ब्लग
चण्डिका मैनाली
प्यारो सौरभका बाबा
मनदेखिको माया तिमीलाई
भगवानका कृपाले बाँचेका सम्म छौँं हामी । जहाँ भए पनि तिमीलाई सन्चो सुबिस्ता होस् भनेर भगवानसँग प्रार्थना गर्छु ।
अहिले रातको सबा ११ बजेको छ । छानोको जस्तामा अचानक आएको आवाजले बिउँझिएको हुँ । साँच्चै भनेको सौरभका बाबा ! तिम्रो खबर आउन छाडेपछि त म डरपोक पो भएकी छु । तिमी यहाँ भएको भए अहिले तर्सेर बिउँझदा समाउने हात दिन्थ्यौ होला । ‘नडरा’ भनेर हप्काउँदा पनि कति भर हुन्थ्यो मलाई !
सौरभ २ वर्ष पुग्यो । उसका लागि भर भएकीे म आफैँ आत्तिसकेकी छु । तिमी गएको पनि त साँढे २ वर्ष भइसक्यो नि । कहाँ छौ ? के गर्दै छौ ? कस्तो जागिर खान्छौ ? केही थाहा छैन । किन किन मनमा डर लागिरहेछ । परदेशको जागिरले कतै तिमीलाई नै खान त लागेन ? आम्मै, कस्तो पापी मन मेरो हगि ! काठमाडौंको धरहरा त ढल्यो भन्छन् तर तिमीप्रतिको मेरो विश्वास र भगवानसँगको भरोसा धरहरा बनेर उभिइरहेका छन् मेरो मनमा । र त बाँचिरहेकी छु नि !
तिमी परदेश जाँदाको ऋण जेठाजुले तिरिसके । जेठाजुको पनि हालत खराब नै छ । थाहा पायौ कि पाएका छैनौ ? पोहोर साल वैशाख २९ गतेको भुँइचालोपछि एउटा चिठी त पठाएकी नै हुँ । आउँछौ होला भन्ने ठूलो आश लागेको थियो । बाटो हेरेरै बसेको डेढ वर्ष पुगिसक्यो । खै किन हो तिमी आइपुगेनौ । न मेरो चिठीको जवाफै पठायौ ।
भुँइचालोपछि मन र दिमाग एकोहोरो भएको छ । कुन्नि किन हो सबै कुरासँग रिसमात्र उठ्छ । काममा मनै जाँदैन । हामी मिलेर बनाएको घर आँगनमा असरल्ल परेको देख्दा छाती चरक्क चिरिन्छ । आपैmँलाई चिथोरुँ कि कसैलाई मारुँजस्तो हुन्छ । दुई वर्षे छोरोको सहारा म आफँै आफूलाई सम्हाल्न सकिरहेकी छैन । मनको कुरा धित मारेर पोख्न पनि सक्दिन कससँग । कहिले म आफँै पो दोषी हुँ कि भन्ठान्छु । मेरो भाग्यै पो यस्तै हो कि जस्तो पनि लाग्छ । कहिलेकाहीँ अगाडि पर्ने सबै जना वैरीजस्ता लाग्छन् । तिनैले पो हो कि मेरो सर्वस्व र खुसी खोसेको जस्तो लाग्छ । मनका खुसी भुँइचालोका धक्कजस्तै हुत्तिएर बाहिर गएछन् क्यारे ! आफू रित्तो भएको र ती रित्ता ठाउँमा सैतानहरूले घर बनाउन खोजिरहेका हुन् कि जस्तो लाग्छ धेरै बेर । तिमी आउने आशा र छोरोको भविष्य हेरेर बाँचिरहेको छु । बाँचे पनि धेरैजसो तीतो हुन्छ मुख । यो समय पनि कस्तो आयो वैराग सिवाय केही लाग्दैन । अलिकति शाmन्ति र खुसीका लागि बारबार आँखा चिम्लेर भगवानसँग प्रार्थना गर्नुपर्छ – मलाई शान्ति देऊ, मलाई खुसी देऊ अलिकति भनेर ।
विभिन्न संस्थाका मान्छेहरू आउँछन् सहयोग र सहायता लिएर । उपचार गराउन जाऊ भन्थे । म एकोहोरिएको पो देखेछन् कि? मनको रोगको पनि अरूले उपचार गर्छन् र हैन ? कसलाई पर्दैन पीर । यस्तो घर चटक्कै कसलाई छोडेर जाऊँ ? आफ्नो मनलाई त आफँैले पो सम्हाल्नुपर्छ हैन र ? तर कहिलेकाँही सम्हालुँभन्दा पनि सक्दिन । उम्लिन्छ, आगो बढी भएको ताप्केको दुधझैँ । मेरो दिमाग त सम्हाल्थेँ होला तर भुइँचालो आगो बनेर आयो मैले सम्हाल्नै नसक्ने गरी म के गरुँ ?
जेठाजु बरबराइरहेका छन् पल्लो कोठामा । अझै पनि रातैपिच्छे जस्तो बरबराउँछन् । ‘सक्यो, भुइँचालोले सबै लग्यो’ भन्दै निद्रैमा जुरुक्क उठ्छन् । होसमा आउँछन् र फेरी सुत्छन् । पल्लो कोठा पनि के भन्नु ? जस्ताको छाना मुनि त्रिपालले बारेर खण्ड छुट्याएका छौं । भुँइचालो नआएको भए जेठाजुकी छोरी पनि तोते बोली बोल्दै बामे सरेर आगँनको फेरो लाउने भइसक्थी यतिबेला । पोहोर फागुनमै जन्मेकी छोरी लिएर माइतीमा सुत्केरी बस्न गएकी दिदी फेरी घर फर्कन पाइनन् । वैशाख २९ गतेको भुँइचालाले दिदीको माइतीका छिमेकीहित ९ जना एकै चिहान भएछन् । न भाग्न पाए, न बाँच्न पाए, कत्ति त आत्तिएरै पनि मरे भन्छन् ।
दिउँसोमा जेठाजु सारसौँदै हुन्छन् । दुई महिनाकी कलकलाउँदी छोरी र उमेरकी पत्नीलाई भुइँचालोले खायो । छोरीको त फोटो पनि छैन । उनको मनमा भएको तस्बिर चाहिँ मेटिएको छैन । दिदीको नागरिकताको फोटो आस्कोटको गोजीमा हालेरै हिँड्छन् । बेला बेला कामको बीचमा पनि हेर्छन् । एक जना भाइ तिमी । तिम्रो पनि खबरसमेत नआ’को २ वर्ष भइसक्यो । तै पनि काममा लागेर मन भुलाउँछन् । सरकारले १५ हजार रुपैयाँ दियो हाम्रो घरलाई । अर्को घर बनाउन २ लाख रुपैयाँ दिन्छन् रे ! म त भन्छु तिमी जसरी नि आऊ । दुःखसुख यहीँ भोगौँंला । धन भनेको त हातको मैला न र’छ । जति मरिमेटेर सँगाले नि एकचोटी नाश हुने । तर परिवार भनेको जस्तो दुःखमा पनि साथ दिने रै’छ । दुःखसुखमा सँगै हुन पाए पो परिवार, लोग्नेस्वास्नी हैन र ? मेरो चिठी पाएपछि घर फर्किने मेसो मिलाइहाल । फेरि बनाउँला हामी हाम्रो रहरको घर । अनि फेरि फर्काउँला खुसी । अब तिम्रोमात्रै आशा छ । सरकारले त जति दिए नि पुग्दैन । गाउँतिर भन्छन् नि – ‘थुन्सेमा रोटी पनि बाँकी हुँदैनन्, रत्यौलीले अघाएँ पनि भन्दैनन्’ । त्यस्तै होला सरकारी पैसो पनि । तिम्रो हाम्रो मेहनतले मात्रै ठडिन्छ हाम्रो भरोसाको घर ।
म पनि कस्तो हुस्सु । तिमीलाई सोध्नै बिर्सेको । कस्तो छ काम ? छोड्नलाई कति समय लाग्छ ? के के गर्नुपर्छ ? साँच्चै त्यहाँ के गरेर बसेका छौ ? यो चिठी पाएपछि चाहिँ आऊ है जसरी हुन्छ ! अब त असार पनि लागिसक्यो । घर जे जस्तो भए’नि खेती धानेका छौँ । तिमी आयौ भने ठूलो भर हुन्छ । मन न्यास्रेको छ तिमीलाई देख्न नपाएर । अब त कुकुर पनि भुक्न छाडे । उज्यालो हुने बेला पनि भयो क्यारे ! साँच्ची तिमीलाई आफ्नो जाहान घरपरिवार अनि गाउँको न्यास्रो लागेको छैन ? यो चिठी पाउनेबित्तिकै जवाफ चाहिँ पठाइहाल है । झट्टै आपूm पनि आउने मेसो मिलाउ न । कुरा दोहोरिन थाले । ल अब सुत्छु । हैन उठ्छु ।
उही तिम्री जीवन संगीनी
शान्ता
प्रकाशित मिति: सोमबार, असार ६, २०७३ १२:१७
प्रतिक्रिया दिनुहोस्