
लण्डन । बेलायतमा बिहीबार भएको संसदको निर्वाचनबारेमा भएको एक्जिट पोलमा फेरि पनि कन्जरभेटिव पार्टी सत्तामा जाने पूर्वानुमान गरिएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान भएको थियो । मतदान सम्पन्न भएपछि बीबीसी, स्काई र आईटीबीले एक्जिट पोल जारी गरेका हुन् ।
यो एक्जिट पोलले अहिलेका प्रधानमन्त्री बोरिस जोहन्सनको कन्जरभेटिव पार्टीलाई नै पूर्ण बहुमत आउने देखिएको छ ।
एक्जिट पोलका अनुसार ६५० संसदको सिटमा कन्जरभेटिव पार्टीलाई ३६८, लेबर पार्टीलाई १९१, लिबरल डेमोक्र्याट्सलाई १३, एसएनपीलाई ५५ प्राप्त हुने पूर्वानुमान छ । ब्रेक्जिट पार्टीले भने एक सिट पनि नजित्ने पूर्वानुमान गरिएको छ । कन्जरभेटिव पार्टीलाई २०१७ को चुनावको तुलनामा ५० सिट बढी आउने आकलन गरिएको छ । सरकार बनाउनको लागि कुनै पनि पार्टीलाई ३२६ सांसदको समर्थन जरुरी हुन्छ ।
आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्री जोहन्सनले ट्विट गर्दै भनेका छन्,‘‘हाम्रो महान देशका मतदान गर्नुहुने, पार्टीको लागि काम गर्ने, पार्टीका उमेदवार हुने तपाईँहरु सबैलाई धन्यवाद । हामी सबै विश्वको सबैभन्दा महान लोकतन्त्रमा रहेका छौं ।’’ (बीबीसी)