काठमाडौं । बुधबार अपरान्ह अनामनगरस्थित मण्डला थिएटरमा मान्छेको घुइँचो थियो । पार्किङदेखि प्राङ्गणसम्म युवायुवतीको बाक्लो भीड थियो । काउन्टर अगाडि लामा दुइटा लाइनमा टिकटको खोजीमा लामबद्ध थिए युवा । एकै छिनमा काउन्टरबाट एक युवतीले भनिन्,– “आजलाई सिट सकियो । लाइन नबस्नु होला ।”
लाइन बसेका कोही चुकचुकाउँदै लाइनबाट निस्किए । कोही ‘सिट क्षमता नै सानो’ भन्दै असन्तुष्टि जनाउँदै फर्किए । टिकट पाउनेहरु भन्दै थिए, ‘धन्न चाँडै आइएछ ।’ नपाउनेहरुलाई थिएटर आर्टिस्टहरु आग्रह गर्दैथिए, “आज यस्तै भयो । भोलि आउनुहोला है ।”
घन्टी बज्यो । ढोका खुल्यो । लाइन लागेर युवा थिएटर पसे । सुरु भयो, ‘महाभोज’ ।
समसामयिक नेपाली राजनीति, पत्रकारिता र दलित तथा सीमान्तकृत समुदायको यथार्थ चित्रण हो महाभोज । चुनाव नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताहरु कसरी साम, दाम, दण्ड र भेद अपनाउँछन् ? नाटकले छर्लङ्ग पारेको छ । समाजमा नैतिकवान राजनेताको छवि बनाएका नेतासमेत आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो हैसियत जोगाइराख्न केके सम्म गर्न तयार हुन्छन् भन्ने नाटकमा हेर्न पाइन्छ ।
निर्धन दलित तथा सीमान्तकृत समुदायलाई राजनीतिको गोटी बनाउन नेताहरुले गर्ने प्रपञ्चलाई पनि उदाङ्गो पारेको ‘महाभोज’ ले समानान्तर रुपमा अरु विषयलाई उठान गरेको छ । अरुकै लागि सधैँ गुलामी गरिरहेको एक दलित बस्तीको कथा भन्दै नाटकले समग्र गरिब दलितहरुको कथा भनेको छ ।
राजनीतिक नेतृत्वको निर्देशनमा प्रहरीका कामकारबाही कसरी प्रभावित हुन्छन् ? नाटकमा समेटिएको छ । प्रहरीको रवाफ र दमनले गरिब गाउँलेको आवाजमा कसरी लगाम लागेको छ ? नाटक हेरेपछि छर्लङ्ग हुन्छ । आफ्नो स्वार्थ सिद्धीका लागि निरअपराध नागरिकका ज्यान लिने राजनीतिक तिकडमलाई पनि नाटकले सतहमा ल्याइदिएको छ ।
बर्दीको दुरुपयोग गरेर शासक अनुकूल चुप लगाउने र बकाउने प्रहरीको हुबहु चित्रण गर्ने ‘महाभोज’ले निष्ठावान प्रहरी अफिसर कसरी राज्यबाटै पाखा लगाइन्छ, त्यसलाई पनि कुशलतापूर्वक देखाएको छ ।
नाटकले राजनीतिसँगै पत्रकारिताका विकृति र विसंगतिको पनि उछितो काढेको छ । पत्रिकाको पेज देखि प्लेस्मेन्ट, सप्लिमेन्ट्रीदेखि हेडलाइन, रिपोर्टर देखि समाचार स्रोतसम्मको कुरा देखाएको ‘महाभोज’ले प्रकाशकको बाध्यता र लोभी मनको पनि चित्रण गरेको छ । प्रकाशकहरु कसरी विज्ञापनको लोभमा फसेर नैतिकता र जिम्मेवारीबाट च्यूत हुन्छन्, नाटकले चिरफार गरेको छ । विज्ञापनको जालमा परेर आफैँले उठाएको विषयलाई उल्ट्याउने पत्रकारिताको वेथितीको पटाक्षेप गर्ने नाटकले बिक्री संख्या बढाउने नाममा पाठकमा भ्रमको खेती गरिरहेको पत्रकारितालाई कडा व्यङ्ग्य गरेको छ ।
बीचबीचमा आउने गीतले ‘महाभोज’लाई जीवन्त मात्रै पारेको छैन, प्राण भर्ने काम पनि गरेको छ । तीन दर्जन कलाकार छन् । अग्रज पुस्ताका रमेश बुढाथोकी, शेखर चापागाईं, विप्लव प्रतीक, राजन खतिवडादेखि नयाँ पुस्ता पनि समेटिएका कलाकारको अब्बल अभिनय छ । नाटकको समयावधि दुई घण्टा छ । तर अनुप बरालको निर्देशन शिल्पले समय कटेको दर्शक पत्तो पाउँदैनन् ।
४० वर्ष अगाडि भारतका मन्नु भण्डारीले लेखेको नाटक आजको नेपाली समाजसँग जस्ताको तस्तै मिल्छ । लाग्छ, लेखक मन्नुले भारतीय राजनीति, प्रहरी, पत्रकार र समग्र समाजलाई हैन, नेपाली समाजको गल्लीगल्ली छिरेर लेखेका हुन् । त्यसैले विदेशी लेखकको कृति अनुवाद गरेर नाटक मञ्चन गरिए पनि दर्शकले आफ्नै देश, आफ्नै समाजको नाटक हेरिरहेको अनुभूत गर्छन् ।
ब्याकग्राउन्ड स्कोरले नाटकलाई अब्बल बनाउन थप सहयोग गरेको छ भने जीवन्त अभिनयले दर्शकलाई बाँधिरहन्छ । समकालीन समाजको विद्रुप अनुहार नाटकका प्रत्येक घटाना आफैंले देखे–भोगेको पाइन्छ । चलचित्र हेरेर नाक खुम्चाइरहेका दर्शक आफू बाँचिरहेको यथार्थको कथा ‘महाभोज’ हरेर सन्तुष्ट हुन्छन् ।