site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन वर्षमा पनि बनेनन् कांग्रेसका विभाग, पौडेल पक्षले अड्को थापेको संस्थापनको आरोप

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पूरा भइसकेको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी चयन भएको तीन वर्ष बितिसक्दा पनि कांग्रेसका विभागहरुले भने पूर्णता पाउन सकेका छैनन् । 

विधानअनुसार दुई महिनाभित्र पूर्णता पाउनुपर्ने विभागहरुलाई सभापति देउवाले पूर्णता दिन सकेका छैनन् । संस्थापन पक्षले नेता रामचन्द्र पौडेल पक्षको असहयोगका कारण विभागहरुले पूर्णता पाउन नसकेको दाबी गर्दै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टीभित्र बढेको आन्तरिक किचलोका कारण सभापति देउवालाई रिक्त रहेका विभाग र समितिहरु गठन गर्न ‘हम्मेहम्मे’ परेको कांग्रेस नेताहरु बताउँछन् ।

सभापतिले पदाधिकारी मनोनयनलगत्तै पार्टीको विधानबमोजिम गठन गर्नुपर्ने विभाग र समिति बनाउन पहल गरे पनि पौडेल पक्षले अड्को थाप्दै आएको संस्थापन पक्षीय नेताहरुले दाबी गरेका छन् । १३ औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि पार्टीका विभागहरु र समितिहरु गठन गर्न नसकेपछि सभापति देउवाको आलोचना हुँदै आएको छ ।
‘‘पदाधिकारी मनोनयन गरे लगत्तैबाट सभापतिज्यूबाट विभाग र समिति गठनको प्रयास हुँदै आएको छ । तर वरिष्ठ नेताज्यूले गठन गरौं पनि भन्ने र नाम दिन पनि आनाकानी गर्ने भएकाले ढिलाइ भइरहेको छ,’’ देउवा निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभापति देउवाले अहिलेसम्म उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समितिलाई मात्रै पूर्णता दिन सकेका छन् । 

सभापति देउवाले केही समयअघि पार्टीमा रिक्त रहेका समिति र विभागहरु गठनका लागि छलफल अगाडि बढाएका थिए । उनले पार्टीका शीर्ष तहका नेताहरुलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर केन्द्रीय कार्यसम्पादन समिति गठनका बारेमा छलफल चलाएका थिए । 

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाबीच कार्यसम्पादन समिति गठनका लागि सहमति पनि जुटेको थियो । तर, १३ औं महाधिवेशनबाट कांग्रेसको ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उक्त सहमतिमा सहमत नभएपछि समिति गठन प्रक्रियाले पूर्णता पाउन सकेको छैन । 

सभापति देउवा र वरिष्ठ नेता पौडेलले कार्यसम्पादन समितिमा ६०–४० का दरले भागबण्डा गरेपछि असन्तुष्ट नेता सिटौला योग्यता र क्षमताको आधारमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिनुपर्ने बताउँदै आएका छन् । गत शनिबार पनि सभापति देउवाले नेता सिटौलालाई आफ्नो निवासमा बोलाएर गठन हुन बाँकी रहेका समिति र विभाग गठन बारेमा छलफल गरेका थिए । 

‘‘विभाग गठनबारे कुराका लागि कुरा त भयो तर हामीले कुरा गर्न खोजेको जस्तो कुरो भएन । तत्कालै विभागहरु गठन हुने छाँटकाँट देखिदैन,’’ सभापति देउवासँगको छलफलमा सहभागी ‘तेस्रो धार’ का एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । कांग्रेसले यही वैशाख २५ गतेबाट देशव्यापी रुपमा एक महिने राष्ट्रिय जागरण अभियान सुरु गर्न गइरहेकाले पनि तत्काल विभागहरु गठन हुने सम्भावना नरहेको ती नेताको भनाइ छ । 

केन्द्रीय समितिसँगै कांग्रेसका विभिन्न विभागहरु पनि गठन भएका छैनन् । कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ७ को ३७ अन्तरगत केन्द्रीय विभाग सम्बन्धि व्यवस्था महलमा २९ विभागहरु गठन गरिने उल्लेख छ । 

कांग्रेसले पूर्णता दिन नसकेका केन्द्रीय समितिहरु

केन्द्रीय कार्यसम्पादन समिति 
केन्द्रीय संसदीय समिति 
केन्द्रीय लेखा समिति 
जेष्ठ राजनीतिज्ञ सभा

गठन हुन बाँकी विभागहरु 

अन्तराष्ट्रिय सम्बन्ध विभाग
संवैधानिक कानुन तथा संसदीय मामिला विभाग
संघीय मामिला तथा स्थानीय तह विभाग
सूचना, सञ्चार तथा प्रचार विभाग
पेशागत तथा बुद्धिजीवी विभाग
भाषा, साहित्य, कला तथा संस्कृति विभाग
शिक्षा, विज्ञान तथा प्रविधि विभाग
गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग
अनुगमन, मूल्यांकन तथा अभिलेख विभाग
उद्योग तथा वाण्ज्यि विभाग
पर्यटन विभाग
कृषि तथा भूमिसुधार विभाग
युवा तथा खेलकुद विभाग
प्राकृतिक स्रोत, जल तथा उर्जा विभाग
शान्ति, सुरक्षा तथा प्रशासन विभाग
श्रमिक तथा ट्रेड यूनियन विभाग
जनसम्पर्क समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग
द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
स्वास्थय विभाग
वन, वातावरण तथा विपद व्यवस्थापन विभाग
महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग आर्थिक नीति तथा योजना विभाग
भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग
अन्य पार्टी सम्पर्क विभाग
सहकारी विभाग
भ्रातृ संस्था समन्वय विभाग
शुभेच्छुक संस्था समन्वय विभाग

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १३:५४
प्रतिक्रिया दिनुहोस्