
नयाँ दिल्ली । भारतको विपक्षी दल कंग्रेस पार्टीका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इण्डिया’को नारा ‘रेप इन इण्डिया’मा परिणत भएको एउटा सार्वजनिक कार्यक्रममा बताएपछि शुक्रबार लोकसभाको बैठकमा भाजपाका सांसदहरुले हंगामा मच्चाएका छन् । उनीहरुले राहुललाई माफी माग्न आग्रह गरेपनि राहुलले माफी नमागी सोही कुरा दोहोर्याएका छन् ।
भारतमा बलात्कारका घटना अचाक्ली बढेपछि राहुलले सरकारको आलोचना गर्ने क्रममा ‘रेप इन इण्डिया’को कुरा उठाएका थिए । संसदमा हंगामा भएपछि राहुलले मिडिया समक्ष कुरा र्गै प्रधानमन्त्री मोदीमाथि हिंसा गराएको आरोप लगाएका छन् । उनले आफ्नो रेपवाला बयानलाई फेरि पनि दोहोर्याएका थिए ।
उनले आफ्नो भनाइमा आफूले माफी नमाग्ने बताउँदै देशलाई मूल मुद्दाबाट भड्काउनका लागि आफ्नो भनाईमा हंगामा गराउने काम भइरहेको बताए । प्रधानमन्त्री मोदीले नै एकपटक दिल्लीलाई ‘रेप क्यापीटल’ भनेको समेत उनले आरोप लगाएका छन् ।
राहुलले भने,‘‘मेरो फोनमा एक ‘क्लिप’ छ । जसमा मोदीले राजधानी नयाँ दिल्लीलाई ‘रेप क्यापिटल’ भनेका छन् । म त्यो ‘क्लिप’लाई ट्विटरमा राख्नेछु । पूरा देशले हेर्नेछ । नरेन्द्र मोदीजीले भनेका थिए ‘मेक इन इण्डिया’ तर आज जहाँ हेर्यो त्यहाँ ‘रेप’ भइरहेको छ । ‘मेक इन इण्डिया’, ‘रेप इन इण्डिया’मा बदलिएको छ ।’’
राहुलले भने,‘‘आज पूरै नर्थ इस्ट जलिरहेको छ । मोदीजी केवल हिंसा फैलाइरहेका छन् । नरेन्द्र मोदीजीले देशको अर्थव्यवस्थालाई बर्बाद पारेका छन् । म सोध्न चाहन्छु मोदीजी देशको अर्थव्यवस्था किन बर्बाद पारेको ? युवाको रोजगारी किन छिनेको ?’’ यसअघि शुक्रबार नै भाजपाका महिला सांसदले राहुलको भनाइलाई लिएर लोकसभामा हंगामा गरेका थिए ।
केन्द्रीय महिला बालविकास मन्त्री स्मृति ईरानीले राहुलले महिलालाई अपमान गरेको र गान्धी खानदानको छोराको यो बयान लाजमर्दो भएको बताएकी थिइन् ।
उनले सभामुखलाई राहुल गान्धीको सदस्यता खारेज गर्न माग समेत गरेकी थिइन् । राहुलले झारखण्डमा एक आमसभालाई सम्बोधन गर्दै मोदीलाई निशाना लगाएर भनेका थिए,‘‘दुनियाँले अब भारतलाई ‘मेक इन इण्डिया’ होइन ‘रेप इन इण्डिया’को नामले चिन्छन् । ’’