site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 राहुल गान्धिविरुद्ध स्मृति इरानीद्वारा उजुरी 

नयाँ दिल्ली । भारतको संघीय मन्त्री स्मृति इरानीले विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीविरुद्ध उजुरी दिएकी छन् । 

झारखण्डमा चुनावी र्‍यालीका क्रममा राहुल गान्धीले 'रेप इन इण्डिया' अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै भारतीय निर्वाचन आयोगमा उजुरी दिएकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानीले पत्रकारसँग कुरा गर्दै भनिन्, "हामीले राहुल गान्धिको आपत्तिजनक अभिव्यक्तिविरुद्ध उजुरी दिएका छौं । निर्वाचन आयोगले पनि उक्त अभिव्यक्तिप्रति कानुनी प्रक्रिया अघि बढाएर न्याय प्रदान गरिने आश्वासन दिएको छ ।" 

"हामीले यसअघि पनि महिलाविरुद्धको अपराधलाई राजनीतिकरण नगर्न भनेका थियौं । तर, राहुल गान्धिले यसलाई राजनीतिक अस्त्र बनाउने दुस्सहास गरे । त्यसकारण हामीले निर्वाचन आयोगलाई उक्त अभिव्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका हौं, उनले थपिन् ।

शुक्रबार बिहान भारतीय लोकसभामा संघीय मन्त्रीसमेत रहेकी इरानीसहित केही महिला सांसदहरुले गान्धिलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र क्षमायाचना गर्न माग गरेका थिए । 

स्मृतिले संसदमा भनेकी थिइन्, "सबै पुरुषहरु बलात्कारी हुँदैनन् । यो भारतकै बेइजत हो ।" 

राहुलले गान्धिले झारखण्डमा चुनावी र्‍यालीका क्रममा भारतमा बलात्कार र महिला हिंसाका घटना बढेको तर मोदी सरकारले कुनै कारबाही प्रक्रिया अघि नबढाएको भन्दै आलोचना गर्ने क्रममा प्रधानमन्त्री मोदीको 'मेक इन इण्डिया', 'रेप इन इण्डिया' भएको बताएका थिए । उनले मुलुकमा सामूहिक बलात्कारका घटना बढ्दै गए पनि महिलाको सुरक्षाका लागि कुनै पहल नगरिएको बताएका थिए । 

भारतको दुबै सदनमा सत्तारुढ दलका सांसदले राहुलाई आफ्नो अभिव्यक्तिप्रति माफी माग्न आग्रह गरे पनि उनले भने माफी नमाग्ने बताएका छन् । राहुलले यसअघि विपक्षमा हुँदा नरेन्द्र मोदीले पनि नयाँ दिल्लीलाई 'रेप क्यापिटल' को संज्ञा दिएको बताए । उनले भने, "मेरो मोबाइल फोनमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नयाँ दिल्लीलाई रेप क्यापिटलको संज्ञा दिएको भिडियो क्लिप सुरक्षित छ । म यसलाई सबैको जानकारीका लागि ट्विटमा राख्‍नेछु ।"  

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १०:३०
प्रतिक्रिया दिनुहोस्