काठमाडौं । दक्ष साउन्ड डिजाइनरको अभावका कारण नेपाली चलचित्रमा ब्याकग्राउन्ड स्कोर कमजोर हुने गरेको छ । नेपाली चलचित्रमा साउन्ड डिजाइनरको काम गरिरहेका अधिकांश व्यक्तिमा साउन्ड डिजाइनिङको ज्ञान नहुनु नै चलचित्रको साउन्ड कमजोर हुनु मुख्य कारण हो । नेपाली चलचित्रमा ब्याकग्राउन्ड स्कोर गरिरहेका व्यक्ति नै एकेडेमिक शिक्षाको अभाव चलचित्रमा स्पष्ट देखिएको स्वीकार्छन् ।
‘ल्याक अफ नलेज’ नै ब्याकग्राउन्ड स्कोर कमजोर हुनुको मुख्य कारण रहेको साउन्ड स्कोरर प्रदीप उपाध्याय बताउँछन् । नेपाली चलचित्र उद्योगमा चलचित्रको पछाडि बज्ने धुन नै ब्याकग्राउन्ड स्कोर हो भन्ने बुझाइ अझै पनि रहेको भन्दै प्रदीप भन्छन्, “चलचित्रको पछाडि बज्ने धुनमात्रै ब्याकग्राउन्ड स्कोर होइन भन्ने पहिला चलचित्र मेकरले बुझ्नुपर्छ ।”
“पहिला जति राम्रो थियो, त्यति पनि अहिलेका चलचित्रमा ब्याकग्राउन्ड स्कोर राम्रो छैन,” अझै पनि ठेक्कामा ब्याकग्राउन्ड स्कोर गराउने चलन यथावत् रहेको बताउँदै उनी भन्छन्, “पहिला इन्डियामा नेपाली चलचित्र क्यासेटमा लगेर ब्याकग्राउन्ड स्कोर गराउन ठेक्कामा दिने चलन थियो । त्यहाँ हिन्दी चलचित्रका म्युजिक क्यासेटमा राखेर ल्याइन्थ्यो । त्यहीमध्येबाट यो यहाँ मिल्छ भनेर राखिन्थ्यो ।”
प्रदीपले थपे, “बिहानको सिन, दिउँसोको सिन र यो बेलुकाको सिन छ, यहाँ यो राखे हुन्छ भनेर राखेर ब्याकग्राउन्ड स्कोर राम्रो हुँदैन । हिन्दी चलचित्रका साउन्ड राखिन्छ, आजसम्म हाम्रो मौलिक साउन्ड चलचित्रमा राखिएको छैन ।”
साउन्ड डिजाइन पढेका ब्याकग्राउन्ड स्कोरर नभएका कारण चलचित्रको साउन्ड फितलो हुने गरेको चलचित्रका ब्याकग्राउन्ड स्कोरर सुजिल कर्माचार्य बताउँछन् । “स्किलफुल मेनपावर नहुनु नै नेपाली चलचित्रको ब्याकग्राउन्ड स्कोर कमजोर हुनुको मुख्य कारण हो । हामी आफैं काम गर्दै सिक्दै गरेका व्यक्तिले साउन्डको काम गरिरहेका छौं,” सुजिल भन्छन्, “फिल्म कलेजमा ब्याकग्राउन्ड स्कोर पढेर आएकाले काम गरेको भए पक्कै पनि हामीले भन्दा राम्रो काम गर्न सक्थे । सेल्फ ट्रेन्डले नै काम गरेकाले ब्याकग्राउन्ड स्कोरमा अपेक्षित काम हुन नसकेको हो ।”
ब्याकग्राउन्ड स्कोरमा पर्याप्त बजेट नछुट्याउनु, पर्याप्त समय नदिनु तथा प्रि–प्रोडक्सनमा नराख्नु ब्याकग्राउन्ड स्कोर राम्रो नहुनुको अर्को कारण रहेको सुजिलको भनाइ छ ।
“पछिल्लो समय केही निर्माता साउन्डमा पनि सचेत हुन थालेका छन् । समय र बजेटमा केही उदार हुन थालेका छन् । तर त्यो संख्या पनि निकै कम छ,” लुट, छक्का पञ्जाका सबै सिरिज, शत्रु गते लगायत चलचित्रमा ब्याकग्राउन्ड स्कोर गरेका उनी भन्छन्, “बजेट र समय पर्याप्त दिने हो भने सेल्फ ट्रेन्डहरुले पनि भइरहेको भन्दा राम्रो काम गर्न सक्छन् ।”
केही समय पहिलेसम्म भारतबाट किनेर ल्याएको स्टक साउन्ड नै नेपाली चलचित्रमा प्रयोग गर्ने गरिए पनि अहिले त्यो अवस्था भने हटेको उनी बताउँछन् ।
नेपाली चलचित्रका निर्माताहरुले ब्याकग्राउन्ड स्कोरलाई महत्व नदिनु नै मुख्य कमजोरी भएको ब्याकग्राउन्ड स्कोरर किशोर आचार्य बताउँछन् । ८० प्रतिशत साउन्डको भूमिका भए पनि नेपाली चलचित्रका निर्माताहरुले यसलाई बुझ्न नसकेको उनको भनाइ छ । हलिउड तथा बलिउडमा साउन्डमा २० प्रतिशतसम्म खर्चिने गरेपनि नेपालमा भने ५ प्रतिशत पनि बजेट नछुट्याउने गरेको आचार्य बताउँछन् ।
नेपालमा ६० हजारदेखि अढाई लाखसम्म बजेट छुट्टयाउने गरेको साउन्ड डिजाइनरहरु बताउँछन् । “हलिउड र बलिउडमा स्क्रिप्ट लेख्दा नै साउन्ड डिजाइनरलाई सँगै राखेर साउन्डको परिकल्पना गर्दै स्क्रिप्ट लेखिन्छ,” ब्याकग्राउन्ड स्कोरको औपचारिक शिक्षा लिएका उनी भन्छन्, “नेपालमा पोस्ट प्रोडक्सनमा गइसकेपछि बल्ल साउन्डको काम कसलाई गराउने भनेर खोजी हुन्छ ।”
आचार्यका अनुसार हलिउडमा साउन्डका लागि एउटा चलचित्रले २५–३० जनाको समूहलाई छ महिना समय दिन्छ भने बलिउडमा १५–२० जनाको समूहले दुई महिना लगाउँछ ।
नेपालमा एउटा चलचित्रमा दुई जनालाई १०–१५ दिनको समय दिएर साउन्डको काम गर्न लगाइन्छ । साउन्डका लागि निर्माताहरुले पर्याप्त बजेट नछुट्टयाउँदा भनेजस्तो भएको अनुभवी ब्याकग्राउन्ड स्कोरर पनि पलायन हुने अवस्थामा पुगेको आचार्य बताउँछन् ।