
कथा
– रामचन्द्र भट्ट
“नेपाली समुदायलाई अर्को ठूलो बज्रपात ! २६ वर्षीय जयशको फोर्टवर्थ नजिकको इगल माउन्टेन लेकमा डुबेर निधन । आत्महत्या गरेको अनुमान !”
ड्यालसका चिरपरिचित समाजसेवीले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरे । यो खबर अमेरिकादेखि नेपालसम्मै डँढेलोझैं फैलियो । हार्दिक श्रद्धाञ्जली दिनेदेखि लिएर ‘रिप’ लेख्नेहरूको ताँती लाग्यो सामाजिक सञ्जालमै ।
ड्यालसमा नेपाली समुदायको उपस्थिति बाक्लो भएसँगै घटना नभएका कुनै महिना छैनन् भन्दा पनि हुन्छ । अमेरिकाको टेक्सस सबैभन्दा धेरै नेपालीको बसोबास भएको राज्य हो । टेक्ससमा पनि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र झन्डै ३५ हजार नेपाली बस्छन् । अमेरिकामा उमेर पुगेर कालगतिले, अस्पतालमा उपचार हुँदाहुँदै, सवारी दुर्घटना, आत्महत्या गरेर जीवन समाप्त गर्ने नेपालीको संख्या बढ्दो छ । अघिल्लो महिनामात्र गाडी दुर्घटनामा परेर एक नेपाली छात्राको निधन भएको थियो । अहिले फेरि अमेरिकामा ठूलो सपना बोकेर आएका युवाले ज्यान गुमाएको खबरले दुःखी नहुने को होला र !
“अमेरिकामा आएपछि फ्रस्टेड हुनेहरू धेरै छन् । विचरा यिनले पनि त्यस्तै केही भएर त होला नि तालमा गएर डुबेर आत्मत्या गरेको,” एक नेपालीले टिप्पणी गरिहाले । पार्टीमा थुप्रै नेपाली जम्मा भएका थिए । सबैले आ–आफ्नो हिसाबले अर्थ लगाए आत्महत्याको ।
“हो नि । के पीडा प¥यो कुन्नि ? स्वास्नी, छोराछोरीको पो बिजोग सुन्न र देख्नुपर्ने भयो,” अर्काले प्रतिक्रिया व्यक्त गरिहाले ।
“अँ, मेरो भर्खरै एकजनासँग कुराकानी भएको थियो । अनम्यारिड हो रे त्यो मर्ने केटा,” हातमै मोबाइल लिएर बाहिरबाट भित्र पस्दै गरेको अर्काले सुनायो । सुन्नेजति, गफमा समावेश भएका जतिले त्यो सुनेर राहत महसुस गरेझैं गरे । जन्मथलोबाट सातसमुद्र टाढा आएर नेपालीको अकाल निधन हुनुमा खुशीको विषय त पक्कै थिएन । तर, पनि एक्लो व्यक्ति भएको घटनाले यहाँ हुने बाँकीलाई पीडा नहुने धेरैको निष्कर्ष निस्कियो । आत्महत्या गर्नेलाई नै नानाभाँती गाली गर्न थाले उनीहरू ।
“संघर्षसँग जुधेर हिँड्न नसक्नेले के धर्तीमा जिउनू ? गएकै ठीक,” अघिसम्मको दया र करुणा एकाएक गालीमा परिणत भयो । सबैले ‘होमा हो’ मिलाउन थाले ।
डीभी चिठ्ठा परेर तीन वर्षअघि जयश अमेरिका आएको हो । उदयपुर कटारीको जयशको पूरा नाम हो– जयश बस्नेत । शुरुमा भर्जिनिया आएको जयशको स्कुले सहपाठी युनिभर्सिटी अफ नर्थ टेक्ससमा अध्ययनरत छ । उही साथीको सल्लाहअनुसार भर्निनियामा केही महिना बिताएपछि जयश टेक्सस सरेको हो ।
ऊ फोर्टवर्थमा बस्थ्यो । डबल बेडरुमको एउटा अपार्टमेन्टमा जयशसहित चारजना छन् । बाँकी तीन भने विद्यार्थी थिए ।
२६ वर्षको भए पनि जयश अविवाहित हो । काठमाडौंको एउटा कलेजबाट बीबीएस सकाएपछि ऊ वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुग्यो । त्यहाँ उसले एउटा कम्पनीमा सहायक स्टोर किपर भएर एक वर्ष काम ग¥यो । डीभी परेपछि ऊ नेपाल फर्कियो । डीभीले नै उसलाई अमेरिका ल्यायो ।
दुबईमा बसेको हुँदा उसलाई विदेश त्यति नौलो त थिएन तर अमेरिका नौलो भयो । तर, पनि अंग्रेजी माध्यमबाटै पढेको हुँदा कहिलेकाहीँ नेटिभ अमेरिकनले बोलेको बुझ्न कठिन भए पनि बोल्न भने उसलाई रत्तिभर समस्या थिएन । निर्धक्कसाथ अंग्रेजीमा कुराकानी गर्न सक्थ्यो ।
किन तालमा डुबेर आत्महत्या ग¥यो भन्ने बारेमा सबैले अनुमानका भरमा मात्र कुरा गर्दै छन् । एक वर्षअघिमात्र किनेको होन्डा सिआरभी कार आफैंले ड्राइभिङ गरेर ऊ तालको छेउसम्म पुगेको रहेछ । सँगैका रुममेटहरूलाई ‘आज नाइट ड्युटी छ’ भनेर राति ९ बजे अपार्टमेन्टबाट निस्किेको थियो । अघिल्लो दिन पनि ऊ काममा गएको रहेनछ । दिनभरि घरमै बस्यो । कहिले के लेखेर, कहिले मुभी हेरेर । साँझ पनि कतै ननिस्केको भेटियो ।
रुममेटहरूमध्ये कोही बिहान कलेज जान्थे भने दिउँसो काममा जान्थे । कोही बिहान काममा गएर दिउँसो कलेज र फेरि साँझ काममा जान्थे । चारजना मिलेर सँगै बसे पनि उनीहरूबीच कहिल्यै पनि एकसाथ भेटघाट हुँदैनथ्यो । महिनामा एकपटक आइतबार साँझ सँगै बसेर बार्बिक्यु गर्ने र मस्तसँग पिउने उनीहरूको नियमितता थियो ।
भोलिपल्ट साँझ उसको अपार्टमेन्टमा पुलिस आइपुग्यो, डोरबेल बजाउन । त्यतिखेर करुण नाम गरेको रुममेट काममा जाने तयारीमा थियो । पुलिसले जयशको आईडी कार्ड देखाउँदै सोध्यो, “यो मानिसलाई चिन्छौ ?”
करुणले ठान्यो— कुनै अप्रिय घटना त भएन ? किनकि कुनै घटना नभएसम्म पुलिसहरू सामान्यतः डोरबेल बजाउन आउँदैनन् ।
उसले हड्बडाउँदै जवाफ दियो, “हाम्रो रुममेट हो । हिजो राति काममा जान्छु भनेर गएको थियो ।”
पुलिसले तालमा तैरिरहेको जयशको फोटो देखायो । उसको होशहवासै उड्यो । के गर्ने, के नगर्ने— उसको दिमागले केही सोच्नै सकेन । हिजो साँझ उसैसँग बिदा भएर जयश काममा जान्छु भनेर निस्किएको थियो । नाइट ड्युटी छ भनेर ऊ निस्किएको थियो । तर, २४ घण्टा नपुग्दै उसको हठ्ठाकठ्ठा शरीर निर्जीव भइसकेको तस्बिर देखेपछि करुणको होशहवास यसै गुम्यो ।
पुलिसले जयशका बारेमा सबै जानकारी लिए ऊसँग । स्टोरको काममा निस्किन लागेको करुणले फोन गरेर साहूलाई आउन नसक्ने जानकारी दियो । एकातिर पुलिसले उसलाई केरकार गरिरहेको थियो भने अर्कोतिर सँगै बस्ने साथीको अवस्था त्यस्तो भएपछि कुन मनस्थितिले काममा जाने र गर्ने ? उसका खुट्टा गले । जिउ लुगलुग काम्यो । तर, पनि पुलिसले सोधेजति र आफूलाई जानकारी भएजति सबै जानकारी दियो ।
पुलिसले एउटा मोबाइल फोन देखाउँदै सोध्यो, “यो फोन तिम्रो साथीकै हो ?”
करुणले चिनिहाल्यो— नीलो रंगको सामसुङ ग्यालेक्सी नोट–नाइन । ६ महिनाअघिमात्र जशयले एटीएन्डटीसँग किस्तामा लिएको थियो । सामसुङको पिक्चर क्वालिटी असाध्यै राम्रो आउँछ भन्दै उसले नोट–नाइन लिएको थियो । कतिपटक त उसले रुममेटहरूको फोटो पनि खिचिदिएको थियो त्यही नोट–नाइनमा ।
“हो । यो फोन जयशकै हो,” उसले जवाफ दियो ।
आफूले लगाइरहेको पाइन्टलाई तालछेउको डिलमा राखेर उसले हाम्फालेको अनुमान पुलिसले गरेका रहेछन् । त्यही पाइन्टको खल्तीमा वालेट पनि थियो । वालेटमा भएको आईडी कार्डबाटै पहिचान गरेर पुलिसहरू अपार्टमेन्टमा आएका थिए । वालेटमा चेज बैंक र अमेरिकन एक्सप्रेसका क्रेडिट कार्ड पनि थिए ।
पुलिसले कोठामा पूरै खानतलासी लिए । जयशका सामानहरू कुन–कुन हुन् भनेर पनि सोधे । उसले बेडसँगै रहेको ड्रयरमा आफ्ना सामान राख्ने गरेको थियो । उसका ल्यापटप, पढ्नका लागि नेपालबाट झिकाएका केही किताब, केही नोट गर्नका लागि उसले प्रयोग गर्ने गरेको डायरी, क्यामरा, आइप्याड त्यही घर्रामा थिए । नेपालबाट आउँदा नै ल्याएका दुइटा सुटकेस क्लजेटमा थिए । उसले लगाउने कपडा क्लजेटका ह्यांगरमा थिए । कतिपय कपडा क्लजेटका भुइँभरि असरल्ल थिए ।
पुलिसले घर्राका हरेक कुनाकाप्चा खोजे । उनीहरूले एकएक गरेर केलाए । त्यसैक्रममा एक प्याकेट कन्डम पनि फेला प¥यो । एउटा पुलिसले त्यो कन्डम निकाल्दै अर्को पुलिसतिर मिल्कायो । कन्डम समात्ने पुलिस मुस्कुरायो ।
“कोही केटी पनि छ तिमीहरूसँग बस्ने ?” दोस्रो पुलिसले सोध्यो । करुणले मुन्टो हल्लाएर नभएको संकेत ग¥यो । पुलिसले डायरीका पानापाना पल्टाए । केही दसी, प्रमाण पाइन्छ कि भनेर पुलिसले डायरीका पानाहरूमा लेखेका अक्षर पढ्ने प्रयास गरे । प्रायः सबै अक्षर नेपालीमै भएकाले उनीहरूले बुझेनन् । जे–जति अंग्रेजीमा लेखिएका थिए, ती सबै खरिद गरेका सामानका विवरणमात्र थिए ।
नेपालमा लेखिएका र पुलिसले नबुझेका सबै शब्द रुममेटलाई पढ्न लगाए । नेपालीमा लेखिएका कुराहरू पनि कतिपय इमेल, फेसबुकका पासवर्ड थिए । केही पासवर्ड क्रेडिट कार्ड र बैंक अकाउन्टका पनि थिए ।
बीचमा झन्डै १५–२० पेज भने लगातार लेखिएका थिए । रुममेटहरूले त्यो डायरी न त पहिले हेरेका थिए न त्यस्तो चाहना नै राख्थे । अझ भनौं— उनीहरूसँग अर्काको चियोचर्चो गर्ने, सोधीखोजी गर्ने, सामान चलाउने र हेर्ने फुर्सदै पो कहाँ हुन्थ्यो र !
झन्डै एक महिनाअघिको मिति लेखिएको थियो सबैभन्दा माथि । त्यसपछि हरेक ३–४ पेजको फरकमा अलग–अलग मिति थिए । अर्थात् डायरी जसरी लेखिएका थिए ।
“के लेखेको रहेछ, यो पढेर सुनाऊ” पुलिसले निर्देशन दियो । करुणले डायरी समात्यो । पढ्नका लागि पाना पल्टायो । तर, उसका हात काँपे । अनुहार कालोनीलो भयो । तुरुन्तै पढेर त्यसलाई उल्था गरी भन्न सक्ने उसको मुड थिएन ।
“धेरै लेखेको रहेछ । म अहिले पढ्न सक्ने मुडमा छैन,” करुणले भन्यो ।
पुलिसहरूले सल्लाह गरे । उनीहरूले पढ्नका लागि समय दिने निधो गरे ।
“त्यसो भए दुई दिन समय दिन्छौं । हामी पर्सि आइपुग्छौं । के लेखेको रहेछ, सबै भन्नू,” अलि सिनियरजस्तो देखिने पुलिसले भन्यो । उसले स्विकृति सूचकका रूपमा टाउको हल्लायो ।
पुलिसहरू फर्किए । करुण थचक्क सोफामा बस्यो । दिमाग घुम्यो तर पनि सम्हालिने कोसिस ग¥यो । टी–टेबुलमा पुलिसले छाडेर गएको त्यही डायरी पल्टायो र पढ्न थाल्यो—
“हे पशुपतिनाथ ! मलाई बचाऊ । मलाई यो साढेसातको दशाबाट पार लगाइदेऊ प्रभु !
मैले अब कसरी बा–आमालाई मुख देखाउनू ? कसरी दाजु–भाउजूलाई यो कुरा भन्नु ? यो कुरा कसरी बहिनीलाई सुनाउनू ?
