site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशनका लागि काम सुरु

काठमाडौं । नेपाली कांग्रेसको ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको अधिवेशनका लागि काम अगाडि बढाएको छ । केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित सुझाव समितिले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान, सांगठनिक संरचना तथा सैद्धान्तिक पक्षका बारेमा आवश्यक सुझाव संकलन गर्न विभिन्न पक्षसँग छलफल गर्ने भएको छ ।

भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचनालगायत मूलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउँ भनी माग गरिएका विषयमा समितिले पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्यहरुसँग भदौ २५ गते बिहान ११ बजे छलफल गर्ने निर्णय गरिएको संयोजक साउदले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार समितिले भ्रातृ संस्थाहरुको सांगठनिक संरचनालगायत मूलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउँ भनी माग गरिएका विषयमा भ्रातृ संस्थाका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसँग भदौ २५ गते दिउँसो १ बजे छलफल गर्ने भएको छ । 

सोही विषयमा शुभेच्छुक संस्थाहरुका अध्यक्ष, निवर्तमान अध्यक्ष र विधान मस्यौदा समितिका संयोजकहरुसँग भदौ २६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने निर्णय गरिएको साउदले बताए ।

उनले यसै विषयमा माग प्रस्ताव गरेका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रस्तावित सभापति र विधान मस्यौदा समितिका संयोजकहरुसँग भदौ २९ गते दिउँसो १ बजे छलफल आयोजना गरिने पनि जानकारी दिए । आइतबार बसेको ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’को बैठकले पार्टी केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई समितिको सचिवमा नियुक्त गरेको छ । 

भदौ १७ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचनालगायत मूलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गरी विधान तयार गर्न समिति गठन गरेको थियो । उक्त बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई अधिवेशन सम्पन्न गर्ने गरी छ महिना थप गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १३:३६
प्रतिक्रिया दिनुहोस्