site stats
बाह्रखरी :: Baahrakhari
विचार
आर्थिक विकासमा पर्यटनको भूमिका

पर्यटन ठूला उद्योगमध्ये सातौं स्थानमा रहेको छ भने द्रूततर वृद्धि भएका आर्थिक क्षेत्रमध्ये पनि एउटा हो । धेरै मुलुकका लागि पर्यटन दिगो विकासका लागि महत्त्वपूर्ण उपाय भएको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर प्रादेशिक सन्तुलनसहितको दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले नयाँ आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सृजना, कुल आम्दानी तथा उत्पादन वृद्धि जस्ता विभिन्न आथिक पक्षमा सकारात्मक प्रभाव पार्छ । 

पर्यटन विकासको महत्त्वपूर्ण पक्ष वातावरणसँग गासिएको हुन्छ । अव्यवस्थित तथा विनायोजना गरिने पर्यटनको विस्तारले वातावरणको क्षय तथा अन्य मूल्य, मान्यतामा ह्रास ल्याउँछ । त्यसैले पर्यटन विकासमा यस्तो अवस्था सृजना हुन नदिन नीति निर्माणको चरणाट नै ध्यान पुर्याउन आवश्यक हुन्छ । 

पर्यटनको कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, स्थान विशेषको भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक वस्तुस्थिति आदिसँग सम्बन्ध रहन्छ । पर्यटन प्राकृतिक वातावरण, ऐतिहासिक, सांस्कृतिक सम्पदाजस्ता कुराहरूसँग प्रत्यक्षरूपमा जोडिएको हुन्छ । पर्यटनको दिगो विकास यसको उपयोग, प्रयोग र उपस्थितिसँग सम्बन्धित हुन्छ । 

Argakhachi Cement Island Ad

दिगो पर्यटन विकासको अवधारणाको तीन अन्तरसम्बन्धित पक्षहरू क्रमशः वातावरण, सामाजिक सांस्कृतिक अवस्थिति र आर्थिक स्तर हुन् । दिगो पर्यटनको अवधारणा पर्यावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थितिमा न्यून प्रभाव पार्दै उपलब्ध साधनको उच्चतम प्रयोग गरी स्थानीय समुदायलाई उच्च फाइदा पु¥याउने समग्र अर्थतन्त्रको विकाससँग जोडिएको हुन्छ । 

पर्यटन विकासले अर्थतन्त्रमा पुर्याउने योगदान सबै मुलुकमा एकै प्रकृतिको छैन । पर्यटन उद्योगमा गर्न सकेको लगानी, सुविधाको स्तरमा गरेको वृद्धि, यसमा रहेका विभिन्न प्रकृतिका संभावना आदिका आधारमा मुलुकमा पर्यटनको स्तर र यसले समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्न सकिन्छ । 

विश्वका विभिन्न मुलुकमा पर्यटन क्षेत्रको कुल ग्राहस्थ्य उत्पादनमा रहेको योगदान हेर्दा ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रमा पर्यटनको योगदान कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य रहेको पाइन्छ । यी मुलुकमा पर्यटन क्षेत्रको योगदान कुल राष्ट्रिय उत्पादनमा सन् २०१४ मा करिब १९ प्रतिशत देखिन्छ । मेक्सिको, जमैकाजस्ता राष्ट्रहरूको हकमा यो अंक ज्यादै न्यून छ । राष्ट्रिय उत्पादन त्यसमा बाह्य पर्यटकहरूको आर्कषण आदिले पनि उक्त उद्योगको राष्ट्रिय अर्थतन्त्रमा पर्ने प्रभाव फरक फरक रहन्छ । 

पर्यटन उद्योगमा खपत हुने धेरै वस्तु तथा सेवा मुलुकभित्रकै उत्पादन भए राष्ट्रिय उत्पादनको आकार वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पर्यटकहरूको माग मुलुकको आन्तरिक उत्पादनका वस्तु तथा सेवाभन्दा आयातित वस्तु तथा सेवाको प्रयोग भएमा त्यसले मुलुकको आन्तरिक उत्पादन वृद्धिमा खासै महत्त्वपूर्ण योगदान गर्दैन । यसले मूल्य अभिवृद्धिमा मात्र योगदान गर्छ । 

नेपालमा पर्यटन विकासको विधिवत् थालनी प्रजातन्त्र स्थापनालगत्तै सन् १९५२ बाट भएको हो । त्यसपछिको समयमा नेपालमा पर्यटन क्षेत्रको विस्तारै विकास र विस्तार हुँदैआएको देखिन्छ । सन् १९६२ मा करिब ६ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०११ मा हवाई र स्थलमार्ग गरी करिब दश लाख पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । यी दुई तथ्याङ्कले पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि भएको पुष्टि गर्छ । 

नेपाली अर्थ व्यवस्थामा पर्यटन क्षेत्रले महत्त्वपूर्ण स्थान ओगट्छ । नेपालमा विभिन्न मुलुकबाट बर्सेनि करिब ५ लाख पर्यटक भ्रमण गर्न आउँछन् भने करिब १६,८२५ लाख वैदेशिक मुद्रा नेपालले यसबाट आर्जन गर्दै आइरहेको छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कुल रोजगारीमध्ये २० प्रतिशत प्रदान गरेको छ भने कुल ग्राहस्थ्य उत्पादनमा ३ प्रतिशत योगदान गरेको छ । पर्यटन उत्पादन गतिविधिसँग सम्बन्धित उद्योग हो । यसले देश भ्रमण गर्न आएका पयर्टकहरूलाई वस्तु तथा सेवा उत्पादन गरी विक्री गरेर अर्थोपार्जन गर्न सहयोग गर्छ । 

नेपालको नेपाली अर्थतन्त्रलाई विकसित तुल्याउने मुख्य तीन आधारहरू क्रमशः कृषि, पर्यटन र जलस्रोतमध्येको एउटा महत्त्वपूर्ण आधार पर्यटन हो । नेपाली अर्थतन्त्रमा पछिल्लो समयमा भईरहेका दक्ष तथा अदक्ष मानव संसाधनको बहिर्गमनको दरले कृषि र जलस्रोतको विकासबाट भन्दा पर्यटन क्षेत्रको विस्तार विकासबाट नै नेपाली अर्थतन्त्रको विकासलाई सुनिश्चित गर्न सकिन्छ भन्ने आधार प्रष्ट पार्छ । 

नेपालको पर्यटन क्षेत्रको लगानी यसले मुलुकको कुल ग्राहस्थ उत्पादन तथा रोजगारीमा पुर्याएको योगदान विश्लेषण गर्दा पर्यटनलाई मुलुकको दिगो विकासको आधारको रूपमा भने नराखिएको स्पष्ट हुन्छ । नेपाली अर्थ व्यवस्थामा पर्यटन विकास र विस्तारका लागि प्रशस्तै भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक पौराणिक आधार छन् । यी आधारलाई बलियोसँग पछ्याउँदै गन्तव्य तय गर्नेतर्फ नीति निर्माण तहदेखि नै लाग्न सके दिगो विकासको बाटो खुल्न सक्छ । 

निजी तथा सरकारी स्तरबाट उक्त क्षेत्रको विकास र विस्तारका लागि अगाडि सारिएका कदम पनि खासै फलदायी हुन सकिरहेका छैनन् । नेपालको तराई, पहाड र हिमालमा बेग्लाबेग्लै रहनसहन, रीतिरिवाज, परम्परा हुनाले भिन्न भिन्न प्रकृतिको पर्यटनलाई सँगसँगै विकास गरेर फरक फरक उत्पादनलाई एकैसाथ समायोजन गरी समग्र प्रक्रियालाई राष्ट्रिय स्तरमा नै जोड्ने आधार निर्माण गर्न सकिन्छ । संघीय संरचनाअन्तर्गतको विभाजनमा समेत सातवटै प्रदेशमा आआफ्नै विशेषता भएकाले पनि पर्यटनका माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ ।

निजी क्षेत्रबाट हुने लगानीलाई प्रोत्साहित गरी फैलिने वातावरण सृजना गर्दै संभाव्य क्षेत्रमा पूर्वाधार विकासमा राज्य स्तरबाट विशेष ध्यान पुरयाउनुपर्छ । दिगो विकासको अवधारणाअन्तर्गत पर्यटन विकासमा अहिलेका आवश्यकतालाई सम्बोधन गर्न प्रयोग गरिने साधन तथा स्रोतको प्रयोगले कहीँ कतै भविष्यका आवश्यकता तथा चाहनामा कटौती गर्ने अवस्था हुनु हँुदैन । क्षेत्रगत उत्पादनलाई जोड दिँदै पर्यटकलाई स्थानीयस्तरमा  उपलब्ध साधन तथा स्रोतको प्रयोगद्वारा उत्पादित वस्तु तथा सेवाको प्रयोगका लागि आर्कषण गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउन सहयोग गर्छ । हाम्रो भौगोलिक विकटताभित्र नै थुप्रै पर्यटकीय गन्तव्य निर्धारण गर्न सकिने प्राकृतिक तथा पौराणिक सम्पदाको उपलब्ध हुनाले पर्यटन विकासको थप सम्भावना छ । 

पर्यटन व्यवसायको विकास र विस्तारका लागि महत्त्वपूर्ण आधार भौगोलिक पूर्वाधार तथा सुविधा हो । यथोचित पूर्वाधारसहित आन्तरिक गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन तथा त्यसको प्रयोगलाई प्रोत्साहन गर्ने अवस्थाको सृजना हो । 
मुलुकका विभिन्न भूभागमा रहेका पर्यटन विकासका सम्भावनालाई किटान गरी त्यस्ता भूभाग पर्यटकको सुगम गन्तव्य स्थल बनाउनेतर्फ चनाखो हुनसके नेपाली अर्थतन्त्रमा पर्यटन व्यावसायलाई महत्त्वका साथ स्थापित गर्न सकिन्छ । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ११:५३
प्रतिक्रिया दिनुहोस्