site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सीए  VS  बीएमसी

— उमेश्वर भण्डारी

‘भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा’ भन्ने गीत आएको भए त्यही गुन्गुनाउने थिएँ । अनि भिजिट भिसा पनि थिएन, वर्किङ भिसा थियो । नेपालमा जागिर र तलब नराम्रो पनि भएको होइन । सीए गर्दै थिएँ, शान थियो । आफ्नै केही गरौं भन्ने थियो तर गर्न सकिरहेको थिइनँ । केही ठूलै गर्न सकिन्छ कि भन्ने आश पनि थियो मनभित्र । त्यसैले अरूले भनेजस्तो प्लेनले नेपालको भूमि छोड्दा आँखा रसाएनन् । नेपालै फर्किएर केही गर्ने दृढ सोच भएकाले मन गह्रुंगो भएन । र, म जान लागेको ठाउँमा मेरी मायालुले पर्खिरहेकी थिइन् । त्यसैले पनि मनमा खुशीका गुब्बारा फुल्नु स्वाभाविक थियो ।

पहिले–पहिले साथीहरूसँग कुरा गर्दा भन्थें, “विदेश त घुम्नमात्र जाने होे, काम गर्न जान्नँ ।” आज म आफैं उड्दै थिएँ विदेश ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भविष्य उज्ज्वल बनाउने घोको थियो । के गर्ने भन्ने नभए पनि केही न केही पक्कै गर्ने विचार थियो । ‘अप्रिल फुल’को दिन कसैले कता, कसैले कता ट्राभलिङ भनेर फेसबुकमा लेख्दै थिए । मैले पनि लेखें, “कतारको यात्रा ।” तर, मेरो यात्रा भने ‘कतार एयरवेज’को थियो । राति कतारमा ट्रान्जिट भएकाले उतै एयरपोर्टभित्रै सुतियो । एयरपोर्टभित्रै सुत्ने व्यवस्था पनि रहेछ । पूरै ढल्केको सिट अनि कम्बल । सुत्ने ठाउँ अलिक पर हल्लाखल्ला नहुने ठाउँमा थियो तैपनि बेला–बेला ब्युझिएँ— कतै पोल्यान्डको प्लेन त छुटेन ? होइन रहेछ ।

बिहान अर्को प्लेन चढियो । यताको बाटो अलि उराठलाग्दो रहेछ । बाहिर हेर्द पनि वाक्क लाग्ने । प्लेनभित्र झोलचोक्टा सबै निःशुल्क थियो । झोल भनेपछि मरिहत्ते गर्दिनँ तर विदेश आएको, बा–आमाको डर पनि भएन— एक क्यान जौंको जुस खाइयो । जौंको जुस खाए अलि–अलि मोटाइएला भन्ने आश पनि थियो । अरूले सोध्दा जहिल्यै ५ किलो बढाएर भन्थें ।

पोल्यान्ड आइपुगें । इमिग्रेसनमा कागजपत्र हेरेको हे¥यैमात्र गरे आधा घण्टासम्म । यो आधा घण्टा ठूलै तनावमा परें । मुटुको ताल पनि बेताल भएजस्तो भइरह्यो । अर्को १५ मिनेट लगाएर बल्ल हान्दियो छाप— ढ्याप्प । केटो छि¥यो पोल्यान्ड । धेरै आशा, थोरै निराशाका साथ । केही गर्ने अनौठो जोशका साथ ।

केही दिनपछि काममा लागें । ८ घण्टा उठेरै । मर्निङ ड्युटी भनेको मरिन ड्युटी भयो—उठ्ने बानी नभएर । साह्र्रै गह्र्रौं उचाल्न त सक्दिनँ तर काम जस्तो भए पनि गर्ने बानी छ, अल्छी भए पनि काममा ठग्ने बानी छैन । काम शुरुमा गाह्रै भयो । नाइट ड्युटी परेका बेला ३–४ बजे बिहान झ्याप्प आँखा छोपेजस्तो हुन्थ्यो । तर, घरमा भन्दा ‘सजिलो छ’ भनेर ढाँट्थें । उसै त आमाको मन, झन् छोरालाई गाह्रो भयो भन्दा पीर गर्नुहुन्छ ।

