site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिजमा ‘माइतीघर’ लिएर आउँदै गरेकी सुनितालाई १७ प्रश्न
Tiktok banner adTiktok banner ad
सुनिता दुलाल नेपाली लोकदोहोरीमा आफ्नो छुट्टै्र पहिचान स्थापित गरेकी गायिका हुन् । थोरै तर राम्रा गीत गाउनुपर्छ भन्ने दुलाल तिजमा अरुका एल्बममा गीत गाउँदिनन् । भड्किला गीत गाएर चर्चा कमाउनु भन्दा लोकप्रिय गीत गाएर स्रोताको मानमा राज गर्नुपर्छ भन्ने उनको मान्यता छ । दुलालले यो साल तिजका लागि ‘माइतीघर’ नामक एल्बम शनिबार सार्वजनिक गर्दैछिन् । एउटा नयाँसहित तिजका आफ्ना पुराना गीत समावेश गरेर अडियो एल्बम ल्याउने अन्तिम तयारीमा रहेकी दुलालसँग बाह्रखरीले गरेको कुराकानीः 
यो वर्ष तिजका कति गीत गाउनुभयो ?
एउटामात्र, त्यो पनि आफ्नै एल्बमका लागि । 
तपाईंका समकालीनहरूले धेरै गाउँछन् त ?
म तिजका गीत अरुका एल्बममा गाउँदिनँ । आफ्नो एल्बमका लागि मात्रै गाउँछु । त्यही भएर संख्या थोरै भएको हो ।
किन अरुका एल्बममा गीत गाउनुहुन्न ?
म संख्यामा भन्दा गुणात्कमतामा ध्यान दिन्छु । संख्या धेरै भयो तर राम्रो गीत गाउन सकिएन भने त्यसको के अर्थ हुन्छ र ? त्यसैले थोरै गाउँछु । राम्रो गाउनुपर्छ भन्ने मेरो धारणा हो । यसको मतलब अरुका गीत राम्रा छैनन्, मेरामात्रै राम्रा छन् भन्नेचाहिँ होइन । 
भीडमा अरुभन्दा फरक हुन हो ? 
होइन । सकेसम्म राम्रो गरौं भनेर हो । अरुका गीत गाउँदा उनीहरूले भनेको गाउनुपर्छ । त्यो मलाई चित्त नबुझ्न पनि सक्छ । तिजमा त झन् राम्रो भन्दा पनि हतारमा गीत गाउने चलन बढेको छ । शब्द, लय र त्यसको भावमा ध्यान पनि कतिपय अवस्थामा दिइँदैन । यी कुरासँग सम्झौता गरेर गीत गाउँदा मबाट जति अपेक्षा गर्ने स्रोता, दर्शक हुनुहुन्छ, त्यो उहाँहरूले पाउनु हुन्न । त्यो त मेरा स्रोता तथा दर्शकका लागि अन्याय हो । मेरो गायकीमाथि पनि प्रश्न चिन्ह आउँछ । त्यसैले थोरै तर राम्रो गरौं भन्ने नै हो ।
तपाईंको यो सालको तिज गीत कस्तो छ ?
‘माइतीघर’ नामक एल्बम हुनेछ । गीतको बोलचाहिँ ‘यसपाली नि खाने दर, जाने म त माइतीघर’ छ । 
बजारमा आइसकेको हो ?
छैन । शनिबार रिलिज गर्दैछु । 
ढिलो भएन ?
मलाई त त्यस्तो लागेको छैन । समय छ नि । हतार गरेर नराम्रो ल्याउनु भन्दा समय लगाएर राम्रो गर्नु नै राम्रो हो नि होइन र ? 
अरुका तिज गीत आएको त महिनौं भइसक्यो त ?
म हतार गर्दिनँ । करिब एक महिना अझै छ । समय घर्किएको छैन । दिदी–बहिनीहरूले तिजमा मेरो गीतमा नाच्न पाउनुहुन्छ ।
तिजका गीत अलि भड्किलो हुँदै गएका हुन् ?
एकदमै भड्किलो हुँदै गएका छन् । तिज भनेको हाम्रो संस्कार, संस्कृति हो । हामी समाजमा रहेर गीत सुन्ने हो, हेर्ने हो । गीत त्यस्तो हुनुपर्छ, जुन परिवारसँग बसेर हेर्न सकियोस् । 
तीजका गीत गाउँदैमा हिट भइन्छ र विदेश जान पाइन्छ भन्ने एउटा भ्रम छ जस्तो लाग्छ मलाई । तिजका गीत गाउँदैमा हिट पनि भइँदैन र विदेश जान पनि पाइँदैन । सस्तो लोकप्रियता र क्षणिक चर्चाका लागि समाजले पचाउनै नसक्ने खालका गीत पनि गाउन थालिएको छ । यो खराब प्रवृत्तिको तत्काल अन्त्य हुनुपर्छ । तिज हाम्रो संस्कार हो । यसलाई जोगाउनुपर्छ । रत्यौली खालका गीत गाउने चलन बढेको छ । केटाहरू हाबी हुन थालेका छन् । यो राम्रो होइन । 
केटाहरूले तिज गीत गाउनै हुन्न भन्नुभएको हो ? 
होइन । मैले त्यस्तो भनेको छैन । गीत त सबैले गाउन सक्छ । तर, उत्ताउला खालका गीतहरू गाउनु भएन । कुन शब्दको अर्थ के हो, कुन पहिरन लगाउने हो, कुन दृश्य राख्ने हो, त्यसमा ध्यान दिनुपर्छ । 
देवर–भाउजुको प्रसंगमा बाबु–छोरी र श्रीमान्–श्रीमतीको प्रसंग आयो भने त छोरो मान्छे पनि चाहिन्छ । यसमा मेरो आपत्ति होइन । तर, यहाँ त यति उत्ताउलोपन भित्रिसक्यो कि गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको प्रेम प्रसंगका गीत गाउन थालियो । यसमा पनि भड्किलो भिडियो बनाएर । यस्तो प्रवृत्तिले त कतै तिज पर्व नै  लोप त हुने हैन भन्ने पो त्रास उत्पन्न भइसक्यो । 
एक महिना अघिदेखि दर खाँदै हिँड्ने प्रचलनबारे तपाईंको केही टिप्पणी छ ?
यसलाई दुवै किसिमले हेर्न सकिन्छ । एक महिनाअघि तिजको कार्यक्रम आयोजना गरेर असह्य, अशक्त तथा प्राकृतिक विपत्तिबाट पीडितलाई सहयोग गर्न रकम उठाउने गरेको पनि पाइन्छ । यो त राम्रो भयो । यस्ता कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुपर्छ । तर, रमाइलोका लागि मात्रै एक महिना अघिदेखि भेला भएर तडकभडक गरेर मनाउने प्रवृत्तिचाहिँ राम्रो होइन । 
यो साल तिजका कार्यक्रममा कहाँ कहाँ जाँदै हुनुहुन्छ ? 
नेपालभित्र तत्काल गोकर्ण फरेस्ट रिसोर्टमा छ । योबाहेक एक दर्जन स्टेज सो छन् । 
नेपालभन्दा बाहिर नि ?
अगष्ट २५ मा जापान जाँदैछु । त्यहाँबाट कोरिया, नर्वेलगायत युरोपका देशमा जान्छु । यो साल एकै समय परेर अमेरिका, अष्टे«लियालगायत ८ वटा देश छोड्नुपर्यो । 
अमोरिका, अष्टे«लिया छोडेर जापान किन ?
जापानबाट मेरो ‘डेट’ एक वर्षअगाडि नै लिएको हो । जापान र अमेरिकाको दूरी पनि निकै टाढा रहेछ । त्यसैले उताका कार्यक्रम छोड्नुपर्यो । 
अहिलेसम्म कति वटा देश गइसक्नु भयो ?
नेपाली रहनुभएका प्रायः अधिकांश देश । 
संख्या याद छ ?
२६/२७ वटाभन्दा बढी नै भयो होला । 
अन्तिममा केही भन्नु छ ?
मेरो गीत आउँदैछ । निकै मेहनत गरेर तयार पारेकी छु । कुमार विवाहित र महेश खड्कासँग मिलेर काम गरेकी छु । मलाई लाग्छ, मैले राम्रो गीत तयार गरेर गाएकी छु । म आफैं पनि शब्द र लयमा खेल्ने मान्छे हुँ । मैले अरुकै शब्द भए पनि चित्त नबुझेको ठाउँमा कैयौं पटक सच्याउँछु । त्यसैले मैले स्रोता तथा दर्शकलाई न्याय गरेकी छु भन्ने लागेको छ । दिदी–बहिनीहरूले रमाइलो मानेर छमछमी नाच्ने गीत बनाएको छु । सुन्नुहोला, हेर्नुहोला ।
तस्बिरः राेजित खड्का
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro