site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा हिन्दी चलचित्र साँढे छोडेझैँ छोडियोः दीपकराज गिरी

काठमाडौं । नेपाली चलचित्रको निर्माण तथा प्रदर्शन निराशानाक नभए पनि व्यापार भने उत्साहजनक छैन । वर्षमा एकाध चलचित्रले राम्रै व्यापार गरे पनि बाँकी अधिकांश चलचित्रको कलेक्सन निराशाजनक छ । 

लगानी र निर्माण संख्याका आधारमा चलचित्रको व्यापार नगन्य हुनुमा कमजोर चलचित्र नै मुख्य कारक भएको चलचित्र वितरक तथा निर्देशकहरु बताउँछन् । “‘ए मेरो हजुर–३’, ‘जात्रै जात्रा’, ‘दालभात तरकारी’ लगायत चलचित्र दर्शकसँग कनेक्ट भए, चले,” वितरकसमेत रहेका निर्देशक प्रचण्डमान श्रेष्ठ भन्छन्, “बाँकी चलचित्र चलेनन्, कारण– दर्शक ती चलचित्रसँग कनेक्ट हुन सकेनन् ।” 

हिन्दी होस् वा अंग्रेजी, राम्रो नभएको अवस्थामा कुनै पनि भाषाका चलचित्र नचल्ने उनी बताउँन्छन् । “दुई वर्षअगाडि हिन्दीभन्दा नेपाली चलचित्र धेरै चलेका थिए । यसको अर्थ कन्टेन्ट राम्रो भयो भने चल्छ भन्ने हो,” श्रेष्ठ भन्छन् । 

दर्शक विस्तारै ‘चुजी’ हुँदै गएको उनको अनुभव छ । नेटफ्लिक्स, अमेजन प्राइम, युट्युब जस्ता माध्यम आएसँगै हलमा दर्शकको संख्या कम हुँदै गएको उनको तर्क छ । “जुन चलचित्रले आफूलाई कनेक्ट गर्दैन, ५ सय रुपैयाँ र समय खर्चिएर किन दर्शक हलमा जान्छ ?” वितरक श्रेष्ठ भन्छन्, “अझै हलसम्म जाने दर्शकको संख्या कम हुन्छ । अबको एक वषपछि हेर्नुस्– आफूलाई मनपर्ने, आफूलाई छुने चलचित्र बाहेक अन्य चलचित्र हेर्न दर्शक जाँदैन ।”

निर्माताहरुले वितरक र हललाई दोष देखाएर मात्रै नहुने भन्दै उनले राम्रो चलचित्र बनाउनुपर्नेमा जोड दिए । जुन चलचित्र राम्रो छ, त्यसैले हलमा ‘शो’ पाउने उनी बताउँछन् । “वितरक र हललाई गाली गरेर मात्रै हुँदैन । राम्रो चलचित्र बनाउनुपर्छ । हामीले निर्मातालाई तपाईंले चलचित्र बनाउनैपर्छ भनेर भनेका छौं र ?,” श्रेष्ठ भन्छन्, “‘मारुनी’ले भन्दा ‘साहो’ले किन बढी शो पायो भन्दा दर्शकमा उसले राम्रो हाइप पाएको थियो । ‘साहो’को ट्रेलर टुट्युबमा एक नम्बर ट्रेन्डिङमा आउँदा ‘मारुनी’को आएन । आएको भए दर्शकको रुची ‘मारुनी’मा छ भनेर ‘साहो’लाई भन्दा धेरै नै शो दिन्थ्यौं ।” 

चलचित्र हेर्ने माध्यममा परिवर्तन आएको कुरा युट्युबमा दर्शकको आकर्षणलाई हेर्दा पुष्टि हुने उनी बताउँछन् । हलमा राम्रो कलेक्सन नगरेका चलचित्रको युट्युब भ्युअर्स उच्च रहने गरेको छ । 

नेपाली चलचित्रको व्यापार कम हुनुमा कमजोर चलचित्र नै मुख्य दोषी भएको चलचित्र वितरक तथा निर्देशकहरुले बताए पनि निर्माता तथा कलाकार भने वितरकको तर्कमा सहमत छैनन् । निर्माता तथा कलाकार दीपकराज गिरी हिन्दी चलचित्रको व्यापार गर्न बानी परेकाहरुले नेपाली चलचित्रलाई न्यून प्राथमिकतामा राखेको दाबी गर्छन् । हिन्दी फिल्मकै कारण आफ्नो चलचित्र ‘छ माया छपक्कै’ दशैंपछि पुगेको उनले सुनाए । “म किन सरेर दशैंपछि पुगेँ होला त ? महिनामा आधा दर्जन चलचित्र आउँछन् । हिन्दी चलचित्रले दीपकलाई मेरोभन्दा धेरै शो दिइस् भने म अर्को चलचित्र दिन्न भन्छ । हाम्रो धर्तीमा आएर हाम्रो काँधमा चढेर टाउकोमा हान्ने काम भइरहेको छ, हामीमाथि ठूलो अन्याय भइरहेको छ,” दीपकले गुनासो गरे ।  

नेपाली चलचित्रको गुणस्तर सुधार गर्नु जरुरी रहेको स्वीकार्छन् उनी । तर, शुक्रबार नै हिन्दी चलचित्र रिलिज गर्न नहुनेमा उनी जोड दिन्छन् । नेपाली चलचित्र रिलिज भएको दुई दिनपछि हिन्दी चलचित्र रिलिज गर्नुपर्ने उनको भनाइ छ । 

भारतमा चलचित्र सेन्सर गराउन स्क्रिप्टसहित महिनौं लागे पनि नेपालमा भने एकाध घण्टामै सेन्सर पास हुनु अनौठो रहेको गिरीको टिप्पणी छ । “नेपाली चलचित्र राम्रो बनेनन् भन्ने वितरक र हलहरुको गुनासो छ । ‘छक्का पञ्जा’ त राम्रो चलचित्र     बनिरहेको छ । किन लखेटेर दशैंपछि पुर्याउनु भयो ? नेपाली चलचित्रलाई उठ्नै दिनुहुन्न उहाँहरु,” गिरी भन्छन्, “राम्रो फिल्म बनाउनेको हालत नेपालमा यस्तो छ । इन्डियामा सलमान खानले ईद कहिल्यै छोड्नु पर्दैन । तर मैले दशैं छोड्नु पर्यो । सबैका अगाडि उदाहरण छ, हिन्दी सिनेमाको व्यापारको उपज हो यो । वितरक र हलवालाविरुद्ध मेरो आन्दोलन थियो, छ र भइरहन्छ ।” 

हिन्दी चलचित्रलाई नेपालमा साँढे छोडेझैँ छोडिएको गिरीको टिप्पणी छ । “हिन्दी सिनेमालाई साँढे छोडेझैं छोडिन्छ । यो गर्नु भएन । हामी नेपाली चलचित्रलाई हिन्दी र अंग्रेजी चलचित्रसँग तुलना गर्छौं । सार्क देशमा पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका कहाँ नपालमा जस्तो हिन्दी चलचित्रलाई छोडिएको छ ?” उनी प्रश्न गर्छन्, “यसमा राज्यले किन ध्यान दिँदैन ? इन्डियामा रिलिज भएकै दिन नेपालमा पनि त्यही चलचित्र सेन्सर हुनुको कारण के हो ? सार्कमा कतै नहुने नेपालमा मात्रै किन ?” 

गिरी नेपाली निर्माताका पनि केही कमजोरी रहेको भने स्वीकार गर्छन् । स्टारकास्ट गरेर हल्लीखल्ली गर्दैमा चलचित्र नचल्ने र त्यसले दर्शकलाई झुक्याइरहेको उनको भनाइ छ । यस्तो प्रवृत्तिको मारमा राम्रा चलचित्र परिरहेको उनले बताए । 

यता वितरक श्रेष्ठ भने वितरक र हललाई गाली गर्नुभन्दा दर्शकको ‘टेस्ट’लाई बुझेर चलचित्र बनाउन सुझाव दिन्छन् । “राम्रो चलचित्र नबनेसम्म कोटा प्रणाली भने पनि जेसुकै भने पनि केही हुँदैन,” श्रेष्ठ भन्छन्, “तपाईं हलबाट दर्शक भगाउन सक्नुहुन्छ तर चलचित्र हेर्न बाध्य बनाउन सक्नुहुन्न ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro