2019-04-06.jpeg)
कथा
– पोस्तक श्रेष्ठ
मेरो खास कुनै गन्तव्य हुन्थेन । लक्ष्यविहीन जता मन लाग्थ्यो, त्यतै गइदिन्थें । रोकटोक गर्ने कोही थिएन । नथाकुन्जेलसम्म दिनभरि घुमिरहन्थें । कहिले भने कयौं दिन बाहिर निस्कन्नथें । किताबहरू पढेर आफैंलाई भुल्न खोज्थें ।
एकदिन ठमेल जाँदै थिएँ । बाँसबारी गंगालाल अस्पतालको बिसौनीमा बस रोकियो । एकहुल मानिस चढे । हुलमा एउटी युवती पनि थिइन् । बसको सिट प्रायः भरिसकेको थियो । बसको माथि समाउने डन्डीसम्म उनले भेट्न सकिनन् । मेरो सिटनजिकै एउटा खम्बा थियो, त्यही समातेर उभिइन् । उनीसँग समानका केही झोला पनि थिए, जसले मलाई घरिघरि घोचिरहेका थिए । मैले आफ्नो सिट उनको लागि छोडिदिन खोजें ।
“बस्नुहुन्छ ?”
उनले मेरो कुरा सुनिन् वा नसुनेझैं गरिन् ।
“बस्ने हो ?” मैले फेरि दोहो¥याएर सोधें ।
“मप्रति यति दया किन हँ ? मलाई अबला सम्झेको कि मलाई ‘इम्प्रेस’ गर्न खोजेको ? म उभिएरै यात्रा गर्न सक्षम छु । अहिले यहाँ कुनै वृद्ध–वृद्धा भएको भए तिमी आफ्नो सिट छोड्थ्यौ ?” उनी त ममाथि एक्कासि खनिइन् । ए बाबा, यिनी त अरिंगालको गोलो नै रहिछन् !
कस्तो जमाना आएको हो ! कसैको भलो चिताउन पनि तीनपटक सोच्नुपर्ने भयो । वरिपरिका मानिस मुखामुख गरेर हाँस्न थाले । म खिस्रिक्क परें । मलाई थोरै लाज र ग्लानि पनि भयो । साँच्चिकै मैले उनलाई किन सिट छोड्न खोजेको हँ ? दयाले ? श्रद्धाले ? आकर्षणले ? म आफैं अन्योलमा परें । आकर्षित नै हुनुपर्ने खालको उनको रूप पनि त होइन । कहिलेकाहीँ इन्द्रियहरूले मस्तिष्कमा के सञ्चार गरिदिन्छन्, प्रतिक्रियामा मस्तिष्कले जे आदेश दिन्छ, त्यसको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ । भइदियो त्यही नै । जेहोस्—यिनलाई नचलाएकै वेश भन्ने लाग्यो । मैले चुप रहने निधो गरें ।
युवतीले फोन निकालिन् र कानमा ‘प्लग’ ठुसिन् । म झ्यालबाट बाहिरका दृश्य हेर्न थालें । रिक्सावाला, ठेलावाला, पैदलयात्री, सडकपेटीमा समान फिँजाएर बेच्न बसेका पसले, साइकलमा फलफूल बेच्नेहरू, भित्तामा अडेस लगाएर रमिता हेरिरहेकाहरू, स्कुले पोशाकमा हिँडिरहेका विद्यार्थी, ठूला–ठूला होर्डिंङबोर्ड, पसलअगाडि चेस–क्यारेमबोर्ड खेलेर बसेका फुर्सदिलाहरू । यिनै न हुन्— काठमाडौंका आम दृश्य । यिनै दृश्य नियालेर युवतीका वचनवाणको रन्को भुल्न खोजें ।
बस बिसौनीहरूमा रोकिन्थ्यो । केही मान्छे ओर्लिन्थे । त्योभन्दा बढी नै चढ्थे । खलाँसीले मान्छे अगाडि–पछाडि दुबैतिरबाट गुन्द्रुकजस्तै कोच्थ्यो । सडकमा खाल्डाखुल्डी प्रशस्त थिए र सानातिना झट्का सामान्य नै थिए । तर, एक ठाउँमा अलि ठूलै झट्का लाग्यो । शायद गाडी कुनै ठूलै खाल्टोमा परेको हुनुपर्छ । उनी च्याँठ्ठिएको आवाज सुनें ।
“किन धक्का दिन्छौ ? गाडी जोल्टिङमा परेको फाइदा लिएको ?”
मैले उनीतिर हेरें । उनको पछाडि एउटा खाइलाग्दो ज्यानको युवक थियो ।
“कसैले छुन नहुने तिम्रो सुकोमल ज्यानलाई त ‘प्राइभेट’ कारमा सलल गुड्न सुहाउँथ्यो, मैया,” त्यो युवकले व्यंग्य कस्यो । केही मान्छे उसैगरी गलल्ल हाँसे । गाडीमा मानिसहरू खचाखच थिए । त्यो युवकले उनलाई कुनै दुव्र्यवहार गरेको हो वा उनी आफैं बढी सचेत भएकी हुन्, मैले भेउ पाइनँ । तर, कुनै छोरी मान्छेलाई बसमा कोच्चिएर यात्रा गर्नु सहज हुने कुरै भएन । गाडी लैनचौर पुग्नै लागेको थियो, जहाँ मलाई ओर्लिनु थियो ।
“म अर्को स्टपमा ओर्लिन्छु, तपाईं यहाँ बस्नुस् ।”
म उठें । युवतीले मलाई पुलुक्क हेरिन् । पहिला अलि असहज महसुस गरेको जस्तो भाव पनि देखाइन् तर मैले छोडेको सिटमा आएर बसिन् ।
‘धन्यवाद’ भन्छिन् कि जस्तो लागेको थियो तर त्यति शिष्टता पनि देखाइनन् । निस्कनुअघि उनलाई एकनजर पुलुक्क हेरें । उनी निहुरेर सामान मिलाउँदै थिइन् । म ओर्लिएँ र आफ्नो बाटो लागें ।
“ए सुन त !” पछाडि कोही कराउँदै आयो । शुरुमा त मैले ध्यान दिइनँ ।
“एकछिन पख न,” फेरि आवाज आयो ।
मैले फरक्क फर्केर हेरें । उनै युवती हस्याङफस्याङ गर्दै आइरहेकी थिइन् । हैन, यो अरिंगालको गोलो किन मतिर सोझिएकी हुन् ? मनमनै भयभीत पनि भएँ ।
“कस्तो हुस्सु हो तिमी, सिटमुनि पर्स खसालेर हिँडेछौ । आईडीमा तिम्रो फोटो चिनिहालें ।”
आफ्नो पछाडिको खल्ती छामें । हो त रहेछ, खल्ती रित्तै थियो ।
“धन्यवाद है,” कृतज्ञता व्यक्त गरें । त्योभन्दा बढी बोल्ने हिम्मत भएन । उनी मान्छे पनि त्यस्तै थिइन्, बोल्दा सजग हुनै पर्ने । तिलको दानालाई पहाड बनाइदिन के बेर ?
“बीस रूपियाँ निकाल्छु है ? यो बस छुटिहाल्यो । अर्को बसलाई दिन मसँग भाडा छैन ।”
१०–१० का दुइटा नोट निकालिन् र पर्स मलाई दिइन् । यो जमानामा भेटेको पर्स फर्काउने इमान्दार मान्छे कमै भेटिन्छन् । तर, उनले हाकाहाकी पैसा पनि निकालेर लिइन् र मलाई छक्कै पारिन् । त्यसो गर्दा उनमा एकथोपा हिच्किची देखिएन ।
“तपाईं चाखलाग्दो मान्छे हुनुहुँदो रहेछ । इमान्दार र हक्की पनि । म त तपाईंबाट प्रभावित भएँ,” अहिले भने उनको प्रशंसा नगरी रहन सकिनँ ।
“तिमी नेता हौ कि लेखक ?”
शायद उनलाई म धेरै औपचारिक लागें । म उनलाई ‘तपाईं’ भनेर सम्बोधन गरिरहेको थिएँ, उनी भने मलाई ‘तिमी’ भनिरहेकी थिइन् ।
“जेहोस्, यति धेरै फुक्र्याउनु पर्दैन । मेरो मनमा जे सही लाग्यो, त्यही गरें । तिमीले भनेका सबै के–के रे ? इमान्दार, हक्की यी सबै केही होइन ।”
उनी फर्किहालिन् । मेरो जवाफको प्रतीक्षा पनि गरिनन् ।
“कम्तिमा परिचय त दिएर जानुस् !”
“एउटा भेटको परिचयले के अर्थ राख्छ ? फेरि मैले जे नाम भनिदिए पनि भयो, होइन र ?”
उनी सरासर बसस्टपतिर सोझिइन् । त्यही बेला अर्को बस आइहाल्यो । बस चढ्नेको हुलमा उनी मिसिइन् । बस त्यहाँबाट हिँड्यो । म बस गएको दिशातिर वाल्ल परेर एकछिनसम्म हेरिरहें ।
त्यसको धेरै दिनसम्म उनी अरिंगालको गोलो बनेर मेरो मथिंगलमा भन्भनाइरहिन् । हरेक पटक त्यो बाटो जाँदा गंगालाल अस्पतालनिर पुगेपछि मेरा आँखा चनाखा हुन्थे । कतै उनी उभिरहेकी छन् कि भनेर हेर्थें । एक–दुई पटक त बसबाट ओर्लिएर यताउति टहलिएँ पनि तर उनलाई देखिनँ । त्यो भेटको सम्झना स्मृतिको एउटा कुनामा त्यत्तिकै थन्केर बस्यो ।
एकदिन म सिभिल मलबाट बाहिर निस्किँदै थिएँ । अगाडि केही होहल्ला भइरहेको थियो ।
“तेरा दिदी–बहिनी छैनन् ? आमा–भाउजू छैनन् ? बाटोमा हिँड्ने केटीलाई जिस्काउँछस् लफंगा, ट्यापे !”
एउटी युवती र एउटा किशोरबीच धकेलाधकल भइरहेको थियो । युवतीले किशोरलाई एउटा हातले कठालोमा समातिन् र अर्को हातले गालामा दनादन चड्कन दिन थालिन् । युवतीलाई कतै पहिला देखेको जस्तो लाग्यो । कहाँ भेटेको—कहाँ देखेको, सम्झिने प्रयास गरें । हत्तेरिका, उनी त उही अरिंगालको गोलो पो रहिछिन् । मानिसहरू एकैछिनमा झुम्मिन थाले । रगत तातो भएका दुई–चारजना नारी रक्षाबाहिनीका स्वयंसेवकहरू भीडबाट निस्किए र केटोमाथि लात–मुड्की बर्साउन थालिहाले । केटोको नाक–मुखबाट रगत बग्न थाल्यो । ऊ भुइँमा पछारियो ।
“ल, भयो–भयो । यसलाई अब पुग्यो । तपाईंहरू आ–आफ्नो बाटो लाग्नुस् ।”
अब भने उनी त्यो केटोलाई जोगाउनतिर पो लागिन् । प्रहार गर्न आउनेहरूलाई छेकिन् । त्यसलाई उठाएर धूलो टक्टक्याइदिइन् र आफ्नो पछ्यौरीले गाला पुछ्पाछ पनि पारिदिइन् ।
“ल यहाँबाट भागिहाल्, होइन भने मर्लास् । अबदेखि बाटोमा केटी जिस्काउने काम बन्द गरेस् ।”
एकछिन अघिकी रौद्ररूपधारणी अहिले करुणाकी देवी भएकी थिइन् । त्यति कडा स्वभावकी मान्छे, क्षमाशील पनि उत्तिकै रहिछिन् । केटो त्यहाँबाट कुलेलम ठोक्यो ।
उनले भने मलाई देखिनन् वा याद गरिनन् । त्यहाँबाट निस्केर उनी बागदरवार मार्गतिर बढिन् । मलाई कतै जानु थिएन । उनैलाई पच्छ्याउन मन लाग्यो ।
“खै, मेरो पनि गाला चिलाएको हो कि । यस्ती राजेन्द्रलक्ष्मीदेवी जस्ती वीरांगनाको परिचय पाउन पाए भाग्यमानी हुने थिएँ !”
ठूलो साहस जुटाएर मुख खोलें । उनी फरक्क फर्किइन् । मलाई देखेर एकछिन त अकमक्क परिन् तर लगत्तै उनको अनुहार चहकियो ।
“ए तिमी ? के भन्यौ रे ? राजेन्द्रलक्ष्मी देवी ? लाग्छ, तिमीले पनि मेरो हातको पिटाइ जरुर भेट्छौ ।”
“पिटिसकेपछि उठाएर धूलो टक्टक्याइ, पुछपाछ पारिदिने भए मलाई स्वीकार्य नै छ ।”
उनी मुस्कुराइन् । सामान्य रूपरंगकी उनी मुस्कुराउँदा भने उनको सौन्दर्यमा केही झिलिक्क ग¥यो । मेरो मनोबल केही बढ्यो ।
“तपाईंसँग एक कप कफी पिउने सौभाग्य पाउन सक्छु ?”
“वाह, सीधै कफी–डेटको प्रस्ताव ? साले केटाहरू किन यति फास्ट हुन्छन् हँ ? एनिवे, तिमीलाई एउटा चान्स अवश्य दिन्छु, बट नट टुडे ।”
उनले मेरो फोन नम्बर मागिन् । आफ्नो भने दिइनन् । न आफ्नो नाम बताइन् न मेरो नै सोधिन् ।
“तपाईंको नम्बर दिनुभएन त ?”
“जुन दिन मैले फोन गर्छु, त्यही दिन तिमीले मेरो नम्बर पाइहाल्छौ ।”
“मेरो नाम पनि सोध्नुभएन ।”
“चाहिँदैन ।”
“अनि फोनमा के भनेर सेभ गर्नु भयो त ?”
“प्रतापसिंह शाह ।”
उनमा हाँस्यरस पनि रहेछ । इतिहासको जानकारी राख्दिरहिछिन् । मैले उनलाई राजेन्द्रलक्ष्मी देवी भनेको बदला लिइन् ।
त्यसपछि मेरो काम थियो, उनको फोनको प्रतीक्षा गर्नु । फोनमा आउने हरेक घण्टी उनको हो कि भनेर व्यग्र हुन्थें । व्यग्र नै त होइन, मन उत्ताउलो भएको भन्नु पर्ला ।
शायद त्यस्तै १० दिनपछि होला— उनको एसएमएस आयो । रामेश्वरम स्विट्स न्युरोडमा १ बजे बोलाइन् । यो ठाउँबारे सुनेको थिएँ तर पहिला कहिल्यै गएको थिइनँ । खोज्दाखोज्दै समय लाग्यो । पुग्दा अलि ढिलो भएको थियो । उनलाई कुनाको एउटा टेबलमा देखें ।
“माफ गर्नुस् है, यो ठाउँ मेरो लागि नौलो हो, खोज्दाखोज्दै ढिलो भयो ।”
उनले ताज्जुब मानेर मलाई हेरिन् ।
“होइन, तिमी त अर्कै ग्रहको मान्छे हौ कि क्या हो ? तिमीलाई यो ठाउँ पनि थाहा छैन ? कुरा पनि किताब रटेर बोलेको जस्तो गर्छौ । आफूभन्दा सानोलाई पनि तपाईं भन्छौ !”
“अर्कै ग्रहको त होइन तर धेरै भयो अमेरिका बसेको । यहाँ आउँदा अलि अलमलमा पर्छु । बोलीको कुराचाहिँ शायद मेरो नेपाली साहित्यप्रतिको रुचिको कारणले होला, नेपाली बोल्दा सकेसम्म शुद्ध बोल्ने प्रयास गर्छु ।”
उनले मलाई अनौठो मानेर हेरिन् । त्यही बेला त्यहाँ काम गर्ने केटो अर्डर लिन आयो ।
“तिमी के खाने ? समोसा खाने हो ? यहाँको समोसा बबाल मीठो हुन्छ ।”
मैले केही भन्न नपाउँदै दुबैलाई समोसा र चिया अर्डर गरिहालिन् । उनलाई मेरो रुचि वा अरुचिको वास्ता थिएन ।
“तपाईंलाई यहाँको अरू केही मन पर्छन् भने माग्नुस् !”
“ह्या, ‘तपाईं’ भनेर लास्टै ग¥यौ यार तिमीले, कस्तो बोरिङ मान्छे । ‘तिमी’ भन मलाई ।”
म फिस्स हाँसेमात्र । हामीबीच उमेरको त्यति धेरै फरक त नहुनु पर्ने तर बोलीचाली, बानी–व्यहोराले एउटा पिँढीकै अन्तर महसुस गरायो । नेपाल छोडेर जाँदा जुन समय थियो, शायद म त्यसैमा रोकिएछु । तर, यहाँ समय–परिवेश धेरै अघि बढिसकेछ । ‘बबाल’ र ‘लास्टै’ जस्ता शब्द नेपालका नवीनतम आयातीत शब्द हुनुपर्छ । पहिला यस्ता शब्द बोलीचालीमा प्रयोग भएको जस्तो लागेन ।
त्यही बेला उनको एउटा फोन आयो । उतापट्टिबाट एउटा बच्चाले ‘मम्मी’ भनेको स्पष्ट सुनिन्थ्यो । ‘एकछिन है’ भनेर उनी उठिन् । उनी उठ्दा उनका प्लास्टिकका झोलाहरू ढले र केही सामान छरिए । मैले सामान मिलाइदिन थालें । उनी फोनमा कुरा गर्दै बाहिर निस्किइन् । उनको झोलामा बच्चाले खाने औषधि थिए । अर्को झोलामा स्टेसनरी सामान र एउटा फोटो एल्बम थियो । एल्बममा प्रायः बच्चाका फोटा थिए । उनी त बच्चाकी आमा पो रहिछिन्, जुन मैले अपेक्षा गरेको थिइन । म खिस्रिक्क परें ।
एकछिनमा उनी फर्किइन् ।
“तिम्रा बच्चाहरू छन् ?” नसोधिरहन सकिनँ ।
“अँ, छन्,” उनले सहजै जवाफ दिइन् ।
“अनि श्रीमान् ?”
“बच्चा हुन श्रीमान् चाहिन्छ र ?”
‘बाफ रे !’ झन्नै मेरो मुखबाट निस्किएको । म निःशब्द भएँ । यिनी त चरम आधुनिक युवती पो परिछन् । पश्चिमी देशतिर यो सामान्य हो तर नेपालमा ? मैले एकटक लगाएर उनको अनुहारमा हेरें । उनी चिया र समोसामै व्यस्त थिइन् । मेरो अनुहारमा कस्तो भाव छाइरहेको छ, उनी बेखबर थिइन् वा वास्तै थिएन ।
“अनि कति बच्चा छन् ?”
“छन् झन्डै आधा फुटबल टिम ।”
“ह्वाट ?” म कुर्चीबाट झन्डै उफ्रिन पुगेको । उनी उमेरले ३० जति पनि पुगेकी छैनिन् होला, आधा दर्जन बच्चाबच्ची ? उनी मलाई अविश्वसनीय लागिन् । थप केही सोध्न मन लागेन । वातावरणमा एकछिन मौनता छायो ।
“खैर, मेरो नाम सम्भावना हो है,” उनले मतिर हात बढाइन् ।
“मचाहिँ करूणानिधि आचार्य ।”
उनी खित्का छोडेर हाँसिन् ।
“अमेरिका बस्ने रे, मान्छेचाहिँ ओल्ड–फ्यासन्ड । कुरा पनि ओल्ड–फ्यासन्ड । नाम पनि उस्तै । तिमी त भर्खरै पहाडबाट घिउको डब्बा बोकेर काठमाडौं झरेको जस्तो छौ त । म तिम्रो नाम अलिकति छ्याक्क पार्छु है— करूण, यो कस्तो हुन्छ ?”
मैले स्वीकारोक्तिमा शीर हल्लाएँ । मेरो जीवनमा दोस्रो पटक न्वारान भयो । नाम छोटो र मीठो पनि लाग्यो ।
“अनि सम्भावना, तपाईंको, मतलब तिम्रो थरचाहिँ के हो नि ?” उनलाई ‘तिमी’ भनेर सम्बोधन गर्न बडो मुस्किल भयो ।
“ओहो, एकछिनमा तिमीले मेरो गोत्र के, राशि के, पहाड घर कहाँ, कस्की छोरी, कस्की नातिनी सबै नालीबेली सोध्छौ होला है ? मलाई यी कुराहरू बाल (मतलब) छैन,” उनी झर्किइन्, “मान्छेलाई मान्छेकै रूपमा स्वीकार गरे भएन ? जात–थर, कुल, खानदान किन चाहियो ?”
काम गर्ने केटोले बिल लिएर आयो । मैले पर्स निकालें । उनले मेरो पर्स मतिरै धकेलिदिइन् ।
“अर्को पटक तिमीले दिनू ।”
उनको फोनको घण्टी फेरि बज्यो । उनी उठिन् । कुम र कानबीच फोन च्यापेर कुरा गर्दै सामान बटुलिन् र हतारमा निस्किइन् । ढोकाबाट बाहिर निस्किँदै गर्दा टाउको घुमाइन् र एउटा हातले मलाई ‘बाई’ गरिन् ।
यो भेट त्यस्तो उत्साहप्रद भएन । यो भेट त अन्योलपूर्ण पो भयो त । उनी के हुन्, को हुन् ? आधा दर्जन बच्चा छन्, श्रीमान् छैन । थर बताउन मन गर्दिनन् । यिनी मलाई एउटा विचित्रकी पात्र लागिन् । रहस्यै–रहस्यको गुजुल्टो । त्यो रात मनमा अनेक कुरा खेलेर निदाउन सकिनँ ।
त्यसपछि केही दिन बिते । मेरो खास काम केही थिएन । यताउति बरालिन्थें । सम्भावनालाई फोन गरूँ कि नगरूँ, दुई मन भइरहन्थ्यो । आधा दर्जन बच्चाकी आमासँग के हिमचिम बढाउनू भन्ने पनि लाग्थ्यो । तर, उनलाई बिल्कुलै वेवास्ता गरिरहन पनि सकिनँ । कुनै अदृश्य शक्तिले मलाई उनीतिर खिचिरहेको थियो । डायल–बटन थिचें । तीन–चार घण्टीमा उनले फोन उठाइन् ।
“ए करुण, के छ भन !” उनले सोधिन् ।
“खास केही छैन, त्यत्तिकै फोन गरेको । हाम्रो भेट फेरि कहिले हुन्छ ?”
“ए ! तिमीलाई मेरो न्यास्रो लाग्यो ? ल आऊ न त, म यहाँ बच्चाहरूसँग जाउलाखेल चिडियाखानामा छु । अझै दुई–तीन घण्टा यतै हुन्छु ।”
म पुगिहालें । बच्चाहरू चौरमा खेलिरहेका थिए । दुई–तीन वर्षदेखि आठ–नौ वर्षसम्मका बच्चा रहेछन् । कुनै खस जातिका जस्ता, कुनै मंगोल अनुहारका । एउटा बच्ची त तराईमूलकी जस्ती पनि देखिन्थिन् । म छक्क परें । कसैको अनुहार कसैसँग मिल्दैनथ्यो । सम्भावनासँग पनि मिल्दैनथ्यो । अलग–अलग बाबुका बच्चाहरू ? यस्तो त हुनु नपर्ने ! बच्चाहरूलाई देखेर म त झन् अन्योलमा परें ।
“के भयो ? तिमी त वाल्ल प¥यौ नि ?” प्रश्नै उनैबाट आयो ।
“यी बच्चाहरू अलग–अलग बाबुका हुन् ?”
“अँ, के भो त ?” उनको निर्धक्क उत्तर आयो ।
“अनि यिनीहरू सबै तिमीले जन्माएकी ?”
उनी हाँसिन् । अहिले भने शायद मेरो प्रश्नको अभिप्राय बुझिन् ।
“मैले नजन्माएर के भो र ? मैले नजन्माएका जस्ता हुन् ।”
अहिले भने म ढुक्क भएँ । थप जान्नु थियो । मेरो प्रश्नको शृंखला रोकिएन ।
“यिनीहरू अनाथ हुन् ?”
“प्लिज, अनाथ शब्द प्रयोग नगर । यसले उनीहरूलाई र मलाई पनि कमजोर बनाइदिन्छ ।”
“तिम्रो कथा मसँग केही शेयर गर्न चाहन्छ्यौ ?”
उनी एकछिन मौन बसिन् । बिस्तारै उनको मलिन आवाज निस्कियो ।
“म संक्षेपमा भन्छु । धेरै पहिला सोह्रखुट्टेमा एउटा पाटी थियो रे ! अहिले त्यो देख्दिनँ । त्यो पाटीमा एउटा जवान अर्ध–पागल महिलाले आश्रय लिन्थिन् रे ! एकरात कुनै यौन–पिपासुले उनलाई आफ्नो हवसको शिकार बनाएछ र उनी गर्भवती भइछन् । त्यही पाटीमा उनले एउटी बच्चीलाई जन्म दिइछन् । बच्ची रोएको आवाज सुनेपछि वरपरका मान्छेहरु हेर्न आएछन् । बच्चीको आमाको मृत्यु भइसकेको रहेछ । एउटी एकल महिलाले त्यो बच्चीलाई लिएर गइछन् । त्यही बच्चीको नाम हो सम्भावना ।”
उनको कथा सुनेर म स्तब्ध भएँ । निःशब्द पनि । उनको आँखा शुष्क थियो । शायद आँशु रित्तिसकेको थियो ।
“तिमीले मेरो थर सोध्दै थियौ नि । मेरो थर के भनूँ तिमीलाई ? मेरी आमाको डिम्ब शेचन गर्ने शुक्रकिट बाहुनको थियो कि क्षेत्रीको ? त्यो वैश्यको पनि हुन सक्छ । अछुत भनिने शूद्रको पनि हुन सक्छ । त्यसले मेरो परिचय कसरी निर्धारण गर्न सक्छ ? तिमी भन त !”
“मेरी मम्मी, जसले मलाई पाल्नुभयो, हुर्काउनुभयो, पढाउनुभयो, उहाँले मेरो जीवनको यो रहस्य कहिल्यै खोल्नुभएन । उहाँ मेरो जन्मदाता होइन भन्ने मलाई कहिल्यै महसुस भएन । अरू सामान्य परिवारका छोरीहरूजस्तै म पनि हुर्कें, बढें । मम्मीसँग झगडा हुन्थ्यो । भनेको कुरा नहुँदा कति दिन बोल्दिनथें पनि । उहाँ नै सधैं मलाई फकाउनुहुन्थ्यो । ब्याचलर सकेपछि मास्टर्सको लागि अस्ट्रेलिया जान भिसा लगाएर बसेकी थिएँ । २०७२ वैशाख १२ गतेको महाभूकम्प तिमीलाई थाहा छ नि । त्यो दिन मम्मी मेरो लागि केही छुटपुट सामान किनिदिन बाहिर निस्किनुभएको थियो । फर्केर आउनुभएन । पछि उहाँको लाश एउटा भत्किएको भवनबाट निस्कियो । एकदिन घरमा मम्मीका सामान मिलाउँदै गर्दा एउटा डायरी भेटें । मम्मीले नित्य डायरी लेख्नुहुँदो रहेछ । त्यही डायरी पढेर मैले आफ्नो वास्तविकता थाहा पाएँ । त्यसपछि मैले अस्ट्रेलिया जाने योजना रद्द गरें । मम्मीले जसरी मलाई जीवन दिनुभयो, मैले पनि आफ्नो जीवन मजस्तै अरु बच्चाहरूको लागि समर्पित गर्ने निधो गरें । यी बच्चाहरूले गर्दा जागिर खान सक्दिनँ । मम्मीले घर मेरो नाममा गरिदिनुभएको रहेछ । माथिल्लो तला भाडामा लगाएकी छु र त्यसबाट केही पैसा आउँछ । अफिस–अफिस धाएर स्टेसनरी सामान बेच्छु, त्यसबाट केही आम्दानी हुन्छ । मेरो काम देखेर प्रभावित हुने केही मनकारीले सहयोग पनि गर्छन् । यसरी नै खर्च चलिरहेको छ । अनि तिम्रो बारेमा पनि केही भन न !”
पर क्षितिजतिर एकोरिएर बोलिरहेकी सम्भावना मतिर फर्किइन् । मेरो पनि एउटा कथा जरुर थियो तर उनको जस्तो हृदयविदारक होइन । मैले पनि आफ्नो कथा संक्षेपमा सुनाएँ—
“म पढ्नको लागि भनेर अमेरिका गएको थिएँ । तर, अमेरिका यहाँबाट देखेको जस्तो सजिलो होइन रहेछ । खर्च जुटाउँदै पढ्न गाह्रो रहेछ । पढाइ छुट्यो र स्टाटस बिग्रियो । शरणार्थी आवेदन दिएँ र त्यसले मलाई वर्षौं झुलायो । यता बुवा–आमा एक–एक गर्दै बित्नुभयो । उहाँहरूको किरिया गर्न पनि आउन सकिनँ । एउटी प्रेमिका थिइन्, उनले मेरो प्रतीक्षा त गरेकी नै हुन् तर कुर्नुको पनि एउटा हद हुन्छ नि । आखिर उनी अर्कैकी भइन् । बल्ल–बल्ल शरणार्थी आवेदन स्वीकृत भयो र त्यसपछि मैले ग्रिनकार्ड पनि पाएँ । तर, त्यसबेलासम्म मैले धेरै गुमाइसकेको थिएँ । ग्रिनकार्डबाहेक मसँग अरू केही बाँकी रहेन । न प्रेम न बाबु–आमा न पैसा । अलि मेहनत गरे पैसा त अझै कमाउँछु होला, तर केका लागि ? कसका लागि ? जीवनको अर्थ के हो ? उद्देश्य के हो पहिल्याउन सकेको छैन । अमेरिकामा मन रमाउँदैन । नेपाल आउँछु, यहाँ पनि टिक्न सक्दिनँ । यस्तै छ ।”
उनले मलाई हेरिरहिन् । केही बोलिनन् । घाम ढल्किन थालिसकेको थियो । उनीहरू फर्किने तयारी गर्न थाले । मनमा एउटा कुरा आयो र हिम्मत गरें, “तिमीलाई एउटा कुरा भनूँ ?”
“भन न ।”
“म नेपालमै बस्छु है, अब । तिम्रो काममा मद्दत गर्छु । मलाई वेबसाइट डेभलेपमेन्ट, ई–कमर्ससम्बन्धी ज्ञान छ । सामान बेच्ने साइट बनाउँला । तिमी झोला बोकेर पैदल–पैदल चहार्नु पर्दैन । तिम्रा बच्चाहरूको हेरविचार गर्छु । हुन्न ?”
उनी अलिकति लजाइन् । अनि मुस्कुराइन् । अहिले उनी बिछट्टै राम्री देखिइन् । उनको लज्जामा मैले प्रशस्त सम्भावनाहरू देखें ।