
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘घर’ रिलिज भएको छ । अर्पण थापा निर्देशित चलचित्र ‘घर’ हरर जानरामा निर्माण भएको चलचित्र हो ।
‘घर’मा अर्पण थापासँगै सुरक्षा पन्त र वेनिशा हमाल मुख्य भूमिकामा छन् । ‘घर’ फिमेल प्रोटागोनिष्ट चलचित्र भएको निर्देशक अर्पण थापा बताउँछन् ।
‘सुनकेशरी’ पछि अर्पणले ‘घर’ निर्देशन गरेका हुन् । “काठमाडौंमा घर किन्ने हरेक व्यक्तिको सपना हुन्छ । सस्तोमा घर पाउँदा सबैले किन्छ,” अर्पण भन्छन्, “भूतले तर्साउँछ भनेर सस्तोमा बेचिएको घरमा भूतको कथा हामीले भन्ने प्रयास गरेका छौं ।”
उनले लाइट हार्डकोर बनाउँदा ‘सुनकेशरी’मा केही आलोचना आएकाले हार्डकोर हररका रुपमा ‘घर’ बनाए बताए ।
१४ देखि २६ वर्ष उमेर समूहको युवा पुस्ता हरर चलचित्रका दर्शक हुन् । नेपालमा हरर जानरामा खासै चलचित्र बन्दैनन् । ‘घर’ शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र हो ।