पछिल्लो समय निकै प्रचलित शब्द बनेको छ- समृद्धि । त्यसमा अलि लेप लगाएर कसैकसैले समाजिक न्यायसहितको समृद्धि पनि भन्ने गरेका छन् । सरकारको नारा नै समृद्ध नेपाल, सुखी नेपाली रहेको छ । आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममा सरकारको मूल लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ राखिएको छ । ‘समृ्द्धि’ शब्द सुन्दा मीठो र गम्दा आनन्द महसुस हुन्छ । समृद्धिको शाब्दिक अर्थ उन्नति, प्रगति, सम्पन्नता, ऐश्वर्य, वैभव हुन्छ । कुनै पनि व्यक्ति, समाज वा मुलुकको बहुआयामिक समुन्नुतिलाई समृद्धिले समेटेको अनुभव गर्न सकिन्छ ।
सरकारको शब्द सापटी लिएर भन्दा अहिले नेपाली समाज समृद्धिको यात्रामा छ । रेलदेखि रकेट र पानीजहाजदेखि पाइपलाइनसम्मका योजना हाम्रा लागि पस्किइएका छन् । प्रविधिले दिनानुदिन फड्को मारिरहेको छ । प्रविधिसँगै हाम्रो जीवनशैली पनि फेरिँदै छ । फलस्वरूप, गाउँदेखि सहरसम्म ‘स्मार्ट’ बनाउने फेसन प्रचलनमा छ । स्मार्ट गाउँ, स्मार्ट सहर, स्मार्ट अस्पताल, स्मार्ट विद्यालय, स्मार्ट सरकार, हरेक कुरामा स्मार्ट । हामी यति धेरै स्मार्ट बन्दैछौँ कि यो ‘स्मार्टनेस’ ले हामीलाई कता लग्दैछ भन्ने कुराको हेक्का राख्नेसमेत फुर्सद छैन । समृद्धि र विकासलाई पुष्टि गर्न हाम्रा नेताहरुले अरू मुलुकको उदाहरण दिन्छन् । त्यहाँको हरेक कुरा नक्कल गर्न खोज्छन् । तर, धरातल हेर्दैनौं । धरातल बिर्सिएर नक्कल गरिएका ’स्मार्टनेस’ ले समाजलाई समृद्धभन्दा पनि कुरुप बनाउँदै लग्दैछ । यसप्रति सरोकारवालाको ध्यान जान सकेको छैन ।
स्मार्ट समाजको चित्रमा देखिएको चरित्र
बूढानिलकण्ठ भंगालका कक्षा दुईमा अध्ययनरत १२ वर्षीय समुन्द्र मल्लले १० फागुन २०७५ मा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरे । आत्महत्याको कारण रहेछ - आफूले मनपराएकी माथिल्लो कक्षाकी एक बालिकाले मल्ललाई मन नपराउने बताएपछि उनले त्यो बाटो रोजेका रहेछन् ।
ओखलढुंगामा १० चैत २०७५ मा एक छोराले बाबुलाई खुकुरी हानेर घाइते बनाए । त्यस्तै चैत २२ गते चितवनमा नेपाली सेनाका जवानकी पत्नी, छोरा र छोरीले सामूहिक आत्महत्या गरे । आत्महत्यापछि अनुसन्धानका क्रममा ती सैनिक जवान बाहिर एक युवतीसँगै बस्ने र घरखर्च नपठाउने र घरमा नजाने गरेपछि आत्महत्या गरिएको खुल्यो ।
२८ चैत २०७५ मा आफ्नै १५ वर्षीय छोरीलाई बलात्कार गरी फरार भएका नुवाकोट ४३ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गर्यो । पछि अनुसन्धानका क्रममा उनले यसअघि पनि पटकपटक यौनसम्बन्ध राख्ने गरेको थाहा भयो ।
२८ जेठ २०७६ मा नेपाल सरकारका बहालवाला एक उपसचिवलाई विदेशतिर बाबुछोरीले यौनसम्बन्ध राख्ने गरेको उदाहरण दिँदै बारम्बार आफ्नै छोरीलाई ’बलात्कार’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुर निवासी ४५ वर्षीय ती उपसचिवले आमा नभएको समय पारी छोरीलाई जबरजस्ती गर्ने गरेको अनुसन्धानबाट खुल्यो । समाजमा परिवारको बेइज्जत हुने डरले उक्त घटना लामो समयदेखि गुपचुप राखिएकोसमेत अनुसन्धानका क्रममा खुल्यो ।
६ जेठ २०७६ मै पाँचथर मिक्लाजुङ गाउँपालिकामा परिवारकै सदस्यले नौ जनाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक जानकारी प्रहरीले दियो । घटनाको मुल कारण पारिवारिक कलह भएको खुलासा भयो ।
८ जेठ २०७६ मा काठमाडांै महानगरपालिका १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सीमाबाट लागुऔषध एम्पुल मगाएर आफ्नो छोरालाई खुवाउने गरेको खुलासा भएपछि प्रहरीले पक्राउ गर्यो ।
९ जेठ २०७६ मै रुकुम पूर्वको भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विराज विकले आफ्नै बाबुको हत्या गरेर भूमे –६ महतमा रहेको प्रहरी चौकीमा उपस्थित भए ।
१२ जेठ २०७६ मा बम बनाउने क्रममा काठमाडौंमा चार जनाको मृत्यु भयो भने सात जना घाइते भए ।
१४ जेठ २०७६ मा रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट पाँच जना छात्राको हात भाँच्चियो भने १४ जना घाइते भए । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परिन् ।
१५ जेठमा सल्यानको छत्रेश्वरी गाउँपालिका- ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई सात महिनाकी आफ्नै छोरी जानकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो । उनले कुटपिट गरी छोरीको हत्या गरेको पाइयो ।
२१ जेठमा इटहरी उपमहानगरपालिकामा मेयरले एक जना पत्रकारलाई नाक भाँच्न एक करोड छुट्याएको धम्की दिए । उक्त घटनाको भित्री कुरा नबाहिँरिदै प्रमुख द्वारीकालाल चौधरीले अभिकव्यक्ति फिर्ता लिनेभन्दै वक्तव्य जारी गरेपछि घटना सामसुमजस्तै भएको छ । यसरी ज्यानैमाथि धावा बोल्ने मेयरलाई कुनै कानुनले छुन सकेन ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना बितिसक्यो । अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । निर्मलाजस्तै दैनिक बालिकाहरु बलात्कृत हुने क्रम बढिरहेको छ । आत्महत्या, हत्या र चोरी, लुटपाट, ठगीलगायतका घटना पनि दिनानुदिन बढिरहेको प्रहरी अभिलेखले देखाउँछ ।
यी बाहेक वाइड बडी र बालुवाटारजस्ता भ्रष्टारचार काण्डको त झन शृंखला नै छ । हुँदाहुँदा पशुपतिनाथमा चडाएको सुनसमेत गायब पारिएको सन्देह गरिएको छ । रोजा बस्दासमेत झुटो बोल्नु हुँदैन भन्ने मान्यता राख्ने मुस्लिम समुदायको हजयात्राका लागि साउदी पठाउन सरकारले दिएको पैसामा समेत भ्रष्टाचार भइरहेको छ ।
यी माथि उल्लेखित पछिल्लो समय समाजमा घटेका केही प्रतिनिधि उदाहरणमात्र हुन् । यी उदाहरणबाट हामी बुझ्न सक्छौं बाबुबाट छोरी सुरक्षित छैनन्, छोराबाट बाबु, आमाले आफ्नै छोरीको निर्ममतापूर्वक हत्या गरेकी छन् भने शिक्षादीक्षा दिने शिक्षालयमा विद्यार्थी कुटिएर हात भाँचियो, जनप्रतिनिधिबाटै ज्यान मार्ने धम्की आयो, कहाँ, कुन ठाउँमा बम बनिरहेको छ र कतिखेर कसको कारण बम पड्किएर ज्यान जाने हो भन्ने ठेगान छैन । बिहान कामका लागि निस्किएको व्यक्ति सडकको कुन भ्वाङमा परेर सधैँका लागि जाने हो भन्ने ठगान छैन । प्रधानमन्त्री, मन्त्री र सांसददेखि दलाल, बिचौलिया र गुण्डाको साँठगाँठ शासनमा सबैभन्दा बलियो र प्रभावकारी छ ।
युवाहरु काम नपाएको भन्दै छाना फेर्न, मानाको जोहो गर्न र नयाँ नाना लगाउन रहर बोकेर ‘पैसाको सहर’ खोज्दै खाडी पस्ने दर निरन्तर उकालो लागेको छ । जाँगरिलो युवाशक्ति विदेसिँदा समाजमा कोही मर्दा मलामी जाने र कसैको विवाहमा जन्ती मानिससमेत भाँडामा ल्याउनुपर्ने स्थिति छ । प्रायः सबै घरमा कम्तीमा एक जना रोजगारीका लागि विदेसिएकै छन् । दैनिक विमानस्थलमा लासका बाकस भित्रिनेक्रम पनि रोकिएको छैन ।
अनि राजनीतिक दलका नेता, समाजका अगुवा, बुद्धिजीवी भनिएकाहरु भने समृद्धिको एकोहोरो रटान र स्मार्ट बन्न दौडिरहेका छन् । सरकारले मुलुकको सहरी जनसंख्या ५९ प्रतिशत भन्दा बढेको तथ्यांक सार्वजनिक गर्छ । २ सय ९३ नगर घोषणा गरेपछि सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या १७ बाट बढेर ५९ प्रतिशत पुगेको आर्थिक सर्वेक्षण ०७५-७६ ले देखाएको छ । यस अघि ५८ वटा नगरपालिका हुँदा सहरी जनसंख्या १७ प्रतिशत थियो ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४ मा १० हजार दुई सय ५९ सामाजिक अपराधका घटना दर्ता भएकोमा यो दर बढेर आर्थिक वर्ष ०७४-०७५ मा १४ हजार ४५० सामाजिक अपराधका घटना दर्ता भएका थिए । यस आर्थिक वर्षमा यसमा वृद्धि भएको जनाइएको छ । यसरी हेर्दा समाज अराजकता र विकृतितर्फ उन्मुख भइरहेको देखिन्छ । हामी राजनीतिक परिवर्तनका ठूला नारा हाँकिरहेका छौँ । तर, यथार्थमा समाज कता जाँदैछ सोच्नेसम्म फुर्सद छैन ।
अपराध बढ्नुको कारण
एलपी भानु शर्मा- जीवन विकास विशेषज्ञ तथा प्राध्यापक, पोखरा विश्वविद्यालय
कुनै पनि बालक अपराधी जन्मिँदैन । मानिसका कुनै पनि गुण व्याख्या गर्दा अपराधी हुने प्रकारको हुँदैन । मान्छे आन्तरिक गुणका कारण अपराधी हुने होइन । अपराधी हुनुमा बाह्य कारण हुन्छन् । जस्तै ऊ कस्तो परिवारमा हुर्किएको छ, उसले कस्तो प्रकारको शिक्षा पाएको छ, समाज कस्तो छ भन्ने कुराले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ ।
वास्तवमा मान्छेभित्र अपराध छैन । मान्छेको भित्री प्राणमा आपराधिकता हुँदैन । बाहिरी कुरा भनेको गलत सिकाइले अपराध गर्छ । उसको जुन हुर्काइ बढाइ छ त्यही प्रभावले अपराध जन्मिन्छ । अपराध लिएर व्यक्ति जन्मिँदैन, व्यक्तिमा नराम्रो चरित्र उत्पन्न हुनुलाई अपराधी भनिन्छ । यसका लागि शिक्षा मूल कुरा हो । हाम्रो शिक्षा व्यावहारिक छैन । व्यवहारमुखीभन्दा पनि साक्षरतामुखी शिक्षाको विकास भइरहेको छ । त्यसकारण बलात्कार, हत्या जस्ता जघन्य अपराधमा अशिक्षित मान्छेको तुलनामा शिक्षित मान्छे नै संलग्न भइरहेको छ ।
आज पनि कतिपयले ‘सहशिक्षा’ को विरोध गर्ने गरेका छन् । यो गलत हो । सहशिक्षा अहिलेको आवश्यकता हो । केटाकेटी सगैँ पढ्दा एकअर्कासँग कुराकानी हुन्छ । त्यस्तोमा कौतुहलता कम हुन्छ र कमै घटना मात्र घट्छन् सहपाठीलाई बलात्कार गरेको घटना बिरलै हुन्छ । मित्रतामा सम्मान हुन्छ । सम्मानमा प्रेम जन्मिन्छ । त्यसकारण समाजलाई खुला राख्न आवश्यक छ । लोकतान्त्रिक समाज खुला हुनुपर्छ । व्यवहार पनि लोकतान्त्रिक हुनका लागि हामीले हरेक कुरामा खुलापन हुन जरुरी भइसकेको छ ।
डा. गंगा पाठक, मनोविद
नेपालीले दस वर्षे सशस्त्र द्वन्द्वपछि पनि अझै राजनीतिक स्थिरता अनुभव गर्न पाएका छैनन् । महँगी, असुरक्षा, अभावले गाँजेको पनि धेरै भइसक्यो । देशको अशान्त अवस्थाले पनि यस्ता अपराधका प्रवृत्तिहरुलाई जन्म दिएको छ । चिन्ता, बेरोजगारी, उदासीनता, असहायपना, यातना, गरिबी, वितृष्णा, अति महत्त्वाकांक्षा, असुरक्षाजस्ता कारणले अपराध जन्माउँछन् । परिवारमा मेलमिलापको वातावरण नहुनु, दम्पतीबीच यौन सम्बन्धबाट सन्तुष्ट नहुनुजस्ता समस्याले अपराधका घटना हुने गरेका छन् ।
बलात्कार गर्ने सोच आउनु एक प्रकारको मनोरोग हो । यसलाई ‘साइको सेक्सुअल डिसअर्डर’ भनिन्छ । पछिल्लो समय यस्ता घटनामा बालक, युवा र वृद्ध समेतको संलग्नता बढ्नुमा मोबाइल र इन्टरनेटमा सहज पहुँच, अश्लील फिल्म हेर्ने सुविधा, मादक पदार्थ सेवन, यौन उत्तेजना बढाउने खालका औषधीको उपलब्धता, चलचित्रमा राखिने उत्तेजक दृश्य, आध्यात्मिक चिन्तनको अभाव र नैतिकताको ह्रास प्रमुख कारण हुन् ।
डीआईजी विश्वराज पोखरेल, नेपाल प्रहरी
अधिकांश अपराधका घटनाहरु आवेशमा आएर र आर्थिक कारणले हुने गरेको हुन्छ । मानिसको धर्मप्रतिको विश्वास कम हुँदै गएको र भौतिकवादी एवंव्यक्तिवादी भएका कारण यस्ता घटनाहरु बढी हुने गरेकाहुन् । समाजिक सञ्जालको दुरुपयोग, शिक्षा तथा जनचेतनाको कमी, देखासिकी, बेरोजगारीलगायतका कारणले यस्ता घटना हुने गरेका छन् । यसलाई रोक्नसामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी छ । एकीकृत शिक्षा आवश्यक छ ।
पहिलो कुरा त मानिसलाई नैतिकवान बनाउनुपर्छ । मानिसले कानुनको आँखा छल्न सक्छ तर धर्मको आँखा छल्न सक्तैन । धर्मप्रतिको विश्वासले पनि धेरै अपराधिक घटना कम हुन्छन् । अनि अर्को कुरा के छ भने समाजमा कुनै उच्च ओहदाका व्यक्तिले कुनै अपराध गर्यो भने मानिसको दिमागमा उसले त गर्दा केही भएन, त्यस्तो गर्न हुने त रहेछ भन्ने नकारात्मक प्रभाव पर्छ । तुलनात्मक रुपमा मिडियाबाट पनि अपराध गरेको समाचारहरु बढी आउँछन् ।अनि उसलाई कारबाही भएका समाचारहरु कम जान्छन् । त्यसो हुँदा अपराध गर्ने व्यक्तिलाई कारबाही भएको, उसले समाजबाट बहिष्कृत हुनु परेको र हकअधिकारबाट वञ्चित भएको अन्य व्यक्तिले थाहा पाउँदैनन् । यसले अपराध केही हदसम्म बढ्ने गरेका छन् ।
सरकार कता अनि समाज कता ?
सरकारले एकहोरो समृद्धिको रटान लगाइँरहदा समाज यस्तो अवस्थाको दलदलमा फसिरहेको छ । यी विषयमा सरकारले खासै ध्यान दिएको पाइँदैन । उल्टै सरकार र पहुँच भएकाहरु अपराधीलाई संरक्षण गर्न लागिरहेका हुन्छन् । यसको अर्थ समृद्धिको कुरा नै गर्नु हुँदैन भन्ने अर्थ हैन। समृद्धिको सपना देख्न पाइन्छ । भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भनेका छन् - “सपना त्यो होइन जो तपाईँ निदाएको बेला देख्नु हुन्छ, सपना त ती हुन् जसले तपाईँलाई निदाउन दिँदैनन्।’ हामीकहाँ पनि राजनीतिकर्मी, योजनाविद्, अर्थशास्त्री, अभियन्ता, बौद्धिक व्यक्तित्व र सर्वसाधारण जनता सबैले समृद्धिको सपना देख्न थालेका छन् । तर, अब तीनलाई साकार बनाउन मौलिकतामा आधारित सपना देख्न आवश्यक छ ।समाजिक विकृति र विसंगतिरहित समृद्धि ल्याउन आवश्यक छ ।
सरकारले देखेको रेल र पानीजहाजको सपनाले मात्र मुलुक समृद्ध बन्न सक्तैन । समृद्धि भनेको विशाल भवन, चौडा सडक, उद्योग, व्यापार, व्यवसायको वृद्धि, सवारी साधनको पर्याप्तता, सुकिलामुकिला र धनी मानिसको बढोत्तरी इत्यादिमात्रै हुन सक्तैनन् । स्मार्ट बन्ने समृद्धिले समाजलाई नै अपराधीकरण गर्नुभन्दा पहिले नै ध्यान दिन आवश्यक छ ।
एकदुईटा सुरुङमार्ग, द्रूतमार्ग, रेल, उद्योग कलकारखाना व्यापार, उत्पादन, विद्युत्गृह, अग्ला भवन निर्माण गर्दै या ‘स्मार्ट’ को सपनाले मात्रै पुग्दैन । अहिले सरकारका हरेक कामको विरोध र आलोचना भइरहेको छ । यसको कारक भनेको लोकतन्त्रप्रतिको राजनीतिक इमान्दारीको कमी र पारदर्शिताको अभाव हो । यस्ता विवादित विषयमा सरोकारवालासँग छलफल गरेर समयमै हल गरिनुपर्छ । सरकारले भने एउटा गल्ती छोप्न गल्ती गर्दै गएको छ । यही सरकारले प्रतिबन्ध लगाएको खुलास्थान माइतीघरमा साताको सातै दिन विरोध प्रदर्शनहरु भइरहेका छन् । जनताले आजको जस्तो सोच राखेर दरिद्रतामा जीवन गुजारा गर्दै कहरमा देखेका सपनाले समृद्धि प्राप्त हुँदैन । यो कुनै जादूको छडीबाट हुने पनि होइन । सरकारले यस्ता विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ ।
अन्त्यमा,
आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक र आध्यात्मिक क्षेत्रको समृद्धि नै देशको समृद्धिको परिभाषा हो । आर्थिक समृद्धिले अर्थतन्त्रको समग्र पाटोलाई समेट्छ । लोकतन्त्रलाई अझ राम्रो लोकतन्त्र (बेटर डेमोक्रेसी ) को बाटोमा लैजान्छ । सामाजिक सांस्कृतिक समृद्धिले देशलाई वास्तविक राष्ट्रमा रूपान्तरण गर्छ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको नेपाली समाजलाई समृद्ध पार्नु भनेको राष्ट्रिय एकताको पक्षलाई बलियो बनाउनु हो । भौतिक समृद्धिले देशको भौतिक संरचनालाई बलियो पार्छ । आध्यात्मिक क्षेत्रमा नेपालको आफ्नो छुट्टै पहिचान छ । मानिसलाई नैतिकवान मनाउन मद्दत गर्छ ।
माथि उल्लेखित विषयमा समृद्ध हुन सकेमात्र वास्तविकरुपमा जनताको दैनिक जीवनस्तर, जनजीविका रहनसहन, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, वास, सुरक्षा, न्याय, समानता, सम्मानजस्ता विषयमा सकारात्मक र अर्थपूर्ण परिवर्तनहुन्छ ।