युरोपमा ठूलो समस्या भनेकै भाषाको हुने रहेछ । अझ म त केही समय भाषा सिकेरै आएको थिएँ । उता सरले राम्रा–राम्रा शब्द मात्रै सिकाउनुभएको थियो । यता नराम्रो पनि बोल्दा रहेछन् । अझ भनौं— लेख्दा शब्द–शब्दको बीचमा स्पेस भएजस्तो, ट्रान्सलेट गरेर हेर्दा ‘कुकुर्नी’ भनेजस्तो तर नेपालीमा केटाहरूले ‘जी’ भनेर आदर गरेजस्तो अनि ओशोको ‘पख’ भनेजस्तो । राम्रो–नराम्रो जेमा पनि प्रयोग गर्दा रहेछन् । शुरुमा त थाहा थिएन, गाली गरेको भन्ठान्थें । तर, गाली नगर्दा पनि प्रयोग गर्दा रहेछन् त्यस्ता शब्द । काम गर्न नजान्दा गाली पनि गर्थे । म मुस्काइरहन्थें । मालिकले पछि ‘स्माइली गाइ’ राखेछ मेरो नाम ।

पहिले ‘विदेशीको आँखामा नहेर्नू’ भन्थे साथीहरु । हामी उनीहरूसँग बोल्दैनथ्यौं । उनीहरूले पनि हामीलाई बाल दिँदैनथे । हात पनि नमिलाउने, हामीले ‘गुड मर्निङ’ भन्दा वास्ता पनि नगर्ने । दुई महिनापछि अर्को कम्पनी शिफ्ट भएँ, अलि सजिलो काम भनेर ।

काम केको सजिलो हुनू, झन् गाह्रो प¥यो । पहिलेको कम्पनीमा जतिखेरै गाह्रो काम हुन्नथ्यो । म्यानेजर अगाडि नहुँदा बेला–बेलामा लुकेर आराम गरिन्थ्यो । यता सुपरभाइजरको छेउमै काम । तर, यो कम्पनीको काम गर्ने वातावरण राम्रो रहेछ । कामदार राम्रा रहेछन् । सबैजना हात मिलाउने, ‘गुडमर्निङ’ भन्ने । सुपरभाइजर, म्यानेजर सबै मिल्ने थिए, सबै बोल्थे । सबैभन्दा धेरै मिल्ने साथी बन्यो– सङै काम गर्ने उकाश ।

उकाश मलाई उसले जानेका सबै काम सिकाउँथ्यो । खास मेरो काम प्याकिङ भए पनि उसले सुपरभाइजरको आँखा छल्दै मलाई कन्ट्रोलिङको काम (जसमा बारकोड स्क्यान गरेर डेलिभरीका लागि नाम–ठेगाना लेखेको कागज प्रिन्ट गरेर टाँस्ने) सिकाउँथ्यो । यो काम ठूला–ठूला सामानको हुन्थ्यो ।

अनि सुपरभाइजरलाई भनेर साना–साना सामान बक्समा हाल्न बारकोड स्क्यानर पनि मगाइदियो । अर्को सुपरभाइजरलाई भनेर कन्ट्रोलिङको युजरनेम र पासवर्ड पनि दिलायो । स्क्यानरसहितको हातेकम्प्युटर मेरो हातमा हुन्थ्यो । त्यसबाट मैले अरू काम पनि सिकें । पछि बिस्तारै क्यूसी भन्ने काममा मलाई ज्यादा लगाउँदै गयो । म २ बजे पुगेर एक्लै कन्ट्रोलिङ गर्थें । सुपरभाइजर आएपछि क्यूसीमा पठाउँथ्यो । भाषा पहिलेको भन्दा राम्रो हुँदै गयो । टुटेफुटेको भए पनि म उनीहरूसँग उनीहरूकै भाषामा बोल्नाले सहज भयो । घर आउँदा उकाशकै गाडीमा आउँथें । ऊ नभए अरूले ल्याइदिन्थे । दिनचर्या राम्रै बित्दै थियो ।

कमाइ भने थिएन । काम गरेको धण्टामा आधारित तलब थियो । बिदा बसेको दिन पैसा नआउने । नेपालमा पैसा पठाउन गाह्रो थियो । अफिसको एकोमोडेसनमा नबसेर छुट्टै बसेकोले खर्च अलि बढी थियो ।

फेसबुकका ग्रुपमा टन्नै साथीहरू पोल्यान्ड आउन चाहेको बुझिन्थ्यो । ‘कस्तो छ ?’ भनेर सोध्दा म सीधा जवाफ दिन्थें, “पैसा कमाउने भए कोरिया जानू । बरु खाडीमै कमाइ राम्रो हुन्छ । छुट्टीमा घर जान बिदा टिकट दिन्छ, त्यो बिदाको पैसा पनि आउँछ । कागज पनि गाह्रो छ ।”

नेपालमै बसेकाले चाहिँ आफू गइसकेपछि अरूलाई नआउनू भन्छ पनि भने होलान् । लागतअनुसार कमाइ नहुने कुरा मैले बताउनै पथ्र्यो ।

पहिले पहिले ‘नेपालीहरू कामचोर हुन्छन्, खाली ट्वाइलेटमा लुक्छन्’ भन्दा उकाशले ‘यो त्यस्तो छैन’ भनेर आफैं डिफेन्ड गर्दिन्थ्यो । पछि मलाई म्यानेजरहरूले राम्रो व्यवहार गर्न थाले । म एजेन्सीमार्फत त्यो कम्पनीमा काम गर्थें । मेरो प्रतिघण्टाको कमाइमा एजेन्सीले प्रतिघण्टा नै नाफा खाइरहेको हुन्थ्यो । म्यानेजरहरूले ‘अब डाइरेक्ट राख्छु’ भन्ने कुरा पनि गर्दै थिए । त्यत्तिकैमा पोर्चुगलको हावा आयो ।

पोर्चुगलमा कागज सजिलै बन्ने थाहा भयो । युरोपभरिका मान्छे ‘लास्टाँ त्यैं’ भनेजस्तो अन्तिममा जाने पोर्चुगल नै रहेछ । पोल्यान्डमा एउटा कम्पनीबाट अर्को कम्पनी जानु परे अत्यधिक गाह्रो छ । फेरि नयाँ प्रक्रिया शुरु हुन्छ । कार्ड (टीआर) नै फेर्नुपर्छ । त्यसबाहेक वर्क पर्मिट निकाल्ने त गौण भइगयो । कार्ड फेरि सजिलै आउला भनेर नसोचे हुन्छ । मुडअनुसार हुन्छ । सँगै गएका साथीहरू सबैको उस्तै डकुमेन्ट हुँदा, एकैदिन प्रोसेस गर्दा र उत्ति नै ट्याक्स हुँदा पनि एउटाको कार्ड आउने, अर्काको नआउने हुन्थ्यो । केही भर नहुने ।

अफिसमा बिदा लिएँ । पोर्चुगलमा हुनुभएका एकजना दाइ र साथीको साथीलाई भनेर कोठा खोजें । १५ तारिख पुग्ने भए पनि १ तारिखबाटै भाडा बुझाउनुपर्ने भयो । त्यति नगरे पोर्चुगलमा कोठा पाउन साह्रै गाह्रो रहेछ । त्यहाँ पोल्यान्डमा भन्दा धेरै नेपाली रहेछन् । अलि चहलपहल रहेछ ।

पोर्चुगल आउनेबित्तिकै पहिले लिस्बनको मार्ट मोनिज नजिकैको नेपाली दाइको होस्टेलमा बसें । पोर्चुगल छिरेको ७२ घण्टाभित्रै लिगल इन्ट्री गर्नुपर्ने रहेछ ।

पोल्यान्डबाट साथमा आएका साथीहरू र श्रीमतीको साथमा भोलिपल्ट बिहानै ४ बजे उठेर लाइन बस्न हिँड्यौं । त्यतिखेर लाग्यो— यो पोर्चुगललाई कसले युरोप बनायो ? फोहोर हेर्दा भारतको पहाडगन्जजस्तो झल्को आयो । नेपाली स्टाइलको लाइनले यता पनि छाडेन । २० जनाजति पछाडि बसेको लाइन भित्र छिरेर टोकन लिँदा ३८ मा परिएछ । घूसपैठ यता पनि हुँदो रहेछ ।

लाइनमा एकजना चिनजान भएकै जस्तो गरी बोल्न आए, “हजुरको घर कता हो नेपालमा ?”

