site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 केटी बन्न पनि अनेक गरिन्थ्यो, लिपिस्टिक पाउडर लाएर... 
SkywellSkywell

वरिष्ठ लोकगायक कुमार बस्नेतको पुर्ख्याैली थलो दोलखाको मकैबारी हो । उनको जन्म भने काठमाडौंमा भएको थियो । उनका पिताजी गंगाबहादुर बस्नेत तिनताक विश्वयुद्धमा बर्मा र मलेसियातिर थिए ।

उनकी आमा बिरामी भएकाले हजुरआमाले नाति कुमारलाई दोलखा लगिन् । यसरी लोकगायक कुमार बस्नेत (७७) को बाल्यकाल दोलखाको मकैबारीमा हजुरआमाको माया पाएर बित्यो ।

त्यो बेला १२ पाथी ४ माना चामल दिएर नुन साट्न भोट पठाउने चलन थियो, भरियाहरूलाई । २ पाथी ४ माना भरियाको खाना खर्च हुन्थ्यो । १० पाथी चामलको नुन साटेर ल्याउँथे । सरी, दुन, तीन भनेर गन्ने चलन थियो । भोट पुगेर फर्कन करिब १२ दिनको समय लाग्ने गरेको उनी सम्झिन्छन् ।

KFC Island Ad
NIC Asia

नुन साट्नैका लागि ढिकीमा चामल कुट्न लगाउँथे हजुरआमाहरूले । यो उनले धेरै पछिसम्मै देखेका हुन् । कहिले काहीँ तिब्बत तिरबाट शेर्पाहरू पनि आउँथे । तिनले खाप्सियो (बोरा सिउने मोटो सियो) र खुकुरीको बिँड हाल्नलाई लाहा दिन्थे । तिनलाई कुमारका हजुरआमासहितका महिलाहरूले फर्सी, इसकुसलगायतका तरकारीहरू दिन्थे ।

ती शेर्पा र भोटेहरू आँगनमा नाँच्थे । तिनको नाँच जेम्नास्टिक जस्तो थियो । उनलाई त्यो नाँच असाध्ये मनपथ्र्यो । तिनलाई हजुरआमा, आमाहरूले कहिले काहीँ पैसा पनि दिनेगरेको उनलाई सम्झना छ ।

Royal Enfield Island Ad

बालुवाटारस्थित उनको निबासमा सहकर्मी देवेश मानन्धरसँगै पुग्दा वरिष्ठ लोकगायक कुमार बस्नेत हामीलाई पर्खिरहेका थिए । कुराकानीकै क्रममा उनले भने, “मैले कखरा दोलखा मकैबारीकै स्कुलमा पढ्न जानेको हुँ । उतिखेर काठको फलेकमा रन्दा लगाएर त्यसमा कालो गोल (कोइला) दलेर पाटी बनाएर पढ्न जान्थेँ म । स्कुलबाट फर्किंदा त सारा अनुहार र कपडा कालो हुन्थ्यो । त्यसको धेरै पछि मात्रै ढुँगाको पाटीमा लेख्न थालेँ ।”

हजुरआमासँगै मकैबारी बसेका उनी प्यारो नाति थिए । त्यो बेला कतै जाँदा पैदल नै हिँड्ने चलन भएको उनी बताउँछन् । उनी हजुरआमासँग कहिले काहीँ पाखर जान्थे भने आमासँग जाँदा जागिरेयाङ्ना जान्थे । 

यद्यपि, उनको घरमा अरबी घोडा पनि थियो । उनका बाजे चन्द्रशमशेरका हजुरियाहरूमै पर्ने भएकाले उनको घरमा हजुरबाले अरबी घोडा पनि राखेका थिए । कहिले काहीं कुमार बस्नेत पनि त्यही अरबी घोडामा चढेर चरिकोट बजार पुग्थे । सामलतामल लिएर आउँथे । 

गाउँमा साधारण जिन्दगी थियो उनको । सबैले मान्थे । सबैले माया गरेको आज पनि उनी सम्झिन्छन् । त्यो बेला सट्टापट्टाको चलन धेरै थियो । मकैसँग आलु साटिन्थ्यो । लेकको आलु बेसीको मकैसँग साटने चलन थियो । 

०००

कुमार बस्नेत केही वर्षपछि पढ्न भनेरै काठमाडौं आए । उनी र उनका दाजु त्यसबेला पद्मोदय हाइस्कुलमा भर्ना भएका थिए । उतिबेला काठमाडौं आउँदा आफूलाई भरियाले बोकेर ल्याएको उनी सम्झन्छन् । उनलाई कुनै बेला भरियाले बोक्थे । कुनै बेला आफैं पनि हिँड्थे ।

दोलखाबाट काठमाडौं निगाले, मुँढे, पाखर, लामोसाँघु भएर आउनु पथ्र्यो । त्यो बाटो जंगलै जंगलको बीचमा थियो । उनी भन्छन्, “ओहो ! बडो डरलाग्दो वन थियो त्यो ।” यदाकदा दोलालघाटतिर पनि झर्थे भरिया । त्यसपछि तेर्सो बाटो लहरे पीपल हुँदै रविको उकालो भएर उनीहरू बनेपा आउँथे । छोटो बाटो हिँडिन्थ्यो त्यसबेला ।

जब बनेपा पुगिन्थ्यो, त्यसपछि भने ‘लौ काठमाडौं आइपुगियो’ भन्ने भान हुन्थ्यो । 

काठमाडौंको पद्मोदय हाइस्कुलमा भर्ना भएका उनको पढाइ चलिरहेको थियो । त्यसबेला उनका पिताजी बर्माबाट फर्किसकेका थिए । पद्मोदयमा उनका पिताजीले पनि केही समय पढाए । 

कुमार बस्नेतले त्यसबेलाको काठमाडौंको सुन्दरता सम्झिए । अहिलेजस्तो गज्याङमज्याङ थिएन । सिंहदरबारको पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको सालिक अगिल्तिरबाट हिँड्न पाइन्थेन । तल पुलमुनि सुरुङ जस्तो बाटो थियो । त्यसबेला माइतीघर, कुपण्डोल हुँदै जावलाखेल पुगेर चिडियाखानामा जनावर हेरेको पनि सम्झन्छन् । 

यसरी सानो उमेरमा खेलकुद र नाचगानमा नै उनको समय बित्यो । कमलपोखरी इलाकामै उनको बसोबास थियो । कुमार बस्नेतका पिताजी गंगाबहादुरको त्यसबेला खुबै प्रशंसा हुन्थ्यो । बलिष्ठ शरीरका धनी उनका पिताजी फुटबलका राम्रा खेलाडी थिए । फुटबल खेल्दा जुनै पनि टिमबाट खेल्थे उनी । त्यो बेला पैसा लिएर खेल्न पाइन्थेन । त्यसैले पनि उनलाई जसले बोलाउँथे, त्यही टिममा गएर खेल्थे । उनका पिताजीलाई ढेवा काजी पनि भन्थे । अहिलेका मेस्सी र रोनोल्डो जस्ता थिए उनका पिताजी । तर, पिताजीले ढेवा पाउँथे पाउँथेनन्, उनलाई थाहा छैन ।

उनका पिताजीले अर्को बिहे पनि गरेका थिए । त्यसैले परिवार ठूलो थियो । घरमा खासै सुख नभएको कुमार बस्नेत बताउँछन् । नौ जना दाजुभाइ दिदीबहिनी थिए । सुब्बा पदको जागिरे उनका पिताजीलाई गाह्रो गाह्रो नै भएको उनी बताउँछन् ।
कुमार भन्छन्, “धन्न हाम्रा पिताजीले हामीलाई पढाई दिनुभयो ।” 

एकपटक विजय शमशेर राणाले उनका पिताजीलाई सर्टह्यान्डको तालिम लिन कलकत्ता पठाएका थिए । पिताजीले सर्टह्यान्ड लेख्दा उर्दूजस्तो लागेको कुमार सम्झिन्छन् ।  

