site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचनको समीक्षा हुने 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार (आज) बस्दैछ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 

दिउँसो १ वजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै पार्टीका विभागहरु गठन, भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा देखिएको विवाद समाधान, पार्टीको क्रियाशील सदस्यता वितरणलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उनकाअनुसार कालापानीलगायतका क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणको विषयले पनि बैठकमा छलफलका लागि प्रवेश पाउने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको विधान पेस गर्ने, केही विभाग थप गर्ने, नेविसंघको तदर्थ समिति गठन, नेपाल तरुण दलको कार्यकाल थप, चुनावी समीक्षासँगै सीमा विवादका एजेण्डाहरु तय गरिएको जानकारी दिएका छन् । बुधबार बसेको पदाधिकारी बैठकले बैठकका एजेण्डाहरु तय गरेको उनले बताए । 

साउदको संयोजकत्वमा गठित समितिले भ्रातृ संस्थाहरु नेपाल किसान महासंघ, नेपाल दलित संघ र प्रजातन्त्र सेनानी संघको विधान तयार गरिसकेको छ । संयोजक साउदले नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । 

नेता साउदले तयार गरेका विधानलाई बिहीबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गरिने बताए । गत भदौ १७ गते राति सम्पन्न केन्द्रीय समिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद छ महिनाका लागि थप गर्दै महाधिवेशनको मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, इश्वरी न्यौपाने, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  ११:००
प्रतिक्रिया दिनुहोस्