काठमाडौं । गुन्डा नाइके दावा लामामाथि मंगलबार बिहान काठमाडौंको गौरीघाटस्थित दिव्य पार्टी प्यालेस एण्ड हस्पिटालिटीमा जिम गर्न प्रवेश गर्दै गर्दा गोली प्रहार भएको छ ।
काभ्रे घर भएका लामा बिहान ९ बजेर २० मिनेटमा जिम क्लब प्रवेश गर्नासाथ बाहिरबाट गोली हानिएको थियो ।
पार्टी प्यालेसको अगाडी छेउमा गाडी पार्किङ गरी भित्र प्रवेश गरिसकेका बेला उनलाई पछाडीबाट एक जनाले गोली हानेका थिए । प्रत्यक्षदर्शीका अनुसार दावा गाडी रोकेर हाफ पाईन्ट र टिसर्टमा जिम गर्न पार्टी प्यालेसभित्र रहेको जिम हलमा प्रवेश गर्ने तयारीमा थिए ।
पार्टी प्यालेसको गेटमा पुगेका बेला उनलाई पछाडीबाट आएका एक व्यक्तिले पहिलो गोली खुट्टामा हानेका थिए । एउटा खुट्टा भित्र र एउटा गेटबाहिर रहेको अवस्थामा दावाको खुट्टामा ती बाहिरबाट गोली हानेको प्रहरीले सीसीटीभी फुटेज हेरेपछि जानकारी दिएको छ । त्यसपछि दावा लरबराउँदै भुईमा ढलेपछि उनको कोखामा दुई राउण्ड गोली हानेर ती व्यक्ति भागेका थिए ।
सीसीटीभीमा देखिएको फुटेजअनुसार गोली चलाउने हरियो माक्स लगाएका थिए भने कालो झोला बाकेका थिए । पार्टी प्यालेसको परिसरमा भएको सीसीटिभी हेरेर प्रहरीले अहिले अनुसन्धान थालेको छ । “नाइन एम एम पेस्तोलबाट ३ राउण्ड गोली चलेको देखिएको छ,” काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने, “घाईतेको उपचार हुँदैछ, हामीले अनुसन्धान प्रक्रिया पनि अघि बढाएका छौं ।”
घटनाको अनुसन्धान गर्न अपराध महाशाखा र काठमाडौं परिसरको टोली संयुक्त रुपमा खटिएको छ । नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएको भोलिपल्टै दावामाथि अज्ञात समुहले गोली हानेको छ ।
दावाको पछिल्लोपल्ट राम गिरीसँग ठमेल क्षेत्रमा विवाद हुँदा हानाहान समेत भएको थियो । प्रहरीले दावालाई खोजीको सूचीमा राखेको थियो ।
तस्बिर सौजन्यः दिव्य पार्टी प्यालेस