तिनताक नै काठमाडौंमा नेपाल नाटक संघ भन्ने सांस्कृतिक संस्था स्थापना भएको थियो । ‘‘त्यो संस्था भीमनिधि तिवारीको पहलमा स्थापना भएको हो जस्तो लाग्छ ।’’ कुमार बस्नेत पनि उक्त नाटक संघको जमघटमा पुग्थे बेलाबेलामा । त्यहाँ आएका कलाकारहरूका गफ सुन्थे ।

कुमार बस्नेतको संगत त्यसैबेला कोकिल गुरुङसँग भयो । उनको संगतले उनलाई नृत्य निर्देशक भैरवबहादुर थापा कहाँ पुर्‍याएको थियो । नाँचगानमा औधी रुची राख्ने कुमार बस्नेतले त्यहाँ जान सुरु गरेपछि नाच्न सिके । अभ्यासले प्रदर्शनसम्म पुर्‍यायो । त्यसबेला उनी धेरैजसो केटी बनेर नाच्थे ।

पिताजी गंगाबहादुरको सरुवा तौलिहवा गोश्वारामा हुँदा गढीको बाटो भएर वीरगन्ज हुँदै उनी पनि तौलिहवा पुगेका थिए । तौलिहवा पुगेर पिताजीसँग बस्न थाले । उनका अनुसार काठमाडौंको वातावरण र तौलिहवाको वातावरणमा धेरै ठूलो फरक रहेको उनी सम्झिन्छन् । तर, त्यो पृथक परिवेशमा पनि उनले आफूलाई मिसाउँदै गए ।  

उनी बेलाबखत भैरहवा पनि जान्थे । सोही क्रममा उनी इन्डियन एयरलाइन्सको डकोटामा बसेर कहिले काहीँ पोखरा पुगेको बिर्संदैनन् । यसरी जाँदा केही घण्टामै भैरहवा फर्किन्थे । त्यसबेला भैरहवा–पोखरा आईएको डकोटा उडान हुने गरेको कुमार बस्नेत बताउँछन् ।

अंग्रेजीमा उनका अक्षर राम्रा थिए । कहिले काहीं उनको काम पेसेन्जरको नाम लेखिदिनु पर्दथ्यो । त्यसैले पनि उनी उड्न पाउँथे !

केही समयपछि पिताजीको सरुवा भैरहवामा भयो । भैरहवामा नै भेट भए जनकवि केशरी धर्मराज थापा । उनले कुमार बस्नेतलाई देख्नासाथ ‘ए कुमार, लौ आऊ मसँग’ भन्दै आफूसँग लिएर गए डा. केआई सिंहको अधिवेशनमा । 

कुमार बस्नेत राम्रो नृत्य कलाकार भएकोे धर्मराज थापालाई थाहा थियो । त्यसैले थापाले डा. केआइ सिंहलाई ‘हजुर यसले खुब राम्रो नाच्छ । यसलाई कार्यक्रममा स्थान दिनुपर्‍यो’ भनेर कुरा राखे । 

कुमार भन्छन्, “मलाई अधिवेशनमा राखिदिए । मैले पनि खुबै नाचेँ, केटी बनेर । केटी बन्न पनि अनेक गरिन्थ्यो, लिपिस्टिक पाउडर लाएर ! मैले नाचेको देखेर केआई सिंहले पनि यसलाई पढाई खर्च दिनु भने । त्यसपछि मैले खर्च पाउन थालेँ । वास्तवमा मलाई भगवान्ले नै हात थापेका थिए ।”

०००

तौलिहवा र भैरहवाको बसाईपछि उनी काठमाडाैं फर्किए । काठमाडौंमा पढाईसँगै नाचगानको दौडादौड चल्नु स्वाभाविक थियो । त्यसबेलाका केही सांस्कृतिककर्मी, नाट्यकर्मीहरूलाई भारतको आसाम भ्रमणमा कार्यक्रमसहित पठाइएको थियो । उनी पनि आसाम जाने टोलीमा परे । उनी त्यही समूहसँग नाँच्दै ६ महिना आसाम घुमे । 

नेपालमा २०१५ सालमा आम निर्वाचन भयो । उनी काठमाडौं फर्किसकेका थिए । कुमार नाच्ने कलाकार भएकाले उनलाई त्यसबेलाका धेरै नेताहरूले चिन्थे । उनको घरका सबै कुनै न कुनै दलका नेताहरूसँग जोडिएका थिए । 

उनका अनुसार त्यसबेला पनि जुलुस निस्किन्थ्यो । नारा लाग्थ्यो । भाषण हुन्थ्यो । तर जातियताको नारा कसैले लाएका थिएनन्, त्यो बेला ! वास्तवमा राजनीतिक सोच धेरै माथिको थियो मानिसमा । कसैलाई कसैले आक्षेप लगाएको उनलाई थाहा छैन । चुनाव प्रचारमा उनी पनि नाचगान गर्दै लागे ।

त्यसको केही समयपछि कुमार बस्नेतले राष्ट्र बैंकमा जागिर खाए । नाचगानले जीवन नचल्ने भएकाले जागिर अपरिहार्य थियो । 

कुमार बस्नेत भन्छन्, “मलाई त्यसबेलाका गभर्नर हिमालय शमशेरले महिनाको ८० रुपैयाँ तलब पाउनेगरी जागिर लगाई दिएका थिए । ८० रुपैयाँमा ६० रुपैयाँ म, आमालाई बुझाउँथेँ । २० रुपैयाँ आफू खर्च गर्थें । अहिले ८० रुपैयाँले केही पनि आउँदैन !”

त्यसबेला कुमार बस्नेतलाई बैंकमा पनि सबैले माया गर्थे । उनी पनि अह्राएको काम सबै गर्थे । कहिले काहीँ हाकिमले ‘जा कुमार पैसा निकालेर ल्या’ भन्थे । उनी पनि ढुकुटीको दुई वटै साँचो बोकेर पैसा निकाल्न ढुकुटी भित्र पुग्थे ।  

उनी भन्छन्, “मैले नोटै नोटमा कुल्चिँदै कति नोट निकालेँ । नोट त कति कुल्चेँ कति, हरे ! तर, आज पनि एउटा कुरा के लाग्छ भनेँ, नेपाल राष्ट्र बैंकको व्यवस्था नभएको भए नेपाली नोट नै कसरी चल्थ्यो होला ? राष्ट्रबैंककै कारण नेपाली नोटको चलन सुरु भयो । यो हामी देश हेर्ने मानिसहरूका लागि यो ठूलो कुरो हो ।”

०००

नाच्दानाच्दै उनी गीत गाउन अगाडि बढे । खिमबहादुर र वृखबहादुर चाइना जाने पहिलो गन्धर्व थिए । तिनकै संगतले कुमार पनि गीतमा पनि रम्न थाले । 

एकपटक रेडियो नेपालमा उनी नाच्न भनेर गएका थिए । उनी नाच्ने कलाकार भएकाले सबैले उनलाई चिन्थे । त्यसैबेला उनलाई सडक विभागका एकजना एकाउन्टेन्टले ‘तँ पनि गीत गाउन निवेदन हाल’ भने । उनैले निवेदन लेखिदिए । 

कुमार बस्नेत भन्दा अगाडि नारायणगोपालले गीत गाए । उनको पछाडि कुमार बस्नेत परे । यसरी कुमार बस्नेत भ्वाइस टेस्ट पास भए । उनले दुईवटा गीत रेकर्ड गर्न पाए । ‘रिमझिम रिमझिम पानी पर्ला...’ र ‘चौतारी झ्याङला नानी कान्छा...’ बोलको दुइवटा गीत कलकत्ता गएर रेकर्ड गरियो । त्यसपछि उनका यी गीत रेडियोमा बज्न थाले । 

गीत बज्न के सुरु भएका थिए, दुवै गीत हिट भए । नाच्ने कुमार बस्नेत गाउने कुमार बस्नेतमा दर्ता भए । कतिपय साथीले त चिन्दा पनि चिनेनन् । कुमारका अनुसार ‘को हो यो कुमार बस्नेत ?’ पो भन्थे रे उनका साथीहरूले !

कलाकारको अस्तित्व नहुँदानहुँदै पनि आफू लोकगीत लोकसंगीतमा लाग्दै गएको बताउँछन् । विदेशी साथीहरूले आफूलाई लोकगीत गाउन प्रेरित गरिरहको उनी बताउँछन् । ‘हिमालयन इम्येचुअर म्युजिकल सोसाइटी’ (ह्याम्स) को स्थापना भएको थियो, काठमाडौंमा । यो संस्था काठमाडौंमा त्यसबेला रहेका विदेशीहरूले खोलेको संस्था थियो । जुन विशुद्ध मनोरञ्जनका लागि खोलिएको थियो ।

कुमार बस्नेत र गंगा राणाले ‘ओई नाना ओई नाना...’ गीत भरखर गाएका थिए । चर्चित पनि भएको थियो त्यो गीत । त्यसपछि मात्रै उनले ‘दिउँला यो जोवन तिमीलाई दिउँला...’ गाएका हुन् । जुन गीत अहिले पनि चर्चामा छ ।

कुमारलाई ‘तिम्रो देश लोकगीत र लोकसंस्कृतिमा कति धनी छ । किन गाउँछौ विदेशी पाराको गीत ?’ भनेपछि उनले लोकगीतको संकलन र गायनमा एकोहोरो लाग्नथाले ।

उनी गाउँगाउँ ठाउँठाउँ गएर लोकगीत खोज्न थाले । गीतको शब्द र लय खोज्दै हिँडे । उनले गीत ल्याउँदा गीतको मूल भाका दिनेको र शब्द दिनेको नाम नै गीतमा राख्दै त्यो गीत रेकर्ड गराउँँदै गए ।  कुमार बस्नेत भन्छन्, “हामी कहाँ दलित जनजाति भनिन्छ । तर, संगीतका महान् व्यक्तित्व नै तिनीहरू हुन् । झलकमान गन्धर्व, तीर्थमान गन्धर्व र जंगबहादुर गन्धर्व; यिनीहरूनै संगीतका महान् व्यक्ति हुन् ।”

नेपाल राष्ट्र बैंकमा केही वर्ष काम गरेपछि उनी कर्मचारी सञ्चय कोषमा जागिर खान गए । त्यहाँ हिसाब किताब राख्नुपर्ने जागिर थियो । खरो स्वभावका कलाकार भएकाले ‘यसले केही कतै केही बोली पो हाल्छ कि’ भनेर नबोल्ने कागज नै गराइएको उनी सुनाउँछन् ।

नेपाली जनताले दिएको मायाले नै उनलाई यो स्थानसम्म पुर्‍याएको उनले हर्षका साथ सुनाए । उनलाई राजा महेन्द्रले पनि मनपराउँथे । जवाहरलाल नेहरूले पनि आफूलाई धाप मारेको उनले सुनाए । रेडियो नेपालका गायकहरूले पनि सधैँ उनलाई माया गरे । एकपटक राजा महेन्द्रले ‘यसलाई रेडियोमा जागिर देऊ’ भनेछन् प्रकाशमान सिंहलाई । प्रकाशमानले पनि राजालाई ‘कुमार आउँदैनन् होला । आए नियुक्ति दिन्छु’ भनेछन् । 

कुमार बस्नेत भन्छन्, “त्यो बेला नातिकाजी, शिवशंकर र तारा देवी त सुब्बा र खरदार पदमा कार्यरत थिए । मेरो गीत सुनेर राजाले पैसा दिएको भए बरु दंग लाग्थ्यो होला । म त सञ्चय कोषमा अधिकृत थिएँ । म किन खरदार सुब्बामा जागिर खान रेडियो नेपाल जान्थेँ र ! त्यसैले राजाले भने पनि म रेडियोमा जागिर खान गइनँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro