site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जागरण अभियानको निष्कर्षः सरकारप्रति जनतामा तीव्र असन्तुष्टि, पार्टीका आन्तरिक कमजोरी पहिचान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको अधिनायकवाद उन्मुख गतिविधिका कारण जनतामा तीव्र असन्तुष्टि बढेको दाबी गरेको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति जनतामा तीव्र असन्तुष्टि बढाएको जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको जनाएको हो ।

प्रथम चरणको राष्ट्रिय जागरण अभियान र आगामी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आमअपेक्षा देखिएको बताए । 

उनले सोही आशा र विश्वासको भावनाका साथ कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियानका क्रममा देशव्यापी देखिएको पनि दाबी गरे । प्रवक्ता शर्माले अभियानका क्रममा सत्तारुढ दलसँगै अन्य दलमा आबद्ध ३१ हजार ६४२ जना नेता–कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको जानकारी दिए । 

अन्य पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीले आवश्यक प्रशिक्षण दिएर उपयुक्त जिम्मेवारी प्रदान गर्ने कांग्रेसले जनाएको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गतको पहिलो चरणको एक महिने अभियानका क्रममा दुई हजारभन्दा बढी कार्यक्रम सम्पन्न गरिएको कांग्रेसको भनाइ छ ।

‘‘जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडास्तरीय कार्यक्रमसमेत गरी समग्रमा दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएका छन्,’’ प्रवक्ता शर्माले भने ।   

राष्ट्रिय जागरण अभियानलाई पछिल्लो समय कुनैपनि राजनीतिक दलद्वारा प्याकेजमा अघि सारिएको बृहत् र नवीन कार्यक्रमका रुपमा आमरुपमा लिइएको अनुभूत गरिएको उनको भनाइ छ । अभियानका क्रममा पार्टीका आन्तरिक कमजोरीहरुको पहिचान हुनुका साथै पार्टी सुदृढीकरणका लागि विभिन्न सुझावहरु प्राप्त भएको शर्माले बताए । 

उनले अभियानका क्रममा प्राप्त भएका सुझाव, कमजोरीलाई आत्मसात् गरेर पार्टीले निराकण गर्दै जाने पनि बताए । ‘‘अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन्,’’ प्रवक्ता शर्माले भने, ‘‘कांग्रेसलाई सुदृढ र नवीन ढंगले अघि बढ्न अभियानका क्रममा साथीहरुबाट औंल्याइएका कमजोरीहरु आत्मसात् गर्दै तिनलाई क्रमशः निराकरण गर्दै अघि बढ्नेछौं ।’’ 

कांग्रेसले पहिलो चरणको जागरण कार्यक्रममा भातृ संस्था परिचालन गर्ने भनिए पनि समिति नहुँदा समस्या परेपछि दोस्रो चरणको अभियानअघि नै भातृ संस्था चुस्तदुरुस्त बनाउने संकेत देखिएको छ । कांग्रेसले भदौ २४ गतेबाट सुरु गरिने दोस्रो चरणको जागरण अभियानअगावै पार्टीका महत्वपूर्ण अभिभाराहरु सम्पादन गरिने पनि बताएको छ । 

जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै कांग्रेसले नेपालको संविधान र पार्टीको संशोधित विधान बमोजिमका सम्पूर्ण संरचनाहरु निर्माण गरिने दाबी गरेको छ । यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइने कांग्रेसको भनाइ छ । 

हाल ११औं महाधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि केही महिनायता नेविसंघ केन्द्रीय समिति रिक्त छ भने तरुण दल कार्यकाल सकिनै लाग्दासम्म पनि चार जना पदाधिकारीमा सीमित छ ।  

कांग्रेसले पहिलो चरणका लागि जिल्लाहरुमा खटिएका केन्द्रीय प्रतिनिधिहरुबाट असार १४ गतेभित्र लिखित प्रतिवेदन लिएर     पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच ‘विशेष विमर्श’ कार्यक्रम आयोजना गर्ने प्रवक्ता शर्माले बताए । उनका अनुसार जागरण अभियानको पहिलो चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर छलफल गर्नका लागि असार तेस्रो सातामा केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । 

जागरण अभियानको दोस्रो चरण अगाडि नै कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसबाट विजयी देशभरका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण आयोजना गर्ने भएको छ । उक्त प्रशिक्षण साउन पहिलो साता काठमाडौँमा आयोजना गरिने शर्माले जानकारी दिए । 

यस्तै सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन पहिलो साता नै १ नम्बर प्रदेशको धनकुटामा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने भएको छ । 

कांग्रेसले जागरण अभियानको पहिलो चरणले अभिवृद्धि गरेको जागरणको जगमा टेकेर आगामी दिनमा सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिको भूमिकामा थप सवल ढंगले अघि बढ्ने प्रतिवद्धता पनि जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro