site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस आचारसंहिताः नेताले फजुल खर्च गर्न नपाउने, कार्यकर्तालाई पार्टीमा हानि हुने काम गर्न रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आचारसंहिताका माध्यमबाट नेता–कार्यकर्ताहरुलाई अनुशासनमा बाँध्न लागेको छ । नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’ मा आचारसंहिता बनाएर पार्टीका नेता–कार्यकर्ताहरुलाई अनुशासनमा बाँध्न खोजिएको हो । 

केन्द्रीय समितिको बैठकमा पेश गरिएको नियमावलीको परिच्छेद– ९ को धारा २६ मा आचारसंहिता शीर्षकमा पार्टीका सबै तहका सदस्यको आचरण र व्यवहारलाई स्वच्छ, मर्यादित र अनुशासित बनाई पार्टीको छविलाई लोकप्रिय र विश्वनीय बनाइराख्न पार्टीका प्रत्येक सदस्यले क्रियाशील सदस्यता आवेदन फारममा उल्लिखित प्रतिवद्धताका अतिरिक्त नियमावलीमा व्यवस्था गरिएको आचारसंहिता पालना गर्नुपर्ने भनिएको छ । 

नियमावलीमा कांग्रेसका प्रत्येक सदस्यले नेपालको संविधान र कानुनप्रति प्रतिवद्ध भई जिम्मेवार नागरिकका रुपमा रहनुपर्नेदेखि सामाजिक व्यवहार निर्वाह गर्दा तडकभडक एवम् फजुल खर्च गर्न नहुने आचारसंहिता बनाइएको छ । आचारसंहितामा लाभको पदमा रहँदा पार्टीका सदस्यहरुले आफ्नो र परिवारका नाममा रहेको सम्पत्ति विवरण पार्टी कार्यालयमा बुझाउनदेखि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सम्पत्तिको स्रोत खुलाएर वार्षिक सम्पत्ति विवरण पेश गर्नुपर्ने उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको विधानबमोजिम अधिकार प्राप्त निकाय वा अधिकारीले गरेको निर्णय वा निर्देशनलाई पार्टीका प्रत्येक सदस्यले पालना गर्नुपर्ने पनि नियमावलीको परिच्छेद– ९ धारा २६ को उपधारा १ (घ) मा भनिएको छ । सोही उपधारामा अगाडि भनिएको छ, “तर, यस व्यवस्थाले पार्टीको सिद्धान्त, नीति, निर्णय र कार्यशैलीलाई परिमार्जित गर्ने सद्नियतबाट तथा पार्टीलाई हरतरहबाट सुदृढ गर्ने मनसायले पार्टीको आन्तरिक बैठक वा वहसमा विचार व्यक्त गर्न बाधा पारेको मानिने छैन ।”

कांग्रेसले पार्टीभित्रको विवाद सार्वजनिक स्थलमा छताछुल्ल नहुन दिन पनि नेता–कार्यकर्ताहरुलाई आचारसंहितामार्फत् कडीकडाउ गर्न खोजेको छ । परिच्छेद– ९ धारा २६ को उपधारा २ (ङ) मा ‘पार्टीको प्रतिष्ठालाई हानी पुग्ने गरी सार्वजनिक स्थलमा पार्टीको आन्तरिक विवादको विषयलाई अमर्यादित चर्चाको विषय बनाउनु हुँदैन’ भनिएको छ । सोही उपधाराको (च) मा ‘पार्टीको मान, प्रतिष्ठा र मर्यादा अनुकूल आचरण गर्नु भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका सदस्यसमेतको कर्तव्य हुनेछ’ उल्लेख गरिएको छ । 

Global Ime bank

परिच्छेद– ९ धारा २६ को उपधारा ३ (क) मा कांग्रेसका प्रत्येक सदस्यले लाभको पदमा रहँदा आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण पार्टी कार्यालयमा पेश गर्नुपर्ने र उपधारा ३ (ख) मा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यले आफ्नो सम्पत्तिको स्रोत खुलाएर पार्टीको केन्द्रमा वार्षिक सम्पत्ति विवरण पेश गर्न भनिएको छ । 

कांग्रेसले आचारसंहिता नै बनाएर नेता–कार्यकर्ताहरुलाई चाडपर्व, विवाह, व्रतबन्ध लगायतका समारोहमा भड्किलो प्रदर्शन गर्नमा रोक लगाउन खोजेको छ । उपधारा ३ (घ) मा भनिएको छ, “चाडपर्व, विवाह, व्रतबन्ध जस्ता सामाजिक व्यवहार निर्वाह गर्दा तहभडक एवम् फजुल खर्च गर्न हुँदैन र त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्दछ ।”

कांग्रेसले कसैको कुनै काममा सहयोग पुर्याएबापत आर्थिक लाभ लिन नपाइने, नियम–कानुन विपरीत एवम् अनुचित ढंगले आर्थिक लाभ लिन नपाइने, कानुन बमोजिम कार्यसम्पादन गर्ने अधिकारीलाई कानुन विपरीतको काम गर्न र गराउन दबाब दिन नहुने, सरकारी वा सार्वजनिक वा पार्टीको चल–अचलसमेतका कुनै पनि सम्पत्ति दुरुपयोग गर्न नहुने पनि आचारसंहितामा व्यवस्था गरेको छ । 

कांग्रेसले कसैको पनि चरित्र हत्या हुने र मर्यादा भंग हुने अभिव्यक्ति प्रकट गर्नमा पनि रोक लगाएको छ । साथै विधान र नियमावलीले गरेको व्यवस्था बमोजिम पार्टीलाई बुझाउनुपर्ने सहयोग रकम (लेवी) नियमित बुझाउनुपर्ने पनि प्रावधान गरेको छ । 

कांग्रेसले नियमावलीमा पार्टीले भाग लिने निर्वाचनमा आफ्ना सदस्यहरुको कर्तव्यहरु पनि निर्धारण गरेको छ । जसका लागि नियमावलीको परिच्छेद– ९ धारा २६ को उपधारा ४ (क) मा ‘पार्टी र पार्टीको आधिकारिक उमेदवार वा पार्टीले समर्थन गरेको उमेदवारको सफलताका लागि दत्तचित्त भई आफ्नो क्षेत्रबाट प्रयत्नशील हुनुपर्दछ’ भनिएको छ । 

यस्तै उपधारा ४ (ख) मा ‘पार्टीले आधिकारिक रुपमा खडा गरेको वा समर्थन गरेको उमेदवारबाहेक अन्य पार्टी वा व्यक्तिलाई लाभ तथा आफ्नो पार्टीलाई हानी हुने गरी कुनै पनि किसिमको क्रियाकलाप गर्नु हँुदैन’ उल्लेख गरिएको छ । 

कांग्रेसले पार्टीका विरुद्ध लगाइने झुठा आरोपहरुको खण्डनका लागि आफ्ना सदस्यहरुलाई बाध्यकारी नियम लागू गर्नसमेत खोजेको छ । नियमावलीको धारा २६ को उपधारा ५ (घ) मा पार्टीका विरुद्ध लगाइने झुठा आरोपहरुका विरुद्ध सार्वजनिक रुपमा शान्तिपूर्ण एवम् प्रभावकारी ढंगले खण्डन र प्रतिवाद गर्नुपर्ने बुँदा उल्लेख गरिएको छ । उपधारा ६ मा ‘पार्टीका कुनै पनि सदस्यले आचारसंहिता उल्लंघन गरेमा अनुशासन उल्लंघन र कारबाहीको विषय बन्नेछ’ भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement