
काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते हुने मातृभूमि कपको सम्पुर्ण तयारी सकिएको जनाएको छ । मातृभूमि कपका लागि राष्ट्रिय कलाकारहरुको टिमसमेत फाइनल भएको फाउण्डेशनले जानकारी दिएको छ ।
शनिबार हुने मातृभूमि कपका लागि कलाकार समूहकोतर्फबाट सम्पुर्ण कलाकारहरु खेल खेल्न पूर्ण तयारीमा अवस्थामा छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।
"खेलाडीहरुको खेलका लागी पूरा तयारी सकिएको छ", फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने, "शनिबारको प्रतियोगीता रोमान्चक मात्र नभई एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ ।"
प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने-सामने हुनेछन् । पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बिच १० ओभरको खेल हुनेछ ।
रंगशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।