
एकादेशमा एउटा सज्जनको घर थियो । त्यो घरको बाहिर निस्कने भरेङमा एउटा सानो ऐना थियो । यो ऐनाबाट मान्छे आएको गएको हेर्न सकिन्थ्यो । ती सज्जनको घरमा आएकामध्ये एक जनालाई त्यो ऐना देखेर लोभ लाग्यो । उसले कसैले नदेख्ने गरी त्यो सानो ऐना खल्तिमा राख्यो । उ ऐना लिएर निस्कियो बाटोमा र त्यो ऐनालाई चुम्दै खुशी हुँदै घर पुग्यो ।
उसले त्यो ऐनामा बिहान सबेरै आफ्नो मुख हेर्यो । उसले त्यो ऐनामा आफ्नो अनुहार नै चोर देख्यो । उसको मनले भनिरहेथ्यो– चोर्न नहुने, चोरियो । दिनदिनै ऐना हेर्दा उसलाई आफ्नै अनुहार चोर भएको जस्तो लाग्यो । उसको मनले मानेन र एक दिन ऐना फुटालेर गमलामा गाड्यो । ऊ खुशी भयो ।
घरको ऐना हेर्दा पनि आफू चोर भएको झझल्को आयो । बगैँचामा गमलाको फूल हेर्दा पनि ऐना फुटालेर गाडेको सम्झनाले उ आफू चोर भएको सम्झ्यो । एक दिन हैन, दुई दिन हैन, सँधै घरको ऐना र बगैँचाको गमला देख्दा उसलाई आफू चोर भएको सम्झना भइरह्यो । उसलाई रिस उठ्यो र घरको ऐना र गमला फुटाएर पोको पारेर उसकहाँ फोहर लिन आउने मान्छेको भाँडोमा हालिदियो ।
यसरी आफ्नो बुद्धिमा ऊ खुशी भयो ।
तर ऊ जहाँ जति बेला ऐना हेथ्र्यो ऐनामा उसको अनुहार चोर नै देखिन्थ्यो । जति बेला जसको घरमा गमला देख्थ्यो त्यसले पनि उसलाई उ चोर भएको सम्झाउँथ्यो । हुँदाहुँदा फोहर फाल्ने भाँडो देख्दा पनि आफू चोर भएकै सम्झिन्थ्यो । यसले गर्दा उसलाई निद्रा पर्न छाड्यो । अब उ, खुशी रहन सकेन । साथीको अनुहारसँग पनि उसलाई डर लागिरह्यो ।
उसले भगवानको मन्दिरमा गएर माफी माग्यो र यसबाट मुक्ति पाउन जुक्तिको वरदान माग्यो ।
उसको दिमागमा एउटा उपाय फु¥यो । उसले साथीको पहिलेको भन्दा दोब्बर ठूलो, तीन गुना महँगो मूल्यको ऐना किन्यो र उ त्यो लिएर साथीकहाँ गयो ।
साथीको ढोकामा धेरै बेर कुर्दा पनि कोही ढोका खोल्न नआएपछि ऊ झनझन शंकामा रुमल्लियो । तर उसँग भएको ऐनाले उसलाई सन्तोष लागेको थियो । निक्कै बेर पछि ऊ कराएको आवाज सुनेर साथी आयो । साथीले माफ माँग्दै भन्यो– यो ऐना नभएर को आएको, को गएको थाहा नै हुन्न, कुन बदमासले लग्यो पत्तै भएन ।
यो सुनेपछि मौका छोप्दै उसले भन्यो– त्यो बदमास मै हुँ । त्यो सानो ऐनाले ठूलो मान्छेको मुख पनि सानै देखिएकोले त्यसलाई फालेर मैले तिम्रो लागि यो ठूलो ऐना ल्याएको छु, लु राख ।
ऐना राखेपछि दुबैले ऐना हेरे र दुबैले आफ्नो अनुहार सफा, राम्रो र उज्यालो देखे ।
(साहित्यकार पाँडेको बालकथा संग्रह ‘झिलिमिलि’ बाट ।)
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)