पहिले लिगल इन्ट्री गरेर फाइनान्स भन्ने कागज बनाउनु पर्ने थियो । फाइनान्स र लिगल इन्ट्री दुबै निःशुल्क बन्छन् । तैपनि कति दलालहरूले पैसा लिँदा रहेछन् । भाषा नबुझ्दा ठाउँ र प्रक्रिया नबुझ्दा ‘सहयोग शुल्क’ उठाउने रहेछन् । फाइनान्स भन्ने बनाउँदा यता कार्ड भएकाले हस्ताक्षर गर्नुपर्ने रहेछ । १० युरो रहेछ यसको रेट । कसैले १५ र २० पनि लिने रहेछन् । लाइनमा बोल्न आउनेले भन्यो, “अहिले टीआर होइन, पासपोर्ट भएकै चाहिने रै’छ नि !”

थाहा नभएजस्तो हामीले भन्यौं, “हो र ?”

हामीले पहिले नै शुल्क नलाग्ने र कार्ड नमाग्ने फाइनान्स अफिसको बारेमा बुझिसकेका थियौं ।

गफिँदै जाँदा दलालजीले भन्नुभयो, “मान्छे छैन भने भन्नुस् है, २० युरोमा गर्दिने एकजना दाइ हुनुहुन्छ । यता एउटाले अर्को, अर्कोले अर्कै देखाएर पैसा लिन्छन् । त्यो दाइले गर्दिन्छ ।”

लिगल इन्ट्री त्यसै दिन नहुने रहेछ । अर्कोपल्ट आउन अपोइन्टमेन्ट दिनका लागि नाम टिपेको रहेछ । अफिसरले मिति, स्थान र समय इमेल गर्दिन्छु भनेपछि हामी बाटो लाग्यौं । दलालजी हामीलाई तन्कीतन्की हेर्दै हुनुहुन्थ्यो— मुखैमा आएको आहारा अर्काले खोसेजस्तो मुख लगाएर ।

त्यसको भोलिपल्ट फाइनान्स नम्बर लिन निस्कियौं । टोकन लिन यता पनि लाइन बस्नुपर्ने रहेछ । हामी ढिलो पुग्यौं । दिनभरि यसै बित्लाजस्तो लागेर भोलिपल्ट चाँडै आउने निर्णय गरी फर्कियौं । पर्सिपल्ट बिहानै गएर टोकन लिँदा चार घण्टापछि पालो आयो । पोर्चुगलमा पहिल्यैदेखि बस्नुभएका दाइले फर्म भरिदिनुभयो । हाम्रो काम भयो । चार वर्ष भइसकेछ उहाँ आउनुभएको ।

अब होस्टेल छाडी कोठातिर लागियो । नेपालीहरुले ‘खोलापारि’ भन्ने गरेको ठाउँमा कोठा कुरिराखेको थियो । नेपालीहरूले ठाउँलाई आ–आफ्नै नाम दिएका रहेछन्— घोडाचोक, बुडाबुडी पार्क, गन्हाउने खोला, बंगाली बजार ।

‘ठूलो माछाले सानो माछालाई खान्छ’ भनेजस्तो विदेशमा पुराना नेपालीले नयाँ नेपालीलाई खाने रहेछन् । पुरानालाई भाषा पनि आउने, कार्ड पनि भएका— धेरैजसो आ–आफ्नै व्यवसाय गरेर बसेकाले उनीहरूको शानै बेग्लै हुने रहेछ । धेरैजसोको पसल, केहीको रेस्टुराँ, ट्राभल एजेन्सीजस्ता व्यवसाय रहेछन् । नदेखाउने व्यवसाय भने कोठाको रहेछ । अझ सजिलो पसलवालाहरूलाई रहेछ । ग्राहकले आफ्ना घर र फ्ल्याट खाली हुनेबित्तिकै पहिला पसलेलाई सुनाउँदा रहेछन् । पसलेले सके आफैं, नसके चिनजानको वा नजिकका व्यक्तिको नाममा फ्ल्याट लिने रहेछन् । फ्ल्याट सस्तोमा लिने अनि कोठा छुट्टाछुट्टै भाडामा लगाउने । भाडामा लगाउन सक्नेले नाफा लिने, नसक्नेले निःशुल्क आफैं बस्ने, अझै नसक्नेले आफू अलि सस्तोमा बस्ने गर्दा रहेछन् । ६०० को तीन कोठावाला फ्ल्याट भए आफू एउटामा बस्यो, ३५०–३५० उठायो, नसके ३००–३०० । अझै नसके २५०–२५० त कतै गएन । पानी, बिजुली त पछि हिसाब हुने भइहाल्यो ।

यता सोसेल नम्बर भन्ने हुने रहेछ— नेपालमा प्यान नम्बर भनेजस्तै । काम पाएपछि कम्पनीले बनाइदिन्छ । स्वरोजगार हुनेले आफैं बनाउन मिल्ने । अचेल भने नम्बर नभई काम दिँदा रहेनछन् । कस्तो अचम्म ! काम नभई सोसल नहुने, सोसल नभई काम नपाउने ! त्यसको जुक्ति पनि नेपालीहरूसँग रहेछ । पैसा तिरे बनाइदिने रहेछन् । कति जना खेतीमा काम गर्न गएर नम्बर पाएपछि फर्किने गर्दा रहेछन् लिस्बन । हामीलाई एकजना दाइले ‘सहयोग’ गर्नुभयो सोसल बनाउन । हामीले पनि नेपाली १ लाखभन्दा बढी उहाँलाई अग्रीम धन्यवादस्वरूप दियौं । २१ दिनमा सोसल पनि आयो ।

काम खोज्न पोर्चुगलमा नेपालकै जस्तै पारा । चिनजानकालाई भन्यो, फेसबुक ग्रुपमा हे¥यो, वेबसाइटमा अनलाइन अप्लाई ग¥यो । पसलैपिच्छे बायोडाटा बाँड्दै हिँड्यो । कतिले इन्टरभ्यु भन्दै बोलाउने, गफ दिँदै ‘पछि खबर गर्छु’ भन्ने अनि बिर्सिने रहेछन् । कतिले त कामको लागि सबै कागजात, बैंकको डेबिट÷क्रेडिट कार्डको फोटो पनि मागे । लुट्ने दाउ यता पनि उस्तै रहेछन् । सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा कम दिन खोज्छन्, जसले भाडा तिर्नसमेत पुग्दैन । यसरी नेपालीलाई पेल्न खोज्ने नेपाली नै हुन् ।

जान्नेलाई जताततै पैसा नै पैसा रहेछ यता । सरकारी कार्यालय छि¥यो कि ‘चिनेको दाइ छ, सहयोग गर्दिन्छ’ भन्दा रहेछन् । सहयोग गर्नेको कमी कतै रहेनछ, बस् हामीले ‘धन्यवाद’ टक्र्याउनु पर्ने रहेछ । दायाँ–बायाँ गर्दागर्दै खल्तीले ‘धन्यवाद’ भन्न छाड्ने रहेछ । धन्न जुन्ता भन्ने ठेगानाको प्रमाण बनाउँदा ‘थ्यांक्यु (ओबृगादो)’ ले काम चल्यो । दुई पोर्चुगेली पासपोर्ट भएकाले सही गरिदिनुपर्ने रहेछ । पल्लो कोठाको दाइले ‘धन्यवाद’ भन्नुभयो रे ! ‘धन्यवाद’ लिने दाइले ‘ओबृगादो’ दिनुभयो कि भएन, त्योचाहिँ थाहा भएन ।

नेपालमा जस्तो महिना मरिसकेपछि घरबेटी धाउने रहेनछन् यता । सेक्युरिटी डिपोजिट भनेर एक–दुई महिनाको अनि बस्ने महिनाको अग्रीम भाडा बुझाउनुपर्ने सिस्टम रहेछ । कोठा सर्नु प¥यो भने एक त अग्रीम पूरा महिनाको भाडा तिरिसकेको हुन्छ, त्यसमाथि डिपोजिट फिर्ता पो आउने हो कि होइन भनेर अर्को तनाव । आफू बसेरै कट्टा गरी सरौं भने भनेका बेला कोठा नपाइने । हेनुस् त बिजोग !

आएको तीन महिनाजति हुँदा पनि काम पाएको थिइनँ । भनसुन गर्ने, बायोडाटा बाँड्ने, अनलाइन हेर्ने, फेसबुकको ग्रुपमा कतै मान्छे मागेको छ कि भनेर हेर्ने दैनिकी नै थियो । यत्तिकैमा ठ्याक्क एउटा पोस्ट भेटियो, “भ्याकेन्सी ।”

हतार–हतार नम्बर हेरेर फोन गरें अनि भनें, “ओला, बो तार्दस् । भोसे फाला इंग्लिस ? (हाई, गुड डे । तपाईं इंग्लिस बोल्नुहुन्छ ?)

‘नावँ’ भन्दै उसले अर्कोलाई फोन दियो । फेरि कण्ठ गरेको सूत्र भनें, “ओला, बो तार्दस् । भोसे फाला इंग्लिस ?”

‘एस’ भन्ने जवाफ आएपछि भनें, “मेरो साथीले यहाँ कामदार चाहिएको भनेको थियो,  त्यही भएर कल गरेको ।” उसले कामदार आवश्यक नभएको बतायो ।

फेरि फेसबुकमा पोस्ट गर्ने दाइलाई फोन गरें, “दाइ ! के नम्बर दिनुभा ? मान्छे चाहिएकै छैन भन्यो त !”

“शुरुमै ‘भोसे फाला इंग्लिस ?’ भन्या होला, होइन ?”

“अँ । दाइलाई कसरी थाहा भयो ?” म चकित परें ।

“भाइ ! यता त्यसो भनेर काँ काम पाइन्छ त ? सिक्दै छु भन्ने देखाउनु प¥यो । ‘पोकु फालो पोर्चुगिज’ भन्नुपर्छ ।”

“हस दाइ, अब त्यस्तै भन्नुपर्ला !”

एक–दुइटा शब्द ट्रान्सलेटर र यूट्युबमा हेरेर कण्ठ गरें । बजारमा छ्याप्छ्याप्ती बायोडाटा बाँडें । इन्टरभ्युमा ‘टाढा बस्नुहुने रहेछ’ भन्ने बहानाले एक–दुई ठाउँ रिजेक्ट भएँ । अब कसैले सोध्यो भने ‘यतै नजिकै बस्छु’ भनेर ढाँट्ने मनशाय पनि बनाएँ । केही दिनपछि कसैको फोन आयो, भाषाले गर्दा केही बुझिएन ।

भनें, “म अंग्रेजी बोल्छु, पोर्चुगिज अलि–अलि मात्र आउँछ ।”

उताबाट अंग्रेजीमै बोलेको सुनियो, “यु निड अ जब ?”

हतारिँदै ‘एस’ भनें । ठेगाना उसले एसएमएस गरिदिने भयो । ठेगाना पाएपछि चिटिच्याँट्ट परेर हिँडें । बायोडाटा दिँदा एउटाले म्यानेजरलाई भेटाएको थियो, न त्यसकैबाट बोलायो कि ? एउटामा नेपाली दाइ रिसेप्सनमा थिए, उनैले पो बोलाए कि ? यस्तै–यस्तै सोच्दै ठेगानामा पुगें ।

एउटा पोर्चुगिज रेस्टुराँ रहेछ । पोर्चुगिज भाषामा ‘काम गर्न आएको’ भन्ने शब्द बाटोमै कण्ठ पारेको थिएँ । पुग्नासाथ त्यही भनें । वेटरले भित्र रिसेप्सनतिर देखाइदियो । त्यहाँ पनि त्यही भनें । उसले भित्र लिएर गयो । इन्टरभ्यु भित्र लिने रहेछ भन्ने सोच्दै थिएँ । के–कति दिने, बिदा कहिले, कन्ट्र्याक्ट दिने÷नदिने केही कुरै भएन । रेस्टुराँको काममा एक्सपिरियन्स भनौं भने घरमा चिया पकाएको मात्र थियो । भित्र लगेर ‘यता’ भनेर उसले भाँडाको थुप्रोतिर देखाइदियो ।

यसरी शुरु भयो युरोपमा ‘बीएमसी’ काम ! यानेकि भाँडा मस्काउने, चम्काउने !
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०५:५२
प्रतिक्रिया दिनुहोस्