
काठमाडौं । नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास 'फातसुङ' सार्वजनिक भएको छ । फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ- माटोको कथा ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुस्तक लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरेका हुन् ।
भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा एकेडेमी पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ । त्यसले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको उनले बताइन् ।
उनले भनिन्, “भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा । र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन् । त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ ।”
अर्का वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ । दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ ।
लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे भने, “फातसुङ दार्जिलिङको कथा हो । १९८६ मा पहिलो पटक अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो । फातसुङ त्यही सपनाहरुको कथा हो । १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुंगियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो ।"
प्रकाशक अजित बरालले भने, “काविमोको लेखन शैली यति विशिष्ट, यति पृथक् छ किफातसुङको पहिला दुई पेज पढ्ने बित्तिकै अति उत्साहित भएर मैले लेखकलाई फोन गरेको थिएँ र भनेको थिएँ, ‘उपन्यास राम्रो होला जस्तो छ-१’ अनि पछि पढ्दै गएपछि त कायलै भएको थिएँ । मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउनेछ ।”
उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३०० रुपैयाँ रहेको छ ।