँग बसेर छलफल गर्ने कुरा छ,” उनको प्रतिक्रिया थियो ।      

पौडेल समूहले सुरुमा राखेको मागअनुसार सभापति देउवा महाधिवेशनको कार्यतालिका ल्याउन सकारात्मक देखिए पनि विभाग, नेविसंघको तदर्थ समिति गठन र तरुण दलको म्याद थपबारे सहमति जुट्न नसकेको नेताहरूले बताएका छन् । 
पौडेल समूह विधानमा भएको व्यवस्थाअनुसार २८ भन्दा बढी विभाग गठन गर्न नमिल्ने अडानमा छ भने संस्थापन पक्ष विधानकै धारा ३७ को १ (ढ) मा टेकेर विभाग थप गर्न सकिने तर्क गर्दै आएको छ । धारा ‘ढ’ मा भनिएको छ, “केन्द्रीय कार्यसमितिले यस विधानमा उल्लिखित विभागबाहेक आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्नेछ ।” 

यस्तै संस्थापन पक्ष अध्यक्ष र चार महामन्त्रीसहित नेविसंघको एक सय एक सदस्यीय तदर्थ समिति गठन गर्ने अडानमा देखिएको छ भने पौडेल समूह अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित एक सय एक सदस्यीय कार्यसमिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । 

त्यसैगरी कांग्रेसमा तरुण दलको समयावधि थपमा पनि सहमति जुट्न सकेको छैन् । संस्थापन पक्ष महामन्त्री भुपेन्द्रजंग शाहीबाहेक तीन पदाधिकारीको समयावधि ६ महिनाका लागि थप गरी कार्यसमिति विस्तारको तयारीमा देखिएको छ । त्यसका लागि उसले पौडेल समूहलाई शाहीको स्थानमा नयाँ व्यक्ति पठाउन भनिरहेको छ । 

तर, पौडेल समूह शाहीसहित चारै जनाको समयावधि थप गरी कार्यसमिति विस्तार गर्नुपर्ने अन्यथा जितजंग बस्नेत नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । 

उक्त समूहले नेविसंघ र तरुण दलमध्ये कुनै एकको नेतृत्वसमेत आफ्नो समूहले पाउनुपर्ने माग गर्दै आएको छ । संस्थापन पक्ष भने भ्रातृ संस्थाको मूल नेतृत्व इतर समूहलाई दिन नसकिने बताउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १३:१६
प्रतिक्रिया दिनुहोस्