site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 राजा महेन्द्र र वीरेन्द्रको काम गर्ने शैली बेग्लै थियो 
SkywellSkywell

नुवाकोट जिल्लाको थान्सिङ गाउँमा उनको जन्म भयो । र, बाल्यकाल पनि त्यहीँ बित्यो । उनी मातापिताका छैंठौं सन्तान हुन् । २००६ सालमा मोहनशमशेरले थानसिंङमा भाषा पाठशालाको स्थापना गरेका थिए । त्यसैले उनको प्रारम्भीक पठन पाठन त्यहीँबाट सुरु भयो । त्यसबेला काठमाडौंबाट हिँडेर थान्सिङ पुग्न पाँच–सात घण्टा लाग्ने गरेको उनी बताउँछन् । ककनी रानीपौवाको बाटो भएर उनी र उनका परिवारका अन्य सदस्यहरूको काठमाडौं यात्रा हुन्थ्यो ।

त्यसबेला हरिप्रसाद आचार्य नामका गुरु उक्त नवस्थापित पाठशालामा पढाउन गएका थिए । उनी सीतापाइला फस्कूका थिए । ती गुरुलाई उनका पिताजीले पाठशालामा पढाउनै भनेर थान्सिङ लगेको उनी बताउँछन् । 

ति गुरु दिउँसो स्थानीय पाटीलाई पाठशाला बनाउँथे । विद्यार्थी पढाउँथे । सोही पाटीमा राति ढाक्रेहरूको बसोबास हुन्थ्यो । 

KFC Island Ad
NIC Asia

नारायणहिटी राजदरबारमा लामो अवधि काम गरेका, तत्कालीन खर्च विभागका सचिव शम्भुप्रसाद अधिकारी (७५)सँग मंगलबार साँझ उनकै निवासमा भेट हुँदा उनी आफ्नो जीवनको आरोह अवरोह सुनाउँदै थिए । अधिकारी भन्छन्, “साँझ बिहानको खाना गुरु हाम्रै घरको भान्सामा खान्थे । पिताजीले उनको खानपान र बस्ने बन्दोबस्त सबै व्यवस्था आफ्नै घरमा गर्नुभएको थियो । उहाँलाई पाठशालामा पढाउनेबाहेक अरु झन्झट थिएन ।”

आचार्य थरका ति गुरुले घरका केटाकेटी पनि पढाउँथे । उनका दाजुहरू ठूला भइसकेका थिए । बिहे पनि भइसकेको थियो ।  तिनै गुरुसँग शम्भुप्रसाद अधिकारीले संस्कृत नै पढे प्रारम्भमा । गुरुले लघु कौमुदीलगायतका विषय पढाएको उनी आज पनि सम्झिन्छन् । तर लामो समय उनले संस्कृत पढेनन् । 

Royal Enfield Island Ad

थान्सिङमा उनका पिताजी नीलप्रसाद अधिकारीको खेतीपाति राम्रै थियो । उनी पनि कहिले काहीँ खेतीपातिमा पिताजीलाई सघाउँथे । बेलाबेलामा बेसी झर्थे, धान काटने महिनामा । थान्सिङ फाँटमा उनीहरूको खेती थियो । माथि थान्सिङ डाँडामा घर । 

मंसिरमा बाली उठाइ सकेपछि खेतमा चरनका लागि गाइबस्तु लैजाने चलन थियो । फाँटमा एकबाली भन्दा थप बाली कसैले लगाउँदैनथे । उनका अनुसार तिनले थप बाली किन लगाएनन्, भन्न सकिन्न । तर अहिले त्यही तीन बालीसम्म लाग्छ ! यो सुनाउँदै गर्दा अधिकारी हाँसे ।

त्यो बेला मंसिरमा धान काटेपछि खेतमा भएका पराल–सराल गाइवस्तुलाई खुवाउन तीन चार महिना उनको दैनिकी फाँटमै बित्दथ्यो । मंसिरदेखि माघ फागुनसम्म फाँटमै रमाउँथे उनी पनि । उनका दाजुहरू पनि फाँटमै रहनुहुन्थ्यो । उनी भन्छन् “त्यो चार महिना पूरा किसान भएर, गोठाले बनेर दिन बिताउँथ्यौं हामी ।” 
तिनताक उनका साहिँलो दाजु काठमाडौंको कालधारामा घर बनाउन बसेका थिए । कालधारामा अलिकति जग्गा भएकोले उनका पिताजीले केटाकेटीको भविष्यका लागि राम्रो हुन्छ भनेर घर बनाउन सुरु गरे ।

एकदिन उनी फाँटमा रहेका गोठाला र खेतालाहरूका लागि खाजा लिन भनेर माथि घर उक्लिएका थिए । उनका साहिँलो दाजु र भाउजु काठमाडाैं फर्किने तरखरमा रहेछन् । त्यो देखेपछि उनलाई पनि काठमाडौं जान मन लाग्यो । तर केही भनेनन् ।

एकदिन उनले पिताजीलाई खेतमा पराल सकियो भनेर खबर गरे । यो उनले गरेको बहाना थियो । खासमा उनी घर फर्कने र त्यहाँबाट मिलेसम्म काठमाडौं जाने योजना बुन्दै थिए । 

यसरी पराल सकिएको सुनेपछि उनका पिताजीले सबै बस्तु लिएर गाउँ आउन भने । उनी गाउँ फर्किए ।

आफूले बनाएको भूमिकाअनुसार काम सफल भए पनि उनलाई काठमाडौं जाने आँट आएन । १३–१४ वर्षको उमेर, एक्लै पाँच सात घण्टाको पैदल यात्रा, कसरी आँट्नु !

सचिव शम्भुप्रसाद अधिकारीका पिताजी जिम्वाल मुखिया थिए । कतिपय सन्दर्भहरूमा उनको सिफारिस चल्दथ्यो । त्यसैबखत गाउँकै एक दाजुभाइका पिताजी बितेकोले सरकारी कामका क्रममा दिइएको तारिखको म्याद गुज्रिएछ । 

पछि तिनकै परिवारका कोही सदस्य सिफारिस लिन थान्सिङ आएका थिए । तिनै सिफारिस लिन आउने व्यक्तिको साथ लागेर उनी पहिलोपटक नेपाल अर्थात् काठमाडौं भित्रिए । उतिबेला काठमाडौंलाई नेपाल नै भनिन्थ्यो ।   

२०१७ साल चैत्र १ गते शम्भु अधिकारी पहिलोपटक काठमाडौं भित्रिए । सम्भवतः उनलाई काठमाडौं गएर पढ्न मन भएकोले नै पनि यो वातावरण मिल्दै गएको थियो । उनी ती आफन्तसँग काठमाडौं आए र कालधाराको बन्दै गरेको घरमा साहिँलो दाजु भाउजुसँगै बसे ।

उनी यत्तिक्कै बस्न त आएका थिएनन्, काठमाडौं । त्यसैले उनी लैनचौरस्थित शान्ति विद्यागृहमा आठ कक्षामा भर्ना भए । त्यसबेला स्कुलमा गणेश पण्डित, अर्जुननरसिंह केसीहरू उनका सहपाठी थिए । 

उनले सरासर पढ्दै गए  । र २०२० सालमा एसएलसी दिए । एसएलसी दिएपछि उनी केही समयका लागि फेरि थान्सिङ फर्किए । एसएलसी पछि रिजल्ट नआउन्जेल काठमाडौंमा यत्तिक्कै किन बस्ने भनेर उनी गाउँ गएका थिए । गाउँ पुगे पछि उनका पिताजीले ‘यत्तिक्कै बस्न हुँदैन’ भनेर शम्भुका जेठा दाजुलाई भाइलाई जागिर लगाइदिन भने । 

उनका दाजु जिल्ला पञ्चायतका सदस्य थिए त्यसबेला । त्रिशूलीमा भरखरै मात्र ‘त्रिशूली जलविद्युत् परियोजना’को काम सुरु भएको थियो । त्यहाँ कर्मचारीहरू चाहिएको पनि थियो । त्यही परियोजनामा उनले काम पाए । काम थियो, भरखरै जोडिएको टेलिफोन उठाउने ।  

आठ दस दिन उनी त्रिशूलीमा अरुसँगै बसे । पछि आफैँ डेरा लिएर बस्छु भन्ने सोच्दै उनी पिताजीसँग पैसा माग्न गाउँ आए । एकाबिहानै त्रिशूलीबाट घरतिर हिँडेका उनी तीन चार घण्टामा गाउँ आइपुगे । 

०००

उनका पिताजी अघिल्लो दिनै काठमाडौंबाट फर्किएका रहेछन् । शम्भु भोलिपल्ट गाउँ पुगे । त्यसबखत राजदरबारका सैनिक अधिकारी शेरबहादुर मल्लसँग उनका पिताजीको दोस्ती रहेछ । मल्लको केही पैसा थान्सिङ गाउँतिर फसेकोले उनी पैसा उठाउन थान्सिङतिर जाँदा उनका पिताजीसँग भेटघाट भएको थियो । यसरी यी दुइजनाबीच मित्रता भएको रहेछ ।

एउटा रमाइलो प्रसंग सुनाए शम्भुप्रसाद अधिकारीले । सात सालपूर्व एक जना सैनिकले केही रकम शेरबहादुरसँग लिएका रहेछन् । प्रजातन्त्र आइसकेपछि ति सैनिक सेना छोडेर गोर्खा परिषदमा गएछन् । पछि थान्सिङ तिरका ति सैनिकलाई खोज्दै मल्ल त्यता पुग्दा उनका पिताजीसँग सम्बन्ध हुन गएको रहेछ ।
सेतो कुर्ता सुरुवाल लगाएका चिटिक्क परेका मानिसलाई उनले सानैदेखि देखेका थिए । तिनै मानिस शेरबहादुर मल्ल हुन भन्ने ज्ञान थियो ।

शम्भु त्रिशूलीबाट गाउँ पुग्दा उनका पिताजीले उनलाई भनेछन्, ‘मैले तेरो बारेमा मल्लजीसँग कुरा गरेर आएको छु । कि जान्छस् त नेपाल ?’

उनका पिताजीले यसपटक काठमाडौंबाट फर्किँदा शेरबहादुर मल्ललाई भनेका रहेछन्, ‘लौन एउटा छोरोलाई जागिर लगाई दिनुपर्‍यो ।’

मल्लले पनि ‘पठाई दिनुस्, मेरै अफिसमा काम लगाई दिउँला’ भनेका रहेछन् ।

यति सुनेपछि त शम्भु अधिकारीलाई के चाहियो ! त्रिशूलीलाई हाप्दै उनी खाना खाएर काठमाडौं तिर हुइँकिए । र भोलिपल्ट बिहानै शेरबहादुर मल्लकहाँ पुगे । आफूलाई पिताजी नीलप्रसाद अधिकारीले भेट्न पठाएको बताए । 

मल्ललाई उनको नाम पनि थाहा थिएन । उनले पनि सायद भनेनन् । मल्लले सीधै ११ बजे राजदरबारको पश्चिम ढोकामा आउनू भने । उनी त्यहाँबाट फर्किएर घर गए । खाना खाए । र, १० बज्नुअघि नै दरबारको पश्चिम ढोकामा खडेखमान भएर उभिए ।

केही बेरपछि कालो भक्सवागनमा मेजर जरनल मल्ल गेटमा आइपुगे । मल्लले चारैतिर हेरे । उनको गाडी भित्र छिर्‍यो । सैनिकहरूले सलाम ठोके । मल्लले उनलाई न आउनु भने न कुनै संकेत नै दिए । 

यो सुनाउँदै उनी हाँसे । भने “मेरो नाम पनि थाहा थिएन मल्ल सरलाई । बोलाउँछन् कि बोलाउँदैनन् ? मनमा शंका पस्यो । तर १० मिनेटपछि एउटा मानिस आएर ‘नीलप्रसादको छोरो को हो ?’ भन्दै आयो । मैले पनि ‘मै हुँ भनेँ ।’ त्यसपछि उनले ‘जर्साबले भित्र बोलाउनु भएको छ, आउनुस्’ भन्दै भित्र लगे । म पनि उनको पछि लागेँ । पछि मल्ल सर कोठाबाट बाहिर निस्के । उनले भने ‘यिनले एसएलसी दिएका छन् । मेरै अफिसमा राखिदिने । कुन दर्जामा दिन मिल्छ त्यसैमा जागिर दिने ।’ त्यसपछि उनी बाहिरिए ।

त्यही दिन शुम्भ अधिकारीको तिनपुस्ते र हुलिया लिएर बहिदार सरहको पदमा भर्ना गरियो । उनलाई त्यो मिति आज पनि याद छ, २०२० साल चैत ३० गते । उनले जुनियर क्लर्कमा नियुक्ति पाए । 

उनको आर्मीभित्रको सिभिलियन पोस्ट थियो । सिभिलियन लप्टन भनिन्थ्यो । यसरी शम्भुको जागिरे जीवन सुरु भयो । त्यसबेला उनको तलब ६५ रुपैयाँ महिनाको थियो । 

उतिखेर दरबारमा तलब खुवाउँदा राजाको निशाना सदर हुनुपर्दथ्यो । उनको हकमा पहिलो पटक निशाना सदर हुन सकेन । र दुई महिनाको निशाना सदर एकै चोटी भयो । यसै कारण दुई महिनाको तलब एकैचोटी थापे उनले । त्यसबेला दुई महिनाको १३० रुपैयाँ पाएपछि आफूले त्यो पैसाले आधा तोलाको सुनको औँठी बनाएको सम्झिँदै थिए । 

उनको जागिर सुरु भइसकेपछि उनी एसएलसी पास भए । त्रिचन्द्र कलेजमा भर्ना भएर कमर्श पढ्न सुरु गरे । कलेजमा उनका साथी थिए केशव काफ्ले, दामोदर शर्माहरू । दामोदर शर्मा केही वर्षअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि भए । त्रिचन्द्रमा यि मिल्ने साथीहरू थिए ।  शम्भु अधिकारीको बसाइ कालधारामै थियो । त्यसबेला उनलाई ६५ रुपैयाँले छेलोखेलो पुग्थ्यो । उनी आजको समय सम्झिएर हाँसे । भने “आज कहाँ पुग्नु । आज त एक कप चिया नै पपिन ६५ मा आउँदैन ! उतिखेर गाउँबाट चामल र घ्यु तेल आउँथ्यो । त्यसैले खानलाई मनग्ये पुग्थ्यो ।”

०००

दरबारको जागिर सुरु भयो । बसाइ कालधारामै थियो । बिहानको कलेज । ११ बजे जागिर खान दरबार भित्रिनु पर्दथ्यो । त्यसैले उनी बिहान कलेज जान्थे । कलेज सकिनासाथ हतारहतार कालधारा पुगेर फटाफट खाना खाएर दरबार आउँथे । सँधैको धपेडी थियो यो ।

जब उनी बीकम पढ्दै थिए त्यसबेला दरबारकै एकजनाले उनलाई सिकाए, राजा महेन्द्र शिक्षाप्रेमी छन् । राजाका नाममा १२ बजे हाजिर हुन पाउँ भनेर बिन्तीपत्र लेखेर देऊ । पक्कै पनि केही होला !

उनले त्यसै गरे । आफूले पढ्दै गरेको कुरा यथार्थ दर्साउँदै बिन्तीपत्र लेखे । उनको बिन्तीपत्रमाथि सुनुवाइ भयो । उनले १२ बजेसम्मलाई छुट पाए । त्यसपछि उनले अफिस जानलाई त्यति धपेडी गर्नु परेन । उनी १२ बजेतिर अफिस पुग्न थाले । र जिम्माको काम समयमा नै सक्याउन थाले । 

उनले आइकम पढ्दा आठ रुपैयाँ कलेज फि तिर्नु पर्दथ्यो । तर एकपटक कलेजले छात्रवृत्तिका लागि जेहेन्दार विद्यार्थीहरूसँग आवेदन माग्यो । शम्भु अधिकारीले पनि आवेदन दिए । अन्तर्वार्ता दिन गए । 

अन्तर्वार्ता लिनेले कुरा गर्दै कहाँका हौ भनेर सोधे । उनले थान्सिङको भने । उनले थान्सिङ कहाँ भनेर सोधे । यसरी सोध्दै गएपछि अन्तर्वार्ता लिनेले भने ‘मैले तिमी कहाँ गएर मोही र मकै खाएको छु ।’

यसरी शम्भु अधिकारीले आइकममा छात्रवृत्ति पाए । उनले बीकममा पनि छात्रवृत्ति पाए । र उनको पढाई निरन्तर अगाडि बढ्यो, जागिरसँगै ।

खासमा उनले जागिर खाए पनि पढाइमा विशेष ध्यान दिए । यसरी जागिरमा सैनिक सेवामै रहेर २९ वर्ष बिताए । त्यही नाताले २०२९ सालदेखि २०४६ सालसम्म उनले तत्कालीन राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणमा जाने मौका पाएका थिए । 

यसको कारण उनी बताउँछन् । उनका अनुसार त्यसबेला आर्मी प्रहरी र जनसम्पर्कले पठाएको डिटेल डाटा दरबारमा आउँथ्यो । त्यस विषयमा उनलाई जानकारी हुन्थ्यो । 

यस्ता भ्रमणका बेला दर्शन भेटका लागि आउने मानिस कुन प्रवृत्तिको ? कस्तो मानिस ? भन्ने सबैलाई थाहा नहुन सक्थ्यो । त्यसैले शम्भुलाई थाहा हुन्छ भनेरै उनलाई पनि भ्रमणमा लिएर जान थालियो । 

उनी मुस्कुराए । भने,  “मलाई इन्साइक्लोपिडिया भन्थे सबै । किनभने धेरैका बारेमा मलाई थाहा हुन्थ्यो । किनभने भ्रमणका बेला कतिपयले दर्शन भेटका लागि बिन्ती गर्थे । तिनमा कोही कांग्रेस हुनसक्थे, कोही कम्युनिष्ट वा अरु कुनै प्रकृतिका पनि हुन सक्थे । तिनका बारेमा दरबारमा केही कुरा आएको छ कि छैन भनेर काठमाडौं सोध्नुभन्दा शम्भुप्रसाद अधिकारीलाई लगेपछि सबै क्लियर हुन्छ भन्ने सायद सोचिन्थ्यो ।” 

शम्भु अधिकारीका अनुसार त्यसबेला टास्क फोर्स बनेको हुन्थ्यो । तिनले पनि अधिकारीलाई नै धेरैजसो सोध्थे । उनले आफूलाई जानकारी भएको बताउँथे पनि । यसरी उनले २०२९ देखि ०४६ सालको पोखराको क्षेत्रीय भ्रमणसम्मको अनुभव बटुल्न पाए ।

०००

शम्भुप्रसाद अधिकारीका अनुसार राजा महेन्द्रको समयमा उनी खासै ठूलो पदमा नरहेकोले त्यति जिम्मेवारी नपाइएको बताउँछन् । त्यसबेला कसैकसैले पढेलेखेको भनेर केही थप जिम्मा दिन्थे । तर वीरेन्द्र सरकार राजा हुनासाथ उनको जिम्मेवारी थपिएर गयो ।

उनका अनुसार राजा महेन्द्रको काम गर्ने शैली बेग्लै थियो । राजा वीरेन्द्रको काम गर्ने शैली बेग्लै थियो । 

२०५० सालमा राजा वीरेन्द्रले शम्भु अधिकारीलाई खर्च विभागको उपसचिवको जिम्मेवारी दिए । र त्यहीँ रहँदारहँदै उनी खर्च विभागको सचिवसम्म भएर रिटायर्ड भए । 

हेर्दा सामान्य लागे पनि खर्चको काम कठिन थियो । खर्चका विषयहरू दुरुस्त तुल्याउनु पर्दथ्यो । गलतरुपमा खर्च नहोस् भन्नेतर्फ पनि ध्यान दिनु पर्दथ्यो । आफूले पाएको जिम्मेवारीमा उनी जहिल्यै खरो उत्रिने प्रयत्नमा रहे ।

सैनिक सेवा अन्तर्गत रहेका उनी पछि दरबारको खर्चवर्च हेर्ने काममा संलग्न भए । तत्कालीन राजा वीरेन्द्रबाटै खर्च विभागका लागि राम्रो मानिसको खोजि भएको थियो । बीकम पढेको, लेखा जान्ने, दरबार नजिक नै बसोबास रहेका शम्भुप्रसाद अधिकारीको नाम सिफारिस भएछ  । कस्ले उनको नाम सिफारिस गर्‍यो उनलाई थाहा छैन । तर उनको नाम अगाडि आयो । तर यसरी नै शम्भुप्रसाद अधिकारी खर्च विभागसँग जोडिए । 

उनी खर्च विभागको उपसचिवमा जाँदा इन्द्रप्रसाद श्रेष्ठ प्रमुख थिए । उनी उपप्रमुख भए । खर्चमा गइसके पछि उनले राजपरिवारका सबै सदस्यहरूसँग निकट रहेर काम गर्न पाए । यद्यपि, सैनिक सेवामा हुँदा उनको यस किसिमको सम्वन्ध विकसित भएको थिएन । 

उनी खर्च विभागको सहसचिव राजा वीरेन्द्रको समयमा र सचिव तत्कालिन राजा ज्ञानेन्द्रको समयमा भएका थिए ।

०००

कुराकानीको क्रममा उनले एउटा रोचक प्रसंग सुनाए । कुरो २०४० सालको हो । शम्भुप्रसाद अधिकारीका अनुसार सुर्खेतमा राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणका बेला उनी पनि सुर्खेत पुगेका थिए । त्यही समयमा एकदिन राजा वीरेन्द्र र युवराज दीपेन्द्र हेलिकप्टरमा डोल्पा पुगे । डोल्पामा त्यसदिन असाध्यै हिउँ र पानी पर्‍यो । जसले गर्दा हेलिकप्टर सुर्खेत फर्किन सकेन । राति डोल्पाकै ब्यारेकमै बस्नुपर्‍यो । 

दरबारका पूर्वसचिव अधिकारीले भन्छन्, “भोलिपल्ट सरकारको सवारी फिर्‍यो । सुर्खेत सवारी फिरे पछि त्यहाँ ब्रिफिङ भयो । त्यहीँ एकजना बुढा कर्नेल थिए । उनले वीरेन्द्र सरकारलाई भने ‘सरकार माफ पाउँ । मलाई एउटा कुरो चित्त बुझेन । बिन्ती चढाउँछु, रिसानी नहोला’ । राजाले ‘भनन’ भनिबक्सियो । अनि ती कर्नेलले भने ‘सरकार, राजा र युवराज एउटै हेलिकप्टरमा जान हुन्छ ? संसारमा कहिँ पनि यस्तो चलन छैन । केही तलमाथि परेको भए के हुन्थ्यो ?’ उनको कुरा सुनेर सरकार मुसुक्क आफ्नै शैलीमा हाँसिबक्सियो । यस्ता साहसिला व्यक्ति पनि थिए सेनामा !”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro