
पाकिस्तानमा देशभरका वकिलहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शुक्रबारका लागि सुनुवाइ हुने सबै मुद्दाको बहस बहिष्कार गरेका छन् ।
लाहोरस्थित पञ्जाब इन्स्टिच्युट अफ कार्डियोलोजी (पीआईसी) मा भएको आक्रमणका क्रममा बुधबार पक्राउ परेका वकिलहरुको रिहाइको माग गर्दै उनीहरुले धर्नामा बसेका हुन् ।
पीआईसीमा भएको आक्रमणमा तीनजना बिरामीको ज्यान गएको थियो । वकिलहरुले अस्पतालमा तोडफोडसमेत गरेका थिए । घटना कहाँबाट सुरू भयो भन्ने यकिन हुन नसके पनि एक महिनाअघि डाक्टर र वकिलहरुबीच विवादले त्यो रुप लिएको हुनसक्ने अनुमान गरिएको छ । वकिलहरुले आफूमाथि दुर्व्यवहार गर्ने डाक्टरलाई कारबाहीको माग गरेका थिए । तर, डाक्टरमाथि कारबाही नभएपछि आक्रोशित वकिलहरुले अस्पतालमा आक्रमण गरेको हुनसक्ने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न ४६ जना वकिलहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ । तर, वकिलहरुले भने पक्राउ परेका आफ्ना सहकर्मीहरुको 'तुरुन्त रिहाइ' को माग गरेका छन् ।
पाकिस्तान बार काउन्सिलको आह्वानमा देशभरका वकिलहरु आन्दोलनमा उत्रिएका हुन् । पाकिस्तान बार काउन्सिलले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय प्रहरीको पूर्वाग्रहीपूर्ण व्यवहार र इस्लामावाद र लाहुर प्रशासनले वकिलविरुद्ध लिएको कठोर कदमविरुद्ध रहेको जनाइएको छ ।
उक्त विषयको छानबिनका लागि गठन गरिएको वकिलहरुको संयुक्त एक्सन कमिटीले उनीहरुलाई शुक्रबार अदालतमा उपस्थित नगराउन माग गरेका छन् । उनीहरुले पक्राउ परेका वकिलहरुलाई प्रहरीले यातना दिएकोले तुरुन्त रिहा गर्न माग गरेका छन् ।
देशभरका अदालतमा विभिन्न मुद्दाको सुनुवाइका लागि बेञ्च बोलाइए पनि वकिहरु आन्दोलनमा उत्रिँदा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । - डन