
टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । भारतमा नागरिकता संशोधन विधेयकको विषयलाई लिएर हिंसात्मक आन्दोलनहरु चर्किन थालेपछि प्रधानमन्त्री आबेको भारत भ्रमण स्थगित भएको बताइएको छ ।
प्रधानमन्त्री आबेले आइतबारदेखि भारत भ्रमण गर्ने कार्यतालिका बनाएका थिए । उनको भारतीय समकक्षी नरेन्द्र मोदीलाई असममा भेट गर्ने कार्यातालिका थियो । तर, अहिले असममा नागरिकता संशोधन विधेयकको विरोधमा हिंसात्मक आन्दोलन भइरहेको छ ।
बिहीबार असममा कर्फ्यू तोडेर जनताहरु सडक उत्रिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ ।
अब जापानी प्रधानमन्त्री आबेले आगामी भ्रमण कहिले गर्ने भन्ने खुलाइएको छैन । बिहीबार पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दुईपक्षीय सहमतिका आधारमा भ्रमण स्थगित गरिएको र फेरि सहमतिकै आधारमा भ्रमणको नयाँ मिति सार्वजनिक गरिने बताएका थिए ।
भारतको संघीय मन्त्रिपरिषद्ले स्वीकार गरेको उक्त विधेयक बुधबार भारतको दुबै सदनबाट पारित भएको थियो भने शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दले उक्त विधेयकलाई मन्जुरी दिएका छन् ।
उक्त विधेयकलाई राष्ट्रपतिले नै मन्जुरि दिएपछि हाल उक्त विधेयकको विरोधमा गुवाहाटीमा सामूहिक भोकहड्ताल थालिएको छ ।