कुन मुखले तिम्री भाउजू मभन्दा १५ वर्षले जेठी छे भनेर बहिनीलाई खबर गर्नू ? आफूसँगै पढेकी सुष्मालाई भाउजू बनाउँछु भनेर बहिनी अड्डी लिएर बसेकी छे । बहिनीले धेरै पटक सुष्माका फोटाहरू मेसेन्जर, भाइबरमा पठाइरहन्छे । राम्री पनि छे मोरी । अस्ति कुरा गर्दा लजाएकी थिई । तर, नाकचाहिँ अलिकति ठूलो हो कि जस्तो छ ।
हे छिन्नमस्ता माई ! मलाई यो दशाबाट पार लगाइदेऊ । कुन दिन त्योसँग मेरो चिनजान भएछ ? यो सबै भएको उनै कुमार दाइले गर्दा हो ।
कुमार दाइले इस्टेलालाई त्यसो गरेको नदेखेको भए म पनि किन सुरिन्थें होला र ? कुमार दाइजस्तो म्यानेजरले बेलामौकामा इस्टेलाको पुष्ट नितम्बमा बाहिरबाटै प्याट्ट हिर्काएको नदेखेको भए म पनि किन सुरो हुन्थें होला र ? कुमार दाइले भन्थे, “हेर् केटा, यिनीहरू भोगविलास र मोजमस्तीको मामिलामा साह्रै उदार हुन्छन् । खुशी तुल्याउन सकियो भने तिमीले जे चाह्यौ, उनीहरूले त्यही पूरा गरिदिन्छन् ।”
कुमार दाइ झन्डै १५ वर्षदेखि पश्चिम फोर्टवर्थमा रहेको यो मोटलमा काम गरिरहेका छन् । कुमार दाइभन्दा दुई वर्षपछिदेखि यो मोटलमा इस्टेलाले हाउसकिपिङको काम थालेकी रहिछ । एक त पुरानो स्टाफ, त्यसमाथि काममा अति नै प्रतिबद्ध र इमान्दार थिए दुबै । हुन त यो मोटलमा एउटै शिफ्टमा अरु ३–४ जना कर्मचारी पनि काम गर्थे । तर, कुमार र इस्टेलाजति पुराना कोही थिएनन् ।
सन् १९८० को दशकमा गुजरातबाट आएका पटेलजीको स्वामित्वमा छ यो मोटल । तर, पटेलजी कहिले ओक्लाहोमा त कहिले हुस्टन, कहिले डेनभर त कहिले सार्लोटमा रहेका आफ्नो अन्य मोटलको रेखदेखका लागि गइरहन्छन् । कुमारलाई पूरै विश्वासमा छाडेर पटेलजी कहिलेकाहीँ एक महिनासम्म इंगल्यान्डदेखि इन्डियासम्म पुगिराख्छन् ।
काममा इमान्दार कुमार दाइ बेलामौकामा मोटलको करिडोरमा इस्टेलालाई भेट्दा उसको पुठ्ठामा प्याट्ट हिर्काइहाल्थे ।
इस्टेला रिसाएजस्तै गरी भन्थी, “तु इस्ते लोको ।” (तँ पागल)
मैले देखेको चाल पाएर ऊ भन्थी, “मीरा, एल नोस इस्ते भेन्दो ।” (उता हेर, उसले हेरिराखेको छ ।)
म स्पेनिस बुझ्दिनथें त्यतिखेर । हुन त अहिले पनि खासै बुझ्दिनँ । इस्टेलाको अंग्रेजी खासै राम्रो छैन । सामान्य कुराकानी पनि मुस्किलले गर्न सक्छे ऊ ।
हे भगवान् ! कुन दशा लागेर यस्तोमा फस्न पुगे ? परिवारको कान्छो छोरो म । बा–आमाले कति ठूलो आशा र भरोसा राख्नुभएको छ मसँग । भाउजूले आफ्नै माइती गाउँकी नर्स हेरेर देउरानी बनाउन तयार राख्नुभएको छ । उता, बहिनीले सुष्मालाई तयार पारेकी छे । भाउजू र नन्दबीच प्रतिस्पर्धा छ कसलाई घरमा भित्र्याउने भनेर । म भने यता फर्सी कुहिएझैं खत्तम हुँदैछु ।”
डायरीको पहिलो पेजमा यतिमात्र अटाएको थियो । जयशले तालमा डुबेर आत्महत्या गर्नुको रहस्य महिला रहेको कारण बुझ्न अब करुणलाई गाह्रो भएन ।
यति पढिसकेपछि करुणलाई डायरीका अरू पाना पल्टाएर थप पढ्न उत्सुकता जाग्यो । कुमार दाइलाई सोध्दा कारणको भित्री कुनासम्म पुग्न सकिने आँकलन करुणले गरिहाल्यो । उसलाई झनै रहस्यमय लाग्न थाल्यो । त्यसैले ऊ डायरीका थप पाना पल्टाउँदै पढ्न थाल्यो—
“इस्टेला बिहान ८ बजे मोटलमा आउँथी । बेलुकी ४ बजेसम्म उसको ड्युटी आवर हो । तर, ऊ आवश्यकताअनुसार कहिलेकाहीँ ढिलासम्म पनि बसेर काम गर्थी । मोटलमा अर्की स्पेनिस महिला पनि थिइन् हाउसकिपिङको काम गर्ने । उनको नामचाहिँ मारिया हो । तर, मारियाचाहिँ त्यति जिस्किने, छिल्लिने गर्दिनन् । उमेरले इस्टेलाभन्दा कम भए पनि कुमार दाइले जिस्क्याउँदा हाँसेर टारिदिन्थिन् ।
बिहान साढे ७ बजेकै सेरोफेरोमा इस्टेला मोटलमा आइपुग्थी । ऊ आएपछि शुरुमा मोटलमा बस्ने ग्राहकहरूका लागि तयार गरेको ब्रेकफास्ट लिन्थी । सामान्य सफाइका काममा पनि ऊ संलग्न हुन्थी । ब्रेकफास्ट रिफिल गर्न किचनमा काम गर्नेहरूलाई सघाउने उसको बानी थियो । ऊ सामान्यतया खाली हात बसेको मैले कहिल्यै देखेको छैन ।
ब्रेकफास्ट लिएपछि ऊ आफ्नो काममा लाग्थी । चेकआउट भइसकेका हरेक कोठामा पुगेर सफाइ गर्ने, बेड मिलाउने, कफी, पानी राख्नेजस्ता काम गर्थी । ऊ काम गरिरहँदा सेलफोनमा गीत बजाउँथी । स्पेनिस गीत सुन्छे ऊ ।
मेरो ड्युटी सामान्यतया दिउँसो २ बजे शुरु भएर राति साढे १० मा सकिन्थ्यो । तर, म एक्लो भएकाले जुनसुकै बेला पनि काम गर्न मेरा लागि अप्ठ्यारो थिएन । म जतिखेर आवश्यक पर्छ, त्यत्ति नै खेर आउन सक्ने भएकाले पनि होला— कुमार दाइ र साहूको दृष्टिमा असल कर्मचारीका रूपमा परिचित हुँदै गएको थिएँ ।
बिहानको शिफ्ट होस् कि दिउँसोको, रातिको शिफ्ट होस् या आपतकालीन अवस्थामा जुनसुकै शिफ्टमा पनि काम गर्न म तयार थिएँ । मेरा लागि जतिसक्दो बढी घण्टा चाहिएको थियो । अमेरिकाको जीवन र ज्याला पूरै घण्टामा मापन हुने रहेछ । जति धेरै घण्टा हान्यो, उति नै जीवन खुशी बनाउन सक्ने नेपाली थुप्रै रहेछन् ।
‘कति घण्टा गर्छौ काम ?’ भनेर कसैले सोध्दा हप्ताको ७०–८० घण्टा भन्न पाउँदा गर्व गर्नेहरू थुप्रै भेटिँदा रहेछन् । ‘४० घण्टाले त के पुग्छ र ? त्यसैले दुई ठाउँमा काम गर्छु’ नभन्ने नेपालीहरू ड्यालस र फोर्टवर्थ एरियामा कमै छन् । मलाईचाहिँ दुई ठाउँमा काम गर्नुभन्दा मिलेको अवस्था यही मोटलमै हप्ताको ६० देखि ६५ घण्टा गर्दैमा आनन्द लाग्छ ।
तर, राति १० देखि बिहान ७ बजेसम्मको शिफ्टचाहिँ अलिकति अप्ठ्यारो लाग्थ्यो शुरुशुरुमा । तर, त्यो शिफ्टमा काम गर्दा खासै ग्राहक नआउने भएकोले मज्जाले मुभी हेर्ने समय मिल्थ्यो । एकै रातमा मैले लगातार चारवटा मुभी हेरेर सकेको पनि छु । त्यसैले त नेटफ्लिक्समा कुनै नयाँ मुभी बाँकी छैनन्, सबै हेरेर सकिसकेको छु ।
एकपटक दिउँसोको सिफ्टमा काम गर्दै थिएँ । दुइटा साना बच्चासहितका एकजोडी अर्जेन्टिनी आए । उनीहरूले अनलाइनबाटै चार दिनका लागि कोठा बुक गरेका थिए । अर्जेन्टिना भन्नासाथ मेरो दिमागमा फुटबल आइहाल्छ । मेस्सीको देश अर्जेन्टिना । दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी देश हो अर्जेन्टिना, जसको सबैभन्दा दक्षिणी टुप्पो उसुइयाबाट अन्टार्कटिका पेनिसुला पुगेर फेरि फर्किनका लागि पानीजहाजलाई ११ दिन लाग्छ । मलाई जिन्दगीमा यो यात्रा एकपटक गर्न मन छ । आखिर जीवनमा इच्छा भएको ठाउँमा एक पटक जान सकिएन भने यो जीवन मरेतुल्य भैहाल्यो नि !
अर्जेन्टिनी यो परिवारलाई मोटलको सबैभन्दा गतिलो कोठा दिन मन लाग्यो मलाई । उज्यालो, ठूलो कोठा दिने चाहना भयो मलाई, जुन कोठा बिहानमात्रै भर्निनियाबाट आएको एक जोडीले छोडेको थियो । त्यही कोठामा हाउसकिपिङको काम गर्दै थिई इस्टेला ।
अर्जेन्टेनी जोडीलाई मैले केहीबेर काउचमा आराम गर्न अनुरोध गरें । वेलकम ड्रिंक्स दिएर कोठा छिटो तयार गर्नका लागि त्यही १२०६ नम्बर कोठामा गएँ, जहाँ इस्टेला सेलफोनबाट चर्को स्वरमा म्युजिक बजाउँदै काममा व्यस्त थिई ।
डोरबेलको आवाजले गर्दा इस्टेलाले ढोका खोली । म भित्र पसें । लगभग कोठा तयार अवस्थामा थियो । मैले उसलाई कस्टमर आइसकेकोले छिटो तयार गर्न आग्रह गरें । उसले हल्का रिसाएजस्तो गरेर भनी, “तु लोको ।”
मैले पनि रिसाएजस्तो गरी उसको दाहिने पुठ्ठामा प्याट्ट हानें र भनें, “तु लोको ।”
कुमार दाइले धेरैपटक उसको पुठ्ठामा हानेको देखेर मेरो मन कसरी त्यस्तो गर्न सुरियो, मलाई होसै भएन ।
इस्टेलाले हल्का रिसाएझैं आँखा तरेर हेरी । उसको हेराइले मलाई उल्टो हौसला पो बढ्यो । मैले अर्को पटक देब्रे पुठ्ठामा हानें । “क्रेजी, वेट आई विल टेल कुमार,” उसले यति भनी । म भने हाँस्दै त्यो कोठाबाट निस्किएँ ।
अब मेरा रोमाञ्चक दिन शुरु भए । इस्टेलासँग जस्तो कुमार दाइले गर्थे, म पनि त्यही र त्यस्तै गर्न थालें । कतिखेर इस्टेलालाई भेटौं जस्तो हुन थाल्यो ।
एकदिन कुमार दाइले पनि देखे मैले उसलाई जिस्काएको । उनले भने, “मोज गर् केटा मोज । तिमीहरूकै छ नि दिन त । के गर्नू, आफू त परिवार र बालबच्चा भएको मान्छे । यो अमेरिकामा मोज गर्न अविवाहित र तिम्रै उमेरमा आउनुपर्ने रहेछ ।”
दाइले केही गाली गर्नुहोला कि भन्ने लागेको थियो । तर, उहाँको भनाइले मलाई हौसला मिल्यो ।
“इस्टेला, तिम्रो घरमा को–को छन् ?” एकपटक मौका मिलाएर सोधें ।
उसले हाँसेर उल्टै मलाई प्रश्न पो गरी, “किन चाहियो जो–जो भए पनि ?”
“होइन, जान्न मन लागेर,” मैले भनें ।
“एउटा छोरा छ । दुइटी छोरीहरू छन् । तर, मसँग एउटी छोरीमात्र छे । अरु सबै टेक्सस बाहिर छन्,” उसले भनी ।
“अनि तिम्रो लोग्ने ?” म एकैपटक प्रश्नको क्लाइम्याक्समा पुगें ।
“धेरै वर्ष भैसक्यो उसले मलाई छाडेको । अहिले त एटलान्टातिर बस्छ रे एउटी केटीसँग,” उसले सहज जवाफ दिई ।
आजका लागि मैले ऊसँग राख्ने जिज्ञासा यत्तिमै सीमित गरें ।
इस्टेला यसो हेर्दा ४० नाघिसकेकी जस्ती देखिन्थी । तर, उनीहरूको उमेरको अनुमान गर्न हामीलाई निकै गाह्रो पर्छ । अलिअलि फुलेका उसका केशले र तीनवटै छोराछोरी हुर्किसकेको भनेकीले अनुमान गरेको हो मैले । उसले जेठो छोरा २४ वर्षको भनेकी थिई । १५ वर्षमै बिहे भएको कुरा उसले एकपटक गरेकी थिई । सर्सर्ती हिसाब गर्दा मेरो अनुमान उसको उमेर ४१–४२ को हाराहारीमा हुनुपर्छ भन्ने हो ।
ऊसँगै बस्ने कान्छी पनि १९ वर्षकी थिई । कान्छी छोरी एउटा कलसेन्टरमा काम गर्थी । यहीँ जन्मेर हुर्किएकी हुँदा छोरी अंग्रेजी र स्पेनिस दुबै भाषामा पोख्त थिई । दुबै भाषामा पोख्त भएका कारण उसले घण्टाको २२ डलर आउने कलसेन्टरमा काम पाएकी थिई ।
इस्टेलाले भनेअनुसार कान्छी छोरी पनि बेलाबखतमा ब्वाइफ्रेन्ड लिएर घर आउँथी । छोरी ब्वाइफ्रेन्डको घरमा गएपछि एक्लै हुन्छु भनेर इस्टेला गुनासो पनि गर्थी ।
म्यानेजर भएकाले कुमार दाइ प्रायः बिहान आउनुहुन्थ्यो । एकपटक कुमार दाइले फोन गरेर भन्नुभयो, “भोलि बिहानको शिफ्टमा तिमी आइदेऊ न ।” उहाँको कान्छो छोरा बिरामी परेकाले तत्काल हस्पिटल लैजानु परेको रहेछ ।
म एकाबिहानै ७ बजे नै मोटल पुगें । त्यसदिन मैले साढे ४ बजेसम्म काम गरें । इस्टेला र मेरो छुट्ने समय एउटै प¥यो । म मोटलबाट निस्किएर गाडी स्टार्ट गरी सेलफोनबाट गाडीमा म्युजिक लगाउँदै थिएँ, इस्टेला पनि आइपुगी । उसको गाडी पनि मेरो नजिकै पार्किङमा थियो ।
ऊ मुसुक्क हाँसी । ‘बाई’ भन्दै ऊ गाडीमा पसी । उसले गाडी स्टार्ट गर्न चाँबी पसाई । तर, गाडी स्टार्ट भएन । धेरैपटक चाँबी घुमाएर प्रयास गरी तर भएन ।
हामीले जम्पर केबल लगाएर पनि स्टार्टको प्रयास ग¥यौं तर गाडीले स्टार्ट नै लिएन । ऊ कसरी घर जाने भनेर छोरीलाई फोन गर्दै थिई । छोरी भने काममा गएकी रहिछ ।
“कहाँ बस्छ्यौ तिमी ? म लगिदिन्छु,” मैले भनें । सहकर्मी भएको नाताले अभर परेको बेलामा सहयोग गर्नु मेरो कर्तव्य पनि थियो ।
“नर्थ रिचल्यान्डहिल,” उसले जवाफ दिई ।
“ल बस । म आज त्यही बाटो भएर जाउँला नि त,” मैले यति भनें । ऊ मेरो गाडीको अघिल्लो सिटमा आएर बसी ।
झन्डै १५ मिनेटको यात्रामा हामीले धेरै कुरा ग¥यौं । पारिवारिक कुराहरू गरियो । उसले मेरो बारेमा बढ्ता जिज्ञासा राखी । म अविवाहित भन्ने कुरा त कुमार दाइले पहिले नै उसलाई भनिसक्नुभएको रहेछ ।
इस्टेलाले आफ्नो पूर्वजँड्याहा पतिका बारेमा आज अलि धेरै नै बताई, “त्यस्ता लोग्ने हुनुभन्दा त अहिले नभएकै जीवन धेरै ठीक छ जयश मेरा लागि ।” उसले लोग्ने नहुँदाको अवस्थाप्रति सन्तुष्टि जनाई । काममा नजाने, एक हप्ता काममा गयो भने अर्को हप्ताभरि बियर धोकेर घरमै बस्ने र उसले जतिखेर चाह्यो, त्यति नै खेर भोगविलाशका लागि तयार भइदिनुपर्ने पीडादायी अनुभव इस्टेलाले पूर्वपतिबाट भोगेकी रहिछ ।
“हेर, तिमीसँग डलर छ भने अमेरिकामा रिल्याक्सका लागि कुनै चिजको कमी छैन,” ऊ भन्दै गई, “म पनि एउटी महिला हुँ । मलाई पनि प्रकृतिले दिएको जैविक आवश्यकता नपर्ने कुरै भएन । दुई वर्षअघिसम्म एउटा स्पेनिस केटालाई ब्वाइफ्रेन्ड बनाएकी थिएँ । ऊ मेक्सिको गएको थियो तर फर्किएर आउन नपाउने भयो । ऊ गएदेखि मैले आफूलाई एक्लो महसुस गरिरहेकी छु ।” उसले आफ्नो विगत खोली ।
म बीचबीचमा उसको दुःखमा साथ दिएको जस्तो भान दिलाउनका लागि ‘ओ !’, ‘सो सरी’ जस्ता शब्द भन्दै जान्थें ।
“म राम्रो ब्वाइफ्रेन्डको खोजी गरिरहेकी छु,” उसले भनी ।
यति कुराकानी हुँदाहुँदै हामी उसको अपार्टमेन्ट अघिल्तिर पुग्यौं । सहयोग गरेकोमा धन्यवाद भन्दै इस्टेलाले अँगालो हाली । मेरा गालामा किस पनि गरी । म लाजले भुतुक्कै भएँ । कसैले देखिहाल्यो कि भन्ने डर पनि लाग्यो । म जतिसक्दो चाँडो त्यहाँबाट फुत्किने सोचमा पुगें । उसले ‘माथि जाऊँ’ भन्दै थिई । तर, म बिरानो ठाउँ र उसको किसले गर्दा पानीपानी भइसकेको थिएँ । उसले ‘जुस त पिएर जाऊ’ भन्दै थिई । मैले जानु ठीक ठानिनँ । मनमनै लाग्यो— उसकी छोरी आइपुगिहाली भने वित्यास पर्छ । म त्यहाँबाट आफ्नो अपार्टमेन्टमा फर्किएँ ।
भोलिपल्ट काममा आएपछि इस्टेलाले भनी, “तिमी गएको १५ मिनेटपछि नै छोरी आइपुगी । तिमीसँग भेट्ने इच्छा गर्दै थिई ।”
“हुन्छ, अर्को पटक भेटौंला नि,” मैले संक्षेपमा जवाफ दिएँ ।
अब मेरा लागि इस्टेलाको अपार्टमेन्टमा जाने बाटो खुल्यो । उसकी छोरीले नै भेट्ने इच्छा गरेपछि मलाई अप्ठ्यारो लाग्नुपर्ने अवस्था उसै हटिहाल्यो ।
उसको गाडी मर्मतका लागि समय लाग्ने भएकाले बिहान छोरीले इस्टेलालाई मोटलमा छाडिदिन्थी । कहिलेकाहीँ उबर चढेर काममा आउँथी ।
एक सातापछि मेरो र इस्टेलाको कामबाट निस्कने समय एउटै प¥यो । त्यसबेला पनि मैले उसलाई अपार्टमेन्टमा लगिदिएँ । यसपटक उसले माथि नलगी छाडिन । आज भने उसकी छोरी घरमै थिई ।
मलाई देख्नेबित्तिकै इस्टेलाले छोरीसँग भनी, “एल सुयो एस जयश ।” (उही हो जयश) ।
इस्टेलाकी छोरी ‘हाइ’ भन्दै हात मिलाउन आई । उसले मलाई हग गरी । इस्टेलाकी छोरी ठीकैको कदकी थिई । तर, शरीर भने नसुहाउँदो मोटो । पछाडिको भाग पनि निकै उठेको थियो । १९ वर्षको भन्न नसुहाउने खालको शरीर थियो । लाग्थ्यो— २६–२७ वर्षकी भइसकी ।
इस्टेलाले अरेन्ज जुस दिई मलाई । म १५ मिनेटजति बसेर त्यहाँबाट निस्किएँ ।
दिनहरू बित्दै गए । इस्टेलासँगको आत्मीयता बढ्दै थियो । उसले निकै आत्मीय ठान्थी । साथीको व्यवहार गर्थी । म पनि ऊसँग नजिक भएको थिएँ । तर, जिस्किने, पुठ्ठामा प्याट्ट हान्ने क्रम भने जस्ताको तस्तै थियो । कतिसम्म भने उसका शरीरका अन्य अंगमा पनि हात पु¥याउन थालें । उसले उही पुरानै शैली अपनाउँदै निधार खुम्च्याउँदै भन्थी, “इस्ते लोको ।”
इस्टेला र म कामबाट छुटेपछि कतिपटक त बारमा पनि गएका छौं । उसलाई लिएर डीएफडब्लू एरियाका प्रायः सबै नेपाली रेस्टुँरामा पुगिसकेको छु । उसलाई मःमः र बटर चिकेन साह्रै मन पर्छ । खसीको तास र सुकुटी पनि उसलाई मन पर्छ । हामी मिलेर बिल तिथ्र्यौं । उसले मलाई मात्र तिर्न कहिल्यै दिएकी छैन । कुमार दाइ सँगै हुँदा भने उहाँले नै तिर्नुहुन्थ्यो । कुमार दाइ सँगै हुँदा इस्टेला भन्थी, “यु म्यानेजर, मुचो दिनारो । यु पे ।” कुमार दाइ हाँस्दै तिर्नुहुन्थ्यो ।
उमेरले मभन्दा १५ वर्ष जेठी भए पनि इस्टेलालाई लिएर मैले धेरै बारहरू गएँ । उसलाई मार्गरिटा मन पर्ने । म पनि एउटा मार्गरिटाको गिलास लिएर घण्टौं बारमा बसेर जँड्याहाहरूको आकासपाताल जोड्ने गफ सुन्न मन पराउने मानिस ।
महिनाको एउटा आइतबार अपार्टमेन्टका साथीहरूसँग मिलेर बार्बिक्यू गर्नेभन्दा बाहेक अरू सप्ताहन्तका मेरा दिनहरू इस्टेलासँगै बित्न थाले ।
“आज म तिमीलाई एउटा मेक्सिकन रेस्टुराँमा लैजान्छु,” एकदिन कामबाट छुट्ने बेलामा इस्टेलाले प्रस्ताव राखी । मैले नाइ भन्ने कुरै थिएन । भोलिपल्ट बुधबार थियो । इस्टेला हरेक बुधबार छुट्टी लिन्थी ।
मेरै कारमा हामीहरू उसले छानेको आर्लिङ्टनको मेक्सिकन रेस्टुराँमा पुग्यौं । स्पोर्ट बारसहितको त्यो रेस्टुरामा मंगलबार साँझ त यस्तो भीड छ भने अरू दिन कस्तो होला ? म मनमनै सोच्न थालें ।
हामी कुनाको एउटा टेबुलमा गएर बस्यौं । उसलाई म बिफका आइटम खान्नँ भन्ने जानकारी छ । त्यसैले चिकनका आइटम अर्डर गरी । आज मलाई ड्रिंक्स गर्ने खासै मुड छैन किनकि ड्राइभिङ गर्नुपर्ने छ । तर, पनि उसको अनुरोधलाई टार्न नसकेर एउटा सानो कोरोना बियर हातमा समातें ।
हामी त्यहाँ झन्डै दुई घण्टासम्म बस्यौं । इस्टेलाले अघिपछिभन्दा बढी नै पिएको जस्तो लाग्यो । उसले आज अघिपछिभन्दा बढी नै खुलेर कुराकानी पनि गरी । “हेर जयश, तिमी अलि व्यवहारिक बन्न सकेका छैनौ,” उसले मदिराको तालमा एक्कासि भनी ।
“किन र ? मलाई त त्यस्तो लाग्दैन,” मैले प्रतिवाद गरें ।
“तिमीले महिलाको संगत कम गरेका छौ जस्तो लाग्यो । महिलाको भावना तिमीले बुझेजस्तो लागेन,” उसले भनी ।
के भनेकी हो, मेरो दिमागले केही भेउ पाएन । मदिराले मातेको मानिस र बहुलाहासँग बहस गर्नु एकै हुन् भनेर उसले कतै भनेको सुनेको थिएँ । त्यसकारण थप प्रतिवाद गर्ने मुडमा थिइनँ म ।
मैले भनें, “तिमीले आज धेरै पिइसक्यौ । ल जाऊँ अब ।”
उसले बिल मगाई । आज उसैले आफ्नो क्रेडिट कार्ड दिई । मैले तिर्न खोज्दा उल्टै हप्काई, “आज सबै कुरा मेरो तर्फबाट तिमीलाई । आज यो मेरो ज्यान पनि तिम्रा लागि सेवा गर्न तयार छ जयश । रियल्ली आई लभ यु सो मच ।”
मनमनै सोचें— आजचाहिँ यसले बढी नै पिइछ । के उत्पाद गर्ने हो !
झन्डै सय डलरको बिल थियो । तर, उसले मदिराको सुरमा थप ५५ डलर टिप्स लेखिदिई ।
हामी दुबै गाडीमा आएर बस्यौं । ड्राइभिङ गर्दैगर्दा मैले इस्टेलालाई गाली गरें, “आज तिमीले अति नै पियौ । यस्तो पनि राम्रो होइन ।” मैले सम्झाउने धृष्ठता गरें तर इस्टेलालाई बाल मतलब भएन ।
“म मेरो पहिलेको लोग्नेलाई फोन गरेर थर्काउँछु है त,” ऊ फोन डायल गर्न तयार भइहाली । तर, मैले उसको फोन खोसेर आफ्नो खल्तीमा राखें ।
२० मिनेटमा हामी इस्टेलाको अपार्टमेन्टमा आइपुग्यौं । “तिमीसँग एकैछिन कुराकानी गर्नु छ, गाडीलाई पार्किङलटमै पार्क गर,” इस्टेलाले मलाई आदेश दिई । मलाई दिक्क लागिसकेको थियो । सोधें, “पर्सि कुराकानी गरे हुँदैन ?”
“हुँदैन । अहिले नै गर्नुपर्छ ।”
गाडी पार्क गरेर हामी अपार्टमेन्टमा पुग्यौँ । उसकी छोरी आज ब्वाइफ्रेन्डसँग गएकी रहिछ ।
“एकैछिन सोफामा बस्दै गर है । म कपडा फेरेर आउँछु,” यति भन्दै इस्टेला भित्र पसी । झन्डै १० मिनेटपछि ऊ कपडा फेरेर बाहिर आई ।
“आज तिमी पनि यहीँ सुते हुँदैन ?” उसले सोधी ।
“हुँदैन । म जान्छु । साथीहरूलाई केही भनेको छैन,” म उठ्न खोजें ।
उसले छोरीको बेडरुममा मेरा लागि बेड तयार गरिदिई । तानेर बेडमा पुग्ने गरी धकेलिदिई । के गर्ने, के नगर्ने— अलमलमा परें ।
“तिमी यहाँ सुत्ने अब । पिएका छौ । गाडी चलाउनु हुँदैन,” उल्टो मलाई उपदेश दिन थाली उ । अघि आर्लिङ्टनदेखि गाडी चलाएर आउँदा केही नभनेकी ऊ यतिखेरचाहिँ पिएर चलाउनु हुँदैन भनेर उपदेश दिँदैछे । मलाई हाँसो उठ्यो ।
उसले मेरो हातमा रहेको गाडीको चाँबी खोसी र आफ्नो कोठातिर लागी ।
कपडा खोल्दै गर्दा ऊ फेरि कोठामा पसी । “ल, ज्ञानी भएर सुत अब । म पनि सुत्छु । म पनि तिमीसँग सुत्छु । हामी दुबै यही बेडमा सुत्ने आज,” उसको भनाइले म थप अन्योलमा परें । म लाजले रातो भएँ । अर्काको अपार्टमेन्ट । मेरो केही प्रतिकार गर्ने अवस्था पनि छैन । कताकता मभित्र मेरो पुरुषत्व पनि सल्बलाएको जस्तो महसुस हुन थाल्यो । शिकार आफैं अघिल्तिर आएको छ । मैले मुख आँऽऽ गर्दा मात्र हुन्छ भने किन नगर्ने ? मेरो मनमा यही सोच आयो । त्यस रात हामी सर्वांग भयौं । हनिमुन पिरियडका नवविवाहित जोडीको जस्तो हालत भयो हाम्रो ।
भोलिपल्ट बिहान ब्युँझिँदा साढे ९ बजिसकेको थियो । इस्टेला अझै निदाइरहेकी थिई । मेरो ड्युटी २ बजे थियो । मलाई आफ्नो अपार्टमेन्ट पुगेर कपडा फेरी काममा जानुपर्ने थियो । मैले इस्टेलालाई ब्युँझाउनका लागि कोट्याएँ । उसको शरीरका कुनै पनि भागमा वस्त्र थिएनन् । मैले बोलाएको उसले सुनेकी छ÷छैन, मलाई पत्तो भएन । तर ऊ ‘हुउउ..’ गर्दै थिई । ऊ नब्युँझिए पनि केही हुँदैन किनकि उसको अफ हो आज । तर, मलाई भने २ बजे काममा पुग्नु नै छ ।
“इस्टेला, म गएँ है,” मैले भनेको यसपटक भने उसले सुनी ।
“ओके बाई...,” उसले भनी ।
मैले ढोका बन्द गरिदिएँ । ऊ अझै सुतिरहेकी थिई ।
यो हाम्रो शुरुवातमात्र थियो । उसकी छोरीको हप्तामा दुई दिन नाइट ड्युटी हुन्थ्यो । अर्को दुई दिन ऊ ब्वाइफ्रेन्डको घरमा जान्थी । बाँकी तीन दिनमध्ये एकदिन हाम्रो मोजमस्तीको लागि हुन थाल्यो ।
मैले पहिले–पहिले जस्तो मोटलमै इस्टेलाको पुठ्ठोमा हिर्काउन र छिल्लिन छाडें । मोटलमा भने हामीबीच औपचारिकता बढ्ता हुन थाल्यो । किनकि जुन कुरा उनले दिने र मैले लिन सक्ने थियो, सबै प्राप्त भइसके छि किन कार्यथलोमै छिल्लिनु प¥यो र ?
हप्तौं बिते, केही महिना पनि यसैगरी बिते । ड्यालस वरिपरिका कुनै ठाउँ बाँकी रहेनन्, जहाँ हामी नपुगेको होस् । कुमार दाइ कहिलेकाहीँ जिस्क्याउँथे, “ल, अब यही इस्टेलालाई बिहे गर जयश । के नेपाली खोजिरहने ?”
रमाइलो गर्नुपर्ने स्वभावका कुमार दाइ थप्थे, “हेर, यसलाई बिहे गरेर पत्नी बनाई नेपाल लग्यौ भने त तिमी नेपालभरि चर्चामा आउँछौ । तिम्री बूढीलाई हेर्ने मानिसको लाइन लाग्छ ।”
उनी भन्दै जान्थे, “एउटा कल्पनै त हो नि । ल भन त, तिमीले यसलाई बिहे गरेर नेपाल लग्यौ भने कस्तो होला अवस्था ?”
म गललल हाँस्दै भन्थें, “दाइ, म त जिउँदै मरेसरह भैहाल्छ नि यस्ती आफूभन्दा २० वर्ष जेठीलाई स्वास्नी बनाएर लैजानुप¥यो भने त ।”
“२० वर्ष जेठी त छैन होला !” कुमार दाइ उसको उमेरका बारेमा प्रतिवाद गर्दै भन्थे ।
हामीबीच रोमान्स भए पनि ऊ मलाई लोग्ने बनाउन इच्छुक छैने भन्नेमा मचाहिँ ढुक्क थिएँ । लाग्थ्यो— उसलाई न लोग्नेको आवश्यकता छ न त बच्चाकै । मलाई पनि त्यस्तै छ । न उसको लोग्ने हुन इच्छुक छु न उसको कोखबाट पैदा हुने बच्चाको बाबु हुनै मन छ । हामी त केवल जैविक आवश्यकतालाई अस्थायी रूपमा पूरा गर्दै न छौं ।
एकपटक झन्डै एक महिना इस्टेलाले बिदा लिई । उसले जेठी छोरी भएको ठाउँ डेनभर जान्छु भनेर छुट्टी लिएकी थिई । उसले आफू नहुँदा मोटलको काम गर्न एकजना खोजेर ल्याइदिई, जसले गर्दा मोटललाई समस्या पनि परेन ।
इस्टेला डेनभर भए पनि २–३ दिन बिराएर हाम्रो फोनमा कुराकानी भइरहन्थ्यो । उसले मेरो बारेमा चासोमात्र राख्थिन, ‘के खायौ ?’ ‘कतिखेर खायौ’ जस्ता प्रश्न सोधेर हैरानी पार्थी । जति चासो मेरा आमाले पनि बाका विषयमा राख्नुहुन्थेन । उसको चासोले मलाई कहिलेकाहीँ त दिक्क पनि लाग्थ्यो ।
डेढ महिनापछि ऊ काममा आई । पहिलेभन्दा अलिकति मोटाएकी हो कि जस्तो देखियो । मलाई लाग्यो– शायद छोरीको घरमा बसिबसी खाएर होला ।
“बढी मोटी देखियौ तिमी,” मैले भनिहालें ।
“होइन, अलिअलिमात्र,” उसले हाँस्दै भनी ।
त्यसदिन मेरो राति साढे १० बजेसम्म ड्युटी थियो । ऊ भने साढे ४ मा कामबाट निस्किई ।
उसको अनुहार सञ्चो नभएजस्तो देखिन्थ्यो । तर, ऊ ‘केही भएको छैन’ भन्दै टार्थी । पहिलेजस्तो खुलेर कुराकानी गर्न मन नगरेजस्तो लाग्न थाल्यो । डेनभरबाट फर्किएको एक हप्ता बितिसके पनि उसले मलाई आफ्नो अपार्टमेन्टमा जाऊँ भनेकी छैन । के भयो त्यस्तो ? मैले बुझ्नै सकिनँ । एक मनले त लाग्यो– अर्कैसँग पल्किन पो थालिछ कि !
एक साँझ मैले फोन गर्दा उसले भनी, “जयश, तिमीसँग एउटा कुरा छ । मैले अस्तिदेखि नै भन्न खोजेको । भोलि साँझ तिमी मेरो अपार्टमेन्टमा आऊ है ।” मैले सोचें— उसको पारिवारिक जीवनमा केही समस्या परेको हुनुपर्छ ।
ऊ पनि काममा आएकी थिई । तर, अघिपछिभन्दा अलि छिटै कामबाट निस्किई । म काममा बिजी भएकाले खासै कुराकानीको समय पनि मिलेन ।
साँझ म उसको अपार्टमेन्टमा पुग्दा सोफामा बसिरहेकी थिई । जाँदाजाँदा मलाई त्यो अपार्टमेन्ट पनि आफ्नै जस्तो महसुस हुन थालिसकेको थियो । म भित्र पसेको देखेर इस्टेलाले सदाझैं एक गिलास अरेन्ज जुस लिएर आई । ऊ पनि सोफामा बसी ।
“जयश, तिमीलाई मैले एक महिनाअघिदेखि नै एउटा कुरा भन्न खोजेकी थिएँ तर भन्ने आँटै आएन,” उसले भुइँतिर हेर्दै भनी ।
“के हो त्यस्तो कुरा ? मैले सहयोग गर्न सक्ने भए म तयार छु,” मैले भनें ।
“यो कुरा सुनेर तिमी खुशी हुन्छौ या शकमा पर्छौ, मलाई थाहा भएन जयश । तर, मचाहिँ न खुशी न दुःखी हुन सकेकी छु । म अन्योलमा छु । अन्योल, अन्योल हुँदाहुँदै चार महिना पूरा भैसक्यो,” उसले भनी ।
“अँ, के हो वास्तविक कुरा भन न,” अधैर्य भएर भनें ।
उसले मेरो दाहिने हात समाती । त्यो हातलाई तानेर आफ्नो पेटमा पु¥याई ।
“तिमी यो मेरो पेटमा हुर्कंदै गरेको बच्चाको बाउ हुँदै छौ । अनि म यसको आमा बन्ने भएँ,” उसको मुखबाट निस्कियो । म निःशब्द भएँ । बोल्न खोजें, ओठ चले तर शब्द निस्किएनन् । लाग्यो— म बसिरहेको सोफा पूरै घुमिरहेको छ । अपार्टमेन्टको छत पनि पूरै घुमिराखेको छ । मलाई रिंगटा लाग्यो । अनुहारमा चिटचिट पसिना आयो ।
ऊ भन्दै गई, “मलाई थाहा छ, तिमीलाई यो बच्चा र मलाई स्वीकार्न गाह्रो पर्छ भनेर । त्यसैले यो बच्चालाई के गरूँ भनेर सल्लाहको लागि म जेठी छोरी भेट्न डेनभर गएकी हुँ । उसले नफाल्न सल्लाह दिई । सबैले मलाई यो पेटमा भएको बच्चालाई धर्ती देखाउनकै लागि सल्लाह दिए । अब तिमी के भन्छौ ?”
मेरो दिमागले काम गर्न सकेन । एकछिनको रमाइलोले गर्दा मेरो जीवन अब सड्ने भयो । अमेरिकामा बच्चाको बाउ हुन त्यति सजिलो छैन । बच्चा नहुर्किउन्जेल आम्दानीको निश्चित प्रतिशत चाइल्ड सपोर्ट तिर्नुपर्छ । त्यो सपोर्टभन्दा पनि ठूलो समस्या मेरा लागि नैतिकताको हो । यो कुरा केही गरी नेपालसम्म पुगिहाल्यो भने ?
“म सोचेर तिमीलाई जवाफ दिउँला इस्टेला,” यति भनेर म त्यहाँबाट निस्किएँ । अघिसम्म आफ्नैजस्तो लागेको यो अपार्टमेन्ट एकाएक मलाई तर्साउने र डरलाग्दो लाग्न थाल्यो । म जतिसक्दो चाँडो भागेर मनमा चैन प्राप्त गर्न चाहन्थें ।
गाडीमा पसेर बस्दा पनि मलाई डरले छाडेन । मनमा प्रश्न खडा भयो– के उसको गर्भभित्र रहेको बच्चा मेरै हो त ? नजन्मेसम्म कसरी मेरै हो भन्ने पुष्टि हुन्छ ? इस्टेलाको अरूसँग पनि त उठबस होला, मसँगको जस्तै सम्बन्ध पनि नहोला भन्ने के छ र ? फेरि कहिलेकाहीँ त हो मैले अस्थायी साधन प्रयोग नगरेको । प्रायः त अस्थायी साधन प्रयोग गर्थें त ।
मनमा कुरा खेलाउँदा खेलाउँदै कुन बेला आफ्नो अपार्टमेन्ट कम्प्लेक्समा आइपुगें, पत्तै भएन । अघिपछि २० मिनेटको ड्राइभिङ आज दुई मिनेटमै आइपुगेझैं लाग्यो । मनमा अनेक कुरा खेले ।
रातिको खाना खान पनि मन लागेन । आफूभन्दा १५ वर्ष जेठी, न जात मिल्छ न त वेश नै । न भाषै मिल्छ । कसरी यसलाई आफ्नो जीवनसाथी बनाउनू ? मेरो दिमागमा योभन्दा अरू केही घुम्दै घुमेन । कुमार दाइले एकपटक जिस्काउँदै भन्नुभएकै कुरामा मात्र दिमाग घुमिरह्यो । दाइले भन्नुभएको थियो, “यसलाई बिहे गरेर नेपाल लग्यौ भने त तिमी नेपालमा सेलिब्रेटी हुन्छौ । तिम्रो घरमा इस्टेलालाई हेर्ने मानिसको लाइन लाग्छ भाइ ।”
त्यतिखेर कुमार दाइका कुरा सुन्दा रमाइलो लागेको थियो । तर, अहिले वास्तविकतामा परिणत हुन खोज्दा निकै डर लाग्यो । कुरा सम्झिँदा पनि आङ जिरिंग भएर आयो । कसरी यसलाई स्वास्नी बनाउनू ? योसँग मेरो जीवन चल्छ त ? अहँ, चल्दैन । अरूभन्दा पनि जीवनसाथी हो भनेर सार्वजनिक प्रोग्रामहरूमा कसरी लिएर हिँड्नू ? कसरी देखाउनू ?
मलाई काममा जान मन लागेन । त्यसैले कुमार दाइलाई फोन गरेर सञ्चो नभएको बहाना बनाएँ ।
काममा हुँदा इस्टेलासँग त्यति बोलचाल पनि हुन छाड्यो । म टाढाटाढा हुन खोज्दै थिएँ । एक मनले त अर्को राज्यतिर जाऊँ कि जस्तो पनि भयो । होइन, नेपाल गएर एक वर्ष बसें भने त यसले आफ्नो बाटो समातिहाल्छे नि भन्ने सोच पनि नपलाएको होइन । तर, नेपाल जानासाथ उताबाट मलाई बिहेको थप दबाब आउने पक्का थियो । एकातिर भाउजूको, अर्कातिर बहिनीको ।
हे भगवान् ! यो समस्याबाट मैले कसरी पार पाउने होला ?
एक सातासम्म म इस्टेलासँग केही बोलिनँ । नबोल्दा समस्याबाट पार पाइन्छ कि भन्ने सोच आयो । तर किन हुन्थ्यो र !
एक साँझ उसले मलाई टेक्स्ट गरी । उसले मलाई तुरुन्तै उसको अपार्टमेन्टमा आउन भनी । नभए पुलिसलाई खबर गरिदिन्छु भनेर धम्की दिएर टेक्स्ट गरी ।
म बडो भारी मन लिएर उसको अपार्टमेन्ट पुगें । पहिले त्यहाँ जाँदा मलाई छुट्टै उत्साह हुन्थ्यो । मन फुरुंग हुन्थ्यो । मानौं— संसारमा सबैभन्दा सुखभोग गर्ने ठाउँमा आइपुगेको छु । तर, आज मलाई यो ठाउँ सबैभन्दा पीडा दिने थलोजस्तो भयो । सुनेको थिएँ– आर्मीको तालिम हुँदा ग्यास चेम्बरमा हालिन्छ रे ! चेम्बरभित्र सास फेर्न मिल्दैन । सास फेरिहालेमा ग्यासको विष लागेर त्यहीँ ढलिन्छ रे ! मलाई पनि इस्टेलाको यो अपार्टमेन्ट ग्यास चेम्बरभन्दा कम लागेन ।
म पुग्दा इस्टेला सोफामा बसेर टेलिभिजन शो हेर्दै थिई । म पुगेपछि सोफाको अर्को छेउमा बस्न भनी ।
“के लिन्छौ आज ? जुस या बियर ?” उसले सोधनी राखी ।
“केही लिन्नँ आज ।”
“किन, बडो तनावमा देखिन्छौ त जयश । सेभिङ पनि गरेका रहेनछौ । तनाव लिने कुरा नै छैन । मोजमस्तीबाट निस्किएको परिणामलाई खुशीसाथ स्वीकार्नुपर्छ,” उसले आदर्शका कुरा गरी ।
तर, उसको भनाइले मलाई शान्ति दिने भन्दा पनि पूरै भतभती पोल्यो । मन मौन बसें ।
“हेर जयश, तिमी यसलाई ठूलो समस्याका रूपमा नलेऊ । मैले तिमी नेपालीहरूको कल्चर पनि बुझेकी छु, भावना पनि नबुझेको होइन,” ऊ भन्दै गई, “तिमीहरूको संस्कारमा बिहे भनेको लोग्ने मान्छे र आइमाइ मान्छेबीच जीवनभरको समर्पण हो । तर, हाम्रोमा त्यस्तो हुँदैन । हाम्रोमा बिहे भनेको सहयात्राको शुरुवात हो । जुनसुकै दोबाटोमा पुगेर पनि अलग हुन सक्छ । एकै मन भएसम्म, भावना मिलेसम्म सहयात्रा हुन्छ हाम्रोमा । भावना मिल्न छाडेको दिन हामी एक–अर्कालाई बाई गर्दै अलग हुन्छौं । डिभोर्सपछि पनि असल मित्र भएर धेरै मानिसहरू बसेका थुप्रै उदाहरण छन् । जीवन भनेको आफूले चाहेअनुसार जिउने हो । लोग्नेले भनेबमोजिम मैले जिउनु पर्ने अवस्था पनि हुँदैन, न त स्वास्नीले भनेअनुसार लोग्नेले सम्झौता गरिरहनुपर्छ भन्ने नै छ हाम्रोमा ।”
उसले आज निकै ठूलो दर्शनशास्त्रका कुरा गरी । मोटलको हाउसकिपिङमा काम गर्नेले यति ठूलो दर्शनको कुरा गर्ली भनेर मलाई पत्यारै थिएन । मैले उसका कुरा मौनताका साथ सुनिरहें ।
“हेर, तीनवटा बच्चा भैसकेर पनि मैले पहिलेको लोग्नेसँग भावना नमिल्दा छाडिदिएँ । हाम्रोमा लिभिङ टुगेदर, ब्वाइफ्रेन्ड, बिहे, बच्चा, डिभोर्स सामान्य कुरा हुन् । यसलाई सहज रूपमा लिन सक्नुपर्छ,” इस्टेला टुटेफुटेको अंग्रेजीमा बोलिरही, “मेरो पेटभित्रको यो बच्चालाई बाउ चाहिएको छ । मलाई यो उमेरमा तिमीजस्तै असल व्यक्तिको साथ पनि । त्यसैले मैले यो बच्चालाई जन्म दिने निधो गरेकी छु । तिमी अब बाउ बन्नका लागि मानसिक रूपमा तयार भएर बस । धेरै छैन समय ।”
उसको भनाइ मलाई फेरि वाणजस्तो भयो । म केही नबोली त्यहाँबाट निस्किएँ ।
मलाई काममा जान मन लाग्न छाडिसक्यो । जीवनदेखि दिक्क लाग्न थाल्यो । आफूभन्दा १५ वर्ष जेठी इस्टेलालाई जीवनसाथी बनाउन मनले मान्दै मानेन ।
बा–आमासँग दोहोरो कुराकानी गर्नका लागि भाषा नमिल्ने, खाना नमिल्ने र सबैभन्दा मुख्य कुरा मेरी ठूल्दिदी भन्दा पनि ६ वर्षले जेठीलाई जीवनसाथी कसरी स्वीकार्नू ? यो हुनै सक्दैन । तर, उसको पेटमा भएको त्यो बच्चाको के दोष ? दोष मेरै हो । मैले यो अपराधको सजाय पाउनैपर्छ ।
आदरणीय बा–आमा ! प्रिय दाजु–भाउजू ! प्यारी बहिनी ! मैले भविष्यप्रति सोच्न सकिनँ । मलाई माफी दिनुहोला । मेरो खातामा बाँकी भएको रकम मैले हिजै बहिनीको नाममा रेमिट्यान्समार्फत पठाइदिएको छु । बहिनी, रिफ्रेन्स नम्बर तिम्रो मेसेन्जरमा गएको होला । सबैलाई माया छ, मेरो जीवन छोटो रहेछ । मलाई बाँच्ने रहर पुग्यो । जतिन्जेलसम्म म बाँचें, सबैलाई खुशी दिन चाहें । अब पनि मेरो थप जीवन तपाईहरूका लागि पीडादायी हुने, अपत्यारिलो र असहज हुने देखेर मैले जीवनलाई विश्राम दिने निधो लिएँ ।
मोटलका म्यानेजर कुमार दाइप्रति आभारी छु । काम गर्ने मौका दिनुभयो । क्षमता देखाउने अवसर पनि दिनुभयो । दाइप्रति गुनासो भने बाँकी नै रह्यो । शायद मैले इस्टेलाको पुठ्ठामा हिर्काउँदा प्रोत्साहन नदिएर गाली दिनुभएको भए मेरो जीवनले अलग्गै बाटो लिने पो थियो कि ? जे भए पनि अब पास्ट इज पास्ट । दाइ, तपाईंप्रति आभारी छु ।
सँगै अपार्टमेन्टमा बस्ने साथीहरूलाई पनि धेरै सम्झना । जानाजान कुनै गल्ती गरेको छैन । केही गल्ती भएको भए क्षमाप्रार्थी छु ।
इस्टेला ! तिम्रो लोग्ने हुन मेरो अन्तरमनले स्वीकृति दिएन । तिम्रो गर्भमा रहेको बच्चाले शायद बाउ नखोज्ला । यदि खोजेछ भने र मन लागे मेरा बारेमा बताइदेऊ । नभने पनि मेरो आत्माले कुनै गुनासो गर्नेछैन ।
अलबिदा ।
